पाठ ३
नागरिक अधिकार र कर्तव्य
१. तलका प्रश्नहरूको उत्तर दिनुहोस् :
अधिकार र कर्तव्यको परिभाषा दिनुहोस् ।
अधिकार
अधिकार भनेको व्यक्ति वा समुदायको त्यस्तो आवश्यकता, सुविधा वा चाहना हो जुन कानुनद्वारा मान्यता प्राप्त र संरक्षित गरिएको हुन्छ । कुनै विषयलाई अधिकार मान्नका लागि कसको अधिकार, के अधिकार र त्यस अधिकारप्रति कसको दायित्व भन्ने कुरा स्पष्ट हुनुपर्छ ।
कानुनमा व्यवस्था गरिएको अधिकार सम्बन्धित व्यक्तिले स्वतन्त्र रूपमा उपभोग गर्न पाउनुपर्छ । उक्त अधिकारको सम्मान गर्नु तथा त्यसको प्रयोगमा बाधा नपुर्याउनु अन्य व्यक्ति, समुदाय वा राज्यको कर्तव्य हुन्छ ।
कसैले कानुनबमोजिम प्राप्त अधिकार उल्लङ्घन गरेमा वा त्यसको प्रयोगमा बाधा–अड्चन पुर्याएमा अधिकार प्राप्त व्यक्तिले उपचारका लागि सम्बन्धित निकाय वा अदालतसमक्ष जान सक्छ ।
महिला अधिकार
बाल अधिकार
मानव अधिकार
मौलिक अधिकार
कर्तव्य
कर्तव्य भन्नाले आफूले गर्नुपर्ने कार्य तथा दायित्व बुझेर पूरा गर्नु र गर्न नहुने कार्य नगर्नु हो । अरूको अधिकारमा नकारात्मक असर पर्ने कुनै पनि गतिविधि नगर्नु तथा त्यस्ता कार्यलाई प्रोत्साहन नगर्नु पनि व्यक्तिको कर्तव्य हो ।
सामान्यतया नागरिकका कर्तव्यलाई नैतिक कर्तव्य, कानुनी कर्तव्य, सामाजिक कर्तव्य र नागरिक कर्तव्य गरी विभिन्न रूपमा बुझ्न सकिन्छ ।
राज्यलाई कर तिर्नु
कानुनबमोजिम तिर्नुपर्ने कर तथा राजस्व तिर्नु नागरिकको कर्तव्य हो ।
निर्वाचनमा भाग लिनु
लोकतान्त्रिक प्रक्रियामा जिम्मेवार रूपमा सहभागी हुनु ।
मतदान गर्नु
योग्य नागरिकले आफ्नो मताधिकार जिम्मेवारीपूर्वक प्रयोग गर्नु ।
सम्पदाको संरक्षण गर्नु
मौलिक संस्कृति, परम्परा तथा राष्ट्रिय सम्पदाको संरक्षणमा योगदान गर्नु ।
अधिकार र कर्तव्यको सम्बन्ध
अधिकार र कर्तव्य एकअर्कासँग घनिष्ठ रूपमा सम्बन्धित हुन्छन् । एक व्यक्तिको अधिकारको सम्मान गर्नु अर्को व्यक्तिको कर्तव्य बन्न सक्छ । त्यसैले अधिकार र कर्तव्यलाई एउटै सिक्काका दुई पाटाका रूपमा बुझ्न सकिन्छ ।
नेपालको संविधानमा उल्लिखित नागरिकका कर्तव्यहरूको सूची तयार गर्नुहोस् ।
नेपालको संविधानमा मौलिक हकका साथै नागरिकका कर्तव्यको पनि व्यवस्था गरिएको छ । संविधानको धारा ४८ मा नागरिकका कर्तव्यहरू उल्लेख गरिएको छन् । ती निम्नानुसार छन् :
राष्ट्रप्रति निष्ठावान हुनु
राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु ।
संविधान र कानुनको पालना गर्नु
देशको संविधान तथा प्रचलित कानुनको सम्मान र पालना गर्नु ।
अनिवार्य सेवा गर्नु
राज्यले आवश्यक ठानेका बखत कानुनबमोजिम अनिवार्य सेवा गर्नु ।
सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु
सार्वजनिक सम्पत्तिको सुरक्षा तथा संरक्षण गर्नु ।
नागरिक अधिकारका आवश्यकतालाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
नागरिक अधिकार भन्नाले कुनै देशको नागरिक भएको नाताले व्यक्तिले प्राप्त गर्ने नागरिक तथा राजनीतिक अधिकारलाई जनाउँछ । नागरिकको स्वतन्त्रता, समानता, सम्मान, सुरक्षा र न्याय सुनिश्चित गर्न नागरिक अधिकार आवश्यक हुन्छ ।
कानुनको दृष्टिमा समानता कायम गर्न
प्रत्येक नागरिकलाई कानुनको दृष्टिमा समान व्यवहार तथा समान संरक्षण दिन नागरिक अधिकार आवश्यक हुन्छ ।
भेदभाव रोक्न
उत्पत्ति, धर्म, वर्ण, जातजाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा, क्षेत्र वा वैचारिक आस्थाका आधारमा भेदभाव नहोस् भनेर नागरिक अधिकार आवश्यक हुन्छ ।
समान पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न
समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा विभेद हुन नदिन नागरिक अधिकार आवश्यक हुन्छ ।
गोपनीयताको संरक्षण गर्न
व्यक्तिको निजी जीवन, व्यक्तिगत विवरण तथा गोपनीयताको संरक्षणका लागि नागरिक अधिकार आवश्यक हुन्छ ।
जबरजस्ती काममा लगाउनबाट जोगाउन
कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत जबरजस्ती काममा लगाउन नपाइने सुनिश्चित गर्न नागरिक अधिकार आवश्यक हुन्छ ।
सामाजिक द्वन्द्व कम गर्न
सबै नागरिकलाई समान अधिकार र सम्मान प्राप्त हुँदा अन्याय, असन्तुष्टि र व्यक्ति–व्यक्तिबीचको द्वन्द्व कम गर्न मद्दत पुग्छ ।
Discussion
Share a helpful question, idea, or explanation with other students.