Class 12 Social एकाइ ५ पाठ ३ Notes

एकाइ ५

पाठ ३

नेपालका प्रदेशका सामाजिक तथा सांस्कृतिक अवस्था र विशेषता

१. तलका प्रश्नहरूको उत्तर दिनुहोस् :

बागमती प्रदेशका कुनै तीनओटा सामाजिक विशेषताहरू उल्लेख गर्नुहोस् ।

उत्तरः

बागमती प्रदेशमा तामाङ, नेवार, ब्राह्मण र क्षेत्री जातिको बाहुल्य रहेको छ । यस प्रदेशको हिमाली क्षेत्रमा मुख्य रूपमा शेर्पा र तामाङ जातिको बसोबास रहेको छ भने पहाडी क्षेत्रमा बाहुन, क्षेत्री, मगर र दलित समुदायको बसोबास पाइन्छ ।

काठमाडौँ उपत्यका, धुलिखेल र बनेपा क्षेत्रमा नेवार समुदायको उल्लेख्य बसोबास रहेको छ । यहाँ सीमान्तीकृत समूहका चेपाङ, थामी आदि समुदायको पनि बसोबास पाइन्छ ।

तामाङ, नेवार, ब्राह्मण र क्षेत्रीलगायत विभिन्न जातजातिको मिश्रित बसोबास रहेको छ ।

हिमाल, पहाड र उपत्यकाअनुसार विभिन्न जातीय तथा सामाजिक समुदायको बसोबासमा विविधता पाइन्छ ।

चेपाङ, थामीजस्ता सीमान्तीकृत समुदायको समेत बसोबास रहेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्य मुख्य सामाजिक पहिचान उल्लेख गर्नुहोस् ।

उत्तरः

सुदूरपश्चिम प्रदेशमा मुख्यगरी क्षेत्री, ब्राह्मण, ठकुरी, थारु र दलित जातिहरूको बसोबास रहेको छ । यहाँका हिमाली र पहाडी क्षेत्रमा मिश्रित जातजातिको बसोबास छ भने तराई क्षेत्रमा ब्राह्मण, क्षेत्री, थारु तथा अन्य जातजातिको बसोबास रहेको छ ।

जातीय पहिचान

क्षेत्री, ब्राह्मण, ठकुरी, थारु, दलित तथा अन्य विभिन्न जातजातिको बसोबास रहेको छ ।

भाषिक पहिचान

नेपाली भाषासँगै डोटेली, थारु, बैतडेली, अछामी, बझाङी, मगर आदि भाषाहरू बोलिन्छन् ।

चाडपर्व

गौरा पर्व, वडाकाइतवार, दशैँ, तिहारलगायत विभिन्न स्थानीय तथा राष्ट्रिय पर्वहरू धुमधामका साथ मनाइन्छन् ।

धार्मिक स्थल

उग्रतारा, त्रिपुरासुन्दरी, शैलेश्वरी, बडीमालिका, बैजनाथ आदि यहाँका प्रमुख धार्मिक स्थल हुन् ।

यस प्रदेशमा देउडा नाच तथा गीतको ठूलो सामाजिक तथा सांस्कृतिक महत्त्व रहेको छ ।

बागमती प्रदेशका मुख्य मुख्य जातिहरूको सूची तयार पार्नुहोस् ।

उत्तरः

बागमती प्रदेशमा विभिन्न जातजातिको मिश्रित बसोबास रहेको छ । यहाँका मुख्य जातिहरू निम्नानुसार छन् :

तामाङ, नेवार, ब्राह्मण र क्षेत्री जातिको बाहुल्य रहेको छ ।

हिमाली क्षेत्रमा मुख्य रूपमा शेर्पा र तामाङ जातिको बसोबास छ ।

पहाडी क्षेत्रमा बाहुन, क्षेत्री, मगर र दलित समुदायको बसोबास रहेको छ ।

काठमाडौँ उपत्यका, धुलिखेल र बनेपामा नेवार जातिको उल्लेख्य बसोबास रहेको छ ।

भित्री मधेस तथा अन्य क्षेत्रमा थारु, चेपाङ, थामीजस्ता समुदायको पनि बसोबास पाइन्छ ।

“सामाजिक विविधता नेपालको पहिचान” शीर्षकमा एक लेख तयार पार्नुहोस् ।

उत्तरः

सामाजिक विविधता नेपालको पहिचान

हरेक समाज विभिन्न प्रकारका विविधताको सम्मिश्रण हो । राष्ट्र पनि विभिन्न विशेषतायुक्त समाजहरूको सम्मिश्रणबाट बनेको हुन्छ । समाज र राष्ट्रका यस्ता विशेषताहरू प्रत्येक राष्ट्रको मौलिक पहिचान तथा गर्वको विषय हुन्छन् । राष्ट्रिय पहिचानसँगै स्थानीय पहिचानको महत्त्व खोजिनु पनि स्वाभाविक प्रक्रिया हो ।

बहुजातीय, बहुभाषिक तथा लामो ऐतिहासिक पृष्ठभूमि भएको समाजमा सांस्कृतिक विविधता स्वाभाविक रूपमा पाइन्छ । विभिन्न जातजातिका परम्परा, रीतिरिवाज, लवाईखवाई, मूल्य-मान्यता, धर्म तथा सांस्कृतिक क्रियाकलापमा विविधता रहेको हुन्छ ।

नेपाल आफैँमा विविधतायुक्त देश हो । नेपालमा सयभन्दा बढी जातजाति र भाषाभाषी तथा विभिन्न धर्म र संस्कृतिका समुदायको बसोबास रहेको छ । भौगोलिक विविधतासँगै यहाँ सामाजिक र सांस्कृतिक विविधता पनि विद्यमान छ । यस विविधताभित्र अनेकौँ सौन्दर्य लुकेको छ ।

“विविधतामा एकता नेपाली समाजको महत्त्वपूर्ण विशेषता हो ।”

विविधताको सौन्दर्यलाई राष्ट्रिय भावनामा रूपान्तरण गर्न सकेमा मात्र यसले सकारात्मक परिणाम दिन सक्छ । त्यसैले विविधताको उचित व्यवस्थापन आजको महत्त्वपूर्ण आवश्यकता हो । सामाजिक विविधता नेपालको मौलिक राष्ट्रिय पहिचान हो ।

नागरिकबीच प्रेम, सद्भाव, स्नेह तथा साझा स्वार्थको भावना राष्ट्रिय एकताको प्रतिबिम्ब हो । सबै नागरिकमा यस्तो भावनाको विकास हुनु आवश्यक छ । विभिन्न वर्ग र समुदायमा रहेको राष्ट्रियताप्रतिको संवेगात्मक भावनाले सामाजिक न्याय तथा राष्ट्रिय एकतालाई बलियो बनाउँछ ।

राज्य संयन्त्र तथा शासकीय प्रक्रियामा सबै वर्ग र समूहले आफ्नो क्षमता र सम्भावनाअनुसार भूमिका निर्वाह गर्ने अवसर पाउनुपर्छ । यस्तो अवसर प्रदान गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो । राज्यका नीति तथा कानुनहरूले पनि सबै समुदायको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न सहयोग गर्नुपर्छ ।

विविधताको उचित व्यवस्थापनबाट एकातिर राष्ट्रिय सहिष्णुता कायम हुन्छ भने अर्कोतिर समाजमा विद्यमान आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक विभेद अन्त्य गर्न सहयोग पुग्छ । यसले सबै वर्ग, समूह र क्षेत्रको अधिकारको सम्मान गर्न मद्दत गर्छ ।

विविधता व्यवस्थापनले सामाजिक तथा सांस्कृतिक सद्भाव कायम गर्नुका साथै आर्थिक र शैक्षिक विकासका दृष्टिले पछाडि परेका वर्गको पहुँच, पहिचान, प्रतिनिधित्व, सक्षमता, अस्तित्व तथा स्थायित्व अभिवृद्धिमा जोड दिन्छ । सामाजिक समावेशीकरण विविधता व्यवस्थापनको प्रमुख आधार हो ।

त्यसैले देशका सबै वर्ग, समूह, समुदाय तथा सम्प्रदायबीच सम्मान, सहकार्य, सामाजिक सद्भाव र सहिष्णुताको संस्कृति विकास गर्नु आवश्यक छ । यसरी व्यवस्थापन गरिएको सामाजिक विविधता नेपालको शक्ति, सौन्दर्य र राष्ट्रिय पहिचान बन्न सक्छ ।

प्रदेश नं. १ का कुनै तीनओटा सांस्कृतिक विशेषताहरू उल्लेख गर्नुहोस् ।

उत्तरः

जातीय तथा धार्मिक विविधता

यस प्रदेशमा थारू, मुसलमान, मेचे, कोचे, धिमाल, यादव, राजवंशी, ताजपुरिया, दलित आदि विभिन्न जातजातिको बसोबास रहेको छ । हिन्दू धर्मावलम्बीको बाहुल्य रहे पनि किरात, बौद्ध, इस्लाम, इसाई तथा प्रकृति धर्मावलम्बीहरू पनि रहेका छन् ।

भाषिक विविधता

यस प्रदेशमा नेपाली भाषासँगै मैथिली, लिम्बु, थारु, मगर, बान्तवा, उर्दु, राजवंशी, गुरुङ, लेप्चा, धिमाल, मेचे आदि भाषाहरू बोलिन्छन् ।

चाडपर्व तथा धार्मिक स्थल

यस प्रदेशमा भलोसार, उँधौली, उभौली, दशैँ, तिहार, सिरुवालगायत चाडपर्व मनाइन्छन् । पाथिभरा, हलेसी, बराहक्षेत्र, लारुम्बा र बुढासुब्बा यहाँका प्रमुख धार्मिक स्थलहरू हुन् ।

यस प्रदेशमा रहेका किरात समुदायमा प्रकृति पूजाको विशेष महत्त्व रहेको पाइन्छ । यसरी प्रदेश नं. १ सामाजिक तथा सांस्कृतिक रूपमा विविधतायुक्त छ ।

गण्डकी प्रदेशका मुख्य मुख्य धार्मिक स्थलहरूको नाम लेखी छोटकरीमा व्याख्या समेत गर्नुहोस् ।

उत्तरः

गण्डकी प्रदेशका मुख्य धार्मिक स्थलहरू निम्नानुसार छन् :

मनकामना

मनकामना गोरखा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल हो । मनको कामना पूरा हुन्छ भन्ने धार्मिक आस्थाका कारण देशभरबाट तीर्थालुहरू मनकामना दर्शन गर्न जाने गर्छन् ।

मुक्तिनाथ

मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हो । यो मुस्ताङ जिल्लामा समुद्री सतहबाट करिब ३,७१० मिटरको उचाइमा अवस्थित छ । धार्मिक मान्यताअनुसार यहाँ दर्शन गर्दा मुक्ति प्राप्त हुने विश्वास रहेको छ ।

विन्ध्यवासिनी

विन्ध्यवासिनी मन्दिर पोखरा सहरमा रहेको प्रसिद्ध तथा पुरानो हिन्दू मन्दिर हो । यहाँ स्थानीयवासीका साथै देशका विभिन्न ठाउँबाट तथा विदेशबाट समेत दर्शनार्थी आउने गर्छन् ।

बागलुङ कालिका

बागलुङ कालिका भगवती मन्दिर नेपालको प्रसिद्ध शक्तिपीठमध्ये एक हो । यहाँ नेपालका विभिन्न स्थानका साथै छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गर्छन् । कालिका भगवतीप्रति श्रद्धा र विश्वास राखी पूजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play