बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
उत्तर
स्वप्नभूमि : सोप्नभुमि
भाङ्ग्रा : भाङ्ग्रा
बुद्ध : बुद्ध
ज्ञान : ग्यान्
प्रकृति : प्रक्रिति
स्वर्णिम : स्वर्निम्
२. ‘सारङ्गीमा देश’ कविता गति, यति, लय मिलाई वाचन गर्नुहोस् ।
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) ‘सारङ्गीमा देश’ कविता जम्मा कति पङ्क्तिमा रचना भएको छ ?
उत्तर
‘सारङ्गीमा देश’ कविता जम्मा छब्बिस पङ्क्तिमा रचना भएको छ ।
(ख) कविताको ‘जन्मे यहीँ बुद्ध अनि भृकुटी र सीता’ पङ्क्तिमा कति अक्षर छन् ?
उत्तर
कविताको ‘जन्मे यहीं बुद्ध अनि भृकुटी र सीता’ पङ्क्तिमा चौध अक्षर छन् ।
(ग) कवितामा बक्खु भाङ्ग्राको प्रसङ्ग कतिऔं श्लोकमा आएको छ ?
उत्तर
कवितामा बक्खु भाङ्ग्राको प्रसङ्ग तेस्रो श्लोकमा आएको छ ।
(घ) कवितामा ‘गाउँदै आयो यो नेपाली सारङ्गीमा देश’ भन्ने पङ्क्ति कति पटक आएको छ ?
उत्तर
कवितामा ‘गाउँदै आयो यो नेपाली सारङ्गीमा देश’ भन्ने पङ्क्ति पाँच पटक आएको छ ।
(ङ) अनुप्रास मिलाउन पङ्क्तिको अन्त्यमा दिइएका देश मधेस, बाँच्छ हाँस्छ जस्तै गरी अरू तीन जोडी शब्द पाठबाट खोजेर भन्नुहोस् ।
उत्तर
भेष देश, सीता गीता, काखा पाखा
४. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) तराईले हिमाललाई न्यानो दिन्छ किन भनिएको हो ?
उत्तर
हिमालका मानिसलाई दुःख पर्दा तराईका मानिसले सहयोग गर्ने भएकाले तराईले हिमाललाई न्यानो दिन्छ भनिएको हो ।
(ख) यस कवितांशमा पिरतीको दियो कुन अर्थमा आएको छ ?
उत्तर
यस कवितांशमा पिरतीको दियो आफू जलेर अरूलाई उज्यालो दिने अर्थमा आएको छ ।
(ग) मधेसका लागि पङ्खाको काम केले गरेको छ ?
उत्तर
मधेशका लागि पङ्खाको काम भिरपाखाले गरेको छ ।
५. दिइएका कवितांशलाई गद्यमा रूपान्तर गर्नुहोस् :
नलागोस् है कसैको नि भावनामा ठेस
गाउँदै आयो यो नेपाली सारङ्गीमा देश ।
उत्तर
कसैको पनि भावनामा ठेस नलागोस् है । यो नेपाली सारङ्गीमा देश गाउँदै आयो ।
प्रकृतिको सम्झाउँछ अमर गौरव गाथा
संसारकै शिरपोस हाम्रो सगरमाथा ।
उत्तर
प्रकृतिले अमर गौरव गाथा सम्झाउँछ । हाम्रो सगरमाथा संसारकै शिरपोस हो ।
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) सबै नेपालीको भावनालाई सम्मान गर्न के के गर्नुपर्छ ?
उत्तर
हिमाल, पहाड र तराईका बिचमा समभाव कायम हुनुपर्छ । सबै भाषा र भेषलाई आफ्नै ठान्नुपर्छ । तीन कोटी | नेपालीले स्वाभिमानलाई मियो मानेर सबैको लागि काम गर्नुपर्छ । दियोले झैँ पिरतीको उज्यालो छर्नुपर्छ । यसरी | विविधतामा एकताको भावना भएमा सबै नेपालीको भावनालाई सम्मान गर्न सकिन्छ ।
(ख) ‘पौरखीका पसिनाको सुवासमा नाँच्छ’ भन्नुको आशय के हो ?
उत्तर
‘पौरखीका पसिनाको सुवासमा नाँच्छ’ भन्नुको आशय नेपालीहरू पौरखी हुने, परिश्रम गर्ने र आफ्नै परिश्रममा रमाउने स्वभावका हुन्छन् भन्ने हो ।
(ग) कवितामा नेपालका कस्ता कस्ता सांस्कृतिक विशेषता उल्लेख गरिएको छ ?
उत्तर
सारङ्गीमा देशको कथाव्यथा बोल्ने सन्दर्भबाट विभिन्न नेपाली लोकबाजाको संरक्षणको सङ्केत गरिएको छ । त्यस्तै बक्खु, भाङ्ग्रा, धोती लगायतका विभिन्न नेपाली भेषभुषाको चर्चा कवितामा गरिएको छ । यसरी विभिन्न | किसिमका सांस्कृतिक विशेषता कवितामा उल्लेख गरिएका छन् ।
७. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) उत्तर दिनुहोस् :
(अ) नेपाली विश्वभर कुन नामले चिनिन्छन् ?
उत्तर
नेपाली विश्वभर सगरमाथाको देशका नागरिक नामले चिनिन्छन् ।
(आ) कुन कुन ठाउँबाट सगरमाथाको आधार शिविरसम्म पुग्न सकिन्छ ?
उत्तर
दोलखाको जिरी, सोलुखुम्बुको सल्लेरी र काठमाडौँबाट सोझै लुक्ला उडानबाट सगरमाथाको आधार शिविरसम्म पुग्न सकिन्छ ।
(इ) आधार शिविरसम्मको यात्रालाई थप रोचक बनाउने कुरा के के हुन् ?
उत्तर
आधार शिविरसम्मको यात्रालाई थप रोचक बनाउने कुराहरू शेर्पा संस्कृति, हिम झरनाको दृश्य, ऐतिहासिक बौद्ध गुम्बाको दर्शन र हिम नदीको मनोरम दृश्य हुन् ।
(ई) सगरमाथालाई धर्तीको स्वर्ग किन भनिएको होला ?
उत्तर
सुन्दरताले भरिपूर्ण रहेको तर पुग्न कठिन भएकाले सगरमाथालाई धर्तीको स्वर्ग भनिएको होला ।
(ख) भाषा संरचना पहिचान गर्नुहोस् :
(अ) अनुच्छेदका ‘स्वर्ग’ र ‘सपना’ शब्दका विपरीतार्थी शब्द लेख्नुहोस् ।
उत्तर
स्वर्ग : नर्ग, सपना विपना
(आ) अनुच्छेदबाट ‘हजारौं पदयात्री हरेक वर्ष त्यहाँ पुग्छन् ।’ वाक्यलाई इच्छार्थक वाक्य बनाई लेख्नुहोस् ।
उत्तर
हजारौँ पदयात्री हरेक वर्ष त्यहाँ पुगुन् ।
(इ) ‘धेरैले सर्वोच्च शिखर सगरमाथा चढ्ने सपना देखेका हुन्छन् ।’ वाक्यलाई सम्भावनार्थ वाक्य बनाई लेख्नुहोस् ।
उत्तर
धेरैले सर्वोच्च शिखर सगरमाथा चढ्ने सपना देखेका होलान् ।
(ई) अनुच्छेदबाट दुई दुईओटा हलन्त र अजन्त क्रियापद पहिचान गरी लेख्नुहोस् ।
उत्तर
हलन्त क्रियापद : राख्छन्, डुब्छन् / अजन्त क्रियापद : छैन, सकिन्छ
८. दिइएको कविताशंको व्याख्या गर्नुहोस् :
ज्ञानभूमि, तपोभूमि, स्वप्नभूमि यही
गर्वसाथ गाउने गर्छ, जय धर्ती माता !
उत्तर
प्रस्तुत कवितांश ‘सारङ्गीमा देश’ शीर्षकको कविताबाट साभार गरिएको हो । यस कविताका कवि धीरेन्द्र प्रेमर्षि (वि.सं. २०२३) हुन् । कवितांशमा कविले नेपाललाई पावन भूमिका रूपमा चर्चा गरेका छन् ।
नेपाल पौराणिक कालदेखि नै अस्तित्वमा रहेको पवित्र भूमि हो । गौतम बुद्ध, सीता, जनक जस्ता महान् व्यक्तित्वको जन्मथलोका रूपमा नेपाल रहेको छ । ऋषिमुनिहरूले तप गर्ने तपोभूमि हो नेपाल । ज्ञानीहरूको लागि ज्ञानभूमि हो नेपाल । प्राकृतिक रूपमा सुन्दर र विविधता भएको स्वप्नदर्शीहरूको स्वप्नभूमि हो नेपाल ।हामी धर्तीलाई माताका रूपमा लिन्छौं । माताको रूपमा पूजा गछौं । तसर्थ धर्तीको महिमाको प्रशंसा गर्दै जय धर्ती माता गर्वले गाउने गछौँ । यसको रक्षाका लागि ज्यान अर्पण गर्न तयार हुन्छौं भन्ने कुरा माथिको कवितांशमा कविले स्पष्ट पारेका छन् ।
यसप्रकार सरल भाषाशैलीका माध्यमबाट राष्ट्रवादी चेतना जागृत गराउन लोकछन्दअन्तर्गतको सवाई छन्दमा संरचित माथिको कवितांशले नेपाललाई पौराणिक पावन भूमिका रूपमा स्पष्ट पारेको छ । साथै ज्ञानभूमि, तपोभूमि र स्वप्नभूमि नेपालप्रति हामी सबै नेपालीले गर्व गर्न सक्नुपर्ने सन्देशसमेत दिएको छ ।
९. दिइएका बुँदालाई आधार मानी कविताको मूलभाव लेख्नुहोस् :
(क) सारङ्गीमा सारा नेपालीका कथाव्यथा अभिव्यक्त
(ख) हिमाल, पहाड र तराईप्रतिको समभाव
(ग) राष्ट्र र राष्ट्रियता सबैभन्दा प्यारो हुन्छ भन्ने धारणा
(घ) प्राकृतिक सुन्दरताले भरिपूर्ण पावन भूमिको महिमा गान
(ङ) विविधतामा एकता राखी समृद्धितर्फ उन्मुख हुनुपर्ने विचार
१०. ‘सारङ्गीमा देश’ कवितामा रहेका विषयवस्तुबारे कक्षामा छलफल गर्नुहोस् ।
उत्तर : प्रश्न नं. ९ र १० को उत्तर कविताको विश्लेषणका क्रममा आएको छ । त्यहीँबाट लेख्न अनुरोध छ ।
भाषिक संरचना र वर्णविन्यास
१. दिइएको अनुच्छेद पढी रेखाङ्कित क्रियापदको भाव पहिचान गर्नुहोस् :
उत्तर
अञ्जनादेवी घर जान्छिन् । (सामान्यार्थ)
घर पुग्नासाथ आमाले नानी पढ र खाना खाऊ भन्नुहुन्छ । (सामान्यार्य)
उनी खाना खान्छिन् र पढ्न थाल्छिन् । (सामान्यार्थ)
उनी मिहिनेती छिन् । उनको परीक्षा चल्दै छ । (सामान्यार्थ)
उनको परीक्षा राम्रो होओस् । (इच्छार्थ)
उनी परीक्षामा सफल होउन् । (इच्छार्थ)
परीक्षामा सफल भएपछि उनले जागिर पाउलिन् । (सम्भावनार्थ)
उनले जागिरमा राम्रो गर्लिन् । (सम्भावनार्थ)
उनको बढुवा होला । (सम्भावनार्थ)
उनको बढुवा भए राम्रो हुन्थ्यो । (सङ्केतार्थ)
उनी जस्ता इमानदारलाई जागिर दिए जनताले सेवा पाउँथे । (सङ्केतार्थ)
२. दिइएका वाक्यलाई सङ्केतका आधारमा परिवर्तन गर्नुहोस् :
(क) अञ्जना भात खाली । (खा : सम्भावनार्थ)
(ख) तिमीहरू रसुवा जाओ । (जा : आज्ञार्थ)
(ग) ऊ मुस्ताङ भ्रमणबाट फर्कोस् । (फर्क : इच्छार्थ)
(घ) रमेश राम्ररी पढे सफल हुन्छ । (पढ् : सङ्केतार्थ)
(ङ) दाइ, एक किलो चिउरा दिनुहोस् । (दि : आज्ञार्थ)
(च) हामी सबै फुटबल खेलौं । (खेल् : इच्छार्थ)
(छ) उनीहरू कक्षाभित्र आउलान् । (आउ : सम्भावनार्थ)
३. कवितामा प्रयुक्त पाँचओटा सामान्यार्थक क्रियापद टिपी इच्छार्थकमा बदल्नुहोस् ।
उत्तर
आयो : आओस्, हाँस्छ : हाँसोस्, बाँच्छ : बाँचोस्, नाच्छ : नाचोस्, बस्छन् : बसुन्
४. आज्ञार्थक क्रियाको प्रयोग गरी साथीलाई पढाइमा लगनशील भएर लाग्न सल्लाह दिनुहोस् ।
उत्तर
जीवनमा शिक्षाको उपयोगिता धेरै भएकाले साथी तिमी राम्ररी पढ । पढाइमा मिहिनेती र लगनशील बन ।विद्यालय नियमित जाऊ । गुरुले भनेको मान र सोहीअनुसार गर । अनुशासनलाई उच्च प्राथमिकता देऊ । पढाइसँगै काममा पनि ध्यान लगाऊ । जिन्दगीमा सफल बन ।
५. ‘क’ र ‘ख’ समूहका वाक्य पढ्नुहोस् र त्यसबारे साथीसँग छलफल गर्नुहोस् :
(क) काम गर्छ ऊ ।
(क) ऊ काम गर्छ ।
(ख) राधेश्याम भेट्छ भाइलाई ।
(ख) राधेश्याम भाइलाई भेट्छ ।
(ग) जुनिता राईले दिइन् उपहार प्रेमलाई ।
(ग) जुनिता राईले प्रेमलाई उपहार दिइन् ।
(घ) खेलाडी हुन् उमाकान्त ।
(घ) उमाकान्त खेलाडी हुन् ।
(ङ) उसलाई टोल प्रमुख बनायौँ हामीले ।
(ङ) हामीले उसलाई टोलप्रमुख बनायौँ ।
(च) भैंसीको शुद्ध दुध पाइन्छ यहाँ
(च) यहाँ भैंसीको शुद्ध दुध पाइन्छ ।
६. दिइएका वाक्यलाई पदक्रम मिलाएर लेख्नुहोस् :
उत्तर
(क) सानैदेखिको साथीलाई भेट्यो उसले ।
उसले सानैदेखिको साथीलाई भेट्यो ।
(ख) अद्यावधिक हुँदै गए मान्छे – ज्ञानको कारण –
ज्ञानको कारण मान्छे अद्यावधिक हुँदै गए ।
(ग) चिसो बढेर निस्किन पनि सकिएन आज बिहान । –
आज बिहान चिसो बढेर निस्किन पनि सकिएन ।
(घ) बन्नुपर्छ सबै हामी कर्मशील सधैँभरी । हामी सबै सधैँभरि – – कर्मशील बन्नुपर्छ ।
(ङ) प्राकृतिक सौन्दर्यका दृष्टिले धनी छ नेपाल ।
नेपाल प्राकृतिक सौन्दर्यका दृष्टिले धनी छ ।
७. दिइएका कविताका अंश पढ्नुहोस् र पदक्रम मिलाई गद्यमा लेख्नुहोस् :
हिमाललाई न्यानो दिन्छ तराईको काखा
मधेसको पङ्खा बनी बस्छन् भिरपाखा ।
उत्तर
तराईको काखा हिमाललाई न्यानो दिन्छ ।
भिरपाखा मधेशको पङ्खा बनी बस्छन् ।
नलागोस् है कसैको नि भावनामा ठेस
गाउँदै आयो यो नेपाली सारङ्गीमा देश ।
उत्तर
कसैको पनि भावनामा ठेस नलागोस् । यो नेपाली सारङ्गीमा देश गाउँदै आयो ।
९. कक्षामा छलफल गरी लेखनमा अजन्त र उच्चारणमा हलन्त हुने कुनै दशओटा शब्द टिप्नुहोस् ।
उत्तर
भात, इमान, मिजास, मिलन, बिछोड, घर, सगर, सागर, ठोस, जटिल
Discussion
Share a helpful question, idea, or explanation with other students.