करेसाबारी
निबन्ध • अभ्यास समाधान
शब्दभण्डार
१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
२. दिइएका विभिन्न क्षेत्रमा प्रयोग हुने प्राविधिक तथा पारिभाषिक शब्द पढ्नुहोस् र तिनका अर्थबारे छलफल गर्नुहोस् :
अधिवक्ता : कानुन विशेषज्ञ, अधिकृत तहको कानुन व्यवसायी
मुचुल्का : सरजमिनका मानिसहरूले लेखिदिएको बयानको कागज
वारेस : मुद्दामामिलामा कुनै पक्षका तर्फबाट कार्य गर्ने अधिकृत व्यक्ति
तारिख : अड्डाअदालतबाट झगडिया वा निजको वारिसलाई हाजिर हुन आउनू भनी लेखिदिएको मिति
बिगो : कसैले अनुचित किसिमले लिएको धनमाल वा सो धनमालमा दाबी गरिएको निश्चित रकम
जमानत : मुद्दामामिलामा मुछिएको व्यक्तिलाई चाहेको बेला उपस्थित गराउने सर्तमा सम्बन्धित अड्डामा धनधरौटी राखी वा व्यक्ति नै जमानी बसी छुटाउने काम ।
दर्ता : चिठी, कागजात आदि दर्ताकिताबम चढाउने काम, सङ्घ, संस्था, पत्रपत्रिका आदि रजिस्ट्रेसन वा पञ्जीकृत गर्नेगराउने काम
चलानी : चलान गरिएको, चलान गरेको व्यक्ति, वस्तु आदिको विवरण पत्र
टिप्पणी : कुनै कार्यका बारेमा प्रकट गरिने सङ्क्षिप्त विचार, कुनै निवेदनबारे सकारात्मक वा नकारात्मक प्रतिक्रिया लेख्ने आफ्नो ठहरसहित माथिल्लो तहमा स्वीकृतिका लागि पेस गरिने सङ्क्षिप्त लेख
सरुवा : कर्मचारीहरू एक मन्त्रालय, विभाग वा कार्यालयबाट अर्को मन्त्रालय, विभाग वा कार्यालयमा सर्ने काम
बढुवा : तल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम, पदोन्नति
परिपत्र : विचार, सूचना, जानकारी आदिका निम्ति सम्बन्धित धेरै व्यक्ति, संस्था, अङ्ग वा विभागलाई एकै व्यहोरामा पठाइने आधिकारिक पत्र, सर्कुलर ।
आयव्यय : आम्दानी र खर्च
राजस्व : मालपोत, भन्सारमहसुल, विभिन्न कर वा शुल्क आदिका रूपमा राज्यलाई प्राप्त हुने धन
भौचर : बैङ्कमा पैसा जम्मा गर्दा खातावालको विवरण भरिने कागज
बेरुजु : आर्थिक कारोबार हेर्दा वा जाँच्ता लेखापरीक्षणले दर्साएको अनियमित कलम
निकासी : कुनै वस्तु स्वदेशबाट विदेश पठाउने काम
फर्सोट : लेनदेन वा खरिदबिक्रीसम्बन्धी हरहिसाब चुक्ता गर्ने काम ।
ऊर्जा : शक्ति, बल
संवहन : दायित्व लिने काम, बोक्ने काम
तापक्रम : तापको परिमाण, तातोपन घटीबढी हुने क्रम
यौगिक : दुई वा दुई बढी गुण, तत्त्व आदि मिश्रित भएर बनेको वस्तु
विकिरण : छरिएका धेरै किरणलाई एकै ठाउँमा समेटेर केन्द्रित गर्ने काम
जीवाणु : सूक्ष्मदर्शक यन्त्रबाट मात्र देख्न सकिने तर सर्वत्र व्याप्त, हरितकणरहित साधारण कोषकेन्द्र मात्र हुने एककोषीय वा बहुकोषीय जीव, अनेक प्रकारका रोग उत्पन्न जीवनशक्तियुक्त कीटाण ।
कटानी : कटनी, फँडानी
फंडानी : फाँड्ने काम, जङ्गलका रुख, बुटेन, झाडी आदि काट्ने काम
वृक्षरोपण : विभिन्न किसिमका बोटबिरुवा लगाउने वा रोप्ने काम
निकुञ्ज : बोटबिरुवा, जनावर आदि वन्य सम्पदाको सुरक्षाका उद्देश्यले निर्माण गरिएको स्थल
आरक्ष : वन्यजन्तुको सुरक्षा र रुख, बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई चारैतिरबाट घेर्ने काम
टाँचा : कटानी गर्ने अनुमति पाएका रुखमा लगाइने सरकारी छाप, त्यस्ता रुखमा खोपिने चिहृन
परीक्षा : योग्यता, विशेषता, सामर्थ्य, गुण आदिको स्तर निर्णय गर्नका लागि ठिकसित पारख गर्ने काम, जाँच गर्ने काम
मूल्याङ्कन : परीक्षार्थीहरूको उत्तरपत्र वा प्रयोगात्मक परीक्षाको अङ्कद्वारा स्तर तय गर्ने काम
छात्रवृत्ति : अध्ययनअवस्थामा जीवननिर्वाहका निम्ति विद्यार्थीलाई निश्चित समयसम्मका लागि दिइने रकम
पाठ्यक्रम : पढाउनका निम्ति तोकिएको विषय र त्यसको पूर्वापरक्रम
पृष्ठपोषण : कुनै कामकुरामा पछाडि बसेर सहायता पुऱ्याउने काम वा प्रवृत्ति, सहयोग, मदत
रस : साहित्यमा विभाव, अनुभाव र सञ्चारीभावका संयोगबाट प्रस्फुरण हुने शृङ्गार, वीर, करुण लगायतका अनुभूतिगत नवरस
छन्द : यति, गति र लय मिलेको वर्ण, मात्रा आदिको गणनाअनुसार पद्यात्मक रचना गरिने कुनै निश्चित मान वा रूप, त्यसरी गठन हुने विभिन्न किसिमका विशिष्ट वाक्य
अलङ्कार : अर्थगत वा शाब्दिक -चमत्कारबाट साहित्यलाई सिँगार्ने तत्त्व भएको, साहित्यशास्त्रको एक अङ्ग विधा,
वाद : कुनै विशिष्ट कुराको मत वा सिद्धान्त, जस्तै : प्रगतिवाद, समाजवाद आदि
दृष्टिबिन्दु : कथनढाँचा
प्रसारण : समाचार वा सन्देशलाई कुनै आकाशवाणी, रेडियो आदि कुनै साधनबाट कतै पठाउने कार्य
परिसंवाद : दुई वा दुईभन्दा बढी व्यक्ति, वक्ता वा विद्वानहरूका बिचमा कुनै कुरा, विषय आदिबारे प्राय: खास खास अवसरमा हुने तर्कसङ्गत वादविवाद, कुराकानी
इमेल : विद्युतीय माध्यमबाट गरिने पत्राचार
सम्पादकीय : समाचारपत्र आदिमा समसामयिक विषयमा सम्पादकका तर्फबाट लेखिएको विशेष प्रकारको लेख
दूरसञ्चार : धेरै टाढा टाढासम्म समाचार, सूचना आदि आदानप्रदान गर्ने
समाचारपत्र : अखबार
३. ‘करेसाबारी’ निबन्धबाट कृषि क्षेत्रमा प्रयोग हुने पाँचओटा पारिभाषिक तथा प्राविधिक शब्द टिपी वाक्यमा प्रयोग गर्नुहोस् ।
४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्धसँग उच्चारण गर्नुहोस् :
२. ‘करेसाबारी’ निबन्धका अनुच्छेद पालैपालो शिक्षकले तोकेको समयभित्र सस्वरवाचन गर्नुहोस् ।
३. निबन्धको पहिलो अनुच्छेद श्रुतिलेखन गर्नुहोस् । (श्रुतिलेखन : सुनेर लेख्ने काम)
४. ‘करेसाबारी’ निबन्ध पढी निबन्धको संरचनाका बारेमा निम्नलिखित प्रश्नको उत्तर भन्नुहोस् :
५. तल दिइएको निबन्धको अंश शिक्षकले तोकेको समयका आधारमा द्रुत पठन गरी सोधिएको प्रश्नको उत्तर भन्नुहोस् :
६. तल दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
करेसाबारीमा तरकारीको अभाव हुन नदिन मौसमअनुसारका विभिन्न किसिमका तरकारी बाली लगाउनु आवश्यक हुन्छ । विभिन्न किसिमका तरकारी बाली लगाउँदा कहिले तरकारी नै नहुने, कहिले तरकारी बढी हुने समस्या आउँदैन । करेसाबारीमा रोपिने तरकारी एक थरी सिधै रोपिने र अर्का थरी नर्सरीमा बेर्ना तयार पारी रोपिने खालका हुन्छन् । सिधै लगाउन सकिने बालीमा बोडी, केराउ, मुला, गाजर, मेथी, पालुङ्गो, चम्सुर आदि हुन् । करेसाबारीमा रोप्ने बेर्ना तयार पार्न नर्सरीमा मौसमअनुसारको तरकारीका बिउबिजन रोप्नुपर्छ । बन्दा, काउली, गोलभेंडा, भन्टा, खुर्सानी, प्याज, रायो जस्ता तरकारीका बेर्ना नर्सरीमा तयार भएपछि करेसाबारीमा ल्याएर रोप्नुपर्छ । यसरी मौसमअनुसार विविध किसिमका बाली व्यवस्थापनको पक्ष नै बाली विविधता हो ।
नेपाली भान्साबाट आयातित, रासायनिक मल तथा कीटनाशक औषधीयुक्त तरकारी प्रवेशलाई रोक लगाउने र हरेक भान्सामा शुद्ध, ताजा अर्गानिक तरकारी पाक्ने अवस्था सिर्जना गर्न सकियोस् भन्ने उद्देश्यले सङ्कलित एवम् सम्पादित यस करेसाबारी शीर्षकको निबन्धमा करेसाबारी व्यवस्थापन, मौसमी तरकारी बालीको छनौट, वनस्पतिजन्य विषादी निर्माण तथा प्रयोग, कम्पोस्ट मलको निर्माण जस्ता विषयवस्तुको चर्चा गरिएको छ ।
करेसाबारी तरकारी खेती गर्दा जमिनको व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । करेसाबारीका लागि छुट्याइएको जमिनमा पर्खाल वा बाँसले बारबन्देज गर्नुपर्दछ । निश्चित स्थानमा कम्पोस्ट मलका लागि खाल्डो खन्ने, नर्सरीका लागि पारिलो वा घाम लाग्ने ठाउँ छुट्याउने, ससाना सुर्का बनाउने, सुर्काबिचमा बाटो राख्ने आदि गर्नु पर्दछ । करेसाबारीको छेउकुना वा बारबन्देज गरेको ठाउँमा लहरे बाली लगाउने, सुर्काका आलीमा जरे बाली लगाउने गर्न सकिन्छ ।
कृषि प्रधान मुलुक नेपाल र नेपालीका हरेक घरका भान्सा आयातित तथा रासायनिक एवम् कीटनाशक औषधी प्रयोग भएका तरकारीले प्रश्रय पाउँदा एकातिर मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने र अर्कोतर्फ भान्साको बढ्दो खर्चलाई कटौति गर्ने उद्देश्यले नेपाली पाठ्यपुस्तकका सम्पादक तथा सङ्कलकहरूद्वारा सम्पादित यस निबन्धमा करेसाबारीको प्रयोग, वानस्पतिक विषादीको निर्माण, बाली विविधता आदिको चर्चा गरिएको छ । करेसाबारी तरकारी खेतीलाई मानव स्वास्थ्य अनुकूल बनाउन यसमा प्रयोग हुने मल र विषादीको बारेमा सजग र सचेत हुनु पर्दछ । करेसाबारीमा स्थानीय वातावरण र प्रविधिको प्रयोग गरी बनाइने कम्पोस्ट मल र विषादीको प्रयोग गर्नु पर्दछ ।
करेसाबारीमा प्रयोग गरिने वानस्पतिक विषादीको निर्माण गर्दा तितो, टर्रो र कडा गन्ध आउने वनस्पतिलाई मलमुत्रमा राम्ररी कुहाएर गर्न सकिन्छ । स्थानीय वातावरणमा पाइने तितेपाती, निम, सिस्नु, मेवा, असुरो, धतुरो, बकाइनो, खिर्रो, बोझो, टिमुर, खुर्सानी, सिमली आदिका पात वा मुन्टा जम्मा पारेर मसिनो टुक्रा पारेर काटी कालो रङको ड्रममा दुईतिहाई हुने गरी राख्ने र बाँकी भागमा गहुँत राखेर भर्नु पर्छ । यसरी भरिएको ड्रमलाई मौसमअनुसार २५ देखि ३५ दिनसम्म घाम लाग्ने ठाउँमा बिर्को राम्ररी बन्द गरेर राख्नु पर्छ । ड्रमभित्र राम्ररी कुहिएर तयार भएको झोललाई छानेर बिरुवाको प्रकृतिअनुसार पानीमा मिसाई करेसाबारीमा प्रयोग गर्न सकिन्छ । ठुलो बिरुवाका लागि एक भाग विषादीमा छ भाग पानी र ससाना बिरुवाका लागि एक भाग विषादीमा १० भाग पानी मिसाएर प्रयोग गर्नु पर्छ ।
७. दिएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) उत्तर दिनुहोस् :
(ख) भाषा संरचना पहिचान गर्नुहोस् :
८. व्याख्या गर्नुहोस् :
प्रस्तुत गद्यांश कक्षा ९ को नेपाली पाठ्यपुस्तक अन्तर्गत पाठ तीनमा रहेको ‘करेसाबारी’ शीर्षकको निबन्ध बाट साभार गरिएको हो । यस निबन्धका निबन्धकार यसै पाठ्यपुस्तकका सम्पादकहरू हुन् । यस निबन्धका माध्यमबाट घर आसपासमा रहेको जग्गालाई व्यवस्थित गरेर कसरी सागसब्जी लगाई राम्रो उत्पादन गर्न सकिन्छ भन्ने शिक्षा दिन खोजिएको छ ।
घरवरिपरि घर बनाएर बचेको जमिनलाई करेसाबारी भनिन्छ । करेसाबारीको सदुपयोग गरेर राम्रो फाइदा लिनसकिन्छ । करेसाबारीमा तरकारी लगाएर हाम्रो दैनिकी छाक टार्न सकिन्छ । करेसाबारीमा पर्याप्त तरकारी उत्पादन भए बेचबिखन गरी आर्थिक लाभ लिन पनि सकिन्छ । घरमै फलाएका तरकारी खाँदा हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ । घरवरपर हरिया तरकारी फलाउँदा घरको सुन्दरता पनि बढ्छ । घरवरिपरि केही नभएर उजाड देखिनुभन्दा हरिया तरकारी फलेको दृश्य अत्यन्तै राम्रो देखिन्छ । घरवरपर हरियो भएको दृश्यले वातावरण पनि स्वच्छ राख्न मद्दत पुर्याउँछ । हरियो बोट विरुवाबाट प्रशस्त अक्सिजन प्राप्त हुने र कार्वनडाइअक्साइड कम हुने भएकाले स्वच्छ वातावरणका लागि हरियो तरकारी लगाउनु अति आवश्यक हुन्छ ।
पाठ तीनमा दिइएको उक्त ‘करेसाबारी’ शीर्षकको निबन्ध अति उपयोगी छ । यसमा करेसाबारी कसरी बनाउने देखि लिएर कस्ता तरकारी कहिले कहिले लगाउने भन्ने जानकारीसमेत दिएकाले यो पाठ उपयुक्त बन्न पुगेको छ ।
९. दिइएका प्रश्नको विवेचनात्मक उत्तर लेख्नुहोस् :
घरको वरिपरि गरिने खेतीलाई करेसाबारी खेती भनिन्छ । घर वरिपरिको खाली जग्गाको सदुपयोगका लागि यो खती गर्नुपर्दछ । करेसाबारीको खेतीबाट आफूलाई चाहिने तरकारी प्रशस्त मात्रामा उत्पादन गर्न सकिन्छ भने हामीलाई चाहिने स्वस्थ, ताजा र अर्गानिक तरकारी सेवनबाट हामी विभिन्न रोगबाट बच्न सक्छौँ ।
करेसाबारीमा तरकारी खेती गर्दा मलखाद प्रयोग, सिँचाइ र गोडमेलमा विशेष ध्यान दिनुपर्छ । माटाको उत्पादकत्व र लगाइने बालीको प्रकृतिअनुसार मलको प्रयोग गर्नुपर्छ । पात टिपेर खाने तरकारी रायो, स्विसचार्ड, पालुङ्गो, बन्दा, ब्रोकाउली आदिलाई नाइट्रोजनको बढी आवश्यकता पर्छ । त्यसै गरी फल खाने बालीहरू फर्सी, काँक्रो, खुर्सानी, टमाटर, भन्टा, खरबुजा आदिलाई फस्फोरसको बढी आवश्यकता पर्छ । कोसे तरकारीहरू बोडी, सिमी, केराउ, भटमास, बकुल्ला आदिलाई नाइट्रोजनको बढी आवश्यकता पर्छ ।
जरेबालीहरू मुला, गाजर, सलगम, आलु, लसुन, प्याज आदिलाई पोटासको आवश्यकता पर्छ । यसरी करेसाबारीमा तरकारीको प्रकृतिअनुसार मलखादको जोहो गर्नुपर्छ । तरकारी हरियो हुने र तिनमा पानीको मात्रा बढी हुनाले पानीबिना ती ओइलाउने र सुक्ने स्थिति आउँछ । त्यसै हुनाले बढी मात्रामा सिचाइको आवश्यकता पर्छ । सामान्यतया बिउ उम्रने बेला, बेर्ना सारेका बेला, मलखादको प्रयोग लगत्तै, गोडमेलपश्चात् डुकु आउने, फल्ने र दाना लाग्ने वेलामा बिरुवालाई पानी नभई हुँदैन । बेर्ना सारेपछि कम्तीमा एक हप्तामा नियमित रूपमा सिचाइको व्यवस्था हुनु जरुरी हुन्छ । करेसाबारीमा नियमित रूपमा गोडमेल गर्नुपर्छ । यसो गर्नाले लगाएको बाली फस्टाउनुका साथै झारपात उखेल्दा माटो खुकुलो पनि हुन्छ ।
यसरी खेती गर्दा प्रशस्त म हुन गई आफूलाई चाहिने तरकारी आफैँ उत्पादन गर्न सकिन्छ । पाठमा व्यक्त भएका कुराहरु उपयुक्त छन् । मलखाद प्र योग, सिँचाइ र गोडमेलका बारेमा पाठमा उपयुक्त तरिकाले सिकाइएको छ ।
घरले चर्चेको र आँगनले ओगटेर बाँकी रहेको जग्गालाई करेसो भनिन्छ भने करेसाबारी भनेको चाहिँ घरनजिकैको सानो जग्गामा विभिन्न प्रकारका तरकारी खेती गरिने बारी हो । वर्तमान समयमा करेसाबारीको उपयोगबाट बढ्दो महङ्गीमा तरकारी किन्ने खर्च बचत गर्दै आफ्नो स्वास्थ्यको पनि सुरक्षा गरी फाइदा लिन सकिन्छ ।
व्यावसायिक ढङ्गले गरिने खेतीबालीमा रासायनिक मल, कीटनाशक औषधी प्रयोग गरिने हुँदा खानेकुरामा प्रयोग गरिने यस्ता रसायन सोझै हाम्रो शरीरमा भित्रिन्छन् । क्यान्सर, मिर्गौला र मुटु रोग जस्ता समस्या देखिनुको मुख्य कारण विषाक्त सागसब्जीको उपयोग पनि हो । त्यसैले विषादीरहित तरकारी सेवन गरेर स्वस्थ हुन सब तरकारी खेती गर्नु जरुरी छ । भूगोल र मौसमअनुसार त्यस्ता बालीका विभिन्न प्रजाति करेसाबारीमा मिलाएर लगाउनुपर्छ । आफ्नै करेसाबारीमा ताजा, गुणस्तरीय र अर्गानिक तरकारी उत्पादन गरेर सजिलै पारिवारिक आवश्यकता पूरा गर्ने सकिन्छ ।
करेसाबारीमा तरकारी खेती गर्दा खाली जमिनको सदुपयोग हुन्छ । यस्तो खेती गर्दा घरबाट निस्कने फोहोर पानी र प्राङ्गारिक वस्तुको पुनः प्रयोग हुन गई वातावरणीय सन्तुलनमा सहयोग पुग्छ । यसबाट महँगो र विषादीयुक्त तरकारी किन्नु पर्ने अवस्थाबाट मुक्ति मिल्छ । आफ्नो मिहिनेत अनि पसिना मिसिएको स्वादिलो तरकारी खान पाइन्छ । यस्तो तरकारी खानुको स्वाद र मज्जा नै बेग्लै हुन्छ । त्यति मात्र होइन, करेसाबारीमा काम गर्दा व्यायाम, मनोरञ्जन र समयको समेत सदुपयोग हुन्छ । यसो गर्दा ताजा तरकारी उब्जाएर खान पाइने, तरकारी किन्ने खर्चको बचत हुने र बढी भएको तरकारी बिक्री गरेर आम्दानी लिन पनि सकिन्छ । अझ उत्पादन गरेका हरिया, ताजा र विषादीरहित तरकारी खाँदा विभिन्न रोगबाट बच्न सकिन्छ । यसरी करेसाबारीको उपयोगबाट फाइदा लिन सकिन्छ ।
१०. दिइएको सन्दर्भ पढ्नुहोस् र ‘करेसाबारी’ निबन्धको दोस्रो र तेस्रो अनुच्छेदबाट शीर्ष वाक्य पहिचान गरी लेख्नुहोस् ।
करेसाबारीका लागि जमिनको रेखाङ्कन र व्यवस्थापन कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।
करेसाबारीमा थोरै जग्गाबाट धेरै उत्पादन लिन प्रभावकारी रूपमा जमिनको व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।
११. ‘फूलबारी’ शीर्षकमा एउटा वर्णनात्मक अनुच्छेद तयार गर्नुहोस् ।
फूलबारी – फूल रोपिने वा फूल भएको बगैंचालाई नै फूलबारी भनिन्छ । सामान्यता घर वरिपरि वा घरनजिकै विभिन्न किसिमका फूलहरू रोपी सुन्दर बनाउने काम पहिलेदेखि नै प्रचलनमा रहेको छ । विभिन्न किसिमका मौसमी फूलहरू, सदावहार फूलहरू लगाउने नेपाली प्रचलन हो । यतिमात्र नभई चाडपर्वका लागि आवश्यक पर्ने फूल गाउँघरमा हरेक नेपालीले लगाउने गरेका छन् । सयपत्री, मखमली, गोदावरी, लालुपाते लगायतका विभिन्न फूलहरू रोपेर दैनिक आवश्यकता पूरा गर्ने अनि घर सुन्दर बनाउने प्रचलनका साथै अहिले यसको व्यावसायिक प्रयोजन पनि त्यतिकै बढ्दै गएको पाइन्छ । तसर्थ अब फूलबारी दैनिक आवश्यकता पूरा गर्ने मात्र माध्यम नभई आयआर्जनको गतिलो माध्यम बन्दै गएको छ । यसले सुन्दरता अभिवृद्धि गर्नुका सार्थ वातावरण सन्तुलनमा पनि उत्तिकै सहयोग गर्दछ ।
१२. ‘करेसाबारी’ निबन्धको पाँचौँ अनुच्छेदबाट चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् ।
पाँचौँ अनुच्छेदका चारओटा बुँदा :
(क) मौसमका आधारमा हिउँदे, बसन्ते र बर्खे गरी तरकारीलाई तीन भागमा वर्गीकरण
(ख) कात्तिकदेखि माघसम्म उत्पादन लिन सकिने तरकारी हिउँदे तरकारी
(ग) फागुनदेखि जेठसम्म उत्पादन लिन सकिने तरकारी बसन्ते तरकारी
(घ) असारदेखि भाद्रसम्म उत्पादन हुने बर्खे तरकारी
मौसमका आधारमा हिउँदे, बसन्ते र बर्खे गरी तरकारीलाई तीन भागमा वर्गीकरण गरिन्छ । कात्तिकदेखि माघसम्म उत्पादन लिन सकिने तरकारी हिउँदे तरकारी, फागुनदेखि जेठसम्म उत्पादन लिन सकिने तरकारी बसन्ते तरकारी र असारदेखि भाद्रसम्म उत्पादन हुने बर्खे तरकारी हो ।
पाँचौँ अनुच्छेदमा भएको जम्मा शब्द : १०१
सारांश अनुच्छेदमा भएको जम्मा शब्द : ३६
Discussion
Share a helpful question, idea, or explanation with other students.