Class 9 Nepali Chapter 1 Megh Bijuli Bibaha Notes | मेघ बिजुली विवाह

कक्षा ९ नेपाली • पाठ १

मेघ बिजुली विवाह

कविता • अभ्यास समाधान

शब्दभण्डार

१. तल दिइएका अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस्:

उत्तर
(क) विवाह, व्रतबन्ध आदि शुभकार्य गर्न जुरेको योग : लगन
(ख) नयाँ दुलही : नव बधू
(ग) नओइलाउने एक प्रकारको फूल : मखमली
(घ) असोज र कार्त्तिक महिनामा पर्ने ऋतु : शरद ऋतु

२. तल दिइएका शब्द र विपरित अर्थबिच जोडा मिलाउनुहोस्ः

उत्तर
रुचि : अरुचि
आय : व्यय
तरल : ठोस
सबल : दुर्बल
स्थूल : सूक्ष्म

३. तल दिइएका समान ध्वनियुक्त शब्दको अर्थ पहिचान गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस्ः

उत्तर
खाली : मेरो घरका सबै ग्याँसका सिलिन्डर खाली छन् ।
खालि : तिमी त खालि ल्याङ ल्याङ गर्छौ ।
फुल : हाँस र कुखुराको फुल बेचेरै रमेशले मनग्य आम्दानी गर्‍यो ।
फूल : बहिनीले पूजाका लागि ढकीभरि फूल टिपेर ल्याइन् ।
शव : हिजो भएको मोटर दुर्घटनामा शवहरू जतात्यतै लडिरहेका थिए ।
सब : मलाई हिसाब बाहेक सब विषय सजिलो लाग्छ ।
यश : हामीले जीवनमा राम्रो काम गरेर नाम, सम्मान र यश कमाउनु पर्छ ।
यस : मलाई रामले भनेको यस कुरा मन परेन ।
शीत : बिहानीको शीतमा टेकेर हिड्नाले स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।
सित : मोहनले झुटो बोल्न थालेदेखि म मोहनसित बोलेको पनि छैन ।

बोध र अभिव्यक्ति

१. तपाइँले तल दिइएका शब्दलाई कवितामा लेखाइअनुरूप नै उच्चारण गर्नुभयो । अब कविता पढ्दा उच्चारण गरेभन्दा भिन्न रूपमा उच्चारण गर्नुहोस्:

उत्तर
गगन : गगन्
लगन : लगन्
झिमझिम : झिम्झम्
दल : दल्
उपर : उपर्
गजब : गजब
मेघ : मेघ्
चमचम : चम्चम्
पटल : पटल्

३. तल दिइएका प्रश्नको उत्तर भन्नुहोस्:

(क) मेघ बिजुली विवाह कवितामा कतिओटा श्लोक छन् ?
उत्तर मेघ बिजुली विवाह कवितामा छओटा श्लोक छन् ।
(ख) कविताका हरेक श्लोकमा कतिओटा पाउ वा पङ्क्ति छन् ?
उत्तर कविताका हरेक श्लोकमा चारओटा पाउ वा पङ्क्ति छन् ।
(ग) कविताको कुन श्लोकमा छमछम बज्ने कल्लीको कुरा छ ?
उत्तर कविताको पाँचौँ श्लोकमा छमछम बज्ने कल्लीको कुरा छ।
(घ) कविताको तेस्रो श्लोकमा प्रकृतिका कुन कुन वस्तुलाई तन्ना र पगरीसँग तुलना गरिएको छ ?
उत्तर कविताको तेस्रो श्लोकमा पृथ्वीलाई तन्ना र हिमचुलीलाई पगरीसँग तुलना गरिएको छ ।

४. दिइएको कवितांश पढी तल सोधिएका प्रश्नको सङ्क्षिप्त उत्तर दिनुहोस्ः

सितारे घुम्टी हुन् चमचम निशाका जुनकिरी

भए ती इन्द्रेनी वसन बहरङगी फिरिफिरि

भयो रातो खास्टो रवि किरणले पश्चिम गिरि

निशाको त्यो कालो तम पटल भो नील कवरी ।।

(क) रातका जूनकिरी भन्नाले विवाहका सन्दर्भमा कुन कुरा बुझिन्छ ?
उत्तर रातका जूनकिरी भन्नाले विवाहका सन्दर्भमा दुलहीलाई ओडाइने सितारा जडित घुम्टी हो भन्ने कुरा बुझिन्छ ।
(ख) कवितामा इन्द्रेनीलाई कसरी चिनाइएको छ ?
उत्तर कवितामा इन्द्रेनीलाई दुलहीलाई पहिराउने आकर्षक रङ्गिन कपडा रूपमा चिनाइएको छ ।
(ग) विवाहमा दुलहीको रातो पछ्यौरीको काम केले गरेको छ ?
उत्तर विवाहमा दुलहीको रातो पछ्यौरीको काम अस्ताउनै लागेका रवि किरणले रातो देखिने पश्चिम गिरिले गरेको छ ।
(घ) तम पटल र नील कवरीले के कुरा बुझाएका छन् ?
उत्तर तम पटलले रात्रीको अँध्यारो, अन्धकार आवरण र नील कवरीले दुलहीको चुल्ठोलाई बुझाएका छन् ।

५. तल दिइएको प्रश्नको उत्तर लेख्नुहोस्:

(क) मेघ बिजुली विवाहको मण्डप र चंदुवाका काम के के ले कसरी गरेका छन् ?
उत्तर

कवि भरत राज पन्तद्वारा लिखित ‘मेघ बिजुली विवाह’ कविको बेजोड कल्पनाशक्तिको अनुपम शिल्प प्रस्तुत भएको प्रकृति प्रधान कविता हो । कर्मशील भनेर धर्तीलाई सजाउने सन्देश दिने यस कवितामा प्रकृतिका विभिन्न अवस्थालाई मानवीकरण गरिएको छ ।

कवितामा कवि चेतना र कल्पनाले हावाले हल्लिएको सारा वनजङ्गललाई विवाहको मण्डप बनाएका छन् भने पहाडमा रहेका केराका बोट तथा फलले चंदुवाको रूपमा कार्य गराएर आकर्षक विवाह मण्डप बनाएको छन् ।

(ख) कवितामा नेपालको प्रकृतिको वर्णन कसरी गरिएको छ ?
उत्तर

कवि भरतराज पन्तद्वारा लिखित ‘मेघ बिजुली विवाह’ कविको बेजोड कल्पनाशक्तिको अनुपम शिल्प प्रस्तुत भएको प्रकृति प्रधान कविता हो । कर्मशील भनेर धर्तीलाई सजाउने सन्देश दिने यस कवितामा नेपालको अनुपम प्राकृतिक सौन्दर्यलाई मानवीकरण गरिएको छ ।

कविले कवितामा नेपाली प्रकृति तथा यसको सौन्दर्यको कलात्मक चित्रण गरेको छन् । आषाढ महिनामा पर्ने पानीले बाँसका झाङहरूबाट झ्यालीको सङ्गीतमय आवाज उत्पन्न हुन्छ । पहाड हरियो दोसल्लामा सजिएको हुन्छ । हरियो पृथ्वीले तन्ना र मखमली गलैँचाको खाँचो पुरा गर्दछन् । सूर्यको गुराँसे लालीले टल्कने पहाडको सुन्दरता दुलहीले ओढ्ने रातो आँचल वा खास्टोको सुन्दरता बिर्साउँछ । आकाशमा चाहाराको खोजी तथा बासस्थान तर्फ उड्ने बकुल्लाको ताँतीले हँस्यौली र ठट्यौलीसहित रसपूर्ण कुराकानी र भावको हिँडेका जन्तीको ताँतीको अनुभूत गराउँछ । रात्रीको निष्पट्टतामा मधुर प्रकाश छर्दै चमचम चम्कने जूनकिरीले दुलहीको सितारे घुम्टीको सौन्दर्य सिर्जना गर्ने, वर्षामा देखिने इन्द्रेनी दुलहीले पहिरिने रङ्गिन कपडामा जस्तै सौन्दर्य देखिने, सूर्यास्तको समयमा सिन्दुरे रवि किरणले पश्चिम गिरि रातो खास्टो जस्तै देखिने, रात्रीको निष्पट्ट अन्धकारले ढाकिएको आवरणले दुलहीको चुल्ठोको भान हुने, चराचुरुङ्गीका मधुर बोलीले दुलहीको पयरको कल्लीको मिठासपूर्ण अङ्गीतमय आवाज सिर्जना गर्ने चर्चा गर्दै प्राकृतिक सुन्दरताको वर्णन गरेका छन् ।

(ग) विवाह मण्डपमा कस्ता कार्य गरिन्छन्, कविताका आधारमा लेख्नुहोस् ।
उत्तर

प्रकृति तथा संस्कृति प्रेमी कवि भरतराज पन्तद्वारा लिखित ‘मेघ बिजुली विवाह’ प्रकृति प्रधान कवितामा प्रकृतिको मानवीकरण गर्दै मानिसले आफ्नो कर्मले धर्तीलाई सजाउनु पर्ने सन्देश दिएका छन् ।

पूर्वीय दर्शन र संस्कृतिप्रति श्रद्धा र सम्मान गर्ने कवि पन्तले यस कवितामा आफ्नो कवि प्रतिभा र बेजोड कल्पनाशक्तिको अनुपम संयोजनबाट मेघ र बिजुलीको हिन्दु संस्कृतिअनुसार विवाह सम्पन्न गराएका छन् । विवाह मण्डपमा केराका खामहरू गाडेर चंदुवा टाँगिएको हुन्छ, मण्डपमा दुलाहाको स्वागतमा तन्ना वा मखमली गलैँचा ओच्छ्याइएको हुन्छ, पण्डितहरूले वेदका ऋचा पाठ गर्दै विवाहको विधि पुरा गर्दछन् । विभिन्न बाजागाजा बजाएर नाचगान गरिन्छ ।

(घ) कविताको पाँचौ श्लोकमा के कुरा व्यक्त गरिएको छ ?
उत्तर

संस्कृति तथा प्रकृति प्रेमी छन्दवादी कवि भरतराज पन्तद्वारा रचित ‘मेघ बिजुली विवाह’ प्रकृति प्रधान कवितामा प्रकृतिको मानवीकरण गर्दै मानिसले आफ्नो कर्मले धर्तीलाई सजाउन पर्ने सन्देश दिएका छन् ।

कवि भरतराज पन्तले यस कवितामा आफ्नो काल्पनिक चेतना तथा बौद्धिकताको जादूगरीले मेघ र बिजुलीको विवाह सम्पन्न गराएर सारा जगतलाई अन्नको भोज खुवाउँदै आम सिर्जनशील मानव जातिलाई आफ्नो श्रम र पौरखलाई परिचालन गरी धर्ती सजाउनु पर्ने, सिँगार्नु पर्ने उत्कृष्ट सन्देश दिएका छन् । कविताको पाँचौँ श्लोकमा प्रत्येक रुखका हाँगाबिगाँमा बसेर मधुर स्वरमा चराचुरुङ्गीले गाएका गीतलाई दुलहीको पयरमा बज्ने कल्लीको आवाज मानेका छन् । वेलावेलामा झुल्किने वा चम्कने बिजुलीलाई कविले खुसी, हर्ष र लज्जा मिश्रित शर्माएकी वा मुस्कुराएकी दुलहीका रूपमा परिभाषित गरेका छन् ।

६. कविताको पहिलो र दोस्रो श्लोकलाई गद्यमा रुपान्तर गर्नुहोस् ।

उत्तर आकाशमा मेघ (जलद) र बिजुलीबिच विवाह सम्पन्न हुँदैछ । यो विवाहको उत्तम लगन आषाढमा जुरेको छ । बाँसका झ्याङहरूमा झिमझिम गरी झ्याली बजेका छन् । हरियो दोसल्ला ओडेका पहाड पुरेतको भूमिकामा छन् । मयूरका मिठासपूर्ण बोली वेदका ऋचा भए ।

हावाले हल्लाएको सम्पूर्ण वन विवाह मण्डप भयो । पहाडका चचुरा मण्डपमा उभ्याइएका केरा खाम र केराका दल खाममा लागेका घरी मण्डप सजाउने चंदुवा बनेर शोभा प्रदान गरेका छन् ।

७. व्याख्या गर्नुहोस् :

भइन् पृथ्वी तन्ना, चहुर छ गलैँचा मखमली

दुलाहाको रातो झलल पगरी भो हिम चुली ।

उत्तर

प्रकृति र पूर्वीय संस्कृतिको अनुपम संयोजन गरी लेखिएको ‘मेघ बिजुली विवाह’ शीर्षकको कवितामा कविको बेजोड कल्पनाशक्ति र बौद्धिकताको निखार प्रस्तुत भएको पाइन्छ । यस कवितामा कविले प्रकृतिलाई मानवीकरण गर्दै प्राकृतिक दृश्य तथा वस्तुलाई मानवीय भावमा प्रस्तुत गरी मानिसले आफ्नो कर्म र श्रमले धर्तीलाई सजाउनेतर्फ क्रियाशील हुन आह्वान गरेका छन् ।

व्याख्याको लागि दिइएको उपरोक्त कवितांशमा दुलाहा मेघ र दुलही रानी बिजुलीको वैदिक विधि अनुसार विवाह गराउने सन्दर्भमा सारा पृथ्वीलाई जन्ती र दुलाहाको स्वागतार्थ बिछ्याइने तन्ना र हरियो चहुरलाई मखमली गलैँचाको भूमिकामा प्रस्तुत गरिएको छ । यस्तै सूर्यको गुराँसे लालीले रङ्गिएको हिमचुली दुलाहाको शिरमा बाँधिएको पगरी भएको बताइएको छ ।

अतः उपरोक्त कवितांशमा कविले वैदिक विधिद्वारा मेघ र बिजुलीको विवाह सम्पन्न गराउने क्रममा प्रकृतिका विभिन्न वस्तुहरूलाई अलग अलग भूमिकामा प्रस्तुत गर्दै कविमनमा निहीत अगाध प्रकृति तथा संस्कृति मोह प्रस्तुत गरेका छन् ।

८. ‘मेघ बिजुली विवाह’ कवितामा व्यक्त भाव बताउनुहोस् ।

उत्तर

प्रकृति तथा संस्कृति प्रेमी कवि भरतराज पन्तद्वारा लिखित ‘मेघ बिजुली विवाह’ प्रकृति प्रधान कवितामा प्रकृतिको मानवीकरण गर्दै मानिसले आफ्नो कर्मले धर्तीलाई सजाउनु पर्ने सन्देश दिएका छन् । कवि भरतराज पन्तले आफ्नो कल्पनाशक्ति र बौद्धिकताको उच्चतम् प्रयोग गरी प्रकृति तथा पूर्वीय संस्कृतिप्रति अगाध श्रद्धा व्यक्त गरेका छन् ।

कविले कवितामा प्रकृतिका विभिन्न वस्तु वा दृश्यलाई वैदिक विधिअनुसार विवाह सम्पन्न गर्ने क्रममा आवश्यक भूमिकामा प्रस्तुत गरेका छन् । कविले पृथ्वीलाई तन्ना, हरिया चहुरलाई मखमली गलैँचा, हरियो पहाडलाई पण्डित, हिम चुलीलाई दुलाहाको पगरी, मयुरको बोलीलाई वेदका ऋचा वा मन्त्र, पानी पर्दा बाँसका झ्याङहरूबाट आउने मधुर झिमझिम आवाजलाई झ्यालीको सङ्गीतमय आवाज, हावाले हल्लिएको वनलाई विवाह मण्डप, पहाडका चुचुरालाई केराका खाम तथा चौका चंदुवाका रूपमा प्रस्तुत गरिएको छ । कविले आकाशमा चाहाराको खोजीबाट बासस्थानतर्फ उडेका बकुल्लाका ताँतीलाई रसिक जन्तीको संज्ञा दिएका छन् । यसैगरी निशामा चमचम मधुर प्रकाशसहित चम्कने जूनकिरीलाई दुलहीको सितारे घुम्टी, सप्तरङ्गी इन्द्रेनीलाई दुलहीका कपडा, अस्ताउँदो रवि किरणले रक्तिम देखिएको पश्चिम गिरिलाई दुलहीको आँचल वा खास्टो, रात्रीको अन्धकारले ढाकिएको आवरणलाई दुलहीको कालो केशरासीसहितको चुल्ठोका रूपमा प्रस्तुत गरेका छन् । चराचुरुङ्गीको मधुर वाणीलाई दुलहीको पयरमा लगाइएका कल्लीको मिठासपूर्ण आवाजका रूपमा चित्रण गरेका छन् । वेलावेला झिलिकझिलिक गरी चम्कने बिजुलीलाई हर्ष, उमङ्ग, उत्साह, आवेग तथा डर, भय मिश्रित नव वधूको लज्जायुक्त मुस्कुरावटका रूपमा प्रस्तुत गरिएको छ ।

मेघ र बिजलीको विवाहा उत्सवको समाप्ती पश्चात सारा जगतलाई अन्नको भोज खुवाएर आफ्नी दुलही रानीलाई लिएर मेघरूपी दुलाहा रस्वास्वादनका लागि शरद ऋतुतर्फ प्रस्थान गरेको बताइएको छ । अतः कविले मेघ र बिजुलीको विवाह उत्सव र वर्षा पश्चात अन्नको उत्पादन हुने सबै प्राणीको भरण पोषण हुने कुरा बताउँदै कर्म र श्रमले धर्ती सजाउन सके ।

९. ‘मेघ बिजुली विवाह’ कवितामा मेघ र बिजुलीलाई दुलाहा दुलहीका रूपमा चित्रण गरिए जस्तै अन्य कुन कुन विषयवस्तुलाई के केसँग तुलना गरिएको छ ?

उत्तर

कवि भरतराज पन्तले आफ्नो कवि मन र चेतनाले प्रकृतिका विभिन्न दृश्य तथा वस्तुलाई मानवीय भावमा प्रस्तुत गर्दै प्रकृति तथा संस्कृति प्रेमको संगमका रूपमा यो कविताको रचना गरेका छन् । प्रकृतिका विभिन्न वस्तुलाई निम्न अनुसार तुलना गरिएको पाइन्छ:

पृथ्वी : तन्ना
हरियो चहुर : मखमली गलैँचा
हिमचुली : दुलाहाको पगरी
वन : विवाह मण्डप
पहाडका शृङ्खला : केराको खम्बा र चंदुवा
हरियो पहाड : पुरेत
मयुरको बोली : वेदका मन्त्र
बकुल्लाका ताँती : जन्तीको लहर
जूनकिरी : दुलहीको सितारे घुम्टी
इन्द्रेनी : दुलहीका कपडा
सूर्यास्तको सिँन्दुरे किरणले रङ्गिएको पश्चिम गिरि : दुलहीको रातो आँचल
निशाको निष्पट्ट आवरण : दुलहीको चुल्ठो
चराचुरुङ्गीको आवाज : दुलहीको कल्लीको आवाज

१०. आकाश गर्जी बिजुली चम्किँदा एक्कासि तपाईंको मनमा कस्तो भाव उत्पन्न होला, साथीहरूका बिचमा छलफल गर्नुहोस् ।

उत्तर आकाश गर्जिएर बिजुली चम्कँदा हरेक मानिसमा एक्कासि भय, डर र त्रासको भाव पैदा हुन्छ जुन स्वभाविक हुन्छ । तर सँगसँगै हुने वर्षाले एकाएक हर्ष, खुसी, उत्साह, उमङ्ग र उल्लासको भाव पैदा हुनाले मानिसलाई आआफ्नो कर्ममा जुट्ने हौसला र प्रेरणा प्राप्त हुन्छ ।

११. तल दिइएका विषय सन्दर्भमा साथीहरूबिच छलफल गर्नुहोस्:

(क) झमझम पानी परेको स्थितिः
जताततै हिलो हुने, सिकसिको लाग्ने, दैनिकी कष्टकर हुने, वस्तुभाउ पाल्ने किसानहरूलाई घाँस पानी जुटाउन कठिन हुने तर कृषि प्रदान मुलुक भएकाले कृषकहरूका लागि मानु रोपेर मुरी फलाउने अवसर प्राप्त हुने, उत्साह, उमङ्ग पैदा हुने, आफू बाँचेर अरूलाई बचाउने कर्मशीलहरूमा उत्साह पैदा हुने सक्रियता बढ्ने ।
(ख) हरियो वनजङ्गलले ढाकिएको पहाड :
जताजतै हरियालीले ढाकिएको सबैको मन चञ्चल र खुसीले गद्गद् हुने, मनमा शितलताको बहार हुने, आनन्द र शान्तिको अनुभूति हुने, आफ्ना विचार, भाव र व्यवहारले अन्य मानव समुदायमा शीतलता प्रदान गर्न सक्नु पर्ने, लक्ष्य र जीवनप्रति पहाड झैँ दृढ तथा अविचलित रहनु पर्ने ।

१२. नेपाली वर्णमालामा राखिएका वर्णहरूको क्रम र नेपाली शब्दकोशमा राखिएको वर्णहरूको क्रम पढ्नुहोस् र दिइएका प्रशनका उत्तर दिनुहोस्ः

(क) शब्दकोशको क्रममा क्ष, त्र, ज्ञ कुन कुन वर्णपछि आउँछन् ?
उत्तर शब्दकोशको क्रममा ‘क्ष’ क वर्णको अन्त्यमा, ‘त्र’ त वर्णपछि र ‘ज्ञ’ ज वर्णपछि आउँछन् ।
(ख) कर, कंस, काम, कृषि, क्यारे, क्षय शब्दलाई शब्दकोशको क्रमअनुसार लेख्नुहोस् ।
उत्तर उपरोक्त शब्दलाई शब्दकोषको क्रमअनसार लेख्दा कंस, कर, काम, कृषि, क्यारे र क्षय हुन्छ ।
(ग) आफ्नो कक्षाका पाँच जना साथीहरूको नाम लेख्नुहोस् र तिनलाई नेपाली शब्दकोशको क्रमअनुसार मिलाउनुहोस् ।
उत्तर जीवन, कमल, राम, यमन, निलम

कमल, जीवन, निलम, राम, यमन ।
(घ) पृथ्वी, ताँती, घुम्टी, श्रुती, किरण शब्दको अर्थ शब्दकोशबाट खोजी कापीमा लेखेर साथीहरूबिच छलफल गर्नुहोस् ।
उत्तर
पृथ्वी : धर्ती, धरणी, धरा
ताँती : लहर, लर्को, पङ्क्ति
घुम्टी : घुम्टो, विवाहामा दुलहीको शिर ढाक्ने सितार जडित मूल्यवान् आँचल, पछ्यौरा
श्रुति : सुन्ने इन्द्रिय, कान, सुन्ने काम, वेद, स्वरको अन्तराल
ऋतु : वैदिक कार्यका लागि उपयुक्त मानिएको समय, प्राकृतिक अवस्था अनुसार वर्षभरिको दुई दुई महिनाको दरले फेरिने वातावरणीय अवस्था, महिलाको रजस्वलाको समय
किरण : ज्योति, रश्मि, प्रभा, कान्ति, तेज

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play