Nepali

एकाइ:1 सहिदहरूको सम्झनामा (कविता)

शब्दभण्डार

. दिइएका अर्थ आउने शब्दसहिदहरूको सम्झनामाकविताबाट खोजेर लेख्नुहोस् :

उत्तर

 (क) रातोपन, लालिमा :- लाली

(ख) रोप्न वा छर्न राखिएको अन्न आदिका गेडा :- बिउ

(ग) एक पटकमा मुखमा हाली खाइने खानेकुरा :- गाँस

(घ) पृथ्वी, जमिन :- घर्ती

(ड) प्रगति, अभिवृद्धि :- उन्नति

. दिइएका लय मिल्ने शब्द पढी लेख्नुहोस् :

उत्तर

लहरा : छहरा 

सुरिलो : कुरिलो 

जङ्गल : मङ्गल 

लुसुक्क : मुसुक्क 

सगर : बगर

लायक : गाय 

. दिइएका शब्दका लय मिल्ने दुई दुईओटा शब्द लेख्नुहोस् :

उत्तर

वीर : शिर, बिर

पहरा : छहरा, लहरा

रसिलो : पोसिलो, मलिलो

असार : कसार, भसार 

पाखा : काखा 

दासता : हाँस्ता

. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

उत्तर

सपुत : तिमी देशको सपुत बन्नुपर्छ ।

मुलुक : हाम्रो मुलुक विकासको गतिमा लम्किँदै छ ।

बिउ : आँपको बिउ कोया हो। 

कर्तव्य : नागरिकको कर्तव्य देशको हरेक परिस्थितिमा साथ दिनु हो।

आकाश : आकाश शून्य छ तर आकाशमै सबथोक छ ।

धड्कन : यदि धड्कन असामान्य हो भने त्यो कमजोर वा क्षतिग्रस्त हृदयको परिणाम हुनसक्छ ।

उन्नति : देशको उन्नति भए जनतालाई शुख हुन्छ ।  

बोध अभिव्यक्ति

. ‘सहिदहरूको सम्झनामाकविता पढी सोधिएका प्रश्नको मौखिक उत्तर  दिनुहोस् :

() कवितामा के झरेपछि बिहान हुन्छ भनिएको ?

उत्तर: कवितामा मिर्मिरमा तारा झरेपछि बिहान हुन्छ भनिएको छ ।

() कसले रगतको भेटी चढाउँछ

उत्तर : वीरले रगतको भेटी चढाउँछ । 

() हामीले कसरी खुसी पाएका छौं ?

उत्तर : सहिदहरूले योगदान दिई खुसी छोडेर गएकाले हामीले खुसी पाएका छौं |  

. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर  लेख्नुहोस् :

() ‘हाम्रो मुटुको प्रत्येक चालमा धड्कन सहिदकोभन्नुको आशय के हो

उत्तर : निरङ्कुशताको अन्त्य गरी स्वतन्त्रता ल्याउन देशका सपुतहरू ज्यान दिन तयार भए र सहिद बने । आज हामीले जति पनि गतिविधिहरू निर्धक्कसँग गरिरहेका छौं त्यसमा सहिदको योगदान रहेको छ । सास फेर्नसमेत त्रसित हुनुपर्ने निरङ्कुशताबाट मुक्ति दिई निर्धक्कसँग सास फेर्न र उन्नति गर्न पाउने अवस्था सहिदले ल्याएकाले हाम्रो मुटुको प्रत्येक चालमा सहिदको धड्कन छ, हुनुपर्छ भन्नु नै यसको आशय हो । 

() हाम्रा कुन कुन कुरामा सहिदको योगदान रहेको ?

उत्तर: हाम्रा प्रत्येक कुरा तथा गतिविधिहरूमा सहिदको योगदान रहेको छ । सहिदले रगत बगाएकाले हामीले स्वतन्त्रतापूर्वक खान पाएका छौं । आनन्दपूर्वक सास फेर्न पाएका छौं । हाम्रो खुसीको प्रत्येक क्षणमा र मुटुको प्रत्येक चालमा सहिदको जीवन र धड्कन रहेको छ ।

 . शिक्षकबाट कवितांश सुन्नुहोस् छुटेका शब्द भरी पुनर्लेखन गर्नुहोस् :

उत्तर

ओठमा हाँसो गालामा लाली तब आउँछ जगत्‌को

देशको पिरले भेटी जब वीरले चढाउँछ रगतको

घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता

मातृभूमिको चरण ढोगी भाग्दछ दासता | 

. ‘सहिदहरूको सम्झनामाकविता पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर  लेख्नुहोस् :

() कवितामा मुलुक कसरी बन्छ भनिएको ?

उत्तर: मुलुकमा व्याप्त अन्याय, अत्याचार, शोषण र निरङ्कुशता कारण बन्दी सरह जीवन बिताइरहेका जनताका लागि स्वतन्त्रता दिलाउन सच्चा सपुतले आफ्नो ज्यानको बाजी राखी लड्नुपर्छ । उनीहरू मुलुकका लागि ज्यानै अर्पण गर्न पनि तयार हुन्छन् । कवितामा बिहान हुनका लागि मिर्मिरेमा तारा झरेर जानुपर्छ अनि मात्र बिहान हुन्छ भनिएको छ । त्यसै गरी मुलुक बन्नका लागि दुईचार सपुतले ज्यान बलिदान दिनुपर्छ भनिएको छ । 

() वीरले किन रगतको भेटी चढाउँछन् ?

उत्तर : देशको पिरले गर्दा वीरहरू देशको लागि रगतको भेटी चढाउँछन् । देशलाई निरङ्कुशताको दलदलबाट मुक्त गरी स्वतन्त्रता र लोकतन्त्र स्थापना गर्न वीरहरू हाँसी हाँसी फाँसीमा चढ्न तयार हुन्छन् । यसबाट सिङ्गो देशको ओठमा हाँसो र गालामा लाली आउँछ । तसर्थ मुलुकको पिर अन्त्य गर्न वीरले रगतको भेटी चढाउँछन् ।

() हाम्रो खुसीको प्रत्येक पलमा कसको योगदान रहेको ?

उत्तर : आज हामीले जुन स्वतन्त्रता र खुसी उपयोग गर्न पाइरहेका छौं यसमा सहिदको योगदान रहेको छ। सहिदको बलिदानले गर्दा आज हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको खुसी उपयोग गरिरहेका छौं । तसर्थ हाम्रो खुसीको प्रत्येक पलमा सहिदको योगदान रहेको छ ।

() सहिदप्रति हाम्रो कर्तव्य के हो ?

उत्तर : हामीले पाएको खुसी सहिदको योगदान हो । हामी सबैले सहिदले देखाएको बाटोमा हिडेर उनीहरूले देखेका र देखाएका सपना पूरा गर्न एकताबद्ध भएर लाग्नुपर्छ । राष्ट्रनिर्माणको बाटोमा सबै अघि सर्नुपर्छ । लोकतन्त्रलाई संस्थागत र समृद्ध बनाउन लाग्नुपर्छ । व्यक्ति, समाज र सिङ्गो राष्ट्रलाई उन्नतिको पथमा हिँडाउनुपर्छ । यो नै हाम्रो कर्तव्य हो, सहिदप्रतिको कर्तव्य हो |

. ‘सहिदहरूको सम्झनामाकविताको दोस्रो श्लोकबाट तीनओटा प्रश्न निर्माण गर्नुहोस्

उत्तर : दोस्रो श्लोक पढी तलका प्रश्नको उत्तर दिनुहोस् : 

() वीरले किन रगतको भेटी चढाउँछन् ?

() वीरहरू कसरी हाँस्छन् ?

() दासता कसरी भाग्दछ ? 

. दिइएको कवितांशलाई गद्यमा लेख्नुहोस् :

() उम्रन्न बोट कसैले बिउ छरेर नगए 

उत्तर: कसैले बिउ छरेर नगए बोट उम्रन्न । 

() हाम्रो मुटुको प्रत्येक चालमा धड्कन सहिदको 

उत्तर : हाम्रो मुटुको प्रत्येक चालमा सहिदको धड्कन छ ।  

() पाउने थिएनौ खुसी तिनले छाडेर नगए 

उत्तर : तिनले छाडेर नगए खुसी पाउने थिएनौं ।  

() सहिद रोलान् हामीले उन्नति गरेर नगए 

उत्तर : हामीले उन्नति गरेर नगए सहिद रोलान् ।

. व्याख्या गर्नुहोस् :

हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला 

गोली निलेका सहिदको प्यारो लासले धिक्कार्ला

उत्तर : प्रस्तुत कवितांश ‘सहिदहरूको सम्झनामा’ शीर्षकको कविताबाट साभार गरिएको हो । यस कवितामा रचनाकार कवि भूपी शेरचन हुन् । माथिको कवितांशमा प्रत्येक नेपालीलाई आफ्नो कर्तव्य नबिर्सन आग्रह गरिएको छ ।

प्रत्येक वर्ष माघ १६ का दिन सहिद दिवस मनाइन्छ । उक्त दिन सहिदहरूको फोटो तथा शालिकमा माल्यार्पणसमेत गरिन्छ । यति कार्यले मात्र सहिदहरू प्रति सच्चा श्रद्धाञ्जली अर्पण हुँदैन । हामीले सहिदले देखाएको बाटोमा हिँड्न सक्नुपर्छ । उनीहरूले देखेका र देखाएका सपना पूरा गर्न लाग्नुपर्छ । सबैको अधिकारको प्रत्याभूति दिलाउँदै लोकतन्त्रलाई संस्थागत गर्नुपर्छ । सबैले उन्नति गरी राष्ट्रनिर्माणमा लाग्नुपर्छ । हरेकले आआफ्नो कर्तव्य पूरा गर्नुपर्छ । हामीले आफ्नो कर्तव्य बिस्यौं भने हामीलाई इतिहासले धिक्कार्ने छ । गोली निलेका सहिदको लासले पनि धिक्कार्ने छ । यसप्रकार सरल, प्रभाकारी र लोकलयमा आधारित माथिको कवितांशमा कविले प्रत्येक राष्ट्रप्रेमी नेपालीले आफ्नो कर्तव्य बिर्सन नहुने कुरा स्पष्ट पारेका छन् ।

कर्तव्य बिर्सेमा सहिदहरूको लासले धिक्कार्छ, धर्ती लजाई मुख छोप्छ । हरेक सच्चा देशभक्त नागरिकले राष्ट्रनिर्माणको कर्तव्य इमान्दारिताका साथ निर्वाह गर्नुपर्छ । देशलाई उन्नतिप्रगतिको बाटोमा हिँडाउनुपर्छ । तब मात्र सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुन्छ, सहिदहरूको वास्तविक सम्झना हुन्छ ।

यसप्रकार कवि शेरचनले यस कवितामा सहिदहरूका त्याग र बलिदानलाई राष्ट्रिय सन्दर्भमा मूल्याङ्कन गरेका छन् । सहिदहरूप्रति हाम्रो कर्तव्य के हो, के गरेमा उनीहरू प्रसन्न हुन्छन् जस्ता कुरामा कविले प्रकाश पारेका छन् । यसका साथै उनले राष्ट्रिय चेतना जगाउने भाव पनि यस रचनामा व्यक्त गरेको पाइन्छ ।

११. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

 प्रश्नहरू

() लोकभाका कहाँ कहाँ गाइन्छन् ?

उत्तर  : लोकभाका चाडपर्व, मेलापात, घाँसदाउरा, ढिकीजाँतो आदिमा गाइन्छन् । 

() लोकलयका कुनै तीन उदाहरण लेख्नुहोस्

उत्तर  : लोकलयका कुनै तीन उदाहरण सवाई, असारे र तिज हुन् । 

() लोकलयको आधार केलाई मानिन्छ ?

उत्तर  : लोकलयको आधार संस्कृति, परम्परा, भाषा, भूगोल, जातजाति, जीवनशैलीलाई मानिन्छ ।

() नेपाली जनजीवन कसरी जीवन्त बनेको ?

उत्तर  : नेपाली जनजीवन लोकलयका कारण जीवन्त बनेको छ ।

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play