शब्दार्थ (Glossary)
चिरस्मरणीय: पछिसम्म सम्झनयोग्य
युगपुरुष: युगनायक
अनवरत: निरन्तर, लगातार
समृद्ध: उन्नतिशील, उन्नत
अधिष्ठात्री: देवतामध्ये सबैभन्दा बढी मानिएकी देवी
हर्षद: खुसियालीको क्षण
वरद: आशीर्वाद दिने, वरदाता
मुखाग्र: कण्ठ भएको, कण्ठस्थ
पावन: पवित्र पार्ने, शुद्ध गर्ने
समालोजक: साहित्यिक कृति वा अन्य प्रकारका रचनाको समीक्षा गर्ने व्यक्ति, टिप्पणीकर्ता
घनघोर: भयानक, ज्यादै घना, डर लाग्दो
अनुशिक्षण: अतिरिक्त अध्यापन
शङ्खनाद: झङ्कारका साथ उच्चारित ध्वनि
उदात्त: उदार, महान्, फुक्का मनको
पहलकदमी: अग्रसरता
ओजस्वी: ओज भएको, प्रभावशाली
मन्त्रमुग्ध: मोहित पारिएको
परिवेष्टित: चारैतिरबाट घेरिएको
जलविन्दु: पानीको थोपा
अनवरण: निरन्तर
शब्दभण्डार
१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस्:
युगपुरुष → कुनै निश्चित समयसीमाभित्र महान् व्यक्तित्व स्थापित गर्न सफल व्यक्ति
नक्षत्र → ज्योतिष शास्त्रअनुसार मानिसका असल खराब अवस्थाका स्थापक
जीवन → शरीरमा प्राण रहेसम्मको अवस्था
धडाधड → चाँडो चाँडो काम सिध्याउने गरी सरासर, धमाधम
म्याट्रिकुलेसन → हालको एसइई सरहको परीक्षा
प्रज्वलित → एकदम बलेको, दन्केको
परिवेष्टित → चारैतिरबाट घेरिएको
२. अनुच्छेदमा रेखाङ्कन गरिएका सङ्क्षिप्त शब्दका पूरा रूप लेखी पुनर्लेखन गर्नुहोस्:
उत्तर: राष्ट्रिय समाचार समितिका पत्रकार मोहन प्रधानमन्त्रीको अन्तर्वार्ता लिएर घर गए। उनकी श्रीमती रमा जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापक थिइन्। विद्यालय व्यवस्थापन समितिको बैठक सकेर निस्कँदा उनलाई ढिलो भएछ। बाटामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दावासँग र प्रमुख जिल्ला अधिकारी रमेशसँग रमाको भेट भएछ। उनीहरू एकछिन कुराकानी गरेर आआफ्ना घरतिर लागेछन्। रमा घर पुग्दा पत्रकार मोहन गोरखापत्रमा प्रकाशित समाचार पढेर बसेका रहेछन्।
३. दिइएको अनुच्छेदबाट कुनै तीनओटा सिङ्गो शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्:
प्राध्यापक : मेरा बुबा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले भाषा र साहित्यको उत्थानमा ठूलो योगदान दिएको छ ।
त्रिभुवन विश्वविद्यालय : त्रिभुवन विश्वविद्यालय नेपालकै जेठो विश्वविद्यालय हो ।
४. दिइएका पद पदावलीलाई आशय खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्:
पठनपाठन : गाउँमा पठनपाठनको अवस्था पहिलेभन्दा धेरै राम्रो भएको छ ।
देहावसान हुनु : वि.सं. २०१६ मा महाकवि देवकोटाको देहावसान भएपछि नेपाली साहित्यले अपूरणीय क्षति व्यहोर्यो ।
मन्त्रमुग्ध पार्नु : उनको गीतले सबै दर्शकलाई मन्त्रमुग्ध पार्यो ।
स्वर्णकाल : विद्यार्थी जीवनको समय नै जीवनको स्वर्णकाल हो ।
भुलभुलैया : ऊ सहरको भुलभुलैयामा हराएर आफ्नो गन्तव्य पुग्न सकेन ।
नवजात शिशु : नवजात शिशुलाई आमाको दूध अमृत समान हुन्छ ।
बोध र अभिव्यक्ति
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस्:
(क)‘लक्ष्मीप्रसाद देवकोटा’ जीवनीमा देवकोटाको बाल्यकालको वर्णन कुन अनुच्छेदमा गरिएको छ?
उत्तर: ‘लक्ष्मीप्रसाद देवकोटा’ जीवनीमा देवकोटाको बाल्यकालको वर्णन दोस्रो अनुच्छेदमा गरिएको छ।
(ख)जीवनीको अन्तिम अनुच्छेदको सार वाक्य कुन हो?
उत्तर: जीवनीको अन्तिम अनुच्छेदको सार वाक्य ‘उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफ्ना अमूल्य कृतिमा अनवरत बाँचेका छन् र अमर बनेका छन्’ हो।
(ग)जीवनीमा देवकोटाको जीवनका कठिन क्षणको वर्णन कुन सन्दर्भपछि आएको छ?
उत्तर: जीवनीमा देवकोटाको जीवनका कठिन क्षणको वर्णन उनको संलग्नता र योगदानको सन्दर्भपछि आएको छ।
(घ)देवकोटाका कृतिसम्बन्धी वर्णन जीवनीको कतिऔं अनुच्छेदमा छ?
उत्तर: देवकोटाका कृतिसम्बन्धी वर्णन जीवनीको छैटौं अनुच्छेदमा छ।
४. दिइएको अनुच्छेद मौन पठन गर्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस्:
(क)देवकोटाको निबन्ध सङ्ग्रहको नाम के हो?
उत्तर: देवकोटाको निबन्ध सङ्ग्रहको नाम ‘लक्ष्मी निबन्ध सङ्ग्रह’ र ‘दाडिमको रुखनेर’ हो।
(ख)देवकोटाका प्रसिद्ध महाकाव्य कुन कुन हुन्?
उत्तर: देवकोटाका प्रसिद्ध महाकाव्य ‘शाकुन्तल’, ‘सुलोचना’, ‘महाराणा प्रताप’ र ‘प्रमिथस’ आदि हुन्।
(ग)देवकोटाले कुन कृतिमार्फत् लोकभाकालाई शिखरमा पुर्याए?
उत्तर: देवकोटाले ‘मुनामदन’ कृतिमार्फत् लोकभाकालाई शिखरमा पुर्याए।
(घ)देवकोटा किन सर्वोत्कृष्ट नेपाली साहित्यकारका रूपमा परिचित छन्?
उत्तर: देवकोटा प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य र निबन्ध आदि रचना गरेकाले सर्वोत्कृष्ट नेपाली साहित्यकारका रूपमा परिचित छन्।
५. दिइएका घटना सन्दर्भ कुन कुन सालमा भएका हुन्, जीवनीका आधारमा लेख्नुहोस्:
(क)लक्ष्मीप्रसाद देवकोटाको जन्म
उत्तर: वि.सं. १९६६
(ख)मनदेवी चालिसेसँग विवाह
उत्तर: वि.सं. १९८१
(ग)म्याट्रिकुलेसन परीक्षा उत्तीर्ण
उत्तर: वि.सं. १९८२
(घ)आइएस्सी परीक्षा उत्तीर्ण
उत्तर: वि.सं. १९८५
(ङ)अङ्ग्रेजी पढ्न दरबार हाइस्कुलमा भर्ना
उत्तर: वि.सं. १९७७
(च)अफ्रो एसियाली लेखक सम्मेलनमा सहभागी
उत्तर: वि.सं. २०१५
(छ)डा. के. आई. सिंहको मन्त्रिमण्डलमा शिक्षामन्त्रीमा नियुक्त
उत्तर: वि.सं. २०१४
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्:
(क) लक्ष्मीप्रसाद देवकोटाको व्यक्तिगत जीवनमा कस्ता कस्ता उतारचढाव आए, उनको जीवनीका आधारमा लेख्नुहोस्।
उत्तर: लक्ष्मीप्रसाद देवकोटाले जीवनमा पारिवारिक, स्वास्थ्य र आर्थिक क्षेत्रमा समस्या भोग्नुपर्यो। देवकोटाले २५/२६ वर्षको उमेरमा बुबा, आमा र छोरी गुमाउनुपर्यो। उनले जीवनमा ‘पागल’ को संज्ञा पनि खेप्नुपर्यो। देवकोटालाई क्यान्सर रोगले सतायो। एकातिर क्यान्सरको सहनै नसकिने पीडा र अर्कोतिर उपचारको आर्थिक सङ्कटले देवकोटालाई प्रताडित गर्यो। लक्ष्मीपूजाका दिन जन्मे पनि जीवनभर उनलाई लक्ष्मीले उपेक्षा गरिन्। यसरी उनको जीवनमा अनेक उतारचढाव आएको बुझ्न सकिन्छ।
(ख) देवकोटामा रहेको देशप्रेम र क्रान्ति चेतनाको वर्णन गर्नुहोस्।
उत्तर: नेपालको प्रकृति, नेपाली धर्ती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका युगपुरुष हुन्। उनी बिरामी भएर भारतमा उपचार गराउँदा विदेशमा बसेर मर्नुभन्दा आफ्नै देशमा बसेर सक्दो सेवा गर्ने विचार लिएर काठमाडौं आए। देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः ती सबैमा उनले राष्ट्रको हितमा काम गरे। मुलुकमा जति बेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो, त्यति बेला उनले पनि विद्रोहको बाटो समाते। उनी प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए र बनारसबाट निस्किने ‘युगवाणी’ पत्रिकामार्फत् निरङ्कुशता विरुद्ध विद्रोहको वाणी फुके।
(ग) देवकोटालाई आशुकविका रूपमा चिनाउनुहोस्।
उत्तर: देवकोटा छाँगो छड्छडाए झैं विजुली वेगमा कविता लेख्ने कवि थिए। उनी कुरा गर्दागर्दै कविता लेख्न सक्थे र कवितै कवितामा कुराकानी गर्न सक्थे। उनले तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनभित्रका ६० घण्टामा ‘सुलोचना’ महाकाव्य र एकै रातमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका थिए। उनी हिँड्दा हिँड्दै, बस्दा बस्दै धारा प्रवाह कविता लेखिदिन्थे। उनले कुनै दृश्य वा घटनालाई तत्काल कवितामय भाषामा उत्कृष्ट वर्णन गर्न सक्थे। त्यसैले उनलाई आशुकवि मान्न सकिन्छ।
(घ) ‘लक्ष्मीप्रसाद देवकोटा‘ को जीवनीबाट कस्तो सन्देश पाइन्छ, लेख्नुहोस्।
उत्तर: देवकोटा एक यस्ता मोती थिए जसले जुन क्षेत्रलाई स्पर्श गरे त्यस क्षेत्रलाई चम्काइदिए। पारिवारिक वियोग, चरम आर्थिक अभाव र प्रतिकूल राजनैतिक अवस्थामा पनि उच्च स्तरका साहित्य रचना गरेका थिए। हामी पनि प्रतिकूल अवस्था भए पनि लक्ष्यमा अग्रसर हुनुपर्छ। आफ्नो देशलाई माया गर्नुपर्छ अनि समाज र राष्ट्रको सेवामा तल्लीन रहनुपर्छ। आफ्नो भाषा र साहित्यलाई विश्वमा चिनाउनुपर्छ। आफ्नो क्षमतालाई चिनेर अगाडि बढ्ने मानिस सफल मान्छे बन्न सक्छ। यसरी मानवताको भाव बोकेर समाजका कुनै न कुनै क्षेत्रमा विशेष योगदान पुर्याउन सक्नुपर्छ भन्ने सन्देश उनको जीवनीबाट पाउन सकिन्छ।
७. व्याख्या गर्नुहोस्:
(क) देवकोटाको महासागर जस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सुरुङभित्र कसरी बग्न सक्थ्यो र?
उत्तर: प्रस्तुत वाक्यांश कक्षा १० को नेपाली पाठ्यपुस्तकमा सङ्कलित ‘लक्ष्मीप्रसाद देवकोटा’ जीवनीबाट उद्धृत गरिएको हो। लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका एक चम्किला नक्षत्र हुन्। उनी स्वच्छन्दतावादी धाराका प्रवर्तक तथा नेपाली साहित्यलाई आधुनिकतातर्फ डोर्याउने महाकवि हुन्। देवकोटाको विराट प्रतिभा राणाहरूको दमनकारी शासनमा पनि सीमित रहन सकेन भन्ने सन्दर्भमा यो वाक्यांश आएको हो। देवकोटाको प्रतिभा अथाह र असीमित भएकाले त्यसलाई कुनै पनि शासकीय बन्धनले रोक्न नसक्ने भाव माथिको पङ्क्तिमा पाइन्छ।
जुन बेला देवकोटाको कलम चलेको थियो, त्यो समय राणाको निरङ्कुश शासनको चरम अवस्था थियो। खुलेर साहित्य सिर्जना गर्न नपाइने त्यस कठिन समयमा पनि देवकोटाको साहित्यिक व्यक्तित्व कहिल्यै मुर्झाएन बरु झन् फक्रिरह्यो। वि.सं. २००४ को प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुँदै उनले बनारसबाट प्रकाशित ‘युगवाणी’ पत्रिकामार्फत राणा शासनविरुद्ध विद्रोहको वाणी फुके। यस्तो प्रतिकूल परिस्थितिमा पनि उनले बिजुलीको वेगमा साहित्य सिर्जना गरिरहे। तीन महिनामा ‘शाकुन्तल’, दश दिनमा ‘सुलोचना’ र एक रातमा ‘कुञ्जिनी’ लेख्ने अद्भुत प्रतिभाका धनी देवकोटाले नेपाली साहित्यलाई गुणात्मक रूपमा समृद्ध बनाए। जसरी महासागरको विशाल जलराशि साँघुरो सुरुङमा अटाउन सक्दैन, त्यसरी नै देवकोटाको असीम प्रतिभा राणाको दमनकारी शासनभित्र सीमित हुन सकेन।
यसरी निष्कर्षमा, देवकोटाको प्रतिभा कुनै पनि राजनीतिक वा प्रशासनिक बन्धनमा अडिन सक्ने खालको झनै विद्रोही र सशक्त थिएन। राणाकालीन दमन र प्रतिबन्धका बाबजुद उनको सिर्जनशीलता निरन्तर बगिरह्यो। बरु त्यही दमनले pgnfO झनै विद्रोही र सशक्त बनायो। अथाह सिर्जनात्मक सामर्थ्यलाई निरङ्कुश शासकहरूले कुनै पनि घेराभित्र कैद गर्न सक्दैनन् भन्ने मुख्य आशय यस पङ्क्तिमा प्रस्तुत गरिएको छ।
(ख) हिउँको माझमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वत शृङ्खलाको भुलभुलैयामा बिलाउने छैन।
उत्तर: प्रस्तुत वाक्यांश कक्षा १० को नेपाली पाठ्यपुस्तकमा सङ्कलित ‘लक्ष्मीप्रसाद देवकोटा’ जीवनीबाट उद्धृत गरिएको हो। लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका महाकवि तथा स्वच्छन्दतावादी धाराका प्रमुख हस्ताक्षरका रूपमा परिचित छन्। वि.सं. २०१५ मा तत्कालीन सोभियत सङ्घमा भएको ‘अफ्रो एसियाली लेखक सम्मेलन’ मा भाग लिँदा देवकोटाले यो विचार व्यक्त गरेका थिए। नेपाली साहित्य विश्व साहित्यकै हाराहारीमा विकास हुने र कहिल्यै सीमित नरहने भन्ने भाव माथिको पङ्क्तिले सङ्केत गरेको छ।
महान् कवि देवकोटाले देशविदेश घुम्ने अवसरलाई सधैँ सिङ्गो नेपाल, नेपाली जनता र नेपाली साहित्यको गौरव वृद्धिको माध्यम बनाएका थिए। देवकोटाको यस भनाइले नेपाली साहित्यको मौलिकता, व्यापकता र त्यसको विश्वव्यापी सामर्थ्यलाई विशेष महत्त्व दिएको छ। उनका अनुसार हाम्रो साहित्य हिउँको माझमा अर्थात् उच्च र पवित्र हिमालयको काखमा जन्मेकाले यसभित्र आफ्नै विशिष्ट विविधता लुकेको छ। यो मौलिक पहिचान बोकेको वाङ्मय कुनै एउटै पर्वतशृङ्खलाको सीमित घेरा वा भुलभुलैयाभित्र हराएर जाने वस्तु होइन। शारीरिक अस्वस्थताका कारण भाषण गर्नुअघि रगत चढाइएको अत्यन्तै कष्टकर अवस्थामा पनि देवकोटाले नेपाली साहित्यलाई सिङ्गो राष्ट्र चिनाउने अवसरका रूपमा प्रयोग गरे। नेपाली साहित्य सङ्कुचित दायराबाट मुक्त भई एसिया र अफ्रिकालाई जोड्ने साहित्यको असीम महासागरमा मिल्न पुग्नेछ र त्यहाँबाट अझ सुन्दर तथा सम्पन्न बनेर फेरि हाम्रै पहाडमा बर्सनेछ भन्ने उनको मूल आशय थियो।
यसप्रकार निष्कर्षमा, देवकोटाको यो भनाइ नेपाली साहित्यको भविष्यप्रतिको गहिरो आत्मविश्वासको परिचायक हो। नेपाली साहित्य कुनै साँघुरो भूगोलमा सीमित नरही विश्व साहित्यको विशाल महासागरमा मिसिने र पहिलेभन्दा अझ बढी समृद्ध बन्ने दूरदर्शी सोच यसमा निहित छ। नेपालको भौगोलिक सीमिततालाई नाघेर नेपाली वाङ्मयले विश्वमञ्चमा आफ्नो बलियो पहिचान बनाउनेछ भन्ने मुख्य विचार यस पङ्क्तिमा अभिव्यक्त भएको देखिन्छ।
८. लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको समीक्षा गर्नुहोस्।
उत्तर: विराट् प्रतिभाशाली र महान् कवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६-२०१६) नेपाली साहित्यका अतुलनीय योगदान दिने चिरस्मरणीय स्रष्टा हुन्। नेपालको प्रकृति, नेपाली धर्ती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका युगपुरुष हुन्।
त्रिचन्द्र कलेजबाट बी.ए. सम्मको शिक्षा हासिल गरेका देवकोटाले बिजुली वेगमा अनवरत साहित्य रचना गरे। देवकोटाले सङ्ख्यात्मक र गुणात्मक रूपले सर्वाधिक कृति रचना गरेर नेपाली साहित्यलाई समृद्ध तुल्याए। दरबार हाइस्कुल पढ्दादेखि नै कविता लेख्न सुरु गरेका देवकोटाले त्यसै बेला अङ्ग्रेजीमा कविता लेखेर समस्त शिक्षक र सहपाठी साथीलाई चकित पारिदिएका थिए। छाँगो छड्छडाए झैं बिजुली वेगमा कविता लेख्ने देवकोटा नेपाली भाषा साहित्यका स्वच्छन्दतावादी साहित्यकार हुन्। उनका ‘शाकुन्तल’, ‘सुलोचना’, ‘महाराणा प्रताप’, ‘प्रमिथस’ आदि प्रसिद्ध महाकाव्य हुन्। उनले ‘मुनामदन’, ‘कुञ्जिनी’ र ‘लुनी’ जस्ता दर्जनौं खण्डकाव्य लेखे। उनले ‘यात्री’, ‘पागल’ जस्ता सयौं कविता लेखे। उनले लेखेका साह्रै गहकिला निबन्ध ‘लक्ष्मी निबन्ध सङ्ग्रह’ र ‘दाडिमको रुखनेर’मा सङ्कलित छन्। उनको एउटा ‘सावित्री सत्यवान्’ भन्ने नाटक र ‘चम्पा’ उपन्याससमेत प्रकाशित छ।
देवकोटाको कवित्व प्रतिभा अद्वितीय थियो। उनी कुरा गर्दागर्दै कविता लेख्न सक्थे र कवितै कवितामा कुराकानी गर्न सक्थे। उनले तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनभित्रका ६० घण्टामा ‘सुलोचना’ महाकाव्य र एकै रातमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका थिए। उनले ‘मुनामदन’ मार्फत् ओझेल परेको झ्याउरे छन्दलाई शिखरमा पुर्याएका थिए। वास्तवमा उनले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौं साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए। उनको कलमको जादुमय स्पर्शले नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुग्यो। साहित्य सिर्जनाका साथै उनी त्रिचन्द्र कलेजका प्राध्यापक र वि.सं. २०१४ मा डा. के. आई. सिंहको मन्त्रिमण्डलमा शिक्षामन्त्री पनि भए। उनले विश्व समुदायमा नेपाली जाति र भाषाको शिर उच्च पारे। क्यान्सरका कारण मृत्युशैयामा छटपटाउँदा पनि उनले साहित्य सिर्जना गर्न छोडेनन्।
नेपाली साहित्यको अहिलेसम्मको यात्रामा प्रतिभा, रचना परिमाण र उत्कृष्ट गुणस्तरका दृष्टिले देवकोटा सर्वोच्च कवि मानिएका छन्। उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफ्ना अमूल्य कृतिमा अनवरत बाँचेका छन् र अमर बनेका छन्।
९. दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस्।
बुँदा टिपोट:
- भाषाको काम समाजको तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु रहेको
- नेपाली भाषामा अभिव्यक्ति क्षमता र नयाँ नयाँ शब्दलाई आत्मसात् गर्ने क्षमता रहेको
- नेपाली भाषाका वक्तामा अरू भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता हुनुपर्ने
- भाषा नेपालको मौलिक पहिचानसँग गाँसिएको हुनाले भाषिक आत्मनिर्भरतातिर हाम्रो सोच र प्रयास हुनुपर्ने
सारांश लेखन:
नेपाली भाषाको संरक्षण
भाषाको काम समाज तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु हो। नेपाली भाषामा अभिव्यक्ति क्षमता र नयाँ शब्दलाई आत्मसात् गर्ने क्षमता रहेको छ। नेपाली भाषाका वक्तामा अरू भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता हुनुपर्छ। भाषा नेपालको मौलिक पहिचानसँग गाँसिएको हुनाले भाषिक आत्मनिर्भरतातिर हाम्रो सोच र प्रयास हुनुपर्छ।
अनुच्छेदमा दिइएको शब्द सङ्ख्या: ११७
सारांशमा हुनुपर्ने शब्द सङ्ख्या: ४०
सारांशमा भएको शब्द सङ्ख्या: ४५
१०. व्यक्तिवृत्तको ढाँचाबारे दिइएको अनुच्छेद अध्ययन गर्नुहोस् र माध्यमिक तहमा शिक्षक हुनका लागि आवश्यक हुने विवरण समावेश गरी व्यक्तिवृत्त बनाउनुहोस्:
व्यक्तिवृत्त
नाम : रोहित पौडेल
जन्ममिति : वि.सं. २०५०-०३-२२
आमाबुबाको नाम : मीना पौडेल र सुरेश पौडेल
स्थायी ठेगाना : वडा नं. १०, देवदह नगरपालिका
अस्थायी ठेगाना : नयाँ बानेश्वर, काठमाडौं
शिक्षादीक्षा : नेपाली विषयमा स्नातकोत्तर
पेसा व्यवसाय तथा काम : शिक्षण
रुचि क्षेत्र : साहित्य लेखन र यात्रा
कामको अनुभव : निजी विद्यालयमा ५ वर्ष र सामुदायिक विद्यालयमा ३ वर्ष अध्यापन
तालिम : शैक्षिक व्यवस्थापन तालिम
विशेष दक्षता : कम्प्युटर शिक्षण, पाठ्यक्रम निर्माण
इमेल : rohitpaudel@gmail.com
सम्पर्क नम्बर : ९८४१००००००
हस्ताक्षर : ………………..
११. लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि तपाईंलाई भविष्यमा कस्तो व्यक्ति बनूँ जस्तो लाग्यो, लेख्नुहोस्।
उत्तर: लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि मलाई भविष्यमा असल मान्छे बनूँ जस्तो लाग्यो। हुनत मसँग लक्ष्मीप्रसाद देवकोटासँग जस्तो अद्वितीय प्रतिभा त छैन तैपनि आफ्नो क्षमता र हैसियतले भेटेसम्म समाजको कुनै क्षेत्रमा योगदान पुर्याउने इच्छा बढेको छ। साहित्यिक र यस्तै कलाका क्षेत्रमा काम गर्न नसके पनि एउटा समाजसेवी भएर समाजको सेवा गर्न मन लाग्यो। हामीले व्यक्तिगत खुसी मात्र हेरेर नहुने रहेछ। एउटा सामाजिक र चेतनशील प्राणी भएको नाताले अरूको लागि पनि काम गर्नुपर्ने रहेछ। म पहिला त राम्रोसँग आफ्नो अध्ययनलाई पूरा गर्नेछु अनि एउटा सफल र असल मान्छे बनेर समाजको हितमा पनि लाग्नेछु।
१२. ‘देवकोटा छाँगो छड्छडाए झैं कविता लेख्ने कवि हुन्‘ भन्ने भनाइप्रति सहमति प्रकट गर्दै पाठक प्रतिक्रिया लेख्नुहोस्।
उत्तर: ‘देवकोटा छाँगो छड्छडाए झैं कविता लेख्ने कवि हुन्’ भन्ने भनाइप्रति मेरो पूर्ण सहमति रहेको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने नेपाली साहित्यका युगपुरुष हुन्। छाँगो छड्छडाए झैं बिजुली वेगमा कविता लेख्थे। उनले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौं साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए। उनी कुरा गर्दागर्दै कविता लेख्न सक्थे र कवितै कवितामा कुराकानी गर्न सक्थे। उनले तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनभित्रका ६० घण्टामा ‘सुलोचना’ महाकाव्य र एकै रातमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका थिए। यिनै योगदानका कारण उनी नेपाली भाषा साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन्। उनी हिँड्दा हिँड्दै, बस्दा बस्दै धारा प्रवाह कविता लेखिदिन्थे। उनले छोटो समयमा मात्र लेखेनन्, स्तरीय र गहन कृतिहरू लेखे। त्यसैले छाँगो छड्छडाए झैं उनका कलमबाट सिर्जना फुरिरहन्थे भन्ने कुरामा दुई मत छैन।
१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्:
(क) प्रश्नहरू
(अ)चट्याङ भनेको के हो?
उत्तर: समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्न विद्युत्को प्रवाह चट्याङ हो।
(आ)चट्याङ कसरी पर्छ?
उत्तर: जब बादलमा भएका कण आवेशित भएर धन र ऋण आवेशमा परिवर्तित हुन्छन् तब विद्युत उत्पन्न हुन्छ। यो करेन्टले कहिलेकाहीँ पृथ्वीको सतहमा उच्च भोल्टेजले ठक्कर खान्छ र चट्याङ पर्छ।
(इ)चट्याङ परेका बेला गर्न नहुने काम के के हुन्?
उत्तर: चट्याङ परेका बेला अग्लो वस्तु, रुख, गाडी, खुला ठाउँ, झन्डा, पाइप वा बाँसनजिक र विद्युतीय वस्तुनजिक जानुहुँदैन।
(ई)चट्याङबाट हुने दुर्घटनाबाट कसरी बच्न सकिन्छ?
उत्तर: चट्याङबाट हुने दुर्घटनाबाट बच्न पक्की भवनमा आश्रय लिनुपर्छ।
(ख) भाषा संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्:
(अ)‘पक्की भवनमा आश्रय लिनुपर्छ’ वाक्यमा प्रयोग भएको कारक र विभक्ति लेख्नुहोस्।
उत्तर:
भवनमा — अधिकरण कारक र सप्तमी विभक्ति
आश्रय — कर्म कारक
(आ)अनुच्छेदबाट सरल र तिर्यक् कारक जनाउने दुई दुईओटा वाक्य टिपोट गर्नुहोस्।
उत्तर: सरल कारक:
· चट्याङ पर्न लाग्दा फलामे पदार्थभन्दा टाढै बस्नुपर्छ।
· यस्तो बेला अग्लो वस्तु, रुख, झण्डा बाँध्ने पाइप वा बाँसनजिक जानुहुँदैन।
तिर्यक् कारक:
· यसैलाई हामी आकारमा बिजुली चम्केको वा चट्याङ परेको भन्छौं।
· यो करेन्टले कहिलेकाहीँ पृथ्वीको सतहमा उच्च भोल्टेजले ठक्कर खान्छ।
(इ)अनुच्छेदबाट ‘क्ष’ प्रयोग भएका दुईओटा शब्द पहिचान गरी लेख्नुहोस्।
उत्तर: क्षति, क्षण, सुरक्षित
Discussion
Share a helpful question, idea, or explanation with other students.