शब्दार्थ (Glossary)
पारलौकिक: लोकभन्दा परको, परलोकसँग सम्बन्धित
दृष्टान्त: प्रस्तुत गरिने उदाहरण
निष्ठा: आस्था, भक्तिभाव, विश्वास
न्यायोचित: न्याय सुहाउँदो, नीतिसम्मत
स्वत्व: स्वामित्व, कुनै पनि विषयवस्तुप्रतिको स्वामित्व वा अधिकार
महिमा: महत्त्व, गरिमा, प्रशंसा
प्रबुद्ध: राम्ररी ज्ञान पाएको, बुझेको, जागेको
अन्तःप्रेरणा: मनमा आफैँ उब्जेको प्रेरक भावना वा विचार
बाध्यकारी: नगरी नहुने
निर्दिष्ट: निर्देशित गरिएको, तोकिएको
साक्ष्य: साक्षी बस्ने काम
हेक्का: सम्झना, याद
श्रेष्ठता: उच्चता, उत्कृष्टता, विशिष्टता
ताण्डव: उफ्राइ कुदाइ बेसी हुने शिवको नृत्य
सारांश (Summary)
प्रस्तुत पाठ कपिलवस्तुको श्री राष्ट्रिय मावि बरकुलपुरमा आयोजित जिल्ला स्तरीय वादविवाद प्रतियोगिता हो। यसको विषय ‘अधिकार ठुलो कि कर्तव्य ठुलो ?’ रहेको छ।
पक्षबाट पहिलो वक्ता चिदानन्द चौधरीले पूर्वीय दर्शन, गीता र उपनिषद्का उद्धरण दिँदै कर्तव्य नै मानिसको वास्तविक पहिचान भएको तर्क गरेका छन्। उनले राम, सुकरात र गौतम बुद्धको दृष्टान्त प्रस्तुत गरी कर्तव्यपालनले मात्र व्यक्तित्वको परीक्षण हुने बताएका छन्। दोस्रो वक्ता पदम गुप्ताले कर्तव्यलाई नैतिक र वैधानिक गरी दुई भागमा बाँड्दै श्रवणकुमार, गान्धारी र युधिष्ठिरको दृष्टान्त प्रस्तुत गरेका छन्। उनले प्रकृतिले पनि कर्तव्य पालना गरेको भन्दै कर्तव्यको सर्वोच्चता प्रमाणित गरेका छन्।
विपक्षबाट पहिलो वक्ता भरत भण्डारीले अधिकारलाई जन्मसिद्ध हक मान्दै अधिकार बिनाको कर्तव्य असम्भव रहेको तर्क गरेका छन्। उनले नेपालमा भएका ऐतिहासिक आन्दोलन र नेल्सन मन्डेलाको सङ्घर्षको सन्दर्भ प्रस्तुत गरी अधिकारको महत्त्व देखाएका छन्। दोस्रो वक्ता श्रुति साहले व्यक्तित्व विकासका लागि अधिकार अनिवार्य रहेको बताउँदै नेपालको संविधानमा व्यवस्था गरिएका ३१ वटा मौलिक हकको चर्चा गरेकी छन्। उनले हिटलरको पराजय र दक्षिण अफ्रिकाको रङ्गभेद अन्त्यलाई अधिकारको जितका रूपमा प्रस्तुत गरेकी छन्।
समग्रमा अधिकार र कर्तव्य एकअर्काका परिपूरक हुन् र दुवैको सन्तुलनले मात्र सभ्य समाजको निर्माण हुन्छ भन्ने सन्देश यस वादविवादले दिएको छ।
शब्दभण्डार
१. दिइएका शब्द र अर्थ बीच जोडा मिलाउनुहोस्:
प्रतियोगिता → प्रतिस्पर्धा वा होडबाजी
वक्ता → बोल्ने व्यक्ति
कायापलट → ठूलो परिवर्तन
अभिमत → मनको विचार, राय
कसी → वस्तुको स्तर निधारण गर्ने साधन
कानुन → राज्यमा न्यायिक व्यवस्था कायम राख्न बनाइएको नियमको समष्टि रूप
गतिशील → निरन्तर परिवर्तनशील, चलायमान
नैसर्गिक → स्वाभाविक, प्राकृतिक
घोषणापत्र → कुनै पनि संस्था वा व्यक्तिको वचनबद्धता घोषित गर्ने पत्र
२. दिइएका शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस्:
उत्तर: हामी नेपाली सबैले आफ्नो कर्तव्यपालन गर्नुपर्छ। हाम्रो संविधानमा पनि नागरिकका कर्तव्य उल्लेख गरिएको छ। वर्तमान संविधान निर्माणको क्रम निकै सङ्घर्षपूर्ण थियो। अब हामी मानव एक अर्काको कल्याणमा लाग्नुपर्छ। देशको प्रजातन्त्र जोगाउनुपर्छ र नागरिकलाई अधिकारले सम्पन्न बनाउनुपर्छ।
३. दिइएको अनुच्छेदबाट श्रुतिसमभिन्नार्थी शब्द खोजेर लेख्नुहोस्:
उत्तर: दिन — दीन, कृति — कीर्ति, द्वीप — दीप, सित — शीत, जुन — जून
४. दिइएका शब्दको अर्थ खुल्ने गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस्:
(क) बाजी: मामाले जुवामा बाजी लगाउँदा धेरै पैसा जित्नुभयो।
बाजि: कमलले कयौं बाजि सगरमाथा चढ्न खोज्दा पनि सकेन।
(ख) अवधी: नेपालका धेरै भाषामध्ये अवधी भाषा पनि एक हो।
अवधि: समय अवधिको कारणले गर्दा मैले एस.ई.ई.को तयारी गर्न सकिन।
(ग) तिन: मैले सिनेमा हेर्न जाऊँ भनेको तिनले अर्कै सुनिन्।
तीन: जियान्सले तीन हजारमा मोबाइल किनेछ।
(घ) पूरा: प्रख्यातले सुरु गरेको काम प्राश्नाले पूरा गरिन।
पुरा: पवनले खाएको पुरा गणेशले खाइदियो।
(ङ) फेरि: एस.ई.ई.मा फेल भएपछि मनोजले फेरि परीक्षा दियो।
फेरी: जोगीले राती फेरी लगाउँदा मलाई एकदमै डर लाग्छ।
(च) शूर: मानिस भएपछि हामी शूरवीर हुनुपर्छ।
सुर: सुर नभएको मानिसले गीत गाउँदा राम्रो सुनिँदैन।
बोध र अभिव्यक्ति
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस्:
(क)अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादमा वक्ताले पालना गर्नुपर्ने नियमहरू भन्नुहोस्।
उत्तर: वादविवादमा वक्ताले पालना गर्नुपर्ने नियम यस प्रकार छन्:
(अ) प्रत्येक वक्ताका लागि पाँच मिनेटको समय निर्धारण गरिएको छ। चार मिनेटमा जनाउ घन्टी बज्ने छ र पाँच मिनेटमा अन्तिम घन्टी बज्ने छ। अन्तिम घन्टीपछि वक्ताको समय समाप्त हुने छ।
(आ) कुनै जाति, वर्ग, धर्म, समुदाय, क्षेत्र, लिङ्ग, अपाङ्गताप्रति भेदभाव हुने र आक्षेप लगाउने खालका विचार व्यक्त गर्न पाइने छैन।
(इ) विपक्षका भनाइ खण्डन गर्दा आआफ्ना तर्क संयमित र शिष्ट ढङ्गले राख्नुपर्ने छ।
(ई) वक्ताले कुनै लिखित टिपोट हेरेर बोल्न पाइने छैन।
(उ) निर्णायक मण्डलको निर्णय नै अन्तिम हुने छ।
(ख)वादविवाद पाठमा कति जना पात्रको प्रत्यक्ष सहभागिता रहेको छ?
उत्तर: वादविवाद पाठमा ५ जना पात्रको प्रत्यक्ष सहभागिता रहेको छ।
(ग)वादविवादको पहिलो वक्ता को हुन् र उनले ककसलाई सम्बोधन गरेका छन्?
उत्तर: वादविवादको पहिलो वक्ता चिदानन्द चौधरी हुन् र उनले सभाध्यक्ष, प्रमुख अतिथि, निर्णायक मण्डल, गुरु, गुरुआमा, प्रतियोगी साथीहरू र उपस्थित सम्पूर्ण विद्यार्थीलाई सम्बोधन गरेका छन्।
(घ)वादविवादमा युधिष्ठिरको प्रसङ्ग कुन वक्ताको भनाइमा आएको छ?
उत्तर: वादविवादमा युधिष्ठिरको प्रसङ्ग पदम गुप्ताको भनाइमा आएको छ।
४. दिइएको वादविवादको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्:
(क)सुकरातले सत्यप्रतिको निष्ठा र कर्तव्यपरायणताका लागि के गरे?
उत्तर: सुकरातले सत्यप्रतिको निष्ठा र कर्तव्यपरायणताका लागि हेमलक विष पिए।
(ख)बुद्धले कस्तो रहस्यको खोजी गरे?
उत्तर: बुद्धले संसारमा दुःख के हो र यसबाट मानव जातिले कसरी मुक्ति पाउँछ भन्ने रहस्यको खोजी गरे।
(ग)हामीले कसरी कर्तव्य पालन गर्न सक्छौं?
उत्तर: हामीले आआफ्नो ठाउँमा रही जिम्मेवार भएर कर्तव्य पालन गर्न सक्छौं।
(घ)वादविवादको अंशमा कस्ता कस्ता मौलिक कर्तव्यको कुरा गरिएको छ?
उत्तर: वादविवादको अंशमा राष्ट्रप्रतिको सम्मान, स्वतन्त्रता तथा साझा सांस्कृतिक सम्पदाको संरक्षण, धार्मिक सहिष्णुता र भाषिक विविधताको सम्मान जस्ता मौलिक कर्तव्यको कुरा गरिएको छ।
५. दिइएका भनाइका वक्ता पहिचान गर्नुहोस्:
(क)निर्णायक मण्डलको निर्णय नै अन्तिम हुने छ।
वक्ता: उद्घोषक रमा पंजियार
(ख)परोपकार गर्नु नैतिक कर्तव्य हो।
वक्ता: पदम गुप्ता
(ग)नागरिक भएकै कारणबाट प्राप्त गर्ने अधिकार सम्पूर्ण नेपालीले बिना भेदभाव प्रयोग गर्न पाएका छन्।
वक्ता: श्रुति साह
(घ)खुसीको अजस्र स्रोत कर्तव्य भएकाले अधिकारभन्दा कर्तव्य नै ठुलो हो।
वक्ता: चिदानन्द चौधरी
आउनुहुँदैन।
वक्ता: भरत भण्डारीले (विश्वेश्वरप्रसाद कोइरालाको भनाइ)
(ङ)राष्ट्र र राष्ट्रियताको मजबुत जग बसाल्न हरेक वर्गका मानिसले अन्यायको अनुभूति गर्ने अवस्था आउनुहुँदैन।
वक्ता: भरत भण्डारीले (विश्वेश्वरप्रसाद कोइरालाको भनाइ)
(च)कर्तव्यप्रतिको निष्ठा भक्ति वा उपासनाको सर्वोच्च रूप हो।
वक्ता: चिदानन्द चौधरीले (विवेकानन्दको भनाइ)
(छ)प्रकृतिको अधिकार खोस्ने ताकत कसैसँग छैन, कसैले प्रकृतिको अधिकार खोसोस् त?
वक्ता: श्रुति साह
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्:
(क) अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादका चिदानन्द चौधरीले कर्तव्यपालनबारे भनेका मुख्य मुख्य तीनओटा भनाइ लेख्नुहोस्।
उत्तर: चिदानन्द चौधरीले कर्तव्यपालनबारे भनेका मुख्य तीन भनाइ:
· कर्तव्यले नै मानिसलाई जीवनवादी बन्न र मनमा सकारात्मक सोच पैदा गर्न उत्प्रेरित गर्छ।
· संसारका कैयौं आदर्श व्यक्ति आआफ्नो ठाउँमा रहेर नै कर्तव्य पालनको अग्निपरीक्षामा खारिएर खरो उत्रेका र महान् बनेका हुन्।
· आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य र सुसंस्कृत हुन्छ।
(ख) कर्तव्यको विषयलाई हाम्रा पौराणिक ग्रन्थमा कसरी उल्लेख गरिएको छ, वादविवादका आधारमा लेख्नुहोस्।
उत्तर: हाम्रा पौराणिक ग्रन्थहरूमा कर्तव्यको विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ। नीतिश्लोकमा न्यायपूर्ण रूपमा आर्जन गरेको धनबाट पारलौकिक कर्तव्य गर्नुपर्छ भनिएको छ भने गीतामा आफ्ना हातमा कर्तव्य गर्ने जुन अधिकार छ त्यसलाई इमानदारीपूर्वक पूरा गर्नुपर्छ भनिएको छ। उपनिषद्मा मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव जस्ता भनाइहरू समावेश गरिएका छन्।
(ग) अधिकारका सन्दर्भमा भरत भण्डारीका भनाइको सार लेख्नुहोस्।
उत्तर: भरत भण्डारीका अनुसार अधिकारबिना कर्तव्य पूरा गर्न सम्भव छैन। एउटा बालक जन्मनासाथ उसलाई कर्तव्यभन्दा पहिले अधिकारको हक प्राप्त हुन्छ। अधिकार जन्मसिद्ध हुन्छ भने कर्तव्य पछि मात्र जोडिने विषय हो। यसैले कर्तव्यभन्दा अधिकारको महत्त्व बढी हुन्छ भन्ने नै उनको भनाइको सार हो।
(घ) श्रुति साहको भनाइको सार लेख्नुहोस्।
उत्तर: श्रुति साहका अनुसार अधिकार ठुलो भएकै कारण यसको प्राप्तिका लागि विभिन्न आन्दोलनहरू भएका हुन्। प्रकृतिसँग सम्पूर्ण अधिकार छ र प्रकृतिले आफ्नो कर्तव्य पनि पूरा गरिरहेको छ। मानिसले जन्मसिद्ध रूपमा प्राप्त गर्ने, समग्र व्यक्तित्व विकास तथा सम्मानपूर्ण र नैतिक जीवनयापनका लागि अपरिहार्य अधिकार नै कर्तव्यभन्दा विशिष्ट र ठुलो हो।
७. व्याख्या गर्नुहोस्:
(क) कर्तव्यको कसीमा घोटिंदा मात्र हरेक व्यक्तिको व्यक्तित्वको सफल परीक्षण हुन्छ।
उत्तर: प्रस्तुत भनाइ कक्षा १० को नेपाली पाठ्यपुस्तक अन्तर्गत ‘अधिकार ठुलो कि कर्तव्य ठुलो’ शीर्षकको वादविवाद पाठबाट साभार गरिएको हो। यस अंशमा ‘कर्तव्य ठुलो’ भन्ने पक्षका प्रथम वक्ता चिदानन्द चौधरीले आफ्नो मन्तव्य टुङ्ग्याउने क्रममा यो विचार व्यक्त गरेका हुन्। मानिसको वास्तविक योग्यता, निष्ठा र चरित्रको पहिचान उसले समाजमा दाबी गर्ने अधिकारबाट नभई आफ्नो जिम्मेवारी पूरा गर्दा मात्र हुन्छ भन्ने भाव यहाँ प्रस्तुत गरिएको हो।
कर्तव्य नै चरित्र निर्माण गर्ने र समाजलाई भावनात्मक रूपमा जोड्ने मुख्य आधार हो। कर्तव्यपालन कुनै विशेष पद वा ओहदामा रहेर मात्र गरिने विषय नभएर समाजको जुनसुकै स्थानबाट निर्वाह गर्न सकिने नैतिक आचरण हो। संसारका कैयौँ आदर्श व्यक्तिहरू जिम्मेवारीको अग्निपरीक्षामा खरो उत्रिएर नै इतिहासमा अमर र महान् बनेका हुन्। पिताको आज्ञा शिरोधार्य गरेर राम मर्यादापुरुषोत्तम बने भने सत्य र न्यायका लागि सुकरातले सहर्ष विषपान गरे। त्यसै गरी मानव कल्याणका लागि सिद्धार्थ गौतमले राजपाठ र पारिवारिक सुख त्यागेर कर्तव्यकै कडा मार्ग रोजेका थिए। हरेक नागरिक, कृषक, शिक्षक र राष्ट्रसेवकले आफ्नो दायित्व पूरा गरेमा मात्र समाज व्यवस्थित बन्छ। राष्ट्रले मलाई के कति अधिकार दियो भन्दा पनि मैले आफ्नो के कति कर्तव्य पूरा गरेँ भन्ने उच्च भावना आत्मसात् गर्नु नै सच्चा नागरिकको जिम्मेवारी हो। अधिकारमुखी भावनाले मानिसलाई स्वार्थी बनाउन सक्छ तर कर्तव्यपरायणताले उसको क्षमता र चरित्रलाई निखार्छ। व्यक्तिले समाज र राष्ट्रका लागि के कति योगदान दियो भन्ने कुरा नै उसको वास्तविक मूल्याङ्कनको कडी बन्दछ।
यसरी निष्कर्षमा रामको आज्ञापालन, सुकरातको विषपान र सिद्धार्थ गौतमको गृहत्याग जस्ता ऐतिहासिक उदाहरणहरू कर्तव्यकै कसीमा खारिएका जीवन्त दृष्टान्त हुन्। मानिसले निष्काम भावले कर्तव्यको पालना गरेमा अधिकारहरू आफैँ स्थापित हुन्छन् र समाजले उसको वास्तविक आदर गर्छ। अधिकारमुखी बन्नु व्यक्तिगत स्वार्थ मात्र हो तर दायित्वप्रतिको निष्ठाले नै मानिसको वास्तविक चरित्र उजागर गर्छ भन्ने मुख्य आशय यस गद्यांशमा प्रस्तुत गरिएको छ।
(ख) अधिकार नदिई कर्तव्य मात्र पूरा गर भन्नु बिना हतियार लडाइँमा पठाउनु जस्तै हो। खुट्टामा नेल लगाएर हिँड् भन्नु जस्तै हो।
उत्तर: प्रस्तुत भनाइ कक्षा १० को नेपाली पाठ्यपुस्तक अन्तर्गत ‘अधिकार ठुलो कि कर्तव्य ठुलो’ शीर्षकको वादविवाद पाठबाट साभार गरिएको हो। यस अंशमा ‘अधिकार ठुलो’ भन्ने विपक्षका वक्ता भरत भण्डारीले पक्षका वक्ताको तर्कको सशक्त खण्डन गर्ने क्रममा यो तीखो वैचारिक प्रहार गरेका हुन्। मानिसलाई आधारभूत हक, स्वतन्त्रता र आत्मसम्मान नदिई केवल जिम्मेवारी मात्र पूरा गर भन्नु निरर्थक, अन्यायसङ्गत र असम्भव हुन्छ भन्ने भाव यहाँ प्रस्तुत गरिएको हो।
अधिकार नै कर्तव्य पालना गर्ने पहिलो सर्त र मुख्य आधार हो। मानिसलाई आधारभूत हक र स्वतन्त्रता नै नदिई उसबाट राष्ट्र निर्माण वा जिम्मेवारीको ठुलो अपेक्षा राख्नु सर्वथा अनुचित हुन्छ। युद्ध जित्नका लागि सिपाहीसँग अत्याधुनिक हतियार हुनु जति आवश्यक छ, नागरिकलाई आफ्नो दायित्व पूरा गर्न अधिकार सम्पन्न बनाउनु त्यत्तिकै जरुरी छ। हतियार बिनाको सिपाही युद्धमैदानमा असफल भए झैँ अधिकारविहीन नागरिकले समाजमा कुनै रचनात्मक योगदान दिन सक्दैन। नागरिकका हातमा हत्कडी लगाएर काम गर भन्नु र खुट्टामा फलामे नेल बाँधेर हिँड्ने आदेश दिनु शासकहरूको निरङ्कुशता र तानाशाही प्रवृत्ति मात्र हो। अधिकारले नै मानिसलाई सामर्थ्य, हौसला र आत्मसम्मान दिन्छ जसका कारण ऊ आफ्नो कर्तव्यप्रति जिम्मेवार हुन सक्छ। आधारभूत अधिकार खोसिएको समाजमा कर्तव्यको कुरा गर्नु तानाशाही प्रवृत्ति मात्र हो।
यसरी निष्कर्षमा बिनाहतियार लडाइँ जित्न नसकिने र खुट्टामा नेल लगाएर हिँड्न नसकिने सत्य झैँ अधिकार बिना कर्तव्यको पालना सर्वथा असम्भव छ। कर्तव्य पालना गर्नका लागि व्यक्तिको मानसिक र भौतिक स्वतन्त्रता पहिलो प्राथमिकता बन्नुपर्छ। नागरिकलाई बन्धनमा राखेर कर्तव्यको अपेक्षा गर्नु व्यर्थ हुन्छ, त्यसैले आफ्नो जिम्मेवारी पूरा गर्न मानिस पहिले स्वतन्त्र र सक्षम हुनुपर्छ भन्ने विचार यस वाक्यांशमा अभिव्यक्त भएको देखिन्छ।
८. अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादका वक्तामध्ये तपाईंलाई कसको भनाइ मन पर्यो, किन?
उत्तर: ‘अधिकार ठुलो कि कर्तव्य ठुलो?’ वादविवाद प्रतियोगिताका चारै जना वक्ताहरूले आआफ्नो ठाउँबाट निकै उत्कृष्ट र ओजपूर्ण विचारहरू प्रस्तुत गरेका छन्। तीमध्ये मलाई पक्षका दोस्रो वक्ता पदम गुप्ताको भनाइ र प्रस्तुति शैली सबैभन्दा बढी मन पर्यो। उहाँको तर्क गर्ने तरिका निकै व्यावहारिक, सन्तुलित र समाजको यथार्थलाई ऐना झैँ छर्लङ्ग पार्ने खालको छ।
पदम गुप्ताले अधिकारको विरोध नगरी त्यसको प्राप्तिको शैलीमाथि बलियो प्रश्न उठाउनुभएको छ। अधिकार प्राप्तिका नाममा गरिने टायर बाल्ने, बन्द र हडताल जस्ता कार्यले कसरी अरूको अधिकार हनन गर्छ भन्ने उहाँको तर्क अकाट्य छ। उहाँले कर्तव्यलाई नैतिक र वैधानिक रूपमा वर्गीकरण गरेर बुझाउनुभएको छ। मदर टेरेसा र महावीर पुन जस्ता अहोरात्र खटिने व्यक्तित्वहरूको उदाहरण दिएर उहाँले कर्तव्यको गरिमा बढाउनुभएको छ। नदीले जल दिने र सूर्यले ताप दिने जस्ता प्राकृतिक दृष्टान्तले उहाँको भनाइलाई झन् प्रमाणित गरेको छ। “कर्तव्यको तेल बिना विकासको रेल चल्दैन” भन्ने उहाँको काव्यात्मक निष्कर्षले मेरो मानसपटलमा गहिरो प्रभाव पार्यो।
१०. तपाईंले वादविवादमा कर्तव्य र अधिकारका बारेमा फरक फरक तर्क पढ्नुभयो। कर्तव्य र अधिकारको सम्बन्ध कस्तो हुन्छ होला, साथीसँग छलफल गरी निष्कर्ष कक्षामा सुनाउनुहोस्।
उत्तर: ‘अधिकार ठुलो कि कर्तव्य ठुलो?’ शीर्षकको बहसका आधारमा हामी साथीहरूबीच अधिकार र कर्तव्यको पारस्परिक सम्बन्धका बारेमा व्यापक छलफल गर्दा निम्न बमोजिमको साझा निष्कर्ष निस्किएको छ:
अधिकार र कर्तव्य मानव जीवनका रथका दुई पाटा हुन् जसको सन्तुलित सञ्चालन बिना सभ्य र व्यवस्थित समाजको परिकल्पना गर्न सकिँदैन। यी दुई तत्त्वबीच परिपूरक र परिपोषक सम्बन्ध रहेको हुन्छ। एउटा नागरिकले आफ्नो कर्तव्यको इमानदार पालना गर्दा नै अर्को नागरिकको अधिकारको स्वतः रक्षा हुन्छ। उदाहरणका लागि आमाबुबाले पालनपोषणको कर्तव्य पूरा गर्दा सन्तानले सुरक्षित हुन पाउने अधिकार पाउँछन्। समाजमा आफ्नो हक खोज्दै गर्दा अरूको हकको सम्मान गर्नु नै कर्तव्यको वास्तविक रूप हो।
हामीले अधिकार र कर्तव्यलाई कहिल्यै पनि अलग गरेर हेर्न मिल्दैन। कर्तव्य बिनाको अधिकारले मानिसलाई निरङ्कुश र स्वार्थी बनाउँछ भने अधिकार बिनाको कर्तव्यले नागरिकलाई दासत्वको साङ्लोमा बाँध्छ। नेपालको संविधानमा मौलिक हकको व्यवस्था गरिए जस्तै नागरिकका कर्तव्यहरू पनि स्पष्ट रूपमा तोकिएका छन्। यसबाट हामीले यो शिक्षा पाउँछौँ कि सचेत नागरिकले सधैँ यी दुवै पक्षको सुन्दर सन्तुलन मिलाएर अघि बढ्नुपर्छ। त्यसैले अधिकार उपभोग गर्नका लागि कर्तव्यको पालना अनिवार्य पूर्वसर्त हो भन्ने नै हाम्रो छलफलको अन्तिम निचोड हो।
११. अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादका आधारमा तपाईंको धारणा प्रस्तुत गर्नुहोस्।
उत्तर: ‘अधिकार ठुलो कि कर्तव्य ठुलो?’ शीर्षकको वादविवादमा अधिकार र कर्तव्यको महत्त्व तथा श्रेष्ठताका विषयमा गहन बहस गरिएको छ। यस प्रतियोगितामा पक्ष र विपक्षका वक्ताहरूले आआफ्ना विचारलाई पुष्टि गर्न विभिन्न तार्किक प्रमाण, ऐतिहासिक सन्दर्भ र सामाजिक दृष्टान्तहरू प्रस्तुत गरेका छन्। मानव समाजको विकास र व्यक्तिको पहिचानका लागि यी दुवै पक्ष महत्त्वपूर्ण भए तापनि व्यावहारिक र नैतिक कसीमा कर्तव्यको पल्ला भारी देखिन्छ। त्यसैले म कर्तव्य ठुलो भन्ने पक्षमा छु।
कर्तव्यले मानिसलाई जिम्मेवार, परोपकारी र अनुशासित बनाउँछ जसको प्रत्यक्ष सकारात्मक प्रभाव सिङ्गो समाजमा पर्छ। प्रथम वक्ता चिदानन्द चौधरीले भनेझैँ कर्तव्यपालन पद वा ओहदामा रहेर मात्र होइन समाजको जुनसुकै स्थानबाट पनि गर्न सकिन्छ। जब समाजका हरेक नागरिकले आफ्नो दायित्व इमानदारीपूर्वक पूरा गर्छन् तब अरूको अधिकार स्वतः सुरक्षित हुन्छ। आमाबाबुले पालनपोषणको कर्तव्य पूरा गर्दा सन्तानले सुरक्षित हुन पाउने अधिकार पाउँछन्। दोस्रो वक्ता पदम गुप्ताले “कर्तव्यको चक्का बिना अधिकारको गाडी गुड्दैन” भन्दै कर्तव्यको वैधानिक र नैतिक पक्षलाई उजागर गर्नुभएको छ। प्रकृतिमा सूर्यले प्रकाश दिने र नदीले बग्ने कर्तव्य पूरा गरेकै कारण सृष्टिको अस्तित्व जोगिएको हो। अधिकारको खोजीमा स्वार्थ लुकेको हुन सक्छ तर कर्तव्यको पालनामा राष्ट्र र समाजको उन्नति लुकेको हुन्छ।
सङ्क्षेपमा भन्नुपर्दा अधिकार प्राप्तिको पहिलो र अनिवार्य सर्त नै कर्तव्यको पालना हो। कर्तव्यको बलियो जगमा मात्र अधिकारको सुन्दर महल ठडिन सक्छ भन्ने तथ्यलाई भुल्न मिल्दैन। त्यसैले कर्तव्य नै अधिकारको वास्तविक जननी र मानव जीवनको सर्वोपरि पक्ष हो।
१२. हरेक आमाबुबाले आफ्ना सन्तानका लागि सम्पत्ति जोडिदिने कि स्तरीय शिक्षा दिने ? भन्ने भनाइको पक्ष र विपक्षमा विभाजित भई कक्षामा छलफल गर्नुहोस्।
पक्ष (स्तरीय शिक्षा दिनुपर्छ):
आदरणीय सभापतिज्यू, प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू, निर्णायक मण्डल, गुरुवर्ग तथा मेरा प्रतियोगी साथीहरू र उपस्थित सम्पूर्ण विद्यार्थी मित्रहरू ! म आजको वादविवादमा विषयको पक्ष अर्थात् ‘सन्तानलाई भौतिक सम्पत्ति होइन, स्तरीय शिक्षा दिनुपर्छ’ भन्ने विषयमा आफ्ना तर्क प्रस्तुत गर्दै छु।
सभाध्यक्ष महोदय ! ‘विद्या धनम् सर्वधनम् प्रधानम्’ भन्ने भनाइ सर्वविदितै छ। शिक्षारूपी धन कहिल्यै नासिने र कसैले चोर्न नसक्ने अक्षय धन हो। स्तरीय शिक्षाकै कारणले सन्तान जुनसुकै परिस्थितिमा पनि आफ्नै खुट्टामा उभिएर आत्मसम्मानका साथ गरिखान सक्छन्। आमाबुबाले आफू आर्थिक रूपमा गरिब बनेर पनि आफ्ना सन्तानलाई शिक्षा र संस्कारको धनी बनाउने दूरगामी सपना राख्नुपर्छ। भौतिक धन क्षणिक र नासवान् हुन्छ तर शिक्षाले मानिसलाई जीवनको अन्तिम घडीसम्म मार्गदर्शन गरिरहन्छ। शिक्षित मान्छेले समाजमा सम्मानित जीवन पाउँछ र ऊ कहिल्यै कसैबाट अपहेलित हुनुपर्दैन।
विपक्षका मित्रहरूले सम्पत्तिको वकालत गर्नुहोला, तर सम्पत्तिको सहारा त्यो रहुन्जेल मात्र हो। यदि सन्तान अशिक्षित र विवेकहीन छ भने उसका बाबुआमाले थुपारिदिएको सम्पत्ति सकिन समय लाग्दैन र सम्पत्ति सकिएपछि उसको अस्तित्व नै समाप्त हुन्छ। तर यदि उसलाई स्तरीय शिक्षा र चेतना दिइएको छ भने ऊ जीवनभर आफ्नै क्षमताले नयाँ सम्पत्ति सिर्जना गर्न सक्छ र अरूलाई पनि मार्गनिर्देश गर्न सक्छ। नेल्सन मन्डेलाले भनेका छन्, “शिक्षा सबैभन्दा शक्तिशाली त्यो अस्त्र हो जसलाई तिमी संसार परिवर्तनका लागि प्रयोग गर्न सक्छौ।” त्यस्तै अरिस्टोटलका अनुसार शिक्षित र अशिक्षित व्यक्तिमा जीवित र मृत व्यक्ति सरहको भिन्नता हुन्छ।
(जनाउ घन्टी बज्छ।)
शिक्षाबाट ज्ञान र ज्ञानबाट विवेकको उदय हुन्छ। धनले मानिसलाई विलासी र अकर्मण्य बनाउन सक्छ तर शिक्षाले जीवन र जगत्लाई बुझ्ने सामर्थ्य दिन्छ। सन्तानका लागि धन जोड्ने लहडमा बुबाआमा परदेसिने र यता छोराछोरी असल शिक्षा र संस्कार नपाएर कुलतमा फसेका अनगिन्ती उदाहरण हाम्रै सामु छन्। नीतिशास्त्रमा पनि सन्तानलाई शिक्षाबाट वञ्चित गर्ने आमाबुबालाई शत्रु समान मानिएको छ। त्यसैले छोराछोरीलाई धनको क्षणिक चौकीदार होइन, ज्ञानको वास्तविक हकदार बनाउनुपर्छ भन्दै मेरो मन्तव्य यहीं टुङ्ग्याउँछु। धन्यवाद !
विपक्ष (सम्पत्ति जोडिदिनुपर्छ):
आदरणीय सभापतिज्यू, प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू, निर्णायक मण्डल, गुरुवर्ग, प्रतिस्पर्धी साथीहरू तथा उपस्थित सम्पूर्ण विद्यार्थी मित्रहरू ! म आजको वादविवाद प्रतियोगिताको निर्धारित विषयको विपक्ष अर्थात् ‘हरेक आमाबुबाले आफ्ना सन्तानका लागि भौतिक सम्पत्ति नै जोडिदिनुपर्छ’ भन्ने पक्षमा उभिएर पूर्ववक्ता मित्रको भनाइको खण्डन गर्दै आफ्ना तर्कहरू प्रस्तुत गर्न गइरहेको छु।
सभाध्यक्ष महोदय ! पक्षका मित्रले ‘विद्या धनम्’ भन्दै शिक्षाको रङ्गीन बेलुन उडाउनुभयो। तर म उहाँलाई जीवनको वास्तविक धरातलमा ओर्लेर सोध्न चाहन्छु, आजको २१ औँ शताब्दीमा मित्रले भन्नुभए जस्तो ‘स्तरीय शिक्षा’ प्राप्त गर्नका लागि के पैसा र भौतिक सम्पत्तिको आवश्यकता पर्दैन ? आमाबुबाको खल्तीमा सम्पत्ति नै भएन भने सन्तानले महँगा र गुणस्तरीय विश्वविद्यालयको ढोकासम्म टेक्ने अवसर कसरी पाउन सक्छन् ? सत्य त यो हो महोदय, शिक्षाको सुन्दर महल ठड्याउनका लागि पनि सुरुमा सम्पत्तिकै बलियो जग चाहिन्छ।
पक्षका मित्रले नेल्सन मन्डेलाका भनाइहरू उद्धृत गर्दै शिक्षाले संसार बदल्छ भन्नुभयो। तर सम्पत्ति र पुँजी बिनाको शिक्षित मानिस केवल प्रमाणपत्रको थैलो बोकेर बेरोजगारीको लाइनमा बस्न बाध्य भएको तीतो यथार्थ कसैसँग लुकेको छैन। पढाइ पूरा गरेपछि आफ्नै खुट्टामा उभिएर कुनै व्यवसाय, उद्योग वा नयाँ उद्यम सुरु गर्नका लागि प्रारम्भिक पुँजी चाहिन्छ, जुन आमाबुबाले जोडिदिएको सम्पत्तिबाट मात्र सम्भव हुन्छ। आकस्मिक रोग, आर्थिक मन्दी वा महामारी जस्ता सङ्कटका समयमा मानिसको ज्यान शैक्षिक प्रमाणपत्रले होइन, आमाबुबाले बैंकमा राखिदिएको सम्पत्ति र जायजेथाले मात्र जोगाउँछ।
(जनाउ घन्टी बज्छ।)
महोदय ! धनले मानिसलाई बिगार्छ भन्नु पक्षका मित्रको सङ्कुचित सोच मात्र हो। सम्पत्तिले मानिसलाई अवसर, सामाजिक सुरक्षा र उच्च आत्मबल दिन्छ। सन्तानलाई आर्थिक अभावको भुमरीमा छाडेर दिइने शिक्षाले केवल कुण्ठा र निराशा मात्र बढाउँछ। त्यसैले जीवनलाई व्यावहारिक रूपमा सुरक्षित, स्थिर र गतिशील बनाउने वास्तविक शक्ति सम्पत्ति नै भएकाले आमाबुबाले सन्तानका लागि सम्पत्ति नै जोडिदिनुपर्छ भन्दै मेरो तर्क यहीं टुङ्ग्याउँछु, धन्यवाद !
१३. अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादको प्रस्तुति ढाँचा अनुकरण गरी पाठको पहिलो वक्ताका भनाइको खण्डन गर्नुहोस्।
आदरणीय सभाध्यक्षज्यू,
प्रमुख अतिथिज्यू, निर्णयको भूमिकामा रहनुभएका निर्णायक मण्डल,
गुरु, गुरुआमा तथा मेरा प्रतियोगी साथीहरू र उपस्थित सम्पूर्ण विद्यार्थी मित्रहरू !
म आजको वादविवाद प्रतियोगिताको विपक्ष अर्थात् अधिकार ठुलो भन्ने पक्षमा उभिएर पक्षका प्रथम वक्ता चिदानन्द चौधरीको भनाइको खण्डन गर्दै आफ्ना तर्क प्रस्तुत गर्दै छु।
सभाध्यक्ष महोदय !
पक्षका वक्ता चिदानन्द चौधरीले कर्तव्यलाई अधिकारभन्दा ठुलो र महान् ठान्दै विभिन्न धार्मिक ग्रन्थ र दार्शनिक उद्धरणहरू प्रस्तुत गर्नुभयो। उहाँले नीतिश्लोक, गीता र उपनिषद्का वचनहरू कण्ठ गरेर कर्तव्यको महानता स्थापित गर्न खोज्नुभयो। तर म सोध्न चाहन्छु, के ती ग्रन्थहरूले अधिकारलाई नकारेका छन् त ? गीतामै ‘कर्मण्येवाधिकारस्ते’ भनिएको छ, जसको अर्थ हो, कर्ममा तिम्रो अधिकार छ। यहाँ कर्तव्यभन्दा पहिले अधिकारको कुरा जोडिएर आएको छ। त्यसैले कर्तव्य गर्नका लागि पहिले अधिकार चाहिन्छ भन्ने कुरा स्वयं गीताले पुष्टि गरेको छ।
उहाँले राम, सुकरात र गौतम बुद्धको उदाहरण दिँदै कर्तव्यपालनको महानता देखाउन खोज्नुभयो। तर के रामले अधिकार बिना नै वनवास जाने कर्तव्य पूरा गरेका थिए ? उनलाई पिताको आज्ञा पालन गर्ने अधिकार थियो, त्यसैले उनले त्यो कर्तव्य पूरा गर्न सके। सुकरातले पनि आफ्नो विचार राख्ने स्वतन्त्रताको अधिकार प्रयोग गरेकै कारण सरकारको आँखाको तारो बनेका थिए। उनले विष पिउनु कर्तव्यपरायणता मात्र नभई आफ्नो अधिकारको रक्षाका लागि पनि थियो।
उहाँले भन्नुभयो, नागरिकले आआफ्ना घर वरिपरि सफा गरे सिङ्गो सहर सफा हुन्छ। तर सफा गर्ने कर्तव्य पूरा गर्नका लागि पनि पहिले सफा पानी र फोहोर व्यवस्थापनको सेवा पाउने अधिकार चाहिन्छ। किसानले अन्न उब्जाउने कर्तव्य पूरा गर्नका लागि पहिले मल, बिउ र सिँचाइ पाउने अधिकार चाहिन्छ। शिक्षकले पढाउने कर्तव्य पूरा गर्नका लागि पहिले तालिम र तलब पाउने अधिकार चाहिन्छ।
(जनाउ घन्टी बज्छ।)
अन्त्यमा, चिदानन्द चौधरीको भनाइ जति आदर्शपूर्ण देखिए पनि अधिकार बिना कर्तव्य पूरा गर्न सकिँदैन भन्ने यथार्थलाई नकार्न सकिँदैन। अधिकार नै कर्तव्यको जननी हो। त्यसैले कर्तव्यभन्दा अधिकार नै ठुलो हो भन्दै आफ्नो खण्डन यहीं टुङ्ग्याउँछु, धन्यवाद !
१४. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) प्रश्नहरू
(अ)गरिबी भन्नाले के बुझिन्छ ?
उत्तर: आफ्नो जीवन निर्वाह गर्नका लागि आवश्यक पर्ने गाँस, बास, कपाससमेत परिपूर्ति गर्न नसकेको अवस्थालाई गरिबी भन्ने बुझिन्छ ।
(आ)गरिबी किन बढ्छ ?
उत्तर: अशिक्षा, जनसङ्ख्या वृद्धिदरको उच्चता, बेरोजगारी, न्यून आर्थिक वृद्धिदर आदि कारणले गरिबी बढ्छ ।
(इ)गरिबी निवारणका लागि कस्ता कार्य गर्न सकिन्छ ?
उत्तर: गरिबी पहिचान गरी रोजगार तथा स्वरोजगारमूलक सिप विकास तालिम तथा शिक्षा कार्यक्रम सञ्चालनबाट गरिबी निवारण गर्न सकिन्छ ।
(ई)नेपालमा गरिबी निवारणमा ककसको भूमिका अपरिहार्य छ ?
उत्तर: नेपालमा गरिबी निवारणमा सरकारी, सहकारी, सामुदायिक, निजी र गैरसरकारी क्षेत्र एवम् विकास साझेदारको भूमिका अपरिहार्य छ ।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :
अ)अनुच्छेदबाट वर्तमान कालको एउटा वाक्य टिपी त्यसलाई अज्ञात पक्षमा परिवर्तन गर्नुहोस्।
उत्तर: गरिबीको कारण व्यक्ति राष्ट्रको सबै खालका अवसरमा सहभागी हुन नपाउँदा विकासको मूल प्रवाहबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ । → गरिबीको कारण व्यक्ति राष्ट्रको सबै खालका अवसरमा सहभागी हुन नपाउँदा विकासको मूल प्रवाहबाट वञ्चित हुनुपर्ने अवस्था आएछ ।
(आ)अनुच्छेदबाट वर्तमान कालको एउटा वाक्य टिपी त्यसलाई अभ्यस्त पक्षमा परिवर्तन गर्नुहोस् ।
उत्तर: विश्वमा दिनप्रतिदिन गरिबीको समस्या बढ्दै गएको छ । → विश्वमा दिनप्रतिदिन गरिबीको समस्या बढ्दै जान्थ्यो ।
(इ)मानव विकास सूचाङ्क का आधार मा हेर्दा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा गरिबी को प्रभाव अत्यधिक देखिने गरेको छ । भन्ने वाक्यमा त्रुटि भएका स्थानमा पदयोग गरी पुनर्लेखन गर्नुहोस् ।
उत्तर: मानव विकास सूचाङ्कका आधारमा हेर्दा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा गरिबीको प्रभाव अत्यधिक देखिने गरेको छ ।
Discussion
Share a helpful question, idea, or explanation with other students.