Nepali

पाठ ७ · शत्रु

सार (Summary)

विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचित ‘शत्रु’ कथा मनोवैज्ञानिक धाराको चरित्रप्रधान कथा हो। कृष्ण राय यस कथाका प्रमुख पात्र हुन्। उनी गाउँका भद्र, शान्त र सहयोगी व्यक्तित्वका रूपमा परिचित छन्। गाउँमा कुनै झगडा परेमा उनी मध्यस्थको भूमिका निर्वाह गर्थे। धन, यश र सम्मान सबै दृष्टिले उनी सम्पन्न थिए। सन्तान नभए पनि टाढाको भतिजोलाई धर्मपुत्र बनाई सन्तानको अभाव पूर्ति गरेका थिए। उनी आफूलाई अजात शत्रु ठान्थे र ४५ वर्षको उमेरसम्म कसैलाई पनि शत्रु नबनाएको भ्रममा जीवन बिताइरहेका थिए। तर एक रात तन्द्रा अवस्थामा उनीमाथि लट्ठी प्रहार भएपछि उनको भ्रम टुट्यो र उनी सबैलाई शत्रु देख्न थाले। विगतका मध्यस्थता गरेका घटनाहरू स्मरण गर्दै उनले दुवै पक्षको समर्थक बन्न नसकिने र एउटा न एउटाको शत्रु हुनैपर्ने तत्त्वबोध गरे।

शब्दार्थ (Glossary)

कर्जा : निश्चित अवधिमा ब्याजसहित वा विनाब्याज फर्काउने गरी लिइएको रकम, ऋण

मध्यस्थ : कसैको पक्षमा नलाग्ने, तटस्थ

अदब : आफूभन्दा ठुला बडा वा मान्यजनप्रतिको आदर भाव, मर्यादायुक्त शिष्ट एवम् नम्र आचरण

यत्न : प्रयास, जमर्को, कोसिस

बैरी : शत्रु, विरोधी

तन्द्रा : निद्रा लाग्नु अगाडिको आँखाको नठ्याइ, निद्राको पहिलो अवस्था

फसाद : असजिलो अवस्था, झमेला

अचाक्ली : धेरै, हुनुपर्नेभन्दा बढी

इख : प्रतिशोधको भावनाले मनमा उठ्ने द्वेष, रिस

नाहक : कुनै प्रयोजनविना, विनासित्ति

दुष्परिणाम : खराब नतिजा

आपस्त : आफन्त

पोष्य : पालन पोषण गर्न योग्य

शब्दभण्डार

. दिइएका शब्दको अर्थ लेख्नुहोस् :

यश → राम्रो काम गर्नेले पाउने इज्जत

रैती → अरूको जग्गा कमाउने व्यक्ति

अकलुषित → सफा हृदयको

भरोसा → आश्रय

जमदार → जमादार

गर्व → मैं जान्ने सुन्ने हुँ भन्ने घमण्ड

झटनी → धान काट्ने काम

अप्रिय → मन नपरेको

दुर्गुण → कुनै पदार्थमा विकार उत्पन्न गराउने दोष

आर्जन → आम्दानी

व्यापक → विस्तृत, फैलिएको

. दिएको अनुच्छेदबाट अनेकार्थी शब्द खोजी तिनले दिने कम्तीमा दुई दुईवटा अर्थ लेख्नुहोस्:

उत्तर:

हार

१. गलामा लगाउने गहना
२. पराजय

सुर

१. गीत वा बाजाको धुन
२. ताल

साल

१. वर्ष
२. एक प्रकारको रुख

कर

१. दबाब
२. हात

दर

१. तीजमा खाइने भोजन
२. भाउ वा मूल्य

वर

१. नजिक
२. दुलाहा

टीका

१. टिप्पणी
२. निधारमा लगाइने चन्दन

रहर

१. इच्छा वा चाहना
२. एक प्रकारको दाल

. दिइएको अनुच्छेद पढ्नुहोस् अनुच्छेदबाट अनुकरणात्मक शब्द पहिचान गर्नुहोस् :

उत्तर:

गजक्क, प्याट्ट, धुरुधुरु, टुलुटुलु, फटाफट, स्याँस्याँ, गुरुरु

. ‘शत्रुकथाको कृष्ण राय जुरमुरिँदै शत्रु हुन सक्छ अंशको उपयुक्त ठाउँमा अनुकरणात्मक शब्द राखी पुनर्लेखन गर्नुहोस्

उत्तर:

कृष्ण राय जुरमुरिँदै जरुक्क उठे, तबसम्म आक्रमणकारी फुत्तै भागिसकेको थियो । “मलाई कसले यसरी अचानक आक्रमण गर्यो होला ?” तिनी एकोहोरो विचार गर्न थाले । “यस जीवनमा मैले कसैलाई आफ्नो कट्टर शत्रु बनाइनँ, झगडा फसादमा रहिनँ ।” कृष्ण रायलाई पहिले त कसैले आक्रमण गरेको हो भन्ने कुरामा पटक्कै विश्वास भएन । सब तन्द्रा अवस्थामा भ्रम जस्तो लाग्यो तर भित्तामा लागेर ठनक्क भाँचिएको लट्ठीको टुक्रा त भ्रम हुन सक्दैन । कृष्ण रायले बिछ्यौनाबाट निहुरीकन त्यस टुक्रालाई टपक्क टिपे, हेरेर गम्न थाले “को मेरो शत्रु हुन सक्छ ?”

. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

 सान्त्वना → परीक्षामा असफल भएका साथीलाई गाली नगरी सान्त्वना दिनुपर्छ ।

 सिद्धान्त → जीवनमा दृढ सिद्धान्त भएमा सफलता अवश्य प्राप्त हुन्छ ।

 पुँजी → नेपालको पुँजी बजारमा पछिल्लो समय उतारचढाव देखिएको छ ।

 मध्यस्थ → गाउँको झगडामा कृष्ण रायले मध्यस्थ को भूमिका निर्वाह गरे ।

 फैसला → विवादको अन्तिम फैसला न्यायाधीशले गर्नेछन् ।

 अङ्कमाल → दुई मित्रबिच भेट हुँदा अङ्कमाल गर्नु स्वाभाविक हो ।

 स्वाभिमान → राष्ट्रिय स्वाभिमान जोगाउन हामी सबै लाग्नुपर्छ ।

 समर्थक → सत्यको पक्षमा उभिने समर्थक सधैं बलियो हुन्छन् ।

 धैर्य → धैर्य पूर्वक गरिएको परिश्रमले एक दिन फल दिन्छ ।

बोध अभिव्यक्ति

. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

उत्तर:

तन्द्रा, आक्रमण, अकलुषित, दुर्गुण, मध्यस्थ, कृष्ण, बिछ्यौना, इन्स्पेक्टर, निर्दोष

. लेखाइमा दिन उच्चारणमा दिन् हुने लेखाइ उच्चारण फरक फरक हुने अन्य कुनै १० ओटा शब्द पाठबाट खोजेर लेख्नुहोस्

उत्तर:

उखान – उखान्

मानिस – मानिस्

बखत – बखत्

पिर – पिर्

घर – घर्

सब – सब्

धन – धन्

सम्मान – सम्मान्

सन्तान – सन्तान्

रात – रात्

. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) ‘शत्रु’ कथामा कृष्ण रायले रेलको डिम्बामा भएको झगडा सम्झेको घटना कतिऔं अनुच्छेदमा छ ?

उत्तर: ‘शत्रु’ कथामा कृष्ण रायले रेलको डिम्बामा भएको झगडा सम्झेको घटना सातौँ अनुच्छेदमा छ ।

(ख) कथामा कृष्ण रायको सोच परिवर्तन गराउने मुख्य सन्दर्भ कुनलाई मानिन्छ ?

उत्तर: कथामा कृष्ण रायको सोच परिवर्तन गराउने मुख्य सन्दर्भ आक्रमणपछि भेटिएको लौरोको टुक्रालाई मानिन्छ ।

(ग) कथाको पाँचौँ अनुच्छेदको शीर्ष वाक्य कुन हो ?

उत्तर: कथाको पाँचौँ अनुच्छेदको शीर्ष वाक्य ‘धेरै घोरिँदा तिनलाई यस रहस्यको सुइँको पाएको जस्तो लाग्यो ।’ हो ।

(घ) कथाको समापन कुन घटनाबाट भएको हो ?

उत्तर: कथाको समापन इन्स्पेक्टरले सोधेको प्रश्नको उत्तरमा कृष्ण रायले धेरैमाथि शङ्का व्यक्त गरेको घटनाबाट भएको हो ।

. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) कृष्ण रायले गर्व गर्ने कुरा के थियो ?

उत्तर: कृष्ण रायले गर्व गर्ने कुरा धेरै झगडामा मध्यस्थ हुनु थियो ।

(ख) कृष्ण रायले गोविन्द पण्डितमाथि किन शङ्का गरे ?

उत्तर: कृष्ण रायले गोविन्द पण्डितमाथि कुटामारी गरेको हुनाले शङ्का गरे ।

(ग) कृष्ण रायलाई गाउँमा सम्मान गर्नुको कारण के हो ?

उत्तर: कृष्ण रायलाई गाउँमा सम्मान गर्नुको कारण गाउँलेले विश्वास गरेर तिनलाई नै मध्यस्थ बनाउनु हो ।

(घ) ‘मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन ।’ भन्नुको तात्पर्य के हो ?

उत्तर: ‘मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन ।’ भन्नुको तात्पर्य मध्यस्थकर्ताले सबै कुरा सुनेर बुझेर एउटालाई न्याय दिनुपर्छ, दुवैको समर्थन गर्न सक्दैन ।

. ‘कृष्ण राय धेरै आर्जन गरेकथांशबाट छोटो उत्तरात्मक प्रश्न निर्माण गरी उक्त प्रश्नको उत्तर लेख्नुहोस्

प्रश्न: कृष्ण रायले आफ्नो ४५ वर्षको लामो जीवनमा के कस्ता कुराहरू आर्जन गरेका थिए र उनको आत्मसन्तुष्टिको मुख्य कारण के थियो ?

उत्तर: कृष्ण रायले आफ्नो ४५ वर्षको लामो जीवनमा धन, यश र सम्मान गरी सबै प्रकारका सुखहरू आर्जन गरेका थिए । उनले अरू कसैलाई पनि पिर वा मर्का नपारी सानोतिनो पुँजी समेत कमाउन सफल भएका थिए । यति लामो समयको सामाजिक जीवनमा कसैलाई पनि आफ्नो शत्रु वा बैरी नबनाउनु नै उनको जीवनको सबैभन्दा ठुलो उपलब्धि र आत्मसन्तुष्टिको मुख्य कारण थियो ।

. ‘शत्रुकथाको पाँचौँ अनुच्छेद मौन पठन गरी मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस्।

उत्तर:

  • धेरै घोरिँदा तिनलाई यस रहस्यको सुइँको पाएको जस्तो लाग्नु
  • काम बिगार्दा रामे नोकरमाथि रिसाएको र हिसाब गोलमाल पर्दा बलभद्रको बेइज्जत गरेको घटना सम्झनु
  • कुरामा कुरा चल्दा कृष्ण रायले नोकरी खोज्न आएको युवकलाई अप्रिय शब्द भन्नु
  • आफूलाई अकलुषित र दुर्गुणरहित ठान्ने कृष्ण रायले समय असमयमा अर्कालाई आदेश सल्लाह दिने ठुलो दोष सम्झनु

. दिइएका बुँदाका आधारमा कृष्ण रायको चरित्र चित्रण गर्नुहोस्

उत्तर:

विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचित ‘शत्रु’ कथा मनोवैज्ञानिक धाराको चरित्रप्रधान कथा हो । कृष्ण राय यस कथाका प्रमुख पात्र हुन् । उनी गाउँका भद्र, शान्त र सहयोगी व्यक्तित्वका रूपमा परिचित छन् । गाउँमा कुनै झगडा परेमा उनी मध्यस्थको भूमिका निर्वाह गर्थे । धन, यश र सम्मान सबै दृष्टिले उनी सम्पन्न थिए । सन्तान नभए पनि टाढाको भतिजोलाई धर्मपुत्र बनाई सन्तानको अभाव पूर्ति गरेका थिए । उनी आफूलाई अजात शत्रु ठान्थे र ४५ वर्षको उमेरसम्म कसैलाई पनि शत्रु नबनाएको भ्रममा जीवन बिताइरहेका थिए । तर एक रात तन्द्रा अवस्थामा उनीमाथि लट्ठी प्रहार भएपछि उनको भ्रम टुट्यो र उनी सबैलाई शत्रु देख्न थाले । विगतका मध्यस्थता गरेका घटनाहरू स्मरण गर्दै उनले दुवै पक्षको समर्थक बन्न नसकिने र एउटा न एउटाको शत्रु हुनैपर्ने तत्त्वबोध गरे । यसप्रकार कृष्ण राय आफूलाई अजात शत्रु ठान्ने तर यथार्थमा अनेक शत्रु भएको पत्तो नपाउने भ्रमपूर्ण चरित्रका पात्र हुन् ।

१०. दिइएका घटनालाई कथाका आधारमा क्रम मिलाएर लेख्नुहोस् :

उत्तर:

(ग) ४५ वर्षसम्म शत्रु नहुनु

(क) कृष्ण राय आँखामा राखे पनि नबिझाउने खालका हुनु

(ख) तिनका मनमा धेरै प्रकारका विचार आउनु

(घ) एक दिन लट्ठी प्रहार हुनु

(ङ) लट्ठीले आक्रमण गर्ने व्यक्तिको पहिचान नहुनु

(च) काम बिगार्दा रामे नोकरमाथि रिसाएको घटना सम्झनु

(छ) कुरामा कुरा चल्दा कृष्ण रायले उसलाई अप्रिय शब्द भन्नु

(ज) मध्यस्थताको भूमिका निर्वाह गर्दा जमदारको पक्षमा फैसला दिनु

(झ) इन्स्पेक्टरले सोध्दा धेरैमाथि शङ्का व्यक्त गर्नु

११. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) ‘शत्रु’ कथाका कृष्ण रायको व्यक्तित्व कस्तो थियो ?

उत्तर: कृष्ण राय आँखामा राखे पनि नबिझाउने स्वभावका ४५ वर्षीय भद्र मानिस थिए । उनी गाउँमा झगडा हुँदा मध्यस्थको भूमिका निर्वाह गर्थे । कसैलाई कर्जा दिन आफ्नो सिद्धान्त विरुद्ध ठाने पनि दुःख परेका बखत गाउँलेको सहायता गर्थे । आफूलाई अजात शत्रु ठान्ने उनी भ्रमपूर्ण जीवन बिताइरहेका थिए । लट्ठी प्रहारको घटनापछि भने उनी सबैलाई शत्रु देख्न थाले र उनको भ्रम टुट्यो ।

(ख) कृष्ण रायले किन आफूलाई शत्रुविहीन ठान्थे ? वर्णन गर्नुहोस् ।

उत्तर: कृष्ण राय सबै गाउँलेको सहायता गर्थे र उनको जीवनलाई कसैले असफल भन्न सक्दैनथे । उनले रुपियाँ जम्मा गर्दा अरूले जस्तो रैतीलाई पिर पारेनन् । कसैसँग झगडा गरेनन् र झगडाको मध्यस्थता भएर मात्र काम गरे । उनले गरेको निर्णयबाट कोही असन्तुष्ट देखिँदैनथ्यो । यिनै कारणले कृष्ण राय आफूलाई शत्रुविहीन ठान्थे ।

(ग) यस कथाबाट के सन्देश पाइन्छ ?

उत्तर: अकारण कोही कसैको शत्रु हुँदैन तर शत्रुताका लागि निहुँ सजिलै पाइन्छ । मध्यस्थकर्ता भएर काम गर्ने व्यक्तिका अझ धेरै शत्रु हुन्छन् । महाभारतमा अजात शत्रु भनिने युधिष्ठिरलाई पनि दुर्योधनहरूले शत्रु ठाने । यथार्थमा अजात शत्रु हुने कल्पना व्यावहारिक हुँदैन । कृष्ण राय पनि आफूलाई अजात शत्रु ठान्थे तर एउटा सामान्य घटनापछि उनको भ्रम टुट्यो र उनी सबैलाई शत्रु ठान्न पुगे । भ्रमपूर्ण जीवनले मानिसलाई यथार्थ बुझ्न दिँदैन भन्ने नै यस कथाको मुख्य सन्देश हो ।

(घ) प्रत्येक व्यक्तिमा कृष्ण रायमा जस्तै नदेखिने शत्रु होलान् त ? कथाका आधारमा अनुमान गर्नुहोस् ।

उत्तर: शत्रु बनाउन ठुलो कारण चाहिँदैन । साना साना निहुँमा पनि मानिस रिसाइरहेको हुन्छ । कति व्यक्तिको स्वभाव नै ईर्ष्यालु हुन्छ । झगडा गर्नेको त शत्रु हुने नै भयो, मध्यस्थ गर्ने व्यक्ति पनि दुवैको समर्थक बन्न सक्दैन र एउटा पक्षको शत्रु बन्न पुग्छ । कृष्ण रायको जस्तै हरेक व्यक्तिका पनि आफूले नचिनेका वा नदेखेका शत्रु हुन सक्छन् । तसर्थ प्रत्येक व्यक्तिमा कृष्ण रायमा जस्तै नदेखिने शत्रु हुने अनुमान गर्न सकिन्छ ।

१२. व्याख्या गर्नुहोस् :

() कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन

उत्तर :

प्रस्तुत कथांश कक्षा १० को नेपाली पाठ्यपुस्तकमा सङ्कलित विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘शत्रु’ कथाबाट साभार गरिएको हो। विश्वेश्वरप्रसाद कोइराला आधुनिक नेपाली कथाका प्रारम्भकर्ता तथा मनोवैज्ञानिक कथा लेखनका अग्रणी साधक हुन्। आफूमाथि रातको समयमा लट्ठी प्रहार भएपछि कृष्ण रायले विगतमा आफूले गरेका मध्यस्थताका घटना स्मरण गर्दै यो निष्कर्ष निकालेको सन्दर्भमा यो कथांश आएको हो। झगडामा मध्यस्थ हुनु निर्दोष काम भए पनि मध्यस्थकर्ता दुवै पक्षको समर्थक हुन नसक्ने र एउटा न एउटाको शत्रु बन्न पुग्ने भाव माथिको पङ्क्तिमा पाइन्छ।

कृष्ण राय गाउँका सबैभन्दा भद्र र भलाद्मी मानिस थिए। गाउँलेका सानातिना झगडामा मध्यस्थता गरी फैसला गरिदिनु तिनको दैनिकी जस्तै थियो। तिनले गरेको निर्णयबाट कोही असन्तुष्ट देखिँदैनथ्यो र उनी आफूलाई कसैको पनि शत्रु नभएको ठान्दै सन्तोष मानिरहेका थिए। तर एक रात तन्द्रावस्थामा उनीमाथि अज्ञात व्यक्तिबाट लट्ठी प्रहार भएपछि उनको त्यो भ्रम टुट्यो। त्यसपछि उनले विगतमा मध्यस्थ भएर निर्णय लिएका घटनाहरू स्मरण गर्न थाले। गोविन्द पण्डित र गोरे जमदारको खेतको झगडामा उनले गोरे जमदारको पक्षमा न्याय दिएका थिए भने मास्टर र कैयाँको झगडामा कैयाँको पक्षमा फैसला गरेका थिए। यी घटनाको पुनरावलोकन गर्दा उनलाई मध्यस्थता गर्नु निष्पक्ष काम देखिए तापनि त्यसले हार्ने पक्षको मनमा असन्तुष्टि पैदा गर्छ र मध्यस्थकर्ता स्वयं शत्रुताको सिकार बन्छ भन्ने यथार्थको बोध भयो।

निष्कर्षमा, मध्यस्थकर्ताले जतिसुकै निष्पक्ष भएर न्याय गरे पनि हार्ने पक्षले उसलाई आफ्नो विरोधी ठान्छ। आफूलाई पूर्णतः निर्दोष ठान्ने कृष्ण रायले आक्रमणपछि मात्र यो कटु यथार्थ बुझ्न सकेका हुन्। कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन र निष्पक्षताभित्रै पनि असन्तुष्टिको बीज रोपिएको हुन्छ भन्ने मुख्य आशय यस कथांशमा अभिव्यक्त भएको देखिन्छ।

() कस्तो अचम्म, निर्दोष कुरामा पनि विषालु साँप जस्तो बैरी बनाउने साधन लुकिरहेको देखिन्छ

उत्तर :

प्रस्तुत कथांश कक्षा १० को नेपाली पाठ्यपुस्तकमा सङ्कलित विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘शत्रु’ कथाबाट साभार गरिएको हो। विश्वेश्वरप्रसाद कोइराला आधुनिक नेपाली कथाका प्रारम्भकर्ता तथा मनोवैज्ञानिक कथा लेखनका अग्रणी साधक हुन्। आफूमाथि आक्रमण भएपछि कृष्ण रायले आफ्ना विगतका गतिविधि र मानव स्वभावको विश्लेषण गर्दै यो निष्कर्ष निकालेको सन्दर्भमा यो कथांश आएको हो। बाहिरबाट निर्दोष र पवित्र देखिने काममा पनि शत्रु जन्माउने सूक्ष्म कारण लुकेको हुन्छ भन्ने विचार माथिको हरफमा अभिव्यक्त छ।

अज्ञात प्रहारपछि कृष्ण राय निदाउने निहुँले बिछ्यौनामा सुते र संसारमा कोही मित्र नहुने, बरु सबै शत्रु नै हुने सोच्न थाले। अकारण कसैको शत्रुता नभए पनि मानिसको मनमा असन्तुष्टि र ईर्ष्या जन्मिने निहुँ अति सजिलै पाइने तिनको ठम्याइ थियो। तिनले गाउँमा धेरै मानिससँग सङ्गत नगरे पनि जति जनासँग गरे, ती सबैलाई अन्जानमै शत्रु बनाउने कुनै न कुनै निहुँ दिएका थिए। समाजमा कसैलाई सल्लाह दिनु वा झगडामा मध्यस्थ बन्नु सामान्य र निर्दोष काम मानिन्छ, तर यस्तै निर्दोष कुराभित्र पनि विषालु साँप जस्तै बैरी बनाउने साधन लुकेको हुन्छ। गोविन्द पण्डित वा मास्टर जस्ता पात्रहरूसँगको न्यायपूर्ण व्यवहारले पनि उनीहरूभित्र असन्तुष्टि जन्माएको हुन सक्ने कुरा उनले आक्रमणपछि मात्र महसुस गरे। यसरी मानिसका निर्दोष र कल्याणकारी कार्यहरू पनि कहिलेकाहीँ अरूका लागि इख वा शत्रुताको माध्यम बन्न पुग्छन्।

निष्कर्षमा, कथाकारले कृष्ण रायको मनोवैज्ञानिक सन्त्रासको विश्लेषण गर्दै शत्रु जन्माउन ठुलो कारण नचाहिने र साना-तिना निर्दोष व्यवहारबाट पनि शत्रुता उत्पन्न हुन सक्ने यथार्थलाई उजागर गरेका छन्। आफूलाई निष्कलङ्क ठान्ने मानिसले पनि समाजमा अन्जानमै बैरी कमाइरहेको हुन सक्छ। निर्दोष देखिने मानवीय व्यवहारभित्र पनि शत्रुताको विषालु बीज लुकिरहेको हुन्छ भन्ने आशय यस कथांशमा प्रस्तुत गरिएको छ।

१५. ‘शत्रुकथाका मुख्य मुख्य घटना नछुटिने गरी कथासार लेख्नुहोस्।

‘आँखामा राखे पनि नबिझाउने’ भनी सबैबाट महसुस गरिएका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस हुन्छन् । कर्जाको रुपियाँले झगडा बोकी ल्याउने मतअनुसार कर्जा दिनुलाई उनी आफ्नो सिद्धान्तको विरुद्ध ठान्थे । उनी दुःखका बखत भने गाउँलेको सहायतामा प्रस्तुत हुन्थे तथा झगडाको मध्यस्थ भएर काम गर्थे । धन, यश र सम्मान सब प्रकारको सुख उनलाई थियो । उनका आफ्ना सन्तान थिएनन् । सन्तानको अभावलाई धर्मपुत्र पाली पूर्ति गरेका थिए । एक रात उनी सुत्ने प्रयास गरिरहेका बखत मनमा धेरै प्रकारका विचार आउँछ । कोही बैरी नहुनु तिनको सन्तोषको कारण रहेको थियो । अजात शत्रु भएको कल्पनाले तन्द्राको सुख बढाइरहेका बेला उनीमाथि एक्कासी लट्ठी प्रहार हुन्छ । संयोगवश लट्ठीको प्रहार तिनीमाथि पर्दैन । सुरुमा आक्रमणको विश्वास नभए पनि लट्ठीको टुक्रा भेटेपछि शत्रुका बारेमा खुल्दुली जाग्छ र अनेक व्यक्तिमाथि शङ्का गर्छन् । घोरिएर सोच्दा यस रहस्यको सुइँको पाए जस्तो लाग्छ । काम बिगारेको भनी गाली गरेको रामे नोकर, हिसाब गोलमाल पार्ने बलभद्र, नोकरी खोज्दै आएको युवक सबैलाई उनी शङ्का गर्छन् । उनी विभिन्न मध्यस्थ भएका घटना सम्झन्छन् र मध्यस्थकर्ताले एउटाको शत्रु हुनैपर्ने ज्ञान आर्जन गर्छन् । आफ्नै पोष्यपुत्रमाथि पनि कृष्ण रायलाई भरोसा हुँदैन । घटनाको जाँच हुँदा पुलिसको इन्स्पेक्टरले कसैमाथि शङ्का छ कि भनी सोध्दा उनी गम्भीर भएर क्रमशः सबैको नाम लिन्छन् ।

भाषिक संरचना

() प्रश्नहरू

(अ) नेपाली कलालाई कति भागमा वर्गीकरण गरिएको छ ?

उत्तर: नेपाली कलालाई वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला गरी चार भागमा वर्गीकरण गरिएको छ ।

(आ) कस्ता चित्रलाई ग्रन्थचित्र भनिन्छ ?

उत्तर: हस्तलिखित ग्रन्थमा लेखिएका विषयसँग सम्बन्धित चित्रलाई ग्रन्थचित्र भनिन्छ ।

(इ) पौभाचित्र भनेको कस्तो चित्र हो ?

उत्तर: पौभाचित्र भनेको विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्र हो ।

(ई) मूर्तिकलाको विकास कहिलेबाट सुरु भएको पाइन्छ ?

उत्तर: मूर्तिकलाको विकास लिच्छवीकालबाट सुरु भएको पाइन्छ ।

() भाषिक संरचना वर्णविन्यास पहिचान गर्नुहोस् :

(अ) माथिको अनुच्छेदमा रहेको ‘नेपाली मूर्तिकलाको विकास लिच्छविकालदेखि सुरु भएको पाइन्छ ।’ वाक्यलाई सम्भावनार्थमा परिवर्तन गर्नुहोस् ।

उत्तर: नेपाली मूर्तिकलाको विकास लिच्छवीकालदेखि सुरु भएको पाइएला ।

(आ) माथिको अनुच्छेदमा रहेको ‘विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्रलाई पौभाचित्र भनिन्छ ।’ वाक्यलाई इच्छार्थमा परिवर्तन गर्नुहोस् ।

उत्तर: विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्रलाई पौभाचित्र भनियोस् ।

(इ) ‘छापाखाना को आविष्कार हुनु भन्दा पहिले आफू लाई आवश्यकपर्ने पुस्तक र ग्रन्थ हाते ले लेखेर तयारपार्ने गरिन्थ्यो ।’ वाक्यलाई पदयोग पदवियोग मिलाई पुनर्लेखन गर्नुहोस् ।

उत्तर: छापाखानाको आविष्कार हुनुभन्दा पहिले आफूलाई आवश्यक पर्ने पुस्तक र ग्रन्थ हातैले लेखेर तयार पार्ने गरिन्थ्यो ।

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play