Class 12 Nepali व्यावसायिक पत्र Byabasayik Patra Notes

 

 


 

 

 


Chapter – 4

Byabasayik Patra

व्यावसायिक पत्र


 

 
 

व्यावसायिक पत्र

शब्दभण्डार

१. शब्द र अर्थको जोडा मिलाउनुहोस् ।

  • प्रबन्ध – बन्दोबस्त, चाँजोपाँजो
  • अवगत – जानेको वा बुझेको
  • दीर्घकालीन – लामो समय
  • सङ्कलित – बटुलिएको
  • वितरण – बाँडफाँड
  • सहकार्य – दुई वा दुईभन्दा बढी व्यक्ति वा संस्थाले मिलेर गरिने काम
  • प्रस्ताव – कुनै कामको आरम्भ वा सम्पादनका लागि प्रस्तुत गरिएको विचार
  • यथाशीघ्र – जतिसक्दो चाँडो

२. दिइएका शब्दको विपरीतार्थक शब्द लेख्नुहोस् :

  • हार – जित
  • दाहिने – देब्रे
  • रुनु – हाँस्नु
  • आफ्नो – अर्काको
  • दिन – रात
  • आय – व्यय
  • सक्कली – नक्कली
  • निराशा – आशा
  • प्रतिकूल – अनुकूल
  • जस – अपजस
  • प्रेम – घृणा
  • आकर्षण – विकर्षण
  • जटिल – सरल
  • सबल – दुबर्ल
  • सापेक्ष – निरपेक्ष
  • हर्ष – विस्मात्
  • सपना – विपना
  • अनावश्यक – आवश्यक

३. तलका शब्दको लघुतावाचक शब्द लेख्नुहोस् :

(क)

  • किरो – किरी
  • कोदालो – कोदाली
  • गाग्रो – गाग्री
  • चिम्टा – चिम्टी
  • चरो – चरी
  • थाल – थाली
  • ठेको – ठेकी
  • पुस्तक – पुस्तिका, पाना

(ख)

  • रोटी – टुक्रा
  • सुन्तला – केस्रो
  • भात – सिता
  • पराल – त्यान्द्रो
  • पानी – थोपा
  • फूल – पत्र वा दल
  • केरा – कोसो
Download our mobile app for offline access to notes directly from your phone.

बोध र अभिव्यक्ति

१. पाठका आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) व्यावसायिक चिठीको सबैभन्दा माथि के लेखिन्छ ?

न्यावसायिक चिठीको सबैभन्दा माथि चिठी लेख्ने प्रेषकको व्यावसायिक संस्थान वा कार्यालयको नाम र ठेगाना लेखिन्छ ।

(ख) व्यावसायिक चिठीमा पत्र सङ्ख्या र चलानी नम्बर कहाँ लेखिन्छ ?

व्यावसायिक चिठीमा पत्र सङ्ख्या र चलानी नम्बर प्रेषकको व्यावसायिक संस्थान वा कार्यालयको नाम र ठेगानाभन्दा मुनि देब्रेपट्टि मितिभन्दा तल्लो लाइनमा लेखिन्छ ।

(ग) व्यावसायिक चिठीको कुन भागमा कहाँनेर मिति लेखिन्छ ?

व्यावसायिक चिठीको अग्र भागमा प्रेषकको व्यावसायिक संस्थान वा कार्यालयको नाम र ठेगानाभन्दा एक लाइन तलतिर दाहिनेपट्टिको भागमा मिति लेखिन्छ ।

(घ) व्यावसायिक चिठीमा सम्बोधन र विषयको रखाइक्रम कस्तो हुन्छ ?

व्यावसायिक चिठीमा अग्र भागको देब्रेपट्टि पत्र सङ्ख्या र चलानी नम्बरको मुन्तिर पहिला सम्बोधन र ठेगाना अनि तल्लो लाइनको केन्द्र भागमा विषयको रखाइक्रम हुन्छ ।

२. ज्वालामाई उपभोग्य वस्तु सङ्कलन तथा वितरण कम्पनीले कर्नाली उत्पादन तथा वितरण केन्द्रलाई लेखेको पत्र

ज्वालामाई उपभोग्य वस्तु सङ्कलन तथा वितरण कम्पनी
कोहलपुर, बाँके

मिति : २०७७/१२/२५

प.स. : ०७७/०७८

च.नं. : ७५/०७७

श्रीमान् प्रबन्ध निर्देशक,
कर्नाली उत्पादन तथा वितरण केन्द्र
चिसापानी, कैलाली ।

विषय : आपूर्ति सम्झौता एवं सहकार्य सम्बन्धमा ।

महोदय, उपर्युक्त सम्बन्धमा यस ज्वालामाई उपभोग्य वस्तु सङ्कलन तथा वितरण कम्पनीले विगत पाँच बर्षदेखि विभिन्न कम्पनीद्वारा उत्पादित दैनिक उपभोग्य सामग्रीहरू एवं विभिन्न वस्तुहरू सङ्कलन गरी छिटो छरितो र प्रभावकारी रूपमा थोक तथा खुद्रा विक्री वितरण गर्दै आइरहेको तथ्य तपाईलाई पनि अवगत नै छ होला । उपभोक्ताहरूको माग दिनप्रतिदिन बढ्दै गएकाले त्यस कम्पनीबाट उत्पादित अर्गानिक खाद्यपदार्थ एवं विभिन्न उपभोग्य वस्तुहरूको बिक्री वितरण गर्नका लागि हाम्रो कम्पनी इच्छुक रहेको अबगत गराउँदै दुई कम्पनीका बिचमा व्यापारिक सहकार्य गर्ने प्रस्ताव राख्दछु । दुई कम्पनीका बिच सम्बन्ध गास्नका लागि यथाशीघ्र कम्पनीले पहल गर्ने छ भन्ने अपेक्षा राख्दै त्यस कम्पनीबाट उपलब्ध हुने उत्पादित एवं सङ्कलित वस्तुहरूको विस्तृत विवरण र मूल्यसूचीसमेत उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । सहयोगका लागि धन्यवाद !

भवदीय
……………..
श्रेया शर्मा
कम्पनी प्रमुख

खामको नमुना

टिकट

प्रेषक
ज्वालामाई उपभोग्य वस्तु सङ्कलन तथा वितरण कम्पनी
कोहलपुर – ३, बाँके


प्रापक
श्रीमान् प्रबन्ध निर्देशक
कर्नाली उत्पादन तथा वितरण केन्द्र
चिसापानी – २, कैलाली

३. हालसालै प्रकाशित पुस्तक पठाइदिन नेपाल प्रज्ञा प्रतिष्ठानलाई लेखिएको पत्र

पौडेल पुस्तक पसल
रत्ननगर-१३, चितवन
बागमती प्रदेश नेपाल ।

मिति : २०७७/१०/१३

प.स. : ०७७/०७८

च.नं. : ७५/०७७

श्रीमान् प्रबन्ध निर्देशक,
नेपाल प्रज्ञा प्रतिष्ठान,
कमलादी, काठमाडौँ ।

विषय: सन्दर्भ पुस्तकहरू उपलब्ध गराइदिने सम्बन्धमा ।

महोदय, उपर्युक्त विषयका सम्बन्धमा यस पौडेल पुस्तक पसलले विगत दुई दशकदेखि नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित पुस्तकहरू विक्री वितरण गर्दै आइरहेको कुरा यहाँलाई अवगत नै छ । प्रतिष्ठानबाट प्रकाशित हुने पुस्तकहरू यस क्षेत्रका पाठकहरूका बिचमा निकै नै लोकप्रिय एवं रूचिकर बन्ने गरेको हुनाले पाठक वर्गको अत्यधिक मागलाई मध्यनजर राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानबाट हालसालै प्रकाशित सन्दर्भ पुस्तकहरू तपसिलमा माग गरिएको विवरणअनुसार यथाशीघ्र पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछु :

पुस्तकको नाम परिमाण
गोर्खाली युद्धबन्दीका लोकभाका र कथा ५० थान
समकालीन नेपाली कथाका वैचारिकता ५० थान
सेतो धरती ५० थान
श्वेतभैरवी ५० थान
नेपालमा बुद्ध धर्म ५० थान
तीन घुम्ती ५० थान

उल्लिखित पुस्तकहरूको भुक्तानीका लागि त्यस प्रतिष्ठानको नाममा रहेको नेपाल बैङ्कको खाता नं. १०००००००००७७५ मा पेस्की स्वरूप रू. २०००० (अक्षरेपि बिस हजार रूपियाँ मात्र) जम्मा गरेको बैङ्क भौचर यसै पत्रसाथ पठाएको छु । बाँकी रकम पुस्तकहरूका साथै बिल प्राप्त हुनासाथ भुक्तानी गरिने व्यहोरा अनुरोध गर्दछु । सहयोगका लागि धन्यवाद !

भवदीय
……………..
प्रो. सुवर्ण पौडेल

खामको नमुना

टिकट

प्रेषक
पौडेल पुस्तक पसल,
रत्ननगर-१३, चितवन
बागमती प्रदेश नेपाल


प्रापक
श्रीमान् प्रबन्ध निर्देशक,
नेपाल प्रज्ञा प्रतिष्ठान,
कमलादी, काठमाडौँ

४. दिइएको चिठी पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) गाउँमा के सुरू भएको छ ?

गाउँमा कृषि जागरण सुरू भएको छ ।

(ख) जगराम काकाले कसरी आम्दानी गर्नुभयो ?

जगराम काकाले बाख्रापालन र तरकारी खेती गरेर आम्दानी गर्नुभयो ।

(ग) कोरोना भाइरसको महामारीपछि गाउँमा कस्तो परिवर्तन भएको छ ?

कोरोना भाइरसको महामारीपछि धेरै युवा गाउँ फर्केर कृषि पेशामा आबद्ध भई कृषिमा आधुनिकीकरण र व्यावसायीकरणको सुरुआत गर्नुका साथै विकासका कामहरूसमेत धमाधम भएको छ ।

(घ) कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरण भनेको के हो, स्पष्ट पार्नुहोस् ।

आधुनिक यन्त्रको प्रयोग गरी कृषिलाई नै मुख्य व्यवसायको रूपमा विस्तार गर्नु नै कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरण भनेको के हो ।

(ङ) माथिको चिठीको प्रापक र प्रेषकको नाम ठेगाना अनुमान गरी खामको नमुना बनाउनुहोस् ।

टिकट

प्रेषक
सुनिता दङ्गाल
सङ्खुवासभा,
प्रदेश नं. १, नेपाल


प्रापक
सुप्रित दङ्गाल
हमद अन्तर्राष्ट्रिय एयरपोर्ट
दोहा, कतार

५. दिइएको कार्यालयीय चिठी पढ्नुहोस् र त्यसको प्रत्युत्तर लेख्नुहोस् :

श्री नेचासल्यान गाउँपालिका
सोलुखुम्बु ।

मिति : २०७७/१०/१३

प.स. : ०७७/०७८

च.नं. : ७५/०७७

पाठ्यक्रम विकास केन्द्र,
सानोठिमी, भक्तपुर ।

विषय: कार्यक्रम सञ्चालन सम्बन्धमा ।

पाठ्यक्रम विकास केन्द्रद्वारा स्थानीय तहसँगको सहकार्यमा विद्यालय पाठ्यक्रम तथा पाठ्पुस्तकसम्बन्धी अभिमुखीकरण प्रशिक्षण, तालिम, गोष्ठी, अन्तरक्रिया आदि कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस श्री नेचासल्यान गाउँपालिका सोलुखुम्बुमा पनि यस्ता कार्यक्रम सञ्चालन गरी यहाँका विद्यालयहरूको शिक्षण सिकाइ उपलब्धिमूलक बनाउन अत्यन्त उत्साहित भएका छौं । यस गाउँपालिकाभित्र रहेका १२ ओटा सामुदायिक विद्यालयबाट करिव १५० जना शिक्षकहरूको सहभागितामा उक्त पाठ्यक्रम तथा पाठ्पुस्तकसम्बन्धी अभिमुखीकरण प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने गाउँपालिका बोर्डको निर्णय भएको जानकारी गराउँदछौँ । कार्यक्रमको लागत र विस्तृत योजना तय गरेपछि अवगत गराउनुहुने नै छ । सहयोगका लागि धन्यवाद !

………….
अध्यक्ष

खामको नमुना

टिकट

प्रेषक
नेचासल्यान गाउँपालिका,
सोलुखुम्बु
नेपाल


प्रापक
पाठ्यक्रम विकास केन्द्र,
सानोठिमी, भक्तपुर
नेपाल

६. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिपी एक तिहाइमा नबढ्ने गरी सारांश लेख्नुहोस् :

बुँदाहरू :

  1. नेपालमा पाँच प्रकारको हावापानी पाइनु,
  2. तराई, भावर, दुन र चुरे पर्वतको आसपासमा ऊष्ण मनसुनी अनि चुरे पहाड र महाभारत पर्वत क्षेत्रमा न्यानो समशीतोष्ण हावापानी पाइनु,
  3. महाभारत पर्वतको उच्च भाग र हिमालको तल्लो भागमा ठण्डा समशीतोष्ण र हिमाली क्षेत्रमा शुष्क ठण्डा लेकाली हावापानी पाइनु,
  4. उच्च हिमाली क्षेत्रमा ऋणात्मक तापक्रम हुने हिमाली हावापानी पाइनु ।

सारांश : नेपालको हावापानी

नेपालमा ऊष्ण मनसुनी न्यानो समशीतोष्ण, ठण्डा समशीतोष्ण, लेकाली र हिमाली गरी पाँच प्रकारको हावापानी पाइन्छ । तराई, भावर, दुन र चुरे पर्वतको आसपासका क्षेत्रमा ऊष्ण मनसुनी हावापानी पाइन्छ । चुरे पहाड र महाभारत पर्वत क्षेत्रमा न्यानो समशीतोष्ण हावापानी पाइन्छ । महाभारत पर्वतको उच्च भाग र हिमालको तल्लो भागमा ठण्डा समशीतोष्ण हावापानी पाइन्छ । हिमाली क्षेत्रमा शुष्क ठण्डा लेकाली हावापानी पाइन्छ । उच्च हिमाली क्षेत्रमा पाइने ऋणात्मक तापक्रम भएको हावापानीलाई हिमाली हावापानी भनिन्छ ।

अनुच्छेदमा भएको शब्दसङ्ख्या : २२१

एक तृतीयांशमा हुने शब्दसङ्ख्या : ७३.६

सारांशमा भएको शब्दसङ्ख्या : ७३

७. भरपाईको नमुना

भरपाई

भरपाई दादै नेपाल प्रज्ञा प्रतिष्ठानबाट नेपाली भाषाको श्रीवृद्धिका लागि कालिका पुस्तकालय, रसुवालाई नेपाली भाषाप्रेमीको भाषिक शुद्धता एवं अर्थबोधमा सहजता होओस् भन्ने हेतुले प्रदान गरिएको बृहत् नेपाली शब्दकोश (दुई प्रति) निम्नानुसार बुझिलिएको भरपाई गरिदिएँ :

बुझ्नेको नाम पद ठेगाना हस्ताक्षर
राम प्रसाद शर्मा पुस्तकालय प्रमुख रसुवा, धुञ्चे ।

मिति : २०७७ चैत्र ४ गते बुधवार

८. तमसुकको नमुना

तमसुक

लिखितम् चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नम्बर १३, चितवन, अमेलिया टोल बस्ने विष्णुप्रसादको नाति, कृष्णप्रसादको छोरा वर्ष १९ को म सुबर्ण पौडेलले आफ्नो घरखर्च गर्न भनी ऐजन जिल्ला ऐजन महानगरपालिका वडा नम्बर ४, नयाँबजार बस्ने छबिलालको नाति इश्वोरप्रसादको छोरा वर्ष ४० को तपाईं विशाल शर्माबाट रु. ५०,000/- (अक्षरेपि पचास हजार मात्र) आजैका मितिमा ऋण सापटी स्वरुप लिएको छु । यस रकमको वार्षिक दश प्रतिशतका दरले ब्याज बुझाउने छु र पाँच वर्षभित्रमा सम्पूर्ण सावाँ ब्याज चुक्ता गरिसक्ने छु । यदि यस कबोलअनुसार नबुझाएमा मेरो जायजेथा, घरजग्गाबाट कानुनबमोजिम असुल गरिलिन मेरो मन्जुरी छ । यो तमसुक मेरो राजीखुसीसाथ गरेको हुँ । व्यहोरा साँचो हो । झुठा ठहरे कानुनबमोजिम सहने बुझाउने छु । साक्षी किनारामा सदरमुकाम साहुको घर आँगन । इति संवत् २०७८ साल मंगसिर २० गते रोज १ बार शुभम् ।

साक्षी:

……….. चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष १९ को चिरन्जिबी पौडेल – १

……….. ऐजन जिल्ला ऐजन महानगरपालिका वडा नम्बर ४ बस्ने सुनिल शर्मा – १

……….. लेखक: ऐ.ऐ. वडा नम्बर ४ बस्ने रितेश शर्मा

आसामिको हस्ताक्षर:
………….

औठा छाप:

दायाँ बायाँ

९. सम्झौता पत्र / करारनामा

सम्झौता पत्र / करारनामा

नेपाल माध्यमिक विद्यालय, रत्ननगर-२, चितवन र ऐजन जिल्ला ऐजन नगरपालिका वडा नम्बर १३ निवासी श्री विशाल पौडेलसँग तपसिलका कार्य गर्नका लागि देहायबमोजिमको सतको अधीनमा रहेर दोस्रो पक्षले पहिलो पक्षलाई सेवा उपलब्ध गराउन मञ्जुर भई यो सम्झौता गरिएको छ । यो सम्झौताका एक एकप्रति आपसमा बुझिलियौ दियौं ।

सर्तहरू

  1. गर्नुपर्ने कामको विवरण : दोस्रो पक्षले नेपाल माध्यमिक विद्यालय, रत्ननगर-१३, चितवनमा पुस्तकालय भवन निर्माण कार्य गर्नुपर्ने छ । उक्त भवन निर्माणकार्य चितवन नगरपालिकाबाट प्राप्त लागत, विवरण र डिजाइन अनुसार गर्नुपर्ने छ ।
  2. दोस्रो पक्षले प्रचलित कानुनमा व्यवस्था भएका भवन निर्माणसम्बन्धी सम्पूर्ण नियमहरू पालना गर्नुपर्ने छ ।
  3. भुक्तानी : नगरपालिकाबाट प्राप्त लागत, विवरण र डिजाइन अनुसार निर्माण कार्य सम्पन्न भइ सम्पूर्ण कागजात नगरपालिकामा पेश गरेपछि नियमबमोजिम एक महिनाभित्र रकम भुक्तानी गरिने छ ।
  4. धरौटी : कुल लागत विवरणमा उल्लेख भएको रकमको १० प्रतिशतका दरले हुन आउने रकम विद्यालयको नेपाल बैङ्क लिमिटेडमा रहेको खाता नं. १३२००००००५ मा जम्मा गर्नुपर्ने छ ।
  5. सम्झौता भङ्ग गर्न चाहेमा कम्तीमा १५ दिनको समय दिई एक पक्षले अर्को पक्षलाई लिखित रूपमा सूचना दिनुपर्ने छ ।
  6. सम्झौताको अवधि २०७९ साल वैशाख १ गतेदेखि २०८० चैत्र मसान्तसम्म एक वर्षको हुने छ ।
पहिलो पक्षबाट दोस्रो पक्षबाट
दस्तरखत : ……………
नाम थर : रितेश श्रेष्ठ
ठेगाना : रत्ननगर-२, टाँडी, चितवन
पद : प्रधानाध्यापक
कार्यालय : नेपाल माध्यमिक विद्यालय, रत्ननगर-२, चितवन
दस्तरखत : ……………
नाम थर : विशाल पौडेल
ठेगाना : रत्ननगर-१३, अमेलिया, चितवन
पद : प्रबन्ध निर्देशक
कार्यालय : चितवन निर्माण प्रा. लि., रत्ननगर नगरपालिका, चितवन ।

रोहबर वडा अध्यक्ष ……………
श्री वडा सचिव ……………
श्री रत्ननगर नगरपालिका वडा नम्बर ….. वडा कार्यालय, चितवन ।

इति संवत् २०७९ साल वैशाख १ गते ६ रोज शुभम्

१०. मन्जुरीनामाको नमुना

श्रीमान् वडाध्यक्ष,
रत्ननगर नगरपालिका २,
टाँडी, चितवन ।

विषय : मन्जुरीनामा सम्बन्धमा ।

उपर्युक्त सम्बन्धमा म चितवन नगरपालिका वडा नं. २ निवासी स्थायी बासिन्दा हुँ । यस वडामा सार्वजनिक शौचालयको अभाव भएको कारण सार्वजनिक स्थलहरूमा खुला दिसा पिसाब गर्ने गरिएको छ जसका कारण वडा नै दुर्गन्धित हुँदै गएको अवस्था छ । यस वडाले हाम्रो टोलमा सार्वजनिक शौचालय निर्माणका लागि ढुङ्गाको अभाव भएको तथ्यलाई मनन गर्दै मेरो जग्गामा रहेको ढुङ्गाखानीबाट हाम्रो टोलमा सार्वजनिक शौचालय निर्माणका लागि चाहिने आवश्यक ढुङ्गा निकाली लैजानका लागि मैले र. न. पा. २ को वडा कार्यालयलाई राजीखुसीका साथ मन्जुरीनामा दिएको छु । व्यहोरा साँचो हो, झुठा ठहरे कानुनबमोजिम सहुँला बुझाउँला । इति मिति २०७८ मङ्सिर ०८ गते बुधबार ।

भवदीय
सही : …………..
जयेश्वोर साह

११. विज्ञापनको नमुना

(क) पदपूर्तिको विज्ञापन

श्री महेन्द्र माध्यमिक विद्यालयको
आवश्यकतासम्बन्धी
सूचना

(पहिलो पटक प्रकाशित मिति : २०७८/०६/१६)

उपर्युक्त सम्बन्धमा वौदीकाली गाउँपालिकाको गाउँ कार्यपालिकाको निर्णय अनुसार श्री डेढगाउँ माध्यमिक विद्यालय, डेढगाउँ, नवलपुरको मा.वि. तहको विज्ञान विषय शिक्षकलाई यस गाउँपालिकाको स्रोत व्यक्ति पदमा काज ल्याउँदा रिक्त हुन गएको उक्त पदमा सट्टा शिक्षक नियुक्ति गर्न आवश्यक परेकोले यो विज्ञापन प्रकाशित गरीन्छ । ईच्छुक नेपाली नागरिकले निम्न बुँदाको आधारमा दरखास्त दिनुहुन जानकारी गराईन्छ ।

तपशिल :

  1. आवश्यक पद : मा.वि विज्ञान शिक्षक ।
  2. पद संख्या : १
  3. दरखास्त दस्तुर : रु. १०००/-
  4. नियुक्तिको प्रकार : सट्टा शिक्षक ।
  5. योग्यता : B.Sc र तालिम प्राप्त वा सो सरह विज्ञान विषय लिएको ।
  6. उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।
  7. दरखास्त दिने अन्तिम मिति : २०७६/०६/३० सम्म ।
  8. सम्पर्क मिति : २०७६/०६/३० गते ५ बजे ।
  9. परीक्षाको किसिम : लिखित र मौखिक ।
  10. परीक्षा र अन्तर्वार्ता मिति सम्पर्क मितिमा सोकिने छ ।
  11. तलव स्केल : मा.वि. तह तृतीय श्रेणी ।
  12. आवश्यक कागजात : नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, अध्यापन अनुमति पत्र, निरोगिताको प्रमाण पत्र ।
  13. दरखास्त दिने स्थान : वौदीकाली गाउँ कार्यपालिकाको कार्यालय, डेढगाउँ ।

………………..
विनोद खनाल
प्रमुख प्रशासकिय अधिकृत

(ख) सामानको प्रचारप्रसार विज्ञापन

बजारमा उपलब्ध छ !

आफ्नो नेपाली लेखन सुधार्न चाहनेहरू, नेपाली लेख्नै पर्ने पेशा-व्यवसायमा रहेकाहरू तथा सरकारी अड्डा, अदालत, व्यवसाय, बैंक, विद्यालय आदिमा कार्यरत सबैका निम्ति यो पुस्तक अत्यन्त उपयोगी छ । यो साथमा भएपछि नेपाली कसरी लेख्ने होला भनेर कोही पनि द्विविधामा पर्नुपर्ने छैन ।

शिक्षक मासिक
जावलाखेल, ललितपुर
फोन : ५५९९२५२, ५५९९१४२. मो: ९८९९ ९०५७८०

१२. शैक्षिक भ्रमणसम्बन्धी सूचनाको नमुना

श्री नेपाल माध्येमिक विद्यालय
रत्ननगर – २, टाँडी
चितवन ।

मिति : २०७८ / १२ / २०

शैक्षिक भ्रमणसम्बन्धी सूचना

नयाँ वर्ष २०७९ का अवसरमा यस विद्यालयद्वारा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि एक दिने शैक्षिक भ्रमण कार्यक्रमको आयोजना गर्न लागिएको हुँदा सबै विद्यार्थीहरूले समयमै सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।

सम्पर्कका लागि:
कार्यक्रमको आयोजक: राम प्रसाद शर्मा
फोन : ९८९९ ९०५७८०

……………….
प्रधानाध्यापक

द्रष्टव्य: कृपया चैत २८ सम्म सम्पर्क गरिसक्नुपर्ने छ ।

१३. छात्रावास भवन निर्माणसम्बन्धी बोलपत्रको नमुना

श्री महेन्द्र माध्यमिक विद्यालय
टाँडी, रत्ननगर – २
चितवन ।

छात्राबास भवन निर्माणसम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना !

(प्रथम पटक प्रकाशन मिति : २०७८ / १० / १० गते )

यस विद्यालयमा रत्ननगर नगरपालिका वडा नं २ द्वारा विनियोजित रकमबाट छात्राबास भवन निर्माण गर्नुपर्ने भएकाले नेपाल सरकारबाट इजाजत प्राप्त निर्माण कम्पनीले तपसिलबमोजिमको सर्तको अधीनमा रही रितपूर्वकको बोलपत्र पेस गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

  1. यो सूचना प्रकाशित भएको मितिदेखि ३० औं दिनसम्म बोलपत्र फाराम यस विद्यालयबाट प्राप्त गर्न सकिने छ ।
  2. खरिद गरिएका बोलपत्र फारामका महल स्पष्ट रुपमा भरी प्रत्येक पानामा सहीछाप गरी प्रथम पटक सूचना प्रकाशन भएको मितिदेखि ३५ औं दिन दिनको १२ बजेभित्र यस कार्यालयमा उपस्थित भई वा बोलपत्र र आवश्यक कागजातको स्क्यान गरी अनलाइनमार्फत दर्ता गर्नुपर्ने छ ।
  3. बोलपत्रका साथ सम्बन्धित व्यक्तिको नागरिकता, अद्यावधिक नवीकरण गरेको व्यवसाय दर्ताको इजाजतपत्र, अद्यावधिक नवीकरण पत्र संस्था वा कम्पनी दर्ताको प्रमाणपत्र, मूल्य अभिवृद्धि करमा दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बरको प्रमाणपत्र, आ.ब. ०७६ सम्मको कर चुक्ता गरेको कागजातका प्रमाणित प्रति पेस गर्नुपर्नेछ ।
  4. बोलपत्र फारामसाथ जमानतबापतको रकम यस विद्यालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्क चल्ती खाता नम्बर १००००००००००००००१ मा एकमुष्ट दाखिला गरेको सक्कल भौचर पेस गर्नुपर्ने छ ।
  5. दर्ता हुन आएका सिलबन्दी तथा अनलाइनमा दर्ता भएका बोलपत्र फाराम ३६ औं दिन दिनको ३:०० बजे यस कार्यालयमा नियमपूर्वक खोलिने छ ।
  6. बोलपत्र फाराम खरिद गर्ने वा दाखिला गर्ने दिन सार्वजनिक बिदा परेमा विदापछिको कार्यालय खुलेको दिन सोही समयमा उक्त कार्य हुने छ ।
  7. प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
  8. रित नपुगेका र म्याद नाघिआएका बोलपत्रउपर कुनै कारबाही गरिने छैन ।
  9. बोलपत्रसम्बन्धी अन्य सर्त बोलपत्र फाराममा उल्लेख गरेबमोजिम हुने छन् ।
  10. अन्य कार्यविधि नेपाल सरकारका आर्थिक प्रशासनसम्बन्धी ऐन तथा नियमावलीअनुसार हुने छ ।
  11. थप जानकारीका लागि यस विद्यालयको कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

………………..
प्रधानाध्यापक

१४. टिप्पणी र आदेशको नमुना

पूर्वाधार विकास कार्यालय
भरतपुर, चितवन

मिति : २०७८/१०/१०

टिप्पणी र आदेश

श्रीमान् कार्यालय प्रमुख

विषय : दरभाउपत्र स्वीकृति सम्बन्धमा ।

यस कार्यालयको स्वीकृत कार्यक्रमअनुसार जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं. १८ अन्तर्गतका सडक कालोपत्रे तथा कलभर्ट निर्माण गर्नुपर्ने सन्दर्भ जानकारीका लागि अनुरोध छ । यस कार्यालयको मौजुदा सूचीमा रहेका निर्माण कम्पनीबाट सात दिनभित्र दररेट पेस गर्न यस कार्यालयको मिति २०७८/०३/१५ गतेको पत्रबाट माग गरिएबमोजिम सात दिनको अवधिभित्र यस कार्यालयमा तपसिलअनुसारका दरभाउपत्र पेस भएको पाइयो ।

तपसिल

सि.न. निर्माण कम्पनीको नाम लागत अनुमान पेस गरेको कबोल अङ्क कैफियत
१. विशाल कन्स्ट्रक्सन, पर्सा ७,५०,०००/- ७,४५,०००/- -०.६६%
२. चितवन निर्माण कम्पनी, भरतपुर ७,३८,०००/- -१.६०%
३. जननिर्माण कम्पनी प्रा. लि., गैडाकोट ७,४२,०००/- -१.०६%

माथि पेस भएका निर्माण कम्पनीहरूको तुलनात्मक अध्ययन गर्दा सबैभन्दा कम लागत अनुमान प्रस्ताव गर्ने चितवन निर्माण कम्पनी, भरतपुर ले उक्त निर्माण कार्य रु. ७,३८,०००/- (अक्षरेपि सात लाख पैतालिस हजार मात्र) मा सम्पन्न गर्नेगरी कबोल अङ्क पेस गरेको र उक्त अङ्क लगत इस्टिमेट रु ७,५०,०००/- ( अक्षरेपि सात लाख साठी हजार मात्र) (मूल्य अभिवृद्धि करसमेत) भन्दा १.६०% घटी रहेकाले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम (१) बमोजिम दरभाउ पत्र स्वीकृत गरी उक्त निर्माण कम्पनीलाई माथि उल्लेख भएबमोमिको निर्माण कार्य सम्पन्न गर्ने गरी कायदिश दिन मनासिब देखिएकाले आवश्यक निर्णायार्थ पेस गरेको छु ।

पेस गर्ने
सही : ……………..
दिनानाथ उपाध्याय

निर्णय तथा आदेश

पेस हुन आएको टिप्पणी मनासिब देखिएकाले टिप्पणीमा उल्लेख भएअनुसार दरभाउ पत्र स्वीकृत गरी निर्माण कार्य सम्पन्न गर्नका लागि कार्यादेश दिइएको छ ।

सही : ……………..
सुमन उप्रेती
मिति : २०७८/१०/१८
कार्यालय प्रमुख

१५. सम्पादकलाई चिठी

मिति: २०७५/११/२५ गते

श्री सम्पादकज्यू,
कान्तिपुर पब्लिकेशन
काठमाडौं, नेपाल

विषय: समाचार राखिदिने बारे ।

महोदय, पोखरा महानगरपालिकामा यहि चैत्र ५ गते देखि लेखनाथ महोत्सव सुरु हुदै छ । यस महोत्सवमा विभिन्न किसिमका सांस्कृतिक प्रदर्शनीहरुको आयोजना हुने छ । पोखराको ब्यापार प्रवर्दन गर्ने तथा यहाँको समाजलाई नेपालभर परिचित गराउने उद्देश्यका साथ यस महोत्सव सुरु हुन गइरहेको हो । यसबारेमा यहाँको पत्रिकामा पनि समाचार राखेर पोखराको पर्यटन विकासमा सहयोग गर्नुहुन अनुरोध छ ।

महोत्सवको विस्तृत विवरण यसैसंग संलग्न गरि पठाईएको छ ।

भविदय,
स्वस्तिका पोखरेल
अध्यक्ष, लेखनाथ महोत्सव आयोजना समिति

व्याकरण

१. उदाहरणअनुसार सरल वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् :

सरल वाक्य मिश्र वाक्य
हावा चल्यो । जाडो भयो । जब हावा चल्यो तब जाडो भयो ।
तिमी राम्रो पढ । तिमी सफल हुन्छौ । राम्रो पढ्यौ भने सफल हुन्छौ ।
किताब बजारमा आयो । म किताब पढ्छु । किताब बजारमा आयो भने म किताब पढ्छु ।
पानी पन्यो । बाटो हिलो भयो । जब पानी पन्यो तब बाटो हिलो भयो ।
उसले परिश्रम गन्यो । उसले मिठो फल पायो । जसले परिश्रम गर्यो उसले मिठो फल पायो ।
नेपाल सुन्दर छ । संसारलाई थाहा छ । नेपाल सुन्दर छ भन्ने संसारलाई थाहा छ ।
वातावरण प्रदूषण बढ्छ । महामारीको खतरा हुन्छ । जब वातावरण प्रदूषण बढ्छ तब महामारीको खतरा हुन्छ ।

२. उदाहरणमा दिए जस्तै सरल वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस् :

सरल वाक्य संयुक्त वाक्य
हावा चल्यो । जाडो भयो । हावा चल्यो अनि जाडो भयो ।
म कविता लेख्छु । म गीत गाउँछु । म चित्र कोर्छु । म विद्यालयमा पढाउँछु । म कविता लेख्छु गीत गाउँछु, चित्र कोर्छु र विद्यालयमा पढाउँछु ।
किताब बजारमा आयो । मैले किताब किने । किताब बजारमा आयो र मैले किताब किने ।
पानी पन्यो । बाटो हिलो भयो । पानी पन्यो त्यसैले बाटो हिलो भयो ।
उसले मह काढ्यो । उसले हात चाट्यो । उसले मह काढ्यो अनि हात चाट्यो ।
तिमी सौराहा जाऊ । तिमी हात्तीमा चढ । तिमी जङ्गल घुम । तिमीले जङ्गलमा गैंडा देख्ने छौ । तिमी सौराहा जाऊ, हात्तीमा चढ जङ्गल घुम अनि गैंडा देख्ने छौ ।
हामी नेपाली हौं । हामी स्वाभिमानी छौं । हामी स्वावलम्बी छौं । समृद्ध नेपाल र सुखी नेपाली चाहना हो । हामी नेपाली स्वाभिमानी र स्वावलम्बी छौं तसर्थ समृद्ध नेपाल र सुखी नेपाली हाम्रो चाहना हो ।

३. सरल वाक्यमा परिवर्तन गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

धेरै पहिले हलेसी धाम रहेको ठाउँमा घना जङ्गल थियो । त्यहाँ अनेक जङ्गली जनावर थिए । किंवदन्तीअनुसार धेरै अगाडि हलेसी गैरीगुठका वाग्वंशी राई आफ्नो कुकुर र केही साथी लिएर सिकार खेल्दै हलेसी महादेव गुफाको छेउमा पुगेछन् । त्यो अनकन्टार जङ्गलमा एउटा सुन्दर मृग देखापरेछ । वाग्वंशीको कुकुरले त्यो मृगलाई लखेट्न लागेछ । वाग्वंशी पनि कुकुरका पछि दौडिँदै गएछन् । जाँदा जाँदा मृग र कुकुर दुवै जमिनभित्र हराएछन् । कुकुर भुकेको आवाज चाहिँ सुनिएछ । कुकुर चाहिँ नदेखिने भएछ । रात पनि पर्न लागेछ । वाग्वंशी घर फर्केछन् । वाग्वंशी खाना खाएर सुतेछन् । भोलिपल्ट उनी केही साथीसमेत भएर पुनः त्यही ठाउँमा आएछन् । कुकुरका पाइलाको डोब पत्ता लगाएछन् । उनीहरू झाडी फाँड्दै गएछन् । जमिनमुनि एउटा डर लाग्दो गुफा फेला पारेछन् । वाग्वंशीले जे त पर्ला भनेछन् । साथीको सहयोगमा डोरीको सहायताले गुफाभित्र हाम फालेछन् । गुफाभित्र पुग्दा त झिलिमिली उज्यालो रहेछ । त्यहाँ त शिवपार्वती आफ्ना प्रमथगणसहित आनन्दले बसेका रहेछन् । वाग्वंशीले शिवपार्वतीलाई प्रणाम गर्छन् । वाग्वंशी गुफाबाहिर आएछन् । त्यसपछि त्यस गुफाको प्रचारप्रसार भएछ । थुप्रै मानिस भेला भएछन् । उनीहरूले गुफाभित्र छिर्ने बाटो बनाएछन् । उनीहरू भित्र गएछन् । भित्र जाँदा त शिवपार्वती अन्तर्ध्यान भएका रहेछन् । त्यहाँ त उनीहरुका मूर्ति पो रहेछन् । त्यसपछि त्यहाँ शिवको पूजा आराधना गर्न थालिएको रहेछ ।

७. ‘य’ र ‘ए’ को प्रयोग भएका शब्दलाई अलग अलग सूचीमा देखाउनुहोस् :

‘य’ को प्रयोग भएका शब्दहरू :

वायु, अनुयायी, यही, यसो, यस्तो, यस, त्यस, योग्य, पेय, शिष्य, दृश्य, हास्य, कार्य, वाक्य, गद्य, पद्य, रमणीय, कर्तव्य, धैर्य, जय, वाणिज्य, सौर्य, सौन्दर्य, राष्ट्रिय, लायौँ, पढायौँ, मुख्य, मनुष्य, जलमय, अन्नमय, यज्ञ, भय, हिमालय, यता, यति, त्यस्ता, घायल, टायम, डायरी, डायल, कायल, मध्ये, बयर

‘ए’ को प्रयोग भएका शब्दहरू :

एक, एघार, एकतिस, एकाउ,न्न गए, एकता, एकाग्र, एकादशी, एकान्त, लाएँ, खाएँ, देखाएँ, पढाएँ, दिएँ, भए, लिए, दिएर, एकचालिस, एकान्त, एकसरो, गए, खाए, आए

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play