Class 11 Social Studies Unit 7 Solution | नेपालमा जातप्रथा र सामाजिक विविधता

Class 11 Social Studies Unit 7 Solution
यस पोस्टमा कक्षा ११ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अन्तर्गत एकाइ ७ का नेपालमा जातप्रथा, दलित सवाल, जात तथा जनजाति, बहुसांस्कृतिकता र सामाजिक एकतासम्बन्धी अभ्यास, क्रियाकलाप तथा परियोजना कार्यका उत्तर प्रस्तुत गरिएको छ।

पाठ १ : नेपालमा जातप्रथा

क्रियाकलाप

१. “जातीय भेदभाव र छुवाछुत अमानवीय व्यवहार हो।” यस विषयमा वक्तृता तयार पार्नुहोस्।
उत्तर:

जातीय भेदभाव र छुवाछुत अमानवीय व्यवहार हो

आदरणीय सभापति महोदय, शिक्षक-शिक्षिकावर्ग तथा मेरा प्रिय साथीहरू। आज म “जातीय भेदभाव र छुवाछुत अमानवीय व्यवहार हो” भन्ने विषयमा आफ्ना केही विचार प्रस्तुत गर्न चाहन्छु।

मानिस-मानिस सबै समान हुन्। सबै मानिसको शरीरको बनावट उस्तै हुन्छ र सबैको रगतको रङ रातो हुन्छ। कुनै व्यक्ति बिरामी पर्दा अर्को जातको व्यक्तिको रगत दिएर उसको ज्यान जोगाउन सकिन्छ। रगतले जातीय विभेद गर्दैन भने मानिसले किन विभेद गर्ने?

प्राचीन समयमा सामाजिक व्यवस्था मिलाउन मानिसको सिप, दक्षता र कामका आधारमा काम बाँडफाँट गरिएको थियो। सोही कामका आधारमा विभिन्न वर्ग वा जातको अवधारणा विकसित भयो। तर कालान्तरमा यसलाई जन्मका आधारमा विभाजन गरियो।

कतिपय जातलाई पानी चल्ने र नचल्ने भनेर विभाजन गरियो। कुनै मानिसले छोएमा जात जाने जस्ता गलत मान्यता स्थापित भए। तर सबै मानिस एउटै मानव समुदायका सदस्य हुन्। कसैको निधारमा जात लेखिएको हुँदैन।

हामीले जातका आधारमा मानिसलाई सानो वा ठूलो ठान्ने सोच त्याग्नुपर्छ। असल काम, सदाचार, सकारात्मक सोच र मानवताका आधारमा मानिसको मूल्याङ्कन गर्नुपर्छ।

सकारात्मक मानसिकता विकास गरी सबैलाई समान व्यवहार गर्न सके जातीय विभेद र छुवाछुत आफैँ कमजोर हुँदै जान्छ।

यति भन्दै म आफ्ना शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद।

२. जातीय भेदभाव र छुवाछुतविरुद्ध चेतनामूलक गीत, कविता, चित्र वा नाटक तयार गरी प्रस्तुत गर्नुहोस्।
उत्तर: यस क्रियाकलापका लागि जातीय विभेदविरुद्ध चेतनामूलक कविता, कथा वा नाटक तयार गर्न सकिन्छ।

चेतनामूलक सन्देश

मानिसलाई जातले होइन, उसको कर्म, आचरण, ज्ञान र मानवताले चिनाउँछ। जातीय भेदभाव, छुवाछुत र सामाजिक अपमानले समाजलाई विभाजित बनाउँछ। त्यसैले सबै मानिस समान हुन् भन्ने भावना विकास गरी एकअर्कालाई सम्मान गर्नु आवश्यक छ।

अभ्यास

१. नेपालमा जाति व्यवस्थाको पृष्ठभूमि उल्लेख गर्दै यसले समाजमा पारेका प्रभावहरूको सूची तयार पार्नुहोस्।
उत्तर: जातप्रथा सामाजिक विभेदीकरणको एउटा स्वरूप हो। वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान तथा अन्य सामाजिक आधारमा मानिसलाई विभिन्न वर्गमा विभाजन गरिँदै जाँदा जात व्यवस्थाको विकास भएको मानिन्छ। नेपालमा लामो समयदेखि जातप्रथाले सामाजिक संरचनामा प्रभाव पार्दै आएको छ। समयक्रममा कामका आधारमा रहेको व्यवस्था जन्मका आधारमा निर्धारण हुने व्यवस्थामा परिवर्तन भयो। ब्राह्मणको सन्तान ब्राह्मण, नेवारको सन्तान नेवार, गुरुङ, राई, लिम्बू लगायतका समुदायका सन्तान सोही जातका हुने व्यवस्था स्थापित हुँदै गयो। यो प्रथा लिच्छविकाल, मल्लकाल हुँदै आधुनिक कालसम्म विभिन्न स्वरूपमा कायम रह्यो। जातप्रथाले समाजमा निम्न प्रभाव पारेको देखिन्छ:
  • समाजमा सानो र ठूलो जात भनेर सामाजिक स्तरीकरण भयो।
  • कतिपय जातलाई अछुत भनेर छुवाछुत गर्ने परिपाटी विकास भयो।
  • अन्तरजातीय विवाहलाई नकारात्मक दृष्टिले हेर्ने प्रवृत्ति विकास भयो।
  • जातीय व्यवस्था बन्द सामाजिक प्रणालीका रूपमा विकास भयो।
  • राज्यव्यवस्था र प्रशासनमा निश्चित जातको पहुँच बढी भयो।
  • कतिपय जातलाई निश्चित पेसा गर्न बाध्य बनाइयो।
  • जातीय सदस्यता जन्मकै आधारमा प्राप्त हुने व्यवस्था भयो।
  • कतिपय समुदाय शिक्षा तथा अवसरबाट वञ्चित भए।
  • सार्वजनिक स्थान, मन्दिर, कुवा, धारा तथा सामाजिक समारोहमा विभेद गरियो।
  • धार्मिक कार्यमा पनि जातीय आधारमा फरक व्यवहार गरियो।
  • व्यक्तिको ज्ञान र क्षमताभन्दा जातलाई प्राथमिकता दिने प्रवृत्ति विकास भयो।
यस प्रकार जातप्रथाले नेपाली समाजमा सामाजिक असमानता तथा विभेदलाई लामो समयसम्म संस्थागत गर्न भूमिका खेलेको देखिन्छ।
२. जातप्रथाका अवधारणाहरू प्रस्तुत गर्दै यसबाट सिर्जित विभेद हटाउन वर्तमानमा कस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ? चर्चा गर्नुहोस्।
उत्तर: जातप्रथाको उत्पत्ति र विकासबारे विभिन्न अवधारणा पाइन्छन्।

(क) जातको दैवी अवधारणा

यस अवधारणाअनुसार समाजलाई व्यवस्थित गर्न वर्णव्यवस्था कायम गरिएको मानिन्छ। मनुस्मृतिमा ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र गरी चार वर्णको उल्लेख पाइन्छ। प्रारम्भमा यी वर्ग व्यक्तिको काम, गुण र जिम्मेवारीसँग सम्बन्धित रहेको व्याख्या गरिएको छ। तर पछि जात जन्मका आधारमा निर्धारण हुन थालेपछि सामाजिक विभेद बढेको देखिन्छ।

(ख) शास्त्रीय अवधारणा

प्राचीन समाजमा मानिसहरूबीच वर्तमानजस्तो कठोर जातीय भेदभाव नभएको र पछि सामाजिक व्यवस्थाका क्रममा विभाजन विकास भएको मानिन्छ। ब्राह्मणलाई ज्ञान तथा संस्कार, क्षेत्रीलाई सुरक्षा तथा शासन, वैश्यलाई कृषि, पशुपालन र व्यापार तथा शूद्रलाई श्रम र सेवासम्बन्धी कार्यसँग जोडिएको पाइन्छ। समयसँगै यही कार्यविभाजन जन्मका आधारमा स्थायी बन्न पुग्दा सामाजिक विभेद सिर्जना भयो।

(ग) व्यवहारजन्य अवधारणा

व्यक्तिको रुचि, प्रतिभा, आवश्यकता र सिपअनुसार काममा विशिष्टीकरण हुँदै जाँदा जात तथा पेसागत समूहको विकास भएको मानिन्छ। तर पछि जन्मका आधारमा जात निर्धारण हुन थालेपछि पुख्र्यौली पेसा बाध्यकारी बन्यो र सामाजिक, आर्थिक तथा राजनीतिक अवसरमा असमानता सिर्जना भयो।

जातीय विभेद हटाउने उपाय

  • अन्तरजातीय विवाहलाई सामाजिक सम्मान र कानुनी संरक्षण दिनुपर्छ।
  • रुचि, क्षमता र सिपअनुसार जुनसुकै व्यक्तिले जुनसुकै पेसा गर्न पाउने वातावरण बनाउनुपर्छ।
  • सबै पेसा र श्रमलाई सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ।
  • सामूहिक कार्यक्रम तथा मेलामा सबै जातजातिको समान सहभागिता सुनिश्चित गर्नुपर्छ।
  • दलित तथा पछाडि पारिएका समुदायका योग्य व्यक्तिलाई राज्यव्यवस्थामा उचित अवसर दिनुपर्छ।
  • जातीय विभेद गर्ने व्यक्तिलाई कानुनअनुसार कारबाही गर्नुपर्छ।
  • सार्वजनिक स्थल, मन्दिर, धारा, कुवा तथा इनारमा सबैको समान पहुँच सुनिश्चित गर्नुपर्छ।
  • मानिसको सोच, धारणा तथा व्यवहारमा परिवर्तन ल्याउन शिक्षा र चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ।
  • पछाडि पारिएका समुदायका लागि सामाजिक, आर्थिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ।
  • जुनसुकै सामाजिक काम जुनसुकै जातका व्यक्तिले गर्न सक्छन् भन्ने मान्यता विकास गर्नुपर्छ।
३. जातीय भेदभाव हटाउन नेपालमा बनेका ऐननियम तथा व्यवस्थाहरूको सूची तयार पार्नुहोस्।
उत्तर: जातीय भेदभाव तथा छुवाछुत हटाउन नेपालमा विभिन्न संवैधानिक तथा कानुनी व्यवस्था गरिएको छ।

परियोजना कार्य

तपाईंको समुदायमा छुवाछुत र जातीय भेदभावको अवस्था अवलोकन गरी त्यसको अवस्था र न्यूनीकरणका उपाय समेटी पत्रपत्रिकाका लागि सम्पादकीयको नमुना तयार पार्नुहोस्।
उत्तर:

सम्पादकीय : जातीय भेदभाव अन्त्य गरौँ

जातीय भेदभाव र छुवाछुत समाजका कलङ्क हुन्। सबै मानिस समान जैविक प्रक्रियाबाट जन्मिन्छन् र प्रत्येक व्यक्तिलाई सामाजिक सम्मान तथा मर्यादासहित बाँच्ने अधिकार हुन्छ।

जातका आधारमा कसैलाई सानो, ठूलो, शुद्ध वा अशुद्ध ठान्नु आजको सभ्य समाजका लागि स्वीकार्य हुँदैन। यस्ता पुराना सोचलाई समाजबाट हटाउन आवश्यक छ।

सामाजिक भेलामा सबैलाई समान व्यवहार गर्नुपर्छ। विद्यालय, सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत जातीय विभेदविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ।

देश र समाजको विकासमा विभिन्न समुदायका मानिसले महत्वपूर्ण योगदान दिएका छन्। त्यसैले मानिसलाई जात होइन, उसको योगदान, ज्ञान, सिप र व्यवहारका आधारमा सम्मान गर्नुपर्छ।

जातीय विभेदको सङ्कीर्ण मानसिकता त्यागी सबैलाई समान व्यवहार गर्ने, श्रमको सम्मान गर्ने तथा छुवाछुत र अपहेलनाको प्रवृत्ति अन्त्य गर्नु आजको आवश्यकता हो।

पाठ २ : दलित सवाल

अभ्यास

१. दलित जागरणसम्बन्धी गीत, कविता वा कथा लेखी प्रस्तुत गर्नुहोस्।
उत्तर:

कथा : सबै मानिस समान

एउटा गाउँमा विभिन्न जातजातिका मानिस छुट्टाछुट्टै टोलमा बस्दथे। माथिल्लो टोलमा कथित उच्च जातका मानिस बस्दथे भने तल्लो टोलमा दलित समुदायका मानिसहरू बस्दथे।

तल्लो टोलका मानिसलाई माथिल्लो टोलको कुवाबाट पानी लिन दिइँदैनथ्यो। विद्यालयमा पनि दलित बालबालिकाले विभिन्न प्रकारका विभेद भोग्नुपर्थ्यो।

एक दिन गाउँका एक वृद्ध बिरामी परे र उनको मृत्यु भयो। रोग सर्ने डरले धेरै मानिस अन्तिम संस्कारमा सहभागी भएनन्। त्यसबेला दलित समुदायका मानिसहरू आएर अन्तिम संस्कारमा सहयोग गरे।

पछि गाउँका अर्को व्यक्तिलाई मिर्गौला आवश्यक पर्‍यो। आफन्तबाट कोही तयार नभएपछि दलित समुदायका एक युवाले मिर्गौला दिएर उनको जीवन बचाए।

त्यसैगरी अर्की वृद्ध महिलालाई शल्यक्रियाका क्रममा रगत आवश्यक पर्दा दलित युवाहरूले रक्तदान गरेर उनको ज्यान बचाए।

एक धार्मिक कार्यक्रममा पण्डितले गाउँलेलाई सोधे, “रगत दिँदा जात जान्छ कि ज्यान बच्दछ?” उनले सबै मानिस समान भएको र जात मानिसले बनाएको सामाजिक व्यवस्था मात्र भएको बताए।

त्यस दिनदेखि गाउँलेहरूले जातीय भेदभाव नगर्ने, सबैलाई समान सम्मान गर्ने र सबै बालबालिकालाई शिक्षा दिने प्रतिबद्धता गरे।

२. दलितका समस्याहरू पहिचान गरी समाधानका उपायहरू पहिल्याउनुहोस्।
उत्तर: दलित समुदायले विभिन्न सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक समस्या भोग्दै आएका छन्।

(क) आर्थिक समस्या

कतिपय दलित परिवार भूमिहीन छन्। बेरोजगारी, परम्परागत पेसामा निर्भरता र बालीघरे प्रथाजस्ता समस्याले आर्थिक अवस्था कमजोर बनाएको छ।

(ख) राजनीतिक तथा प्रशासनिक समस्या

नीति निर्माण तथा कार्यान्वयन गर्ने निकायमा दलित समुदायको समानुपातिक तथा प्रभावकारी प्रतिनिधित्व पर्याप्त नभएको समस्या रहेको छ।

(ग) सामाजिक तथा शैक्षिक समस्या

छुवाछुत, भेदभाव, सामाजिक अपमान तथा शिक्षामा कमजोर पहुँच मुख्य समस्या हुन्। आर्थिक अभावका कारण कतिपय परिवारले आफ्ना बालबालिकालाई नियमित शिक्षा दिन कठिनाइ भोग्छन्।

(घ) व्यक्तिगत स्वतन्त्रता तथा क्षमता प्रयोगमा अवरोध

योग्य र सक्षम भए पनि जातका आधारमा अवसर नपाउने अवस्था रहन सक्छ।

समाधानका उपायहरू

  1. दलित बालबालिकाको विद्यालय शिक्षामा सहज पहुँच सुनिश्चित गर्नुपर्छ।
  2. योग्य तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्छ।
  3. राजनीतिक दलले निर्वाचनमा दलित उम्मेदवारलाई उचित स्थान दिनुपर्छ।
  4. राज्यका संवैधानिक तथा प्रशासनिक निकायमा अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ।
  5. महिला बचत तथा ऋण समूह स्थापना गरी आर्थिक आत्मनिर्भरता बढाउनुपर्छ।
  6. दलित युवालाई रुचिअनुसार सीपमूलक तालिम दिनुपर्छ।
  7. स्वरोजगार तथा उद्यमका लागि सरल ऋण सुविधा उपलब्ध गराउनुपर्छ।
  8. जातीय अपमान वा विभेदको उजुरीमा तत्काल कानुनी कारबाही गर्नुपर्छ।
  9. दलित समुदायका परम्परागत पेसालाई आधुनिकीकरण गर्न सहयोग गर्नुपर्छ।
  10. अति विपन्न परिवारलाई आवास तथा अन्य आधारभूत सुविधा उपलब्ध गराउनुपर्छ।
३. “दलित हुनु सामाजिक विभेदको परिणति हो। त्यसलाई आधार मानेर आफ्नै दाजुभाइ-दिदीबहिनीमाथि भेदभाव गर्नु दण्डनीय छ।” यस भनाइलाई पुष्टि गर्नुहोस्।
उत्तर: प्राचीन समयमा सामाजिक कार्यविभाजनका क्रममा ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र गरी चार वर्णको व्यवस्था भएको उल्लेख पाइन्छ। समयक्रममा सेवामूलक तथा श्रममा आधारित काम गर्ने समुदायलाई सामाजिक रूपमा हेप्ने, श्रम शोषण गर्ने र जन्मका आधारमा तल्लो ठान्ने प्रवृत्ति विकास भयो। यसरी विकसित सामाजिक विभेदकै कारण केही समुदायलाई दलित भनेर चिनिन थालेको हो। वास्तवमा जातका आधारमा मानिस सानो वा ठूलो हुँदैन। मानिसको मूल्याङ्कन उसको असल काम, योग्यता, क्षमता, विचार तथा व्यवहारका आधारमा हुनुपर्छ। जातीय विभेदले मानिसबीच द्वेष, घृणा, झगडा र सामाजिक दूरी बढाउँछ। यसले सामाजिक एकता र शान्तिमा बाधा पुर्‍याउँछ। त्यसैले जातका आधारमा आफ्नै मानव समुदायका सदस्यलाई भेदभाव, अपमान वा छुवाछुत गर्नु अमानवीय, अन्यायपूर्ण तथा कानुनअनुसार दण्डनीय कार्य हो।

पाठ ३ : जात, जनजाति

अभ्यास

१. “नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो।” यस भनाइलाई पुष्टि गर्नुहोस्।
उत्तर: नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो। नेपालमा शेर्पा, नेवार, ब्राह्मण, क्षेत्री, सुनुवार, यादव, धानुक, राई, लिम्बू, मगर, गुरुङ, थकाली लगायत सयभन्दा बढी जातजातिका मानिसहरू शान्तिपूर्वक बसोबास गरिरहेका छन्। यस कारण नेपाल बहुजातीय मुलुक हो। नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका आफ्नै मातृभाषा छन्। राई, लिम्बू, नेवार, मगर, गुरुङ, थकाली, भोटे, शेर्पा, चेपाङ लगायतका समुदायका विभिन्न भाषा बोलिन्छन्। यसैले नेपाल बहुभाषिक मुलुक हो। त्यस्तै प्रत्येक जातजातिका आफ्नै संस्कार, संस्कृति, चाडपर्व, नाचगान, रहनसहन तथा परम्परा छन्। नेपालमा गाईजात्रा, भोटो जात्रा, बिस्केट जात्रा, लाखे जात्रा, दशैँ, तिहार, माघे सङ्क्रान्ति, फागु, ल्होसार लगायत धेरै चाडपर्व मनाइन्छन्। नेपालमा हिन्दु, बौद्ध, इस्लाम, इसाई तथा अन्य धार्मिक समुदायका मानिसहरूको बसोबास छ। विभिन्न धर्म, भाषा, जाति र संस्कृतिका मानिसहरू एकअर्काको सम्मान गर्दै बसेकाले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो।
२. समाजमा जातीय र क्षेत्रीय विविधताका कारण प्राप्त हुने अवसरहरूको सूची तयार पार्नुहोस्।
उत्तर:

जातीय विविधताबाट प्राप्त हुने अवसरहरू

  1. जातीय विविधताका कारण नेपाल बहुजातीय मुलुक बनेको छ।
  2. विभिन्न जातिका परम्परागत पेसा र सीपले सामाजिक तथा आर्थिक आवश्यकता पूरा गरेका छन्।
  3. पहाडी क्षेत्रका मेहनती समुदायले सुरक्षा तथा सैनिक सेवामा अवसर प्राप्त गरेका छन्।
  4. हिमाली क्षेत्रका शेर्पा समुदायले पर्वतारोहण तथा पर्यटनबाट जीविकोपार्जन गरेका छन्।
  5. नेवार लगायतका समुदायका सांस्कृतिक गतिविधिले विदेशी पर्यटक आकर्षित गर्छन्।
  6. सुनचाँदी तथा हस्तकलासम्बन्धी परम्परागत सिपलाई विकास गरी निर्यात गर्न सकिन्छ।
  7. विभिन्न संस्कृतिका कारण नेपाल विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ।

क्षेत्रीय विविधताबाट प्राप्त हुने अवसरहरू

  1. विभिन्न हावापानीका कारण फरक-फरक अन्नबाली उत्पादन गर्न सकिन्छ।
  2. तराईमा उत्पादन भएको खाद्यान्न देशका अन्य क्षेत्रमा आपूर्ति गर्न सकिन्छ।
  3. पहाडमा उत्पादन हुने चिया, अलैँची, अम्रिसो तथा फलफूल देशभर बिक्री गर्न सकिन्छ।
  4. अग्ला हिमाली क्षेत्रले पर्वतारोहण तथा पर्यटन विकासमा सहयोग गर्छन्।
  5. प्राकृतिक विविधताले विदेशी पर्यटक आकर्षित गर्छ।
  6. पहाडी नदीबाट जलविद्युत् उत्पादन गर्न सकिन्छ।
  7. पहाडी क्षेत्रमा पाइने खनिज पदार्थबाट उद्योग सञ्चालन गर्न सकिन्छ।
  8. तराईका नगदेबालीमा आधारित उद्योग स्थापना गर्न सकिन्छ।
  9. पहाडी क्षेत्रका जडीबुटी औषधि उत्पादनमा प्रयोग गर्न सकिन्छ।
  10. कृषिलाई आधुनिकीकरण गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ।
  11. तराईमा यातायात, स्वास्थ्य, सञ्चार, विद्युत् तथा उद्योग विकासबाट रोजगारी सिर्जना गर्न सकिन्छ।

पाठ ४ : बहुसांस्कृतिकता र सामाजिक एकता

अभ्यास

१. तपाईंको समुदायमा भएका विविधताको सूची बनाई त्यहाँ भएको एकताको उदाहरण प्रस्तुत गर्नुहोस्।
उत्तर: हाम्रो समुदायमा विभिन्न जाति, भाषा, धर्म तथा संस्कृतिका मानिसको बसोबास छ।

समुदायमा पाइने जातीय विविधता

ब्राह्मण, क्षेत्री, नेवार, राई, लिम्बू, मुसलमान, यादव, हजाम, थारु, धोबी, मारवाडी, कोइरी, लामा, सन्यासी लगायत विभिन्न समुदायका मानिस बस्छन्।

धार्मिक विविधता

समुदायमा विभिन्न मन्दिर, मस्जिद तथा चर्च रहेका छन्।

मनाइने प्रमुख चाडपर्व

  • दशैँ
  • तिहार
  • गाईजात्रा
  • माघे सङ्क्रान्ति
  • फागु
  • सरस्वती पूजा
  • कृष्ण जन्माष्टमी
  • इद
  • बकर इद
  • ल्होसार
  • उभौली
  • उधौली
  • बुद्ध पूर्णिमा
  • जनैपूर्णिमा
  • शिवरात्रि आदि

सामाजिक एकताका उदाहरण

हाम्रो समुदायमा विभिन्न धर्मका धार्मिक स्थलहरू नजिकै भए पनि एकअर्काको धार्मिक गतिविधिमा बाधा पुर्‍याइँदैन। हिन्दु, मुस्लिम तथा इसाई समुदायले आफ्ना धार्मिक कार्यक्रम स्वतन्त्र रूपमा सञ्चालन गर्छन्। सामाजिक कार्यक्रम आयोजना गर्दा सबै समुदायको सहयोग लिइन्छ। न्वारान, पास्नी, व्रतबन्ध, विवाह तथा अन्य संस्कारमा छिमेकीहरूलाई जात वा धर्म नहेरी निमन्त्रणा गरिन्छ। मृत्यु तथा विपद्को समयमा पनि सबै छिमेकीले एकअर्कालाई सहयोग गर्छन्। यसरी समानुभूति, सहयोग, सद्भाव र पारस्परिक सम्मानका कारण विविधताबीच पनि हाम्रो समुदायमा सामाजिक एकता कायम छ।
२. “बहुसांस्कृतिकता नै नेपालीको पहिचान हो।” यस भनाइलाई पुष्टि गर्नुहोस्।
उत्तर: नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो। मेचीदेखि महाकालीसम्म फैलिएको नेपालमा हिमाल, पहाड र तराईजस्ता विभिन्न भौगोलिक क्षेत्र छन्। यहाँ ब्राह्मण, क्षेत्री, नेवार, राई, मगर, लिम्बू, ठकुरी, थारु, यादव, मुसलमान, छन्त्याल लगायत धेरै जातजातिको बसोबास छ। जसरी विभिन्न फूललाई उनेर एउटै माला बनाइन्छ, त्यसरी विभिन्न जाति र संस्कृतिको समिश्रणबाट नेपाली समाज बनेको छ। प्रत्येक जाति र समुदायका आफ्नै मौलिक चाडपर्व, नाचगान, भाषा, परम्परा तथा संस्कार छन्। भक्तपुरको गाईजात्रा, काठमाडौंको घोडेजात्रा, किराँती समुदायको उधौली-उभौली, तराईको होली र छठ, हिमाली क्षेत्रको ल्होसार तथा मणिरिम्दु, पहाडको दशैँ-तिहार र देउसीभैलोजस्ता संस्कृति नेपाली समाजका साझा सम्पदा हुन्। प्रत्येक संस्कृतिको छुट्टै पहिचान भए पनि समग्र रूपमा ती सबै संस्कृतिको मिलनले नेपालको राष्ट्रिय पहिचान निर्माण गरेको छ। त्यसैले विविध जाति, भाषा, धर्म, संस्कार र परम्पराको सहअस्तित्व नै नेपाली समाजको मौलिक विशेषता भएकाले बहुसांस्कृतिकता नै नेपालीको पहिचान हो भन्न सकिन्छ।

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play