Class 11 Social Studies Unit 6 Solution | विश्व इतिहास र लोकतन्त्र

Class 11 Social Studies Unit 6 Solution
यस पोस्टमा कक्षा ११ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अन्तर्गत एकाइ ६ का विश्व इतिहासको लेखन, मध्यकालीन एसियाको आर्थिक अवस्था, औद्योगिक क्रान्ति तथा लोकतन्त्रसम्बन्धी सम्पूर्ण अभ्यास प्रश्नहरूको उत्तर प्रस्तुत गरिएको छ।

पाठ १ : विश्व इतिहासको लेखन र मूल प्रवृत्ति

अभ्यास

१. इतिहास कसरी लेखिन्छ? उल्लेख गर्नुहोस्।
उत्तर: इतिहास भनेको विगतका घटनाको विवरण हो। विगतमा भएका यथार्थ घटनालाई समेटेर इतिहास लेखिन्छ। इतिहास लेख्दा इतिहासकारले आवश्यकताअनुसार विज्ञसँग सल्लाह लिई विभिन्न तथ्य र प्रमाणलाई क्रमबद्ध रूपमा मिलाउँछन्। इतिहास लेख्दा निम्न कुरामा ध्यान दिइन्छ:
  1. पहिले घटेका घटनाको स्थान, प्रकृति तथा घटनाको वर्णन।
  2. घटना घटेको समय, तिथि वा मिति।
  3. घटनाहरूको क्रम मिलाउने।
  4. घटनासँग सम्बन्धित पक्षहरूको पहिचान गर्ने।
  5. घटना हुनुका सत्यतथ्य कारणको खोजी गर्ने।
  6. घटनाबाट परेको प्रभाव अध्ययन गर्ने।
  7. घटनासँग सम्बन्धित चित्र, लिखित तथा मौखिक जानकारी सङ्कलन गर्ने।
यसरी उपलब्ध स्रोत, प्रमाण र तथ्यलाई व्यवस्थित गरी इतिहास लेखिन्छ।
२. इतिहास लेखनका मूल प्रवृत्तिहरूका बारेमा छोटकरीमा उल्लेख गर्नुहोस्।
उत्तर: समयको प्रवाहसँगै मानिससँग सम्बन्धित घटना तथा जानकारी मेटिएर वा बिर्सिएर नजाऊन् भनेर इतिहास लेखिन्छ। इतिहासबाट भावी पुस्ताले विगतका घटनाबारे जानकारी प्राप्त गर्छन्। आफ्ना पूर्वजका कार्य, मूल्य र मान्यताबाट सिक्ने अवसर पाउँछन्। असल कामबाट प्रेरणा लिने तथा विगतमा भएका गल्ती भविष्यमा नदोहोर्‍याउने ज्ञान प्राप्त हुन्छ। इतिहास लेखनका प्रमुख प्रवृत्तिहरू निम्न छन्:
  1. पहिलेका घटनाहरूको सङ्ग्रहको रूपमा (Antecedents Trend):
    यस प्रवृत्तिमा विगतका घटनाहरूलाई समयक्रमअनुसार जस्ताको तस्तै सङ्ग्रह गरी इतिहास तयार गरिन्छ। घटनाको विशेष विश्लेषण गरिँदैन।
  2. विश्लेषणात्मक इतिहास लेखन (Annalistic Trend):
    यस प्रवृत्तिका जन्मदाता रोमन इतिहासकार ग्नायस गेलियस मानिन्छन्। कुनै घटना वा तथ्य जसरी विकसित हुँदै जान्छ, त्यसको निरन्तर अध्ययन तथा विश्लेषण गर्दै विस्तारमा इतिहास लेखिन्छ।
  3. प्रबन्धात्मक लेखन प्रवृत्ति (Monographic Trend):
    यो प्रवृत्ति विश्वभर प्रचलित छ। यसमा ऐतिहासिक घटना वा विषयवस्तुलाई विशेष लेखका रूपमा प्रस्तुत गरिन्छ र इतिहासकारको धारणा पनि समावेश हुन्छ।
  4. वैज्ञानिक प्रवृत्ति (Scientific Trend):
    यस प्रवृत्तिमा तथ्य तथा प्रमाणको खोजी गरी त्यसका आधारमा विषयवस्तुको व्याख्या र विश्लेषण गर्दै इतिहास लेखिन्छ।

पाठ २ : मध्यकालीन एसियाको आर्थिक उदय र सङ्कुचन

अभ्यास

१. मध्यकालीन एसियाको उदय कसरी भएको थियो? बुँदागत रूपमा लेख्नुहोस्।
उत्तर: करिब ई. ५०० देखि ई. १५०० सम्मको अवधिलाई मध्यकाल मानिन्छ। यस समयमा प्राचीन सभ्यताको अवसान हुँदै नयाँ संस्कृति, धर्म तथा राज्य व्यवस्थाको विकास भइरहेको थियो। मध्य एसियामा सक्रिय मङ्गोल जातिहरूले राज्य स्थापना गर्न थाले। सामन्तवाद सक्रिय भयो र राज्यमा राजासँगै सामन्तहरूको प्रभाव बढ्यो। मध्यकालमा अरब क्षेत्रमा इस्लाम धर्मको विस्तार भयो। इस्लाम धर्मका अनुयायीहरूले विभिन्न क्षेत्रमा यसको प्रचार-प्रसार गरे। मध्यकालीन एसियाको आर्थिक अवस्था तुलनात्मक रूपमा समुन्नत थियो। विशेष गरी भारत, चीन र जापानमा आर्थिक गतिविधिको विकास भएको देखिन्छ।

भारत

भारत विभिन्न साना राज्यमा विभाजित थियो। विभिन्न राजवंशहरूले शासन गर्दथे। मुगलहरूको आगमनपछि एकीकरणको प्रयास भए पनि पराजित राज्यबाट कर उठाउने व्यवस्था कायम थियो। भारतको अर्थव्यवस्था मुख्य रूपमा कृषिमा आधारित थियो। अधिकांश मानिस खेतीमा निर्भर थिए। घरेलु उद्योगको राम्रो विकास भएको थियो। भारतबाट पूर्वी द्वीपसमूह तथा अरब देशमार्फत युरोपसम्म व्यापार हुन्थ्यो। भारतबाट मसला तथा सुती कपडा निर्यात गरिन्थ्यो।

चीन

मध्य एसियामा चीनको आर्थिक विकास महत्वपूर्ण थियो। टाङ वंशको शासनकालमा चीनको सीमा उत्तरमा साइबेरिया, पूर्वमा कोरिया तथा दक्षिणमा भियतनामसम्म फैलिएको थियो। चीनको अर्थव्यवस्था पनि कृषि आधारित थियो। राज्यले सिँचाइ व्यवस्थामा सहयोग गर्दथ्यो। चीनमा रेशम उत्पादनको विकास भएको थियो। चीनबाट युरोपसम्म रेशम व्यापार हुने स्थलमार्गलाई रेशम मार्ग भनिन्थ्यो। यस अवधिमा चीनमा छपाइ, कागज, बारुद, कम्पास, पानीघडी, सूर्यघडी, फलाम तथा अन्य प्रविधिको विकास भएको थियो। कृषकले राज्यलाई करका साथै सामन्ती कर पनि तिर्नुपर्थ्यो। मुद्रा कम प्रचलित भएकाले अन्न नै करका रूपमा बुझाउने चलन पनि थियो।

जापान

जापानको अर्थव्यवस्था पनि कृषिमा आधारित थियो। राजा सर्वोच्च शासक भए पनि सामन्तहरूको प्रभाव बलियो थियो। सगुन, डायम्यो तथा समुराई व्यवस्थाको विकास भएको थियो। समुराईहरूले सगुनको सुरक्षा गर्दथे। बाह्य व्यापार तुलनात्मक रूपमा कम विकसित थियो। यसरी मध्यकालीन एसियामा कृषि, घरेलु उद्योग, व्यापार र विभिन्न राजनीतिक व्यवस्थाले आर्थिक विकासमा भूमिका खेलेका थिए।

पाठ ३ : औद्योगिक क्रान्ति

अभ्यास

१. औद्योगिक क्रान्तिले विश्वमा पारेका प्रभावहरूको बुँदागत रूपमा व्याख्या गर्नुहोस्।
उत्तर: औद्योगिक क्रान्तिले विश्वको राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा ठूलो प्रभाव पारेको थियो। यसका प्रमुख प्रभावहरू निम्न छन्:
  1. उद्योगको स्थापना:
    हातबाट बन्ने वस्तुहरू उद्योग र मेसिनबाट उत्पादन हुन थाले। वस्तुको उत्पादन, गुणस्तर तथा माग बढेसँगै उद्योगहरूको सङ्ख्या पनि बढ्यो। बेलायतबाट सुरु भएको औद्योगिक क्रान्ति युरोप हुँदै विश्वभर फैलियो।
  2. पुँजीवादको उदय:
    उद्योग स्थापना गर्न ठूलो पुँजी आवश्यक पर्ने भएकाले पुँजीवादको विकास भयो। समाजमा पुँजीपतिको प्रभाव बढ्यो र उनीहरूले उद्योगमा लगानी गरी थप धन कमाउन थाले।
  3. सहरीकरण:
    उद्योग स्थापना भएका क्षेत्र आसपास जनसङ्ख्या बढ्न थाल्यो। व्यापार तथा रोजगारीको अवसर बढेकाले गाउँबाट सहरतर्फ बसाइँसराइ बढ्यो।
  4. महिला श्रमिकको शोषण:
    महिलालाई पुरुषसरह काम गराए पनि तुलनात्मक रूपमा कम ज्याला दिने प्रवृत्ति देखियो। यसबाट महिला श्रमिकको शोषण भयो।
  5. जीवनशैलीको स्तरवृद्धि:
    औद्योगिक कामदारहरूको आय वृद्धि भयो। नयाँ आविष्कार र सुविधाले मानिसको जीवनशैलीमा परिवर्तन ल्यायो।
  6. प्रविधिको विकास:
    औद्योगिक क्रान्तिले नयाँ आविष्कार र प्रविधि विकासलाई प्रोत्साहन गर्‍यो। यातायातका साधन विकास भए र अन्तरमहादेशीय व्यापार बढ्यो।
  7. भौतिकवाद र उपयोगवादको वृद्धि:
    धन, सुविधा र भौतिक सुखप्रतिको आकर्षण बढ्यो। मानिसले सुख-सुविधाका लागि नयाँ वस्तु तथा प्रविधिको खोजी गर्न थाले।
  8. साम्राज्यवाद र मार्क्सवादको उदय:
    औद्योगिक उत्पादनका लागि कच्चा पदार्थ र बजार आवश्यक भयो। युरोपेली शक्तिहरूले एसिया, अफ्रिका तथा अमेरिकाका विभिन्न क्षेत्रमा उपनिवेश स्थापना गरे। उद्योगमा मजदुरको शोषण बढेपछि कार्ल मार्क्सले मजदुरका समस्या समाधानका लागि साम्यवादी विचारधारा अघि सारे।
  9. प्रदूषण र वातावरण विनाश:
    उद्योगबाट निस्कने धुवाँ तथा रसायनले वायु प्रदूषण बढायो। उद्योग तथा यातायातका लागि वन फँडानी भयो। औद्योगिक फोहोर नदी तथा खोलामा मिसाउँदा जल प्रदूषण र उद्योग तथा यातायातका आवाजले ध्वनि प्रदूषण बढ्यो।
  10. धन र शक्तिको पलायन:
    उपनिवेशहरूबाट प्राकृतिक सम्पदा तथा धन साम्राज्यवादी देशतर्फ जान थाल्यो। उद्योगपतिहरू रोजगारदाता बने र समाजमा पुँजीपतिको प्रभाव तथा आर्थिक शक्ति बढ्दै गयो।
२. उपनिवेशको सुरुआत र औद्योगिक क्रान्तिको सम्बन्ध उल्लेख गर्नुहोस्।
उत्तर: औद्योगिक क्रान्तिले साम्राज्यवाद तथा उपनिवेशवादको विकासलाई प्रोत्साहन गर्‍यो। औद्योगिक क्रान्तिको सुरुआत बेलायतबाट भएको थियो। कपडा उद्योगसँगै विभिन्न उद्योगको विकास हुन थाल्यो। युरोपमा उद्योगका लागि आवश्यक कपास पर्याप्त उत्पादन नहुने भएकाले भारत तथा अफ्रिकी देशबाट कपास ल्याउनुपर्ने भयो। औद्योगिक उत्पादन बढेपछि उत्पादित वस्तु बेच्न नयाँ बजारको आवश्यकता पनि बढ्यो। यसकारण युरोपेली देशहरूले कम विकसित देशलाई उपनिवेश बनाउन थाले। बेलायतले एसिया, अफ्रिका तथा अमेरिकी महादेशका विभिन्न क्षेत्रमा साम्राज्य विस्तार गर्‍यो। फ्रान्स, पोर्चुगल र डचहरू पनि उपनिवेश स्थापनामा लागे। उपनिवेशबाट युरोपेली उद्योगले:
  • सस्तो कच्चा पदार्थ प्राप्त गरे।
  • उत्पादित वस्तु बेच्ने नयाँ बजार पाए।
  • सस्तो श्रमशक्ति प्राप्त गरे।
  • प्राकृतिक स्रोत तथा सम्पदाको उपयोग गरे।
  • आर्थिक लाभ तथा रोजगारीका अवसर वृद्धि गरे।
यसरी औद्योगिक क्रान्तिका लागि आवश्यक कच्चा पदार्थ, बजार र श्रमको खोजीले उपनिवेश विस्तारलाई तीव्र बनाएको थियो।

पाठ ४ : लोकतन्त्र

अभ्यास

१. विश्वमा लोकतान्त्रिक आन्दोलन हुनुका कारणहरू उल्लेख गर्नुहोस्।
उत्तर: विश्वका विभिन्न देशमा लोकतान्त्रिक आन्दोलन भएका छन्। देशअनुसार कारण फरक भए पनि केही प्रमुख कारण समान छन्।
  1. निरङ्कुश शासन:
    कतिपय देशमा निरङ्कुश शासकले जनताको अधिकार कुण्ठित गरेका थिए। जनताले स्वतन्त्रता र आधारभूत मानव अधिकार प्रयोग गर्न पाएका थिएनन्। शासकको स्वेच्छाचारी शासन असह्य भएपछि जनता सङ्गठित भएर लोकतन्त्र स्थापनाका लागि आन्दोलनमा उत्रिए। रुसको जार शासन, फ्रान्समा लुई सोह्रौँको शासन, बेलायतको गौरवमय क्रान्ति तथा नेपालमा राणा शासनविरुद्धका आन्दोलन यसका उदाहरण हुन्।
  2. उपनिवेशवाद:
    युरोपेली औद्योगिक देशहरूले विभिन्न मुलुकमा उपनिवेश स्थापना गरेका थिए। उपनिवेशका नागरिकले मौलिक अधिकार पाएका थिएनन् र उनीहरूको आर्थिक तथा राजनीतिक शोषण हुन्थ्यो। यसविरुद्ध जनता सङ्गठित भएर स्वतन्त्रता तथा प्रजातन्त्रका लागि आन्दोलन गरे। अमेरिकी स्वतन्त्रता सङ्ग्राम, भारतको स्वतन्त्रता सङ्ग्राम तथा श्रीलङ्काको स्वतन्त्रता आन्दोलन यसका उदाहरण हुन्।
  3. शिक्षाको प्रचार:
    आधुनिक शिक्षाको विकाससँगै मानिस आफ्ना अधिकारबारे सचेत हुन थाले। विभिन्न भाषा र साहित्यका पुस्तकहरूले जनतामा नयाँ राजनीतिक चेतना ल्याए। यसबाट निरङ्कुश शासनविरुद्ध सङ्गठित हुन प्रेरणा प्राप्त भयो।
  4. विदेशी घटनाको प्रभाव:
    एउटा देशमा सफल भएको जनआन्दोलनले अर्को देशका नागरिकलाई पनि आन्दोलन गर्न प्रेरणा दिन सक्छ। अमेरिकी स्वतन्त्रता सङ्ग्रामले फ्रान्सेली क्रान्तिलाई प्रेरणा दिएको थियो। भारतको स्वतन्त्रताले नेपालमा राणा शासनविरुद्धको आन्दोलनलाई पनि प्रभाव पारेको थियो।
  5. जनअधिकार:
    जनताले कल्याणकारी राज्य, न्याय, शान्ति, रोजगारी, स्वतन्त्र अभिव्यक्ति तथा समान अधिकारको अपेक्षा गर्छन्। यी अधिकारमाथि प्रहार हुँदा जनता आन्दोलनमा उत्रिन्छन्। नेपालमा वि.सं. २०४६ तथा वि.सं. २०६२/६३ का जनआन्दोलनहरू जनअधिकारसँग सम्बन्धित महत्वपूर्ण उदाहरण हुन्।
२. एक देशमा भएको परिवर्तनको प्रभाव अरू देशमा पनि पर्दछ भन्ने सन्दर्भलाई उदाहरणसहित प्रस्तुत गर्नुहोस्।
उत्तर: एउटा देशमा भएको राजनीतिक, सामाजिक वा सांस्कृतिक घटनाले अर्को देशमा पनि प्रभाव पार्न सक्छ। अमेरिकी स्वतन्त्रता सङ्ग्राममा फ्रान्सले अमेरिकालाई सहयोग गर्न आफ्नो सेना पठाएको थियो। अमेरिका स्वतन्त्र भएपछि फ्रान्सेली सैनिक स्वदेश फर्के। उनीहरूले अमेरिकामा बेलायती उपनिवेशवादविरुद्धको सङ्घर्ष र स्वतन्त्रताको अनुभव गरेका थिए। त्यसबेला फ्रान्समा लुई सोह्रौँको निरङ्कुश शासन थियो। जनतालाई पर्याप्त अधिकार थिएन र सामन्तहरूको शोषण थियो। अमेरिकाबाट फर्किएका सैनिकहरूले फ्रान्सेली जनताको आन्दोलनलाई नैतिक समर्थन गरे। फलस्वरूप फ्रान्सेली राज्यक्रान्ति भयो। फ्रान्सेली क्रान्तिले अघि सारेका स्वतन्त्रता, समानता र भ्रातृत्वका विचारले अन्य देशमा पनि निरङ्कुश शासनविरुद्ध आन्दोलन गर्न प्रेरणा दियो। त्यस्तै सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भयो। भारतको स्वतन्त्रताको प्रभाव नेपालमा पनि पर्‍यो। नेपालमा राणा शासनविरुद्ध जनता सङ्गठित हुन थाले र भारतीय नेताहरूले नेपाली लोकतान्त्रिक आन्दोलनलाई नैतिक समर्थन दिए। अन्ततः राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भयो। यसबाट एउटा देशमा भएको परिवर्तनले अर्को देशको राजनीतिक तथा सामाजिक परिवर्तनलाई पनि प्रभाव पार्न सक्छ भन्ने पुष्टि हुन्छ।
३. नेपालमा लोकतन्त्रले ल्याएको प्रभावको विश्लेषण गर्नुहोस्।
उत्तर: नेपालमा लोकतन्त्रको स्थापना भएपछि विभिन्न राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तन भएका छन्। लोकतन्त्रका केही सकारात्मक प्रभावहरू निम्न छन्:
  1. जनताले मौलिक हक प्राप्त गरेका छन्।
  2. जनताले चित्त नबुझेका विषयमा आफ्नो आवाज उठाउन पाएका छन्।
  3. विकासका नयाँ सोच र अवधारणाले महत्व पाएका छन्।
  4. विकास प्रक्रियामा जनसहभागिता र समान सहभागिताको अवधारणाले स्थान पाएको छ।
  5. सामाजिक समावेशिता तथा विकासमा समताको अवधारणा अघि बढेको छ।
  6. नागरिकले आफ्ना विकास आवश्यकतालाई उजागर गर्ने तथा प्राथमिकता निर्धारण गर्ने अधिकार पाएका छन्।
  7. राज्यको आर्थिक गतिविधिमा राज्यको मात्र एकाधिकार नरही निजी तथा सहकारी क्षेत्रले पनि स्थान पाएका छन्।
  8. विकासमा सुशासन र जनउत्तरदायित्वसम्बन्धी बहसले महत्व पाएको छ।
यसरी लोकतन्त्रले नागरिक अधिकार, सहभागिता, समावेशिता, आर्थिक विविधता तथा उत्तरदायी शासन व्यवस्थाको विकासमा महत्वपूर्ण प्रभाव पारेको छ।

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play