Class 11 Social Studies Unit 5 Solution | विश्वमा नेपाल

Class 11 Social Studies Unit 5 Solution
यस पोस्टमा कक्षा ११ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अन्तर्गत एकाइ ५ का विश्वमा नेपाल, मानव र वातावरण, विश्वका भौगोलिक विविधता र जनजीवन तथा नेपालका पर्यावरणीय क्षेत्रसम्बन्धी अभ्यास, थप प्रश्न र परियोजना कार्यका उत्तर प्रस्तुत गरिएको छ।

पाठ १ : विश्वमा नेपाल

अभ्यास

१. विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरू भएको गौरवशील देशका रूपमा चिनिन्छ। यस भनाइलाई माथि दिइएका आधारहरू र थप बुँदाहरू समेटेर पुष्टि गर्नुहोस्।
उत्तर: विश्वमा नेपाल एक विशिष्ट विशेषता भएको गौरवशाली देश हो। यसका आधारहरू निम्न छन्:
  1. नेपाल ८०° ४’ पूर्वी देशान्तरदेखि ८८° १२’ पूर्वी देशान्तरसम्म रहेको छ।
  2. नेपाल २६° २२’ उत्तरी अक्षांशदेखि ३०° २७’ उत्तरी अक्षांशसम्म फैलिएको छ।
  3. नेपालले विश्वको कुल क्षेत्रफलको ०.०३% र एसियाको ०.३% भूभाग ओगटेको छ।
  4. विश्वकै अग्लो शिखर सगरमाथा (८८४८.८६ मि.) नेपालमा छ। विश्वमै तेस्रो अग्लो शिखर कञ्चनजङ्घा पनि नेपालमा छ।
  5. विश्वका ८००० मिटरभन्दा अग्ला शिखरहरूमध्ये १४ वटा नेपालमा पर्दछन्।
  6. नेपालको सबैभन्दा होचो जमिन धनुषाको मुखियापट्टी मुसहरनियामा रहेको छ।
  7. सानो देश भए पनि विश्वमा पाइने विभिन्न प्रकारका हावापानी र वनस्पति नेपालमा पाइन्छन्।
  8. ब्राजिलपछि विश्वमै बढी जलविद्युत् उत्पादन गर्ने क्षमता भएको देश नेपाल हो।
  9. वीर गोर्खालीका रूपमा नेपाली विश्वभर चिनिन्छन्।
  10. मूल्यवान जडीबुटी यार्सागुम्बा नेपालमा पाइन्छ।
  11. नेपालमा १०० भन्दा बढी जातजाति तथा १०० भन्दा बढी भाषाहरू पाइन्छन्।
  12. यहाँ ३० भन्दा बढी प्रजातिका गुराँस पाइन्छन्।
  13. मृतकका नाममा गाई बनाई निकालिने नेवार जातिको गाईजात्रा नेपालमा मनाइन्छ।
  14. मारुनी नाच, चण्डी नाच, घाटु नाच, सोरठी नाच, झिझिया नृत्य आदि विभिन्न जातजातिका सांस्कृतिक गतिविधि नेपालमा प्रचलित छन्।
यी प्राकृतिक, भौगोलिक, सामाजिक तथा सांस्कृतिक विशेषताका कारण नेपाल विश्वमा विशिष्ट र गौरवशाली देशका रूपमा परिचित छ।
२. “भौगोलिक अवस्था र जनजीवनबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ।” यस भनाइलाई पुष्टि गर्नुहोस्।
उत्तर: भौगोलिक अवस्थाले मानिसको जीवनशैलीमा ठूलो प्रभाव पार्छ। मानिसको लवाइखवाइ, बसाइँसराइ, पेसा, खानपान र दैनिक व्यवहार भौगोलिक अवस्थाअनुसार फरक हुन्छ। पहाडी क्षेत्रमा बस्ने मानिसलाई उकालो-ओरालो हिँड्न तथा कठिन परिश्रम गर्नुपर्ने भएकाले उनीहरू शारीरिक रूपमा बलिया र फुर्तिला हुन्छन्। जाडो ठाउँमा बस्ने मानिस बाक्लो लुगा लगाउँछन्, मासु बढी खान्छन् र चिसोबाट बच्ने प्रकारको घर बनाउँछन्। गर्मी ठाउँका मानिस खुकुलो पोसाक लगाउँछन्। तराईमा गर्मी हुने भएकाले धोतीजस्ता खुकुला कपडा लगाउने प्रचलन छ। यहाँ खेतीपाती प्रशस्त हुने भएकाले विभिन्न प्रकारका खाद्यान्न र परिकार पाइन्छन्। मरुभूमिमा बस्ने मानिसले ऊँटलाई सवारी तथा सामान ढुवानीका लागि प्रयोग गर्छन्। ऊँटको दूध पिउने र त्यसको रौँबाट कम्बल बनाउने कार्य पनि गरिन्छ। जङ्गल नजिक बस्ने मानिस वनस्पति चिन्ने र रूख चढ्न सिपालु हुन्छन् भने नदी वा समुद्र किनारमा बस्ने मानिस माछा मार्न तथा पौडी खेल्न सिपालु हुन्छन्। यसरी मानिसले बाँच्नका लागि भौगोलिक अवस्थाअनुसार आफ्नो जीवनशैली अनुकूल बनाउने भएकाले भौगोलिक अवस्था र जनजीवनबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ।

पाठ २ : मानव र वातावरण

अभ्यास

१. वातावरण संरक्षण गर्दा हुने फाइदा र विनाश गर्दा आइपर्ने समस्याहरूलाई तालिकामा प्रस्तुत गर्नुहोस्।
उत्तर:
वातावरण संरक्षणबाट हुने फाइदा वातावरण विनाशबाट पर्ने समस्या
वनजङ्गलको विनाश नहुने। वायु, जल तथा ध्वनि प्रदूषण बढ्ने।
वायु तथा जल प्रदूषणमा कमी आउने। रोगव्याधि, हावाहुरी, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोप बढ्ने।
वन्यजन्तुको संरक्षण हुने। वन्यजन्तु तथा वनस्पति लोप हुन सक्ने।
नदीको प्रवाह र जलस्तर यथावत् रहने। नदीको जलस्तर घट्ने तथा प्रवाह परिवर्तन हुन सक्ने।
जलजीवको संरक्षण हुने। जलजीवमा नकारात्मक प्रभाव पर्ने।
ओजोन तहमा पर्ने नकारात्मक प्रभाव कम हुने। ओजोन तह प्रभावित भई पराबैजनी किरणको नकारात्मक प्रभाव बढ्ने।
रोगव्याधि, बाढीपहिरो तथा हावाहुरीमा कमी आउने। प्राकृतिक प्रकोपको जोखिम बढ्ने।
मरुभूमीकरण घट्ने र माटोको मलिलोपन बढ्ने। मरुभूमीकरण बढ्ने।
पर्यावरण प्रणाली सन्तुलित रहने। पर्यावरणीय प्रणालीमा असन्तुलन आउने।
अनावृष्टि तथा अतिवृष्टिमा कमी आउने। अनावृष्टि तथा अतिवृष्टिको सम्भावना बढ्ने।
खाद्यान्न उत्पादन तथा गुणस्तर कायम रहने। खाद्यान्न उत्पादनमा कमी आउन सक्ने।
भावी सन्ततिको जीवनमा नकारात्मक प्रभाव कम पर्ने। भावी सन्ततिको जीवनमा नकारात्मक प्रभाव पर्ने।
प्राकृतिक वातावरण सुरक्षित रहने। जलवायु परिवर्तनका नकारात्मक असर बढ्ने।
२. वातावरण संरक्षणमा मानिसको भूमिका बढी जिम्मेवार हुन्छ। आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस्।
उत्तर: वातावरणमा व्यापक परिवर्तन ल्याउने क्षमता मानिसमा छ। मानिस बुद्धि र चेतना भएको प्राणी हो। नयाँ-नयाँ आविष्कार, विकास निर्माण, उद्योग, यातायात तथा प्रविधिको विकास मानिसले नै गरेको हो। तर मानिसका कतिपय क्रियाकलापले प्राकृतिक वातावरणमा नकारात्मक प्रभाव पारेका छन्। नयाँ खेती, सडक तथा बस्ती निर्माणका क्रममा वन विनाश भएको छ। वन विनाशबाट वन्यजन्तुको बासस्थान नष्ट भएको छ। ठूला उद्योगबाट निस्कने ग्यासले वायु प्रदूषण, सवारी तथा उद्योगको आवाजले ध्वनि प्रदूषण र नदीमा फोहोर फाल्दा जल प्रदूषण बढेको छ। यी गतिविधि मानिसबाट नै भएका भएकाले वातावरण संरक्षण गर्ने मुख्य जिम्मेवारी पनि मानिसकै हो। मानिसले वृक्षारोपण गर्न, जैविक मल प्रयोग गर्न, वनजङ्गल जोगाउन, नाङ्गा डाँडामा घाँस तथा बिरुवा रोप्न र वातावरण संरक्षणसम्बन्धी चेतना फैलाउनुपर्छ। विकास निर्माण गर्दा वातावरणमा पर्ने नकारात्मक प्रभावलाई न्यून गर्नुपर्छ। आजको पुस्ताले वातावरण संरक्षण गरेमा भावी पुस्ताले पनि सुरक्षित र स्वच्छ वातावरणमा जीवनयापन गर्न पाउने भएकाले वातावरण संरक्षणमा मानिसको भूमिका अत्यन्त महत्वपूर्ण छ।

परियोजना कार्य

१. साथीहरूबीच समूह बनाई वातावरण संरक्षणका लागि कुनै योजना बनाई कार्यान्वयन गर्नुहोस् र अन्त्यमा योजना तथा कार्यप्रगति समेटी प्रतिवेदन तयार गर्नुहोस्।
उत्तर:

वृक्षारोपण कार्यक्रमसम्बन्धी प्रतिवेदन

वातावरण संरक्षणप्रति हाम्रो पनि जिम्मेवारी रहेको महसुस गरी हामी कक्षाका ११ जना विद्यार्थीको समूह बनायौँ। हामीले खाली रहेको सरकारी जग्गामा वृक्षारोपण गर्ने योजना बनायौँ। प्रत्येक शनिबार प्रत्येक सदस्यले कम्तीमा एउटा बिरुवा ल्याएर रोप्ने निर्णय गरियो। त्यसपछि नियमित रूपमा बिरुवा रोप्ने, पानी हाल्ने र हेरचाह गर्ने कार्य गरियो। वरपरका स्थानीय बासिन्दालाई पनि बिरुवाको संरक्षणमा सहयोग गर्न अनुरोध गरियो। करिब ६ महिनापछि उक्त स्थानमा सयभन्दा बढी बिरुवा राम्रोसँग हुर्किएको देखियो। बिरुवा बढेसँगै चराचुरुङ्गीहरू पनि आउन थाले। केटाकेटी खेल्ने र स्थानीय मानिसहरू बस्ने रमाइलो वातावरण निर्माण भयो। यस परियोजनाले वृक्षारोपणले वातावरणलाई सुन्दर, स्वच्छ र जैविक रूपमा समृद्ध बनाउन सहयोग गर्ने कुरा अनुभव गर्न सकियो।

थप प्रश्नहरू

१. भूमध्यरेखीय प्रदेशभन्दा भूमध्यसागरीय प्रदेशको उन्नति किन बढी भएको हो? कारण दिनुहोस्।
उत्तर: भूमध्यरेखीय प्रदेशमा प्रायः वर्षभर गर्मी र वर्षा हुन्छ। अत्यधिक गर्मीले मानिसलाई छिटो थकाउने र अल्छी बनाउने गर्छ। रोगव्याधिको प्रकोप पनि बढी हुने भएकाले यहाँ विकास तुलनात्मक रूपमा कम भएको छ। भूमध्यसागरीय क्षेत्रमा अत्यधिक गर्मी वा अत्यधिक जाडो हुँदैन। जाडो याममा पर्याप्त वर्षा हुन्छ। यहाँका मानिस लामो समयसम्म काम गर्न सक्षम हुन्छन्। गहुँ, अञ्जिर, अङ्गुर, सुन्तला आदि उत्पादन हुन्छन् र विभिन्न उद्योगको विकास भएको छ। त्यसैले भूमध्यसागरीय प्रदेशको उन्नति बढी भएको मानिन्छ।
२. प्राकृतिक वातावरण बिगार्न मानिसहरू बढी जिम्मेवार छन्। कसरी? पुष्टि गर्नुहोस्।
उत्तर: मानिसले आफ्नो बुद्धिको प्रयोग गरी प्राकृतिक सम्पदाको व्यापक उपयोग गर्न थालेपछि वातावरणमा नकारात्मक असर बढेको छ। भूमिगत जल, खनिज तेल, खनिज सम्पदा तथा नदीको पानीको अत्यधिक उपयोग भएको छ। रासायनिक मल र विषादीको प्रयोगले माटो विषाक्त भएको छ। उद्योगबाट निस्कने ग्यासले वायु प्रदूषण बढाएको छ। सडक निर्माणका लागि वन मासिएको छ। उद्योगको फोहोर नदीमा फाल्दा जल प्रदूषण बढेको छ। ठूला सवारीसाधन र उद्योगको आवाजले ध्वनि प्रदूषण बढेको छ। यस्ता क्रियाकलापले बाढीपहिरो, हावाहुरी तथा रोगव्याधि जस्ता समस्या बढाउन सक्ने भएकाले प्राकृतिक वातावरण बिगार्न मानिस बढी जिम्मेवार मानिन्छ।
३. जलवायु परिवर्तनका असरहरू देखापर्ने के-के कारण हुन सक्छन्? छोटो विवरण दिनुहोस्।
उत्तर: जलवायु परिवर्तनका प्रमुख कारणहरूमा निम्न गतिविधि पर्दछन्:
  1. कृषि उत्पादन बढाउन रासायनिक मलको अत्यधिक प्रयोग।
  2. बाली संरक्षणका लागि विषादीको प्रयोग।
  3. कोइला, पेट्रोल र प्राकृतिक ग्यासको व्यापक उपयोग।
  4. औद्योगिकीकरणका लागि वनजङ्गल विनाश।
  5. उद्योग तथा सडक निर्माणका क्रममा प्राकृतिक क्षेत्रको दोहन।
  6. मानव निर्मित सुविधाका साधनबाट वायुमण्डलमा पर्ने नकारात्मक प्रभाव।
  7. नदीजन्य पदार्थको अत्यधिक दोहन।
  8. वायुमण्डलको ओजोन तहमा पर्ने नकारात्मक असर।
यी गतिविधिले वातावरणीय सन्तुलनमा असर पुर्‍याउँदा जलवायु परिवर्तनका प्रभाव देखिन थाल्छन्।
४. दिगो विकासको अवधारणाको मुख्य उद्देश्य के हो? यो किन ल्याइएको हो? प्रष्ट पार्नुहोस्।
उत्तर: मानिसका विभिन्न क्रियाकलापका कारण वातावरणीय सन्तुलन बिग्रेर अनेक प्रकारका समस्या देखिन थालेपछि तिनको समाधानका उपाय खोज्न थालियो। प्राकृतिक वातावरणमा प्रतिकूल असर नपर्ने गरी विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने अवधारणालाई दिगो विकासले जोड दिन्छ। उदाहरणका लागि, सडक निर्माण गर्दा वातावरणमा पर्ने नकारात्मक असरलाई न्यून गर्दै निर्माण कार्य गर्नुपर्छ। दिगो विकासले मानिस र प्राकृतिक वातावरणबीचको सम्बन्ध सुधार गर्छ। यसको मुख्य उद्देश्य प्राकृतिक स्रोतको सन्तुलित उपयोग गरी भावी सन्ततिलाई पनि स्वच्छ र सुरक्षित प्राकृतिक वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था हस्तान्तरण गर्नु हो। यसैले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत दिगो विकासको अवधारणा अघि सारिएको हो।

पाठ ३ : विश्वका भौगोलिक विविधता र जनजीवन

अभ्यास

१. कारण दिनुहोस्।

(क) मलेसियामा धेरै गर्मी र दैनिक वर्षा हुन्छ।

उत्तर: मलेसिया भूमध्यरेखीय क्षेत्रमा पर्दछ। यहाँ वर्षभर सूर्यको प्रकाश लगभग लम्ब रूपमा पर्ने भएकाले वर्षभर गर्मी हुन्छ। गर्मीका कारण वाष्पीकरण निरन्तर हुने भएकाले यहाँ वर्षभर वर्षा भइरहन्छ।

(ख) मरुभूमि क्षेत्रमा ऊँट पालन गरिन्छ।

उत्तर: ऊँटको खुट्टा लामो हुन्छ र बालुवामा सजिलै भासिँदैन। ऊँट पानी नपिई पनि ३/४ दिनसम्म रहन सक्छ। यसका लामा आँखीभौँले मरुभूमिको हावाहुरीबाट आँखा जोगाउँछन्। ऊँटलाई मानिस तथा मालसामान ओसारपसार गर्न प्रयोग गरिन्छ। यसको दूध पनि प्रयोग गरिन्छ। त्यसैले मरुभूमिमा ऊँट पालन गरिन्छ।

(ग) समुद्री किनारमा ठूला सहरहरू रहेका छन्।

उत्तर: समुद्री किनारको हावापानी रमणीय हुन्छ। यहाँ अत्यधिक गर्मी र अत्यधिक जाडो हुँदैन। समुद्रले विदेशी व्यापारका लागि जल यातायातको सुविधा दिन्छ। समुद्रबाट माछा मार्ने व्यवसाय पनि सञ्चालन हुन्छ। यस्ता आर्थिक तथा भौगोलिक सुविधाले समुद्री किनारमा ठूला सहरको विकास भएको हो।

(घ) इटली र ग्रीसमा फलफूल खेती गरिन्छ।

उत्तर: इटली र ग्रीस भूमध्यसागरीय प्रदेशमा पर्दछन्। यहाँ गर्मी याममा सुक्खा र न्यानो तथा हिउँदमा चिसो र वर्षा हुने भएकाले अमिलो तथा रसिलो फलफूल उत्पादनका लागि अनुकूल वातावरण हुन्छ। त्यसैले यहाँ सुन्तला, अञ्जिर, अङ्गुर आदि फलफूल उत्पादन गरिन्छ।

(ङ) हिमाली र पहाडी क्षेत्रका मानिस तराई र बेँसीतर्फ झरिरहेका छन्।

उत्तर: हिमाली तथा पहाडी क्षेत्रको भूभाग कठिन छ। खेतीयोग्य मलिलो जमिन कम पाइन्छ र सडक निर्माण खर्चिलो हुन्छ। शिक्षा, स्वास्थ्य, उद्योग र व्यापारको विकास पनि कम हुन्छ। तर तराई र बेँसी क्षेत्र समथर तथा मलिलो हुन्छ। यहाँ यातायात, शिक्षा, स्वास्थ्य, उद्योग तथा व्यापारको सुविधा बढी हुन्छ। त्यसैले हिमाल तथा पहाडका मानिस तराई र बेँसीतर्फ बसाइँ सर्ने गरेका छन्।

(च) गाउँ र सहरबीच अन्योन्याश्रित सम्बन्ध छ।

उत्तर: गाउँ र सहर एकअर्काका पूरक हुन्। गाउँबाट सहरलाई खाद्यान्न, फलफूल, तरकारी, उखु, जुट, चिया तथा उद्योगका लागि कच्चा पदार्थ प्राप्त हुन्छ। सहरबाट गाउँलाई कपडा, औषधि, घरायसी सामग्री तथा विभिन्न सेवा प्राप्त हुन्छ। उद्योगका लागि आवश्यक श्रमिक पनि प्रायः गाउँबाट आउने भएकाले गाउँ र सहरबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ।
२. विश्वमा किन एकै प्रकारको जनजीवन नभएको होला? कारणहरूको खोजी गर्नुहोस्।
उत्तर: विश्वका सबै ठाउँमा भौगोलिक अवस्था समान छैन। धरातल, हावापानी, वनस्पति, प्राकृतिक स्रोत तथा उपलब्ध सुविधा फरक-फरक भएकाले जनजीवन पनि फरक हुन्छ। चिसो क्षेत्रमा बस्ने मानिस बाक्लो लुगा लगाउँछन् भने गर्मी क्षेत्रका मानिस खुकुलो लुगा लगाउँछन्। पहाडी क्षेत्रमा बाटोघाटो कम हुने तथा कृषि कठिन हुने भएकाले मानिस खेतीसँगै पशुपालन पनि गर्छन्। तराईमा समथर भूभाग, मलिलो माटो तथा यातायात सुविधा भएकाले कृषि, व्यापार र आवागमन सहज हुन्छ। मरुभूमिमा दिउँसो अत्यधिक गर्मी र राति चिसो हुने भएकाले शरीर ढाक्ने प्रकारको पोसाक लगाइन्छ। यसरी धरातलको बनोट, हावापानी, प्राकृतिक स्रोत तथा सुविधाको अवस्थाअनुसार मानिसको जीवनशैली फरक हुने भएकाले विश्वभर एकै प्रकारको जनजीवन पाइँदैन।
३. नेपालमा विविध भौगोलिक अवस्थाले मानिसको जीवनशैली तथा आर्थिक क्रियाकलापमा कसरी प्रभाव पारेको छ? उदाहरणसहित पुष्टि गर्नुहोस्।
उत्तर: नेपालमा हिमाल, पहाड र तराईका मानिसहरूको जीवनशैलीमा भौगोलिक अवस्थाको स्पष्ट प्रभाव देखिन्छ।

हिमाली क्षेत्र

हिमाली क्षेत्रमा अत्यधिक जाडो हुने भएकाले मानिस बाक्लो ऊनी कपडा लगाउँछन्। चौरी, भेडा, च्याङ्ग्रा र घोडा पालिन्छ। मालसामान ढुवानीका लागि याक र घोडाको प्रयोग गरिन्छ। चौरीको दूधबाट छुर्पी र चीज तयार गरिन्छ। भेडा र च्याङ्ग्राको रौँबाट ऊनी कपडा तयार गरिन्छ।

पहाडी क्षेत्र

पहाडी क्षेत्रमा मगर, गुरुङ, राई, लिम्बू, क्षेत्री, बाहुन आदि जातिको बसोबास छ। मानिस खेतीपातीसँगै गाईवस्तु, भेडाबाख्रा आदि पाल्छन्। कठिन धरातलका कारण मानिसलाई धेरै हिँडडुल तथा परिश्रम गर्नुपर्छ। ठूला बजार कम हुने भएकाले हाटबजारको प्रचलन पाइन्छ।

तराई क्षेत्र

तराईमा गर्मी बढी हुन्छ र वर्षायाममा पर्याप्त वर्षा हुन्छ। माटो मलिलो हुने भएकाले वर्षे र हिउँदे बाली लगाइन्छ। समथर भूभागका कारण आवतजावत तथा कृषि कार्य सहज हुन्छ। यसरी नेपालको भौगोलिक विविधताले मानिसको पोसाक, खानपान, पेसा, कृषि, पशुपालन तथा दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारेको छ।
४. भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध एवं पहुँच र सहजतामा असर गर्छ, किन? कारण दिनुहोस्।
उत्तर: पहाड, तराई, नदी, छाँगो, हिमाल, मरुभूमि र वनजङ्गल भौगोलिक विविधताका उदाहरण हुन्। यातायात तथा सञ्चार साधनको विकासले क्षेत्रीय तथा प्रादेशिक सम्बन्ध, पहुँच र सहजतामा ठूलो भूमिका खेल्छ। समथर क्षेत्रमा सडक, रेल तथा अन्य यातायात पूर्वाधार बनाउन सजिलो हुन्छ। त्यसैले तराईमा यातायात तथा सञ्चारको विकास बढी सहज हुन्छ। पहाडी तथा हिमाली क्षेत्रको होचो-अग्लो धरातल, पहिरोको जोखिम तथा कठिन मौसमका कारण सडक निर्माण खर्चिलो हुन्छ। रेलमार्ग तथा जलमार्गको सम्भावना कम हुन्छ र हवाई मार्गका लागि पनि उपयुक्त धावनमार्ग निर्माण गर्न कठिन हुन सक्छ। यातायातको कठिनाइले सञ्चार, वस्तु ढुवानी, सरकारी सेवा तथा विपद्को समयमा सहायता पुर्‍याउन पनि समस्या उत्पन्न गर्छ। त्यसैले भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध तथा पहुँचमा प्रत्यक्ष असर पार्छ।

परियोजना कार्य

१. तपाईंको समुदायको अर्थतन्त्र तथा जीविकोपार्जनको अवस्था अवलोकन गरी त्यो अवस्था हुनुमा जिम्मेवार भौगोलिक कारण खोजी गरी प्रतिवेदन तयार गर्नुहोस्।
उत्तर:

समुदायको अर्थतन्त्र र भौगोलिक अवस्थासम्बन्धी प्रतिवेदन

म ग्रामीण समुदायमा बस्छु। मेरो गाउँ तराई प्रदेशमा पर्दछ र यहाँको भूभाग समतल तथा माटो मलिलो छ। यहाँका अधिकांश परिवार खेतीपातीमा संलग्न छन्। धान, उखु, मकै, कोदो, गहुँ, मुसुरो, रहर तथा विभिन्न तरकारी उत्पादन गरिन्छ। गाउँ नजिकै खोला बगेकाले त्यसको पानी सिँचाइका लागि प्रयोग गरिन्छ। गाउँबाट नजिकको सहरसम्म पक्की सडक भएकाले कृषिउपज बजारमा बिक्री गर्न सजिलो छ। गाउँमा धान कुट्ने मिल तथा विभिन्न साना व्यापार व्यवसाय पनि छन्। समतल जमिन, मलिलो माटो, सिँचाइ सुविधा र बजारसम्मको सहज पहुँचका कारण यहाँका मानिस मुख्य रूपमा कृषि तथा व्यापारमा संलग्न छन्। यसरी समुदायको अर्थतन्त्र र जीविकोपार्जनमा भौगोलिक अवस्थाले महत्वपूर्ण भूमिका खेलेको छ।

थप प्रश्नहरू

१. कारण दिनुहोस्।

(क) अमेजन बेँसीमा बाक्लो जङ्गल पाइन्छ।

उत्तर: अमेजन बेँसीमा वर्षभर गर्मी र वर्षा हुन्छ। उच्च तापक्रम तथा पर्याप्त वर्षाले रूखबिरुवा हुर्कन उपयुक्त वातावरण प्रदान गर्छ। यहाँको घना सदाबहार जङ्गललाई सेल्भास (Selvas) भनिन्छ।

(ख) भूमध्यरेखीय क्षेत्रमा पातलो बस्ती पाइन्छ।

उत्तर: भूमध्यरेखीय क्षेत्रमा वर्षभर गर्मी र वर्षा हुन्छ। बढी वर्षाले मलिलो माटो बगाउँछ। रोगव्याधि तथा बाढीको प्रकोप बढी हुने र अत्यधिक गर्मी तथा वर्षाले मानव स्वास्थ्यमा असर गर्ने भएकाले बस्ती पातलो हुन्छ।

(ग) टायगा प्रदेशमा कागज बनाउने काम गरिन्छ।

उत्तर: टायगा प्रदेशमा धुपी र सल्लाजस्ता नरम काठका वन पाइन्छन्। नरम काठ कागज र पल्प बनाउन उपयुक्त हुने भएकाले यस क्षेत्रमा कागज उद्योग विकास भएको छ।

(घ) ऊँटलाई मरुभूमिको जहाज भनिन्छ।

उत्तर: ऊँट बालुवामा सजिलै हिँड्न सक्छ र पानी नपिई पनि धेरै दिनसम्म रहन सक्छ। मालसामान तथा मानिस ओसारपसार गर्न ऊँट अत्यन्त उपयोगी भएकाले यसलाई मरुभूमिको जहाज भनिन्छ।

(ङ) प्रेरीजलाई विश्वकै अन्न भण्डार भनिन्छ।

उत्तर: प्रेरीज उत्तर अमेरिकामा पर्ने समशीतोष्ण घाँसे मैदान हो। यहाँको माटो मलिलो र हावापानी गहुँ खेतीका लागि अनुकूल छ। आधुनिक मेसिन प्रयोग गरी ठूलो परिमाणमा गहुँ उत्पादन गरिन्छ। प्रशस्त गहुँ उत्पादन तथा निर्यात हुने भएकाले यस क्षेत्रलाई विश्वको अन्न भण्डार भनिन्छ।

(च) अष्ट्रेलियाले ऊन निर्यात गर्छ।

उत्तर: अष्ट्रेलियामा समशीतोष्ण घाँसे मैदान पाइन्छ। प्रशस्त घाँस पाइने भएकाले ठूलो सङ्ख्यामा भेडा पालिन्छ। भेडाबाट प्रशस्त ऊन उत्पादन हुने भएकाले अष्ट्रेलियाले ऊन निर्यात गर्छ।

(छ) भूमध्यसागरीय क्षेत्रलाई विश्वको बगैँचा भनिन्छ।

उत्तर: भूमध्यसागरीय क्षेत्रमा गर्मी याम न्यानो र सुक्खा तथा हिउँदमा चिसो र वर्षा हुन्छ। यो हावापानी सुन्तला, अङ्गुर, अञ्जिरजस्ता रसिला फलफूलका लागि उपयुक्त हुन्छ। फलफूल प्रशस्त उत्पादन हुने भएकाले भूमध्यसागरीय क्षेत्रलाई विश्वको बगैँचा भनिन्छ।

(ज) उष्णतृण भूमि क्षेत्रलाई विश्वको चिडियाखाना भनिन्छ।

उत्तर: उष्णतृण भूमि क्षेत्रलाई सवाना क्षेत्र पनि भनिन्छ। यहाँ अग्ला घाँसका मैदानमा बाघ, चितुवा, गैँडा, जिराफ, अर्ना, हातीजस्ता विभिन्न जङ्गली जनावर पाइन्छन्। त्यसैले यसलाई विश्वको चिडियाखाना भनिन्छ।

(झ) पहाडी क्षेत्रमा साहसिक पर्यटन विकास गर्न सकिन्छ।

उत्तर: पहाडी क्षेत्रमा कठिन धरातल, तीव्र गतिका नदी, छाँगा तथा अग्ला पहाड पाइन्छन्। त्यसैले र्‍याफ्टिङ, क्यानोइङ, जिप राइडिङ, बन्जी जम्प, पर्वतारोहण, प्याराग्लाइडिङ र पदयात्राजस्ता साहसिक पर्यटन विकास गर्न सकिन्छ।

(ञ) पहाडी भूभागभन्दा मैदानी भूभाग बढी विकसित हुन्छ।

उत्तर: पहाडी भूभाग होचो-अग्लो तथा कठिन हुने भएकाले उद्योग, कृषि, यातायात र सञ्चार पूर्वाधार निर्माण गर्न कठिन हुन्छ। मैदानी भूभाग समथर तथा मलिलो भएकाले उद्योग, व्यापार, कृषि, यातायात तथा सञ्चारको विकास सजिलो हुन्छ। त्यसैले मैदानी भूभाग तुलनात्मक रूपमा बढी विकसित हुन्छ।

पाठ ४ : नेपालका पर्यावरणीय क्षेत्रहरू

अभ्यास

१. नेपालको भौगोलिक प्रदेशअनुसारका विशेषताहरू तलको तालिकामा भर्नुहोस्।
उत्तर:
प्रदेश भौगोलिक विशेषता जनसाङ्ख्यिक विशेषता आर्थिक विशेषता सामाजिक तथा सांस्कृतिक विशेषता
हिमाली उच्च पर्वतीय क्षेत्र। अग्ला पर्वतमा हिउँ पर्ने। बढी चिसो हुने। करिब २८०० मि. देखि ८८४८.८६ मि. सम्मको भूभाग। शेर्पा, भोटे, मुगाली, डोल्पाली आदि। पातलो बस्ती। कोदो, फापर, उवा आदिको खेती। कृषि विकासको सम्भावना न्यून। चौरी, भेडा पालन तथा च्याउ खेती। शेर्पा, भोटे, मुस्ताङ्गी, मनाङ्गी आदि जातिको बसोबास। बौद्ध धर्मको प्रभाव। ल्होसार, मणिरिम्दु, दसैँ-तिहार आदि पर्व।
पहाडी करिब ६०० मि. देखि २८०० मि. सम्म। होचो-अग्लो पर्वतीय क्षेत्र। कतैकतै बेँसी तथा उपत्यका। पूर्वी पहाडमा राई, लिम्बू; मध्यभागमा तामाङ, नेवार, गुरुङ; पश्चिममा मगर बढी। बाहुन, क्षेत्री, दलित आदि पनि बसोबास। तरकारी, गहुँ, फापर, कोदो, मकै, भटमास, सुन्तला आदि खेती। घरेलु उद्योग, पशुपालन, व्यापार तथा सेवा व्यवसाय। बहुसांस्कृतिक समाज। हिन्दु तथा बौद्ध धर्मको प्रभाव। दसैँ, तिहार, उभौली-उधौली, शिवरात्रि, तीज तथा विभिन्न नाच र जात्रा।
तराई करिब ५९ मि. देखि ६०० मि. सम्मको समथर भूभाग। गर्मीमा गर्मी र जाडोमा कतैकतै शीतलहर। यातायात, सञ्चार तथा उद्योगको विकासका कारण बाक्लो बस्ती तथा उच्च जनघनत्व। प्रशस्त खेतीपाती। खाद्यान्न तथा नगदेबाली उत्पादन। ठूला उद्योग, व्यापार, सेवा व्यवसाय तथा पशुपालन। बाहुन, क्षेत्री, मुसलमान, दलित, राई, लिम्बू, यादव, मारवाडी आदि विभिन्न समुदाय। हिन्दु, बौद्ध तथा इसाई धर्म। दसैँ, तिहार, छठ, इद आदि पर्व।
२. “नेपालको भौगोलिक अवस्थाको उपयोग गर्न सके नेपाल विश्वकै सम्पन्न देश बन्न सक्छ।” उदाहरण दिएर पुष्टि गर्नुहोस्।
उत्तर: नेपालमा विकासका धेरै सम्भावना छन्। देशका हिमाल, पहाड तथा तराई क्षेत्रका प्राकृतिक तथा भौगोलिक विशेषताको उचित उपयोग गर्न सके आर्थिक समृद्धि हासिल गर्न सकिन्छ।

हिमाली क्षेत्र

हिमाली क्षेत्रमा पर्वतारोहण, पदयात्रा तथा प्राकृतिक दृश्यावलोकन पर्यटनको ठूलो सम्भावना छ। यार्सागुम्बाजस्ता मूल्यवान जडीबुटीको व्यावसायिक खेती गर्न सकिन्छ। चौरी, भेडा तथा च्याङ्ग्रा पालनबाट चीज, छुर्पी तथा ऊन उत्पादन गर्न सकिन्छ। स्याउ, केसर, अङ्गुर आदि खेती गर्न सकिन्छ। हिमाली नदी तथा छाँगाबाट जलविद्युत् उत्पादन गरी निर्यात गर्न सकिन्छ।

पहाडी क्षेत्र

पहाडी क्षेत्रमा चिया, अलैँची, भटमास, कफी, किवी आदि खेती गर्न सकिन्छ। र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्प, क्यानोइङ, पदयात्रा तथा धार्मिक पर्यटनको विकास गर्न सकिन्छ। गाई, बाख्रा तथा अन्य पशुपालन आयस्रोत बन्न सक्छ। लोक्ताबाट कागज तथा औषधिजन्य एवं मसलाजन्य वनस्पतिको व्यावसायिक उत्पादन गर्न सकिन्छ।

तराई क्षेत्र

तराई समथर र मलिलो क्षेत्र भएकाले खाद्यान्न तथा नगदेबालीको ठूलो उत्पादन गर्न सकिन्छ। नदीको पानी सिँचाइमा प्रयोग गरी कृषि उत्पादन बढाउन सकिन्छ। माछापालन, कुखुरापालन, गाईवस्तु तथा बाख्रापालन विकास गर्न सकिन्छ। उखु, जुट, चियाजस्ता नगदेबालीसँग सम्बन्धित उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्न सकिन्छ। राष्ट्रिय निकुञ्ज तथा धार्मिक स्थलको विकासबाट पर्यटन प्रवर्द्धन गर्न सकिन्छ। यसरी नेपालका तीनै भौगोलिक क्षेत्रको सम्भावनालाई योजनाबद्ध रूपमा उपयोग गर्न सके देशलाई आर्थिक रूपमा सम्पन्न बनाउन सकिन्छ।

परियोजना कार्य

१. आफू बसेको भौगोलिक क्षेत्रका विशेषताहरू उल्लेख गर्दै एक लेख तयार पार्नुहोस्।
उत्तर:

म बसेको तराई क्षेत्र

म तराई प्रदेशमा बस्छु। म बसेको ठाउँका केही भौगोलिक विशेषताहरू निम्न छन्:
  1. मेरो क्षेत्र समथर छ। यहाँ हिँडडुल तथा यातायात गर्न सजिलो छ।
  2. समथर क्षेत्र र मलिलो माटो भएकाले प्रशस्त खाद्यान्न उत्पादन हुन्छ। धान, मकै, कोदो, गहुँ तथा विभिन्न दाल उत्पादन गरिन्छ।
  3. गर्मी याममा धेरै गर्मी हुन्छ र वर्षायाममा प्रशस्त पानी पर्छ। वर्षायाममा बाढीको सम्भावना रहन्छ।
  4. जाडोमा अत्यधिक चिसो हुँदैन तर हुस्सु र कहिलेकाहीँ शीतलहर देखिन्छ।
  5. भूमिगत पानी सजिलै उपलब्ध हुने भएकाले खानेपानीको अभाव कम हुन्छ।

थप प्रश्नहरू

१. हिमाल, पहाड र तराईबीचको अन्तरसम्बन्ध छोटकरीमा प्रष्ट पार्नुहोस्।
उत्तर: हिमाल, पहाड र तराईको भौगोलिक बनोट फरक भए पनि यी तीनै प्रदेशबीच घनिष्ठ अन्तरसम्बन्ध रहेको छ।
  1. हिमालले दक्षिणबाट आउने बाफिलो हावालाई रोक्न मद्दत गरी देशभर वर्षा गराउन सहयोग गर्छ।
  2. उत्तरबाट आउने चिसो हावालाई छेकेर अत्यधिक जाडो हुनबाट जोगाउँछ।
  3. हिमाली जडीबुटी देशभर औषधि बनाउन प्रयोग गरिन्छ।
  4. हिमाली नदीबाट उत्पादित जलविद्युत् देशभर प्रयोग हुन्छ।
  5. हिमालबाट बग्ने नदीको पानी तराईमा सिँचाइका लागि प्रयोग हुन्छ।
  6. हिमाली क्षेत्रका स्याउ पहाड र तराईमा बिक्री तथा उपभोग हुन्छ।
  7. पहाडी क्षेत्रका चिया, सुन्तला, अनार तथा तरकारी तराईमा पुग्छन्।
  8. तराईमा उत्पादित खाद्यान्न हिमाल तथा पहाडमा आपूर्ति हुन्छ।
  9. तराईमा उत्पादन भएको आँप पहाड र हिमालमा पुग्छ।
  10. तराईमा उत्पादित विभिन्न सरसामान पहाडी तथा हिमाली क्षेत्रमा पठाइन्छ।
  11. गर्मी समयमा तराईका मानिस शीतलता तथा मनोरञ्जनका लागि पहाडतर्फ जान्छन्।
  12. पहाडका मानिस जाडो छल्न तथा विभिन्न अवसरका लागि तराईतर्फ झर्छन्।
यसरी वस्तु, सेवा, पर्यटन, जलस्रोत, कृषि तथा जनसङ्ख्याको आवागमनले हिमाल, पहाड र तराईलाई आपसमा जोडेको छ। यस अन्तरसम्बन्धले व्यापार, आन्तरिक पर्यटन तथा राष्ट्रिय एकतालाई पनि बलियो बनाउँछ।

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play