Class 11 Social Studies Unit 3 Solution | जीवनोपयोगी सिप

Class 11 Social Studies Unit 3 Solution
यस पोस्टमा कक्षा ११ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अन्तर्गत एकाइ ३ का निर्णय प्रक्रिया, समस्या समाधान, सञ्चार, तनाव व्यवस्थापन तथा अन्तरवैयक्तिक सिपसम्बन्धी सम्पूर्ण अभ्यास प्रश्नहरूको उत्तर प्रस्तुत गरिएको छ।

पाठ १ : निर्णय प्रक्रिया

अभ्यास

१. निर्णय निर्माणको परिचय दिनुहोस्।
उत्तर: निर्णय निर्माण भनेको समस्या समाधानका लागि विभिन्न विकल्पहरूमध्येबाट उत्तम विकल्प छनोट गर्न एउटा निश्चित प्रक्रिया पूरा गरी निर्णय लिने तरिका हो।
जर्ज आर. टेरीका अनुसार: “दुई वा दुईभन्दा बढी सम्भाव्य विकल्पहरूमध्येबाट एउटा सबैभन्दा राम्रो विकल्प छनोट गर्ने प्रक्रियालाई निर्णय निर्माण भनिन्छ।”
हेरोल्ड कुन्ज र हेन्ज वेहरिचका अनुसार: “विकल्पहरूबीच उत्तम विकल्प छनोटका साथै योजना तर्जुमाको जगेडा निर्णय निर्माण हो।”
जीवनमा अध्ययन गर्दा वा जीवनयापन गर्दै जाँदा विभिन्न समस्या आइपर्छन्। कुन विधा अध्ययन गर्ने, कहाँ अध्ययन गर्ने, अध्ययन सकेपछि कुन पेसा अङ्गाल्ने, जीविका कसरी चलाउने, सामाजिक परिस्थितिसँग कसरी सामञ्जस्य स्थापना गर्ने तथा देशका गतिविधिमा कसरी सहभागी हुने जस्ता विषयमा निर्णय गर्नुपर्ने हुन्छ। यस्ता समस्या समाधानका लागि विभिन्न विकल्प खोज्नुपर्छ, अरूसँग सरसल्लाह लिनुपर्छ र विकल्पका सकारात्मक तथा नकारात्मक प्रभाव विश्लेषण गर्नुपर्छ। यी सम्भाव्य विकल्पमध्ये कुन विकल्प छनोट गर्दा भविष्यमा सफल जीवन बिताउन सकिन्छ भन्ने विचार गरी निर्णय लिने र कार्यान्वयन गर्ने प्रक्रिया नै निर्णय निर्माण हो।
२. निर्णय निर्माणका प्रकारहरू उदाहरणसहित वर्णन गर्नुहोस्।
उत्तर: निर्णय निर्माणका प्रमुख प्रकार निम्न छन्:
  1. सङ्गठनात्मक निर्णय (Organizational Decision):
    कुनै कार्यालय वा सङ्घसंस्थाका पदाधिकारी तथा कर्मचारीबाट कार्यालय वा संस्थाको कामका सम्बन्धमा लिइने निर्णयलाई सङ्गठनात्मक निर्णय भनिन्छ। यस्ता निर्णय संस्था वा कार्यालयको उद्देश्य प्राप्ति तथा समस्या समाधानसँग सम्बन्धित हुन्छन्।
  2. व्यक्तिगत निर्णय (Personal Decision):
    व्यक्तिले आफ्नो दैनिक जीवनयापनका क्रममा आफ्नो इच्छाअनुसार गर्ने निर्णयलाई व्यक्तिगत निर्णय भनिन्छ। यस प्रकारको निर्णय व्यक्ति स्वयंले लिन्छ र यसको प्रभाव मुख्य रूपमा सोही व्यक्तिमा सीमित हुन्छ।
  3. सामूहिक निर्णय (Group Decision):
    आपसी हित वा भलाइका लागि सम्बन्धित व्यक्तिहरू एकआपसमा मिलेर गर्ने निर्णयलाई सामूहिक निर्णय भनिन्छ। यसमा एकभन्दा बढी व्यक्तिको सहभागिता हुने भएकाले निर्णय कार्यान्वयन गर्न सहज हुन्छ।
  4. विवेकशील निर्णय (Rational Decision):
    विभिन्न विकल्प पहिचान गरी तथ्य तथा प्रमाणको विश्लेषणबाट प्राप्त निष्कर्षका आधारमा सबैभन्दा उपयुक्त विकल्प छनोट गरी गरिने निर्णयलाई विवेकशील निर्णय भनिन्छ।
  5. बढोत्तरी निर्णय (Incremental Decision):
    पहिले गरिएको निर्णयलाई आधार मानी भइरहेका कार्यलाई थप परिमार्जन वा सुधार गर्ने गरी लिइने निर्णयलाई बढोत्तरी निर्णय भनिन्छ। उदाहरणका लागि, कुनै विद्यालयमा पूर्वाधार सुधार कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा त्यसलाई थप विस्तार गरी व्यवस्थित पुस्तकालय सञ्चालन गर्ने निर्णय।
  6. सहभागितामूलक निर्णय (Participative Decision):
    लक्षित समूह, सरोकारवाला वा लाभग्राहीको हितका लागि गरिने कार्यमा उनीहरूलाई पनि निर्णय प्रक्रियामा सहभागी गराई गरिने निर्णयलाई सहभागितामूलक निर्णय भनिन्छ। उदाहरणका लागि, कुनै टोलको खानेपानी समस्या समाधान गर्दा गाउँपालिका, वडाध्यक्ष तथा स्थानीय प्रतिनिधिहरू मिलेर योजना तयार गर्नु।
३. निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरूको सूची तयार गर्नुहोस्।
उत्तर: कुनै पनि निर्णय गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ:
  1. समस्या के हो भनी पहिचान गर्ने।
  2. समस्या पहिचान भएपछि त्यसको विश्लेषण गर्ने।
  3. समस्या किन सिर्जना भयो र यसको मूल कारण के हो भन्ने पत्ता लगाउने।
  4. समस्या समाधानका सम्भावित विकल्प खोज्ने।
  5. विकल्पका राम्रा तथा नराम्रा पक्षको विश्लेषण गर्ने।
  6. विकल्पहरूमध्ये सबैभन्दा राम्रो विकल्प छनोट गर्ने।
  7. छनोट गरिएको विकल्प कार्यान्वयन गर्ने।
  8. केही समयपछि निर्णयको पुनरावलोकन तथा मूल्याङ्कन गर्ने।
  9. कमजोरी देखिएमा संशोधन गरी पुनः कार्यान्वयन गर्ने।
४. “निर्णय निर्माण जटिल र व्यावहारिक काम हो।” यस भनाइलाई आफ्ना तर्कले पुष्टि गर्नुहोस्।
उत्तर: निर्णय गर्नु हरेक अवस्थामा सजिलो हुँदैन। यसका लागि धेरैपटक सोच्नुपर्ने, छलफल गर्नुपर्ने तथा समस्या समाधानका सम्भावित विकल्पहरूको खोजी गर्नुपर्ने हुन्छ। निर्णय गर्दा सैद्धान्तिक पक्ष मात्र नभई व्यावहारिक पक्षमा समेत ध्यान दिनुपर्छ। काम गर्दा आर्थिक, पारिवारिक, कानुनी, सामाजिक तथा वातावरणीय समस्या आउन सक्छन्। समस्या किन उत्पन्न भयो, यसको मुख्य कारण के हो, समस्यासँग सम्बन्धित पक्षहरू के-के हुन्, उपलब्ध स्रोत र साधन कस्ता छन् तथा समस्या समाधानका सम्भावित विकल्प के हुन् भन्ने विश्लेषण गर्नुपर्छ। प्रत्येक विकल्पको सकारात्मक तथा नकारात्मक असर अध्ययन गरी न्यून नकारात्मक प्रभाव र बढी लाभ हुने विकल्प छनोट गर्नुपर्छ। आवश्यकताअनुसार परिवार, विज्ञ तथा सम्बन्धित पक्षसँग सरसल्लाह पनि गर्नुपर्छ। यी सबै पक्ष विचार गरेपछि मात्र उपयुक्त निर्णय लिन सकिने भएकाले निर्णय निर्माणलाई जटिल र व्यावहारिक कार्य भनिन्छ।

पाठ २ : समस्या समाधान

अभ्यास

१. समस्या भनेको के हो?
उत्तर: विचार ग्रहणमा परेको कठिन अवस्था समस्या हो। कसैको कुरा वा ज्ञान बुझ्न नसकेको अवस्था पनि समस्या हो। एक व्यक्ति र अर्को व्यक्तिबीच फरक विचार हुँदा पनि समस्या सिर्जना हुन सक्छ। काम गर्दै जाँदा काम पूरा गर्न नसकिने अवस्था, बुझाइ वा विचार ग्रहण गर्न कठिन भएको अवस्था तथा समाधानका लागि उत्तर खोज्नुपर्ने प्रश्न पनि समस्या हुन्। मानिसको उमेर, अनुभव, ज्ञान, क्षमता, वातावरण तथा काम गर्ने स्थानले कुनै विषय उसलाई समस्या हो वा होइन भन्ने निर्धारण गर्न सक्छ।
२. समस्या कसरी पहिचान गरिन्छ?
उत्तर: कुनै काम, विषय वा पेसा गर्न नसक्नु समस्या हुन सक्छ। विचार फरक भएर विवाद उत्पन्न हुनु, आफूले चाहेको वातावरण नपाउनु, काम गर्ने तरिका नमिल्नु वा आफूले नजानेको काम आइपर्नु पनि समस्याका अवस्था हुन्। त्यसैले बुझाइ, विचार ग्रहण वा काम गर्ने क्रममा कठिनाइ उत्पन्न भएको अवस्था पहिचान गरी समस्याको प्रकृति बुझ्नुपर्छ।
३. समस्या समाधानका मुख्य चरण के-के हुन्?
उत्तर:
चरण प्रक्रिया
समस्या पहिचान र परिभाषा समस्या के हो, कसरी सिर्जना भयो, किन भयो आदि प्रश्नका आधारमा समस्याका मूल तथा अन्य कारण पहिचान गर्ने।
परिकल्पना समस्या समाधानका लागि विश्लेषणात्मक, तार्किक, औचित्यपूर्ण, सिर्जनात्मक र सकारात्मक विकल्प खोजी गरी उपयुक्त विकल्प छनोट गर्ने र सम्भावित प्रभाव विश्लेषण गर्ने।
तथ्य सङ्कलन समस्या समाधानका लागि पहिचान गरिएका विकल्पसँग सम्बन्धित आवश्यक तथ्य खोजी गरी त्यसको प्रयोग गर्ने तरिका सोच्ने।
विश्लेषण पहिचान गरिएका विभिन्न विकल्पलाई तथ्य तथा सूचनाका आधारमा विश्लेषण गर्ने।
निष्कर्ष समस्याको कारण, छनोट गरिएको विकल्प तथा सम्बन्धित तथ्यका आधारमा समस्या समाधानको निष्कर्ष निकाल्ने।
प्रयोग समस्या समाधानको निष्कर्ष प्रयोग गर्ने वा छनोट गरिएको उत्तम विकल्पबाट समस्या समाधान गर्ने।
४. समस्याको निष्कर्ष कसरी निकालिन्छ?
उत्तर: समस्या देखापरेपछि सबैभन्दा पहिले समस्या सिर्जना भएका कारणहरूको खोजी गर्नुपर्छ। समस्यासँग सम्बन्धित विभिन्न पक्ष पहिचान गरेपछि समस्या स्पष्ट रूपमा बुझ्न सकिन्छ। त्यसपछि समस्या समाधानका लागि विभिन्न सम्भावित विकल्प खोज्नुपर्छ। तार्किक, औचित्यपूर्ण, सिर्जनात्मक तथा सकारात्मक विकल्पहरू तयार गर्नुपर्छ। सम्भावित विकल्पसँग सम्बन्धित तथ्य र प्रभावको खोजी तथा विश्लेषण गर्नुपर्छ। जुन विकल्पको नकारात्मक प्रभाव सबैभन्दा कम र सकारात्मक प्रभाव बढी हुन्छ, त्यसलाई उत्तम विकल्प मान्न सकिन्छ। यसरी विभिन्न विकल्पको विश्लेषण गरी उत्तम विकल्प छनोट गरेर समस्याको निष्कर्ष निकालिन्छ।

पाठ ३ : सञ्चार

अभ्यास

१. सञ्चार भनेको के हो? सञ्चार कति प्रकारका हुन्छन्? सञ्चारका तत्त्वहरूको सूची बनाउनुहोस्।
उत्तर: दुई पक्षबीच सूचना आदानप्रदान गरेर अर्थ बुझ्ने प्रक्रियालाई सञ्चार भनिन्छ। सञ्चारमा दुई वा दुईभन्दा बढी व्यक्ति, समूह वा संस्था सहभागी हुन सक्छन्। सञ्चार एउटा व्यवस्थित प्रक्रिया हो। यसमा सूचना, जानकारी, विचार वा भावना पठाउने तथा बुझ्ने काम हुन्छ।

सञ्चारका प्रकार

सञ्चार मुख्य रूपमा तीन प्रकारका हुन्छन्:
  1. मौखिक सञ्चार:
    भाषाको प्रयोग गरेर सूचना वा सन्देश आदानप्रदान गरिएमा त्यसलाई मौखिक सञ्चार भनिन्छ। यो सरल, प्रचलित तथा महत्वपूर्ण सञ्चार विधि हो।
  2. लिखित सञ्चार:
    लिखित रूपमा सन्देश, सूचना वा जानकारी आदानप्रदान गरिएमा लिखित सञ्चार भनिन्छ। चिठीपत्र, प्रतिवेदन, ऐन-कानुन, नीति-नियम, बुलेटिन, पत्रपत्रिका तथा पुस्तक आदि यसको उदाहरण हुन्। यसलाई अभिलेखका रूपमा सुरक्षित राख्न सकिन्छ र आवश्यक परे कानुनी प्रमाणका रूपमा पनि प्रयोग गर्न सकिन्छ।
  3. साङ्केतिक सञ्चार:
    भाषा वा शब्दको प्रयोग नगरी सङ्केतका आधारमा सूचना आदानप्रदान गरिएमा त्यसलाई साङ्केतिक सञ्चार भनिन्छ। यसमा इशारा, सङ्केत चिन्ह, चित्र, शारीरिक हाउभाउ, नक्सा तथा ट्राफिक चिन्ह आदिको प्रयोग हुन्छ।

सञ्चारका तत्त्वहरू

  1. दुई वा दुईभन्दा बढी पक्ष वा व्यक्ति
  2. प्रेषक अर्थात् सूचना पठाउने व्यक्ति
  3. सञ्चारको माध्यम
  4. प्रापक अर्थात् सूचना पाउने व्यक्ति
  5. प्राप्त सूचना स्वीकार गर्नु
  6. सूचनालाई सही रूपमा बुझ्नु
  7. सूचनाप्रति प्रतिक्रिया जनाउनु
२. प्रभावकारी सञ्चारका अवरोधहरू उल्लेख गर्नुहोस्।
उत्तर: प्रभावकारी सञ्चारका प्रमुख अवरोध निम्न छन्:
  1. मनोवैज्ञानिक अवरोध (Psychological Barriers):
    रिस, आवेग, पूर्वधारणा, अनुभव, ज्ञान तथा मानसिक अवस्थाले सञ्चारलाई प्रभाव पार्न सक्छ। सूचना धेरै भएमा सूचना प्राप्त गर्ने व्यक्तिलाई आवश्यक सूचना बुझ्न कठिन हुन सक्छ।
  2. भाषिक अवरोध (Semantic Barriers):
    भिन्न समाज तथा समुदायमा फरक भाषा प्रयोग हुने भएकाले प्रेषकले प्रयोग गरेको भाषा प्रापकले नबुझेमा सञ्चारमा अवरोध उत्पन्न हुन्छ। प्राविधिक शब्द तथा छोटकरी शब्दको अत्यधिक प्रयोगले पनि सञ्चार कम प्रभावकारी हुन सक्छ।
  3. भौतिक अवरोध (Physical Barriers):
    दूरी, ध्वनि, सञ्चार उपकरणको खराबी तथा असुविधाजनक भौतिक अवस्थाले सञ्चारमा बाधा पुर्‍याउन सक्छ।
  4. सङ्गठनात्मक अवरोध (Organizational Barriers):
    खराब योजना, जटिल सङ्गठन संरचना, मर्यादा, अहं भावना तथा आन्तरिक व्यवस्थापनले सञ्चार प्रक्रियामा बाधा उत्पन्न गर्न सक्छ।
३. प्रभावकारी सञ्चारका माध्यमहरू उल्लेख गरी तिनीहरूले तपाईंको जीवनमा पारेको प्रभाव विश्लेषण गर्नुहोस्।
उत्तर: सञ्चारका प्रमुख माध्यमहरू:
  • प्रत्यक्ष भेटघाट
  • टेलिफोन
  • मोबाइल फोन
  • रेडियो
  • टेलिभिजन
  • चिठीपत्र
  • पत्रपत्रिका
  • इन्टरनेट
  • फ्याक्स
  • भिडियो आदि
सञ्चार माध्यमले मानिसको जीवनमा ठूलो प्रभाव पारेको छ। संसारका विभिन्न स्थानमा भएका घटना जान्न, अन्य व्यक्तिसँग सम्पर्क गर्न, व्यवसायको प्रचार गर्न तथा सूचना आदानप्रदान गर्न सञ्चार माध्यम आवश्यक हुन्छ। मोबाइल फोन: साथीभाइ तथा आफन्तसँग सम्पर्क गर्न र इन्टरनेटबाट अध्ययन सामग्री खोज्न सहयोग गर्छ। इन्टरनेट: अध्ययन, सूचना खोजी तथा साथीहरूसँग ज्ञान आदानप्रदान गर्न सहयोग गर्छ। टेलिभिजन: देश-विदेशका सामाजिक, राजनीतिक, भौतिक, धार्मिक तथा सांस्कृतिक गतिविधिको जानकारी प्राप्त गर्न सकिन्छ। पत्रपत्रिका: स्थानीय तथा राष्ट्रिय गतिविधि, विभिन्न व्यक्तिका विचार, टिप्पणी र नयाँ अनुसन्धानबारे जानकारी पाइन्छ। प्रत्यक्ष भेटघाट: महत्वपूर्ण संवाद गर्न तथा स्पष्ट जानकारी आदानप्रदान गर्न प्रभावकारी हुन्छ।
४. प्रभावकारी सञ्चारले प्रभावकारी सम्बन्ध स्थापना गर्न सहयोग गर्छ भन्ने तथ्यलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
उत्तर: सञ्चार माध्यमको प्रभावकारी प्रयोगले अन्य व्यक्तिसँग राम्रो सम्बन्ध स्थापना गर्न सहयोग गर्छ। प्रभावकारी सञ्चारबाट सही सन्देश, भावना र अभिप्राय सम्बन्धित व्यक्तिसम्म स्पष्ट रूपमा पुग्छ। यसबाट प्रेषकको उद्देश्य बुझ्न र प्रापकको प्रतिक्रिया थाहा पाउन सजिलो हुन्छ। सही सञ्चारले गलत बुझाइ तथा अनावश्यक विवाद कम गर्छ र सम्बन्धलाई प्रगाढ बनाउँछ। उदाहरणका लागि, कुनै व्यक्तिले आफ्नो जन्मदिनमा साथीहरूलाई स्पष्ट रूपमा फोन गरेर निमन्त्रणा गरेमा साथीहरू समयमै सहभागी हुन सक्छन्। यसरी नियमित सम्पर्क, सूचना आदानप्रदान तथा सहयोगले उनीहरूबीचको मित्रता अझ बलियो हुन्छ।

पाठ ४ : तनाव व्यवस्थापन

अभ्यास

१. माथिको घटनामा तनाव सिर्जना गर्ने के-के कारण उल्लेख गरिएका छन्?
उत्तर: तनाव सिर्जना गर्ने कारणहरू निम्न छन्:
  1. कक्षा ११ को परीक्षामा राम्रो नतिजा ल्याउने चिन्ता।
  2. सहरको खर्चिलो बसाइको खर्च जुटाउने समस्या।
  3. वृद्ध बाआमाको जिम्मामा सानो भाइलाई छोडेर आउनु।
  4. बाआमा पालैपालो बिरामी पर्नु।
  5. पढाइमा ध्यान केन्द्रित गर्न नसक्नु।
  6. मनमा नकारात्मक विचार उत्पन्न हुनु।
२. तनावले ज्ञानहरिलाई कस्तो असर पारेको छ?
उत्तर: तनावका कारण ज्ञानहरिले अध्ययनमा ध्यान केन्द्रित गर्न सकेको छैन। परीक्षामा राम्रो नतिजा आउनेमा शङ्का उत्पन्न भएको छ। उसलाई खाना खान मन नलाग्ने, राति राम्रो निद्रा नलाग्ने, मनमा नकारात्मक विचार आउने तथा निराश हुने जस्ता समस्या देखिएका छन्।
३. तनाव व्यवस्थापनमा योग र ध्यानले पुर्‍याउने फाइदा के-के हुन्?
उत्तर: योग र ध्यानका फाइदाहरू:
  1. शरीर फुर्तिलो हुन्छ।
  2. मनमा एकाग्रता बढ्छ।
  3. तनावका कारक तत्त्व पहिचान गर्न मद्दत मिल्छ।
  4. नकारात्मक सोच कम भई सकारात्मक सोच बढ्छ।
  5. तनावका कारण हटाउने उपाय सोच्न मद्दत मिल्छ।
  6. काममा मन लाग्छ।
  7. शरीरले ऊर्जा प्राप्त गरेको अनुभव हुन्छ।
  8. काम गर्दा थकाइ कम अनुभव हुन्छ।
  9. अरूलाई पनि सकारात्मक सोच राख्न प्रेरित गर्न सकिन्छ।
४. “तनाव व्यवस्थापनमा ज्ञानहरिले अपनाएका रणनीतिहरू वास्तवमा सकारात्मक छन्।” पुष्टि गर्नुहोस्।
उत्तर: ज्ञानहरिले तनाव व्यवस्थापनका लागि अपनाएका रणनीतिहरू सकारात्मक छन्।
  1. पठन तालिका बनाएर पढ्न थालेको छ।
  2. योग र ध्यानले मन एकाग्र बनाउन तथा शरीर फुर्तिलो बनाउन सहयोग गरेको छ।
  3. साथीहरूसँग घुलमिल हुँदा एक्लोपन कम भएको छ।
  4. चित्रकला तथा सङ्गीतमा समय प्रयोग गर्दा नयाँ स्फूर्ति प्राप्त भएको छ।
  5. सन्तुलित खानपान र व्यायामले शरीर स्वस्थ भएको छ।
  6. करेसाबारीमा काम गर्दा शारीरिक व्यायाम र सफा वातावरण प्राप्त भएको छ।
  7. फोनबाट परिवारसँग सम्पर्क गर्दा घरको चिन्ता कम भएको छ।
यसरी यी रणनीतिले ज्ञानहरिलाई तनाव व्यवस्थापन गर्न सहयोग गरेको छ।
५. “तनाव हुनुभन्दा पनि त्यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ।” के तपाईं यस भनाइसँग सहमत हुनुहुन्छ? आफ्ना तर्क प्रस्तुत गर्नुहोस्।
उत्तर: म यस भनाइसँग सहमत छु। तनाव विभिन्न कारणबाट सिर्जना हुन सक्छ। बढी कामको बोझ, होहल्ला, भीड, बिरामी, दुर्घटना तथा हानि-नोक्सानीले मानिसमा तनाव उत्पन्न गर्न सक्छ। तनाव सिर्जना हुनु सामान्य अवस्था हुन सक्छ तर त्यसलाई सही तरिकाले व्यवस्थापन गर्नु बढी महत्वपूर्ण हुन्छ। तनाव व्यवस्थापन गर्न सर्वप्रथम तनावका कारण पहिचान गर्नुपर्छ। त्यसपछि मानसिक तथा शारीरिक अवस्थालाई सन्तुलित बनाउने उपाय अपनाउनुपर्छ। समयतालिका बनाएर काम गर्ने, योग र ध्यान गर्ने, परिवार तथा साथीभाइसँग घुलमिल गर्ने, सन्तुलित खाना खाने, व्यायाम गर्ने तथा स्वस्थ जीवनशैली अपनाउँदा तनाव कम गर्न सकिन्छ। त्यसैले तनाव हुनु मात्र महत्वपूर्ण विषय होइन, त्यसलाई सकारात्मक तथा प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्नु बढी महत्वपूर्ण हुन्छ।

द्वन्द्वसम्बन्धी प्रश्नहरू

(क) द्वन्द्व भनेको के हो?
उत्तर: मूल्यमान्यता, विश्वास तथा अवधारणामा देखिने फरकका कारण उत्पन्न हुने विवादलाई द्वन्द्व भनिन्छ। दुई वा दुईभन्दा बढी सङ्गठन, समूह वा पक्षबीच हुने विरोध, विवाद वा असहमतिको अवस्था पनि द्वन्द्व हो।
(ख) द्वन्द्वको परम्परागत र आधुनिक अवधारणाबीच के फरक छ?
उत्तर: परम्परागत अवधारणामा द्वन्द्वलाई नकारात्मक रूपमा लिइन्छ। यसले विनाश तथा हिंसा ल्याउन सक्छ भन्ने मान्यता पाइन्छ। आधुनिक अवधारणामा द्वन्द्वलाई सिर्जनात्मक रूपमा लिइन्छ। द्वन्द्व मानव सम्बन्धको स्वाभाविक पक्ष हो र यसलाई समाधान गर्दै नयाँ तथा सबैलाई स्वीकार्य अवधारणा विकास गर्न सकिन्छ। सन् १९७० पछिको आधुनिक धारणा अन्तरक्रियात्मक अवधारणामा आधारित छ। सामाजिक तथा सङ्गठनात्मक गतिशीलताका लागि निश्चित मात्राको द्वन्द्व आवश्यक हुन सक्छ भन्ने मान्यता रहेको छ।
(ग) के द्वन्द्वले तनाव सिर्जना गर्न सक्छ?
उत्तर: हो, द्वन्द्वले तनाव सिर्जना गर्न सक्छ। व्यक्तिगत गाली, बेइज्जती, कुटपिट, भौतिक आक्रमण, उजुरी, मुद्दामामिला तथा हिंसात्मक घटनाले व्यक्ति, परिवार र समाजमा तनाव सिर्जना गर्न सक्छ। त्यसैले द्वन्द्व तथा तनाव उत्पन्न हुने कारण पहिचान गरी समयमै व्यवस्थापन गर्नुपर्छ।
(घ) गौतम बुद्धको भनाइको तात्पर्य एक वाक्यमा प्रष्ट पार्नुहोस्।
उत्तर: “हजारौँ हल्का शब्दभन्दा शान्ति ल्याउने एक शब्द काफी हुन्छ।” यस भनाइको तात्पर्य प्रभावकारी र सकारात्मक शब्दको प्रयोगले हिंसात्मक सोच तथा कार्यलाई निरुत्साहित गरी शान्ति कायम गर्न सहयोग गर्छ भन्ने हो।

थप प्रश्नहरू

१. तनाव भनेको के हो?
उत्तर: व्यक्तिमा उत्पन्न हुने मानसिक दबाबको अवस्थालाई तनाव भनिन्छ। वातावरणमा आएको परिवर्तन, सहन नसकिने अवस्था, काम वा धम्कीका कारण मानिसमा देखिने शारीरिक वा मानसिक परिवर्तनको स्थिति तनाव हो। ध्यान दिन नसक्नु, निद्रा नलाग्नु, थकाइ अनुभव हुनु, रिस उठ्नु, अरूप्रति विरोधी भावना उत्पन्न हुनु तथा मनमा शान्ति नहुनु तनावका प्रमुख लक्षण हुन्।
२. तनावका विशेषताहरू के-के हुन्?
उत्तर: तनावका विशेषताहरू:
  1. तनाव वातावरणीय परिवर्तनको उपज हो।
  2. तनावको अवस्था व्यक्तिपिच्छे फरक हुन सक्छ।
  3. तनाव व्यवस्थापन गर्न सकिन्छ।
  4. तनाव जीवनको अनिवार्य अवस्था हो।
३. तनाव व्यवस्थापन भनेको के हो?
उत्तर: परिवर्तित वातावरणअनुकूल व्यक्तिको व्यवहारमा परिवर्तन गरी तनावलाई सिर्जनात्मक तथा रचनात्मक बनाउँदै शारीरिक एवं मानसिक सन्तुलन कायम राख्ने कार्यलाई तनाव व्यवस्थापन भनिन्छ।
४. तनाव सिर्जना हुने अवस्थाहरू के-के हुन्?
उत्तर: तनाव सिर्जना हुने प्रमुख अवस्थाहरू:
  1. अस्तित्व तनाव: खतरा, दुर्घटना वा बिरामी हुँदा बाँच्नेसम्बन्धी चिन्ताबाट उत्पन्न हुने तनाव।
  2. आन्तरिक तनाव: चिन्ता तथा संवेगका कारण उत्पन्न हुने तनाव। जस्तै परिवारको खर्च, बिरामी सदस्यको उपचार आदि।
  3. वातावरणीय तनाव: हल्ला, भीडभाड, दबाब तथा असुविधाजनक वातावरणबाट उत्पन्न हुने तनाव।
  4. कामको चापबाट हुने तनाव: धेरै कामको बोझ वा छोटो समयमा धेरै काम पूरा गर्नुपर्ने अवस्थाबाट उत्पन्न हुने शारीरिक तथा मानसिक तनाव।

पाठ ५ : अन्तरवैयक्तिक सिपहरू

अभ्यास

१. अन्तरवैयक्तिक सिप भनेको के हो?
उत्तर: अन्तरवैयक्तिक सिप भनेको सामाजिक संवाद गरेर अरूसँग सम्बन्ध बढाउने सिप हो। यो व्यक्तिको आन्तरिक क्षमता विकास गरी सामाजिक परिवेशमा समायोजन हुन सक्ने सिप हो। आफूले नजानेको कुरा अरूबाट सिक्ने तथा आफ्नो विचार अरूसँग सञ्चार गर्ने क्षमता पनि अन्तरवैयक्तिक सिप हो।
२. अन्तरवैयक्तिक सिप किन महत्वपूर्ण छ?
उत्तर: अन्तरवैयक्तिक सिप महत्वपूर्ण हुनुका कारण:
  1. सामाजिक संवाद गरी अरूसँग सम्बन्ध विस्तार गर्न सहयोग गर्छ।
  2. व्यक्तिको आन्तरिक क्षमता विकास गरी सामाजिक परिवेशमा मिल्न सिकाउँछ।
  3. लक्ष्य प्राप्तिका लागि चुनौती सामना गर्न सिकाउँछ।
  4. आचार, विचार तथा संवाद संस्कृतिमा सुधार गर्छ।
  5. कामलाई व्यवस्थित गर्न सिकाउँछ।
  6. अरूको क्षमता पहिचान गर्न मद्दत गर्छ।
  7. व्यक्तित्व विकास गर्न सहयोग गर्छ।
  8. सङ्कट व्यवस्थापन गर्न सिकाउँछ।
  9. अरूको कुरा ध्यानपूर्वक सुनी स्पष्ट संवाद गर्न सिकाउँछ।
  10. अरूलाई विश्वासमा लिएर काम सफल बनाउन सहयोग गर्छ।
  11. उत्तरदायित्व, नेतृत्व, सहानुभूति तथा समभावको विकास गर्छ।
३. अन्तरवैयक्तिक सम्बन्ध सुधार गर्ने उपायहरू लेख्नुहोस्।
उत्तर: अन्तरवैयक्तिक सम्बन्ध सुधार गर्न निम्न उपाय अपनाउनुपर्छ:
  1. रिस, ईर्ष्या जस्ता संवेग नियन्त्रण गर्नुपर्छ।
  2. आफूलाई ठूलो तथा अरूलाई नराम्रो ठान्ने सोच त्याग्नुपर्छ।
  3. सकारात्मक सोच राख्नुपर्छ।
  4. अरूको ज्ञानबाट राम्रो कुरा सिक्नुपर्छ।
  5. अरूको कुरा ध्यानपूर्वक सुन्ने र शिष्ट भाषामा प्रतिक्रिया दिनुपर्छ।
  6. अहं भावना र घमण्ड त्याग्नुपर्छ।
  7. अरूप्रति सहानुभूति र समभाव राख्नुपर्छ।
  8. आफ्नो मनको विकार हटाएर असल कुरा ग्रहण गर्नुपर्छ।
  9. आफूले सम्मान पाउन अरूलाई पनि सम्मान गर्नुपर्छ।
  10. अग्रगामी सोच राख्नुपर्छ।
यी उपायको अवलम्बनले अरूसँग सुसम्बन्ध विस्तार हुन्छ।
४. अन्तरवैयक्तिक सम्बन्ध सुधारका लागि सामाजिक सञ्जाललाई कसरी प्रयोग गर्नुपर्छ?
उत्तर: इन्टरनेटका माध्यमबाट चल्ने YouTube, Facebook, Twitter आदि सामाजिक सञ्जालका माध्यम हुन्। सामाजिक सञ्जाल घरमै बसेर अन्य व्यक्तिसँग सम्बन्ध स्थापना गर्ने प्रभावकारी माध्यम हो। तर यसको दुरुपयोग पनि हुन सक्छ। अनावश्यक टिप्पणी गर्ने, फोटोको दुरुपयोग गर्ने, असामाजिक व्यक्तिसँग सम्पर्क हुने तथा अस्वस्थ मनोरञ्जनमा संलग्न हुने सम्भावनाबाट सचेत हुनुपर्छ। सामाजिक सञ्जाललाई विज्ञसँग नजानेका कुरा सोध्न, साथीहरूसँग पढाइसम्बन्धी छलफल गर्न, ज्ञान तथा सिप आर्जन गर्न र असल सम्बन्ध विस्तार गर्न प्रयोग गर्नुपर्छ। यसको प्रयोग गर्दा सधैँ सचेत र सतर्क हुनुपर्छ।
५. असल नेतृत्व विकास गर्न के-के गर्न सकिन्छ?
उत्तर: असल नेतृत्वमा समूहलाई उत्प्रेरित गरी लक्ष्य प्राप्तिका लागि सबैको सहयोग लिन सक्ने क्षमता हुन्छ। असल नेतृत्व विकास गर्न:
  1. सामूहिक विचारको सम्मान गर्नुपर्छ।
  2. सक्रिय समूह निर्माण गर्नुपर्छ।
  3. व्यक्तिगत सम्बन्ध विस्तार गर्नुपर्छ।
  4. समन्वय र सहयोगको वातावरण सिर्जना गर्नुपर्छ।
  5. अरूको सम्मान गर्नुपर्छ।
  6. सकारात्मक सुझाव लिनुपर्छ।
  7. गुनासा सुन्नुपर्छ।
  8. निर्णय गर्ने क्षमता विकास गर्नुपर्छ।
  9. समस्या पहिचान तथा समाधान गर्ने सिप विकास गर्नुपर्छ।
  10. अस्वस्थ आलोचना, नकारात्मक सोच र अपहेलना गर्नु हुँदैन।
असल नेतृत्वका लागि सामाजिक तथा संवेगात्मक अन्तरक्रिया आवश्यक हुन्छ।
६. टोलीकार्य भनेको के हो र यसबाट कसरी नेतृत्व विकास हुन्छ?
उत्तर: टोलीकार्य भनेको समूहमा मिलेर काम गर्ने सिप हो। समूहमा संवाद गर्ने, योजना बनाउने, बैठक गर्ने, सहकार्य गर्ने तथा अरूसँग मिलेर काम गर्ने क्षमता र गुणलाई टोलीकार्य भनिन्छ। टोलीमा काम गर्दा एकअर्काबाट नयाँ कुरा सिक्न सकिन्छ। आफूले जानेका कुरा अरूलाई सिकाउन तथा अरूले जानेका कुरा आफूले सिक्न सकिन्छ। समूहका सदस्यलाई काम गर्न प्रेरित गर्ने, राम्रो कामको प्रशंसा गर्ने, समस्या समाधान गर्ने, सबैलाई जिम्मेवारी दिने तथा लक्ष्य प्राप्तिका लागि समूहलाई एकताबद्ध बनाउने अभ्यासले नेतृत्व क्षमता विकास गर्छ। यसरी योजना, छलफल, सहकार्य, समन्वय, जिम्मेवारी र असल सम्बन्धको अभ्यासबाट नेतृत्व सिप विकास हुन्छ।

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play