Class 11 Social Studies Unit 2 Solution
यस पोस्टमा कक्षा ११ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अन्तर्गत
एकाइ २ : डिजिटल साक्षरता का सम्पूर्ण अभ्यास प्रश्नहरूको उत्तर प्रस्तुत गरिएको छ।
पाठ १ : डिजिटल साक्षरता
अभ्यास
(क) कम्प्युटर प्रयोग भइरहेको कुनै दुई क्षेत्रहरूको नाम लेख्नुहोस्।
उत्तर:
कम्प्युटर प्रयोग भइरहेको दुई क्षेत्र निम्न छन्:
- चिकित्सा क्षेत्र
- बैङ्क क्षेत्र
(ख) डिजिटल साक्षरता भन्नाले के बुझिन्छ?
उत्तर:
सूचना तथा सञ्चार प्रविधि प्रयोग गरी कुनै पनि सूचना प्राप्त गर्ने, मूल्याङ्कन गर्ने,
सिर्जना गर्ने र सञ्चार गर्ने क्षमतालाई डिजिटल साक्षरता भनिन्छ।
(ग) सूचना तथा सञ्चार प्रविधि भनेको के हो?
उत्तर:
कम्प्युटर, इन्टरनेट तथा अन्य माध्यमको प्रयोग गरेर तथ्याङ्क सङ्कलन गर्ने,
सङ्कलित तथ्याङ्कलाई प्रशोधन गरी सूचनामा परिवर्तन गर्ने, प्रशोधित सूचनालाई
भण्डारण गरेर उक्त सूचना प्रयोगकर्तालाई उपलब्ध गराउने प्रक्रियालाई सूचना तथा
सञ्चार प्रविधि भनिन्छ।
(घ) कम्प्युटर हार्डवेयरलाई उदाहरणसहित वर्गीकरण गर्नुहोस्।
उत्तर:
कम्प्युटरका भौतिक यन्त्रहरू, जुन विद्युतीय शक्तिबाट चल्छन्, तिनीहरूलाई
हार्डवेयर भनिन्छ।
हार्डवेयरलाई मुख्य रूपमा चार भागमा वर्गीकरण गर्न सकिन्छ:
-
इनपुट उपकरण:
कम्प्युटरमा कुनै तथ्याङ्क वा निर्देशन प्रविष्ट गर्न प्रयोग हुने उपकरणलाई इनपुट उपकरण भनिन्छ।
उदाहरण: माउस, किबोर्ड, क्यामेरा, माइक्रोफोन आदि।
-
प्रशोधन उपकरण:
कम्प्युटरमा प्रविष्ट भएका तथ्याङ्कलाई निर्देशनअनुसार गणना वा प्रशोधन गर्ने उपकरणलाई
प्रशोधन उपकरण भनिन्छ।
उदाहरण: Central Processing Unit (CPU)।
-
आउटपुट उपकरण:
कम्प्युटरमा भएका तथ्याङ्क वा सूचना देखाउन अथवा प्रस्तुत गर्न प्रयोग हुने उपकरणलाई
आउटपुट उपकरण भनिन्छ।
उदाहरण: मोनिटर, प्रोजेक्टर, स्पिकर, प्रिन्टर आदि।
-
भण्डारण उपकरण:
कम्प्युटरमा भएका तथ्याङ्क वा सूचनालाई लामो समयसम्म सुरक्षित राखी आवश्यक परेको समयमा
पुनः प्रयोग गर्न उपलब्ध गराउने उपकरणलाई भण्डारण उपकरण भनिन्छ।
उदाहरण: सीडी, हार्ड डिस्क, पेनड्राइभ आदि।
(ङ) “कम्प्युटरको प्रयोग आज विश्वव्यापी भएको छ।” यस भनाइलाई पुष्टि गर्नुहोस्।
उत्तर:
कम्प्युटरको प्रयोग आज विश्वभर बढ्दै गएको छ। आवश्यकताअनुसार विभिन्न प्रकारका
कम्प्युटरहरूको आविष्कार भइरहेको छ।
कम्प्युटरले धेरै छिटो काम गर्छ। यसले विभिन्न तथ्याङ्क सुरक्षित राख्न सक्छ र यसको
कार्य विश्वसनीय हुन्छ। कम्प्युटरले दिइएको निर्देशनअनुसार काम गर्ने भएकाले एकपटक सही
निर्देशन दिएपछि गल्ती हुने सम्भावना कम हुन्छ।
कम्प्युटरको प्रयोगबाट थोरै श्रममा धेरै काम गर्न सकिन्छ। एउटै उपकरणबाट धेरै प्रकारका
काम गर्न सकिने भएकाले कागजपत्रको खर्च कम भएको छ र भण्डारणको समस्या पनि घटेको छ।
यसकारण आज कम्प्युटर शिक्षा, सञ्चार, बैङ्क, इन्जिनियरिङ, चिकित्सा, बिमा, उद्योग,
व्यापार, मनोरञ्जन आदि विभिन्न क्षेत्रमा व्यापक रूपमा प्रयोग भइरहेको छ।
(च) Microsoft Word मा के-के काम गर्न सकिन्छ? उदाहरणसहित लेख्नुहोस्।
उत्तर:
Microsoft Word मा निम्न कार्यहरू गर्न सकिन्छ:
- कुनै पनि तथ्याङ्क वा सामग्री टाइप गर्न सकिन्छ।
- टाइप गरिएको Document को हिज्जे तथा व्याकरणसम्बन्धी शुद्धि गर्न सकिन्छ।
- टाइप गरिएको सामग्रीलाई आकर्षक रूपमा मिलाउन तथा Format गर्न सकिन्छ।
- तयार गरिएको सामग्री Print गर्न र सुरक्षित रूपमा Save गरेर राख्न सकिन्छ।
पाठ २ : सञ्चार एप्लिकेसनहरूको प्रयोग
अभ्यास
(क) ब्राउजर भनेको के हो? उदाहरण दिएर प्रष्ट पार्नुहोस्।
उत्तर:
इन्टरनेट र कम्प्युटरबीच सञ्चार सम्बन्ध स्थापित गर्न प्रयोग गरिने सफ्टवेयरलाई
वेब ब्राउजर भनिन्छ।
उदाहरण:
Google Chrome, Opera, Mozilla Firefox, Internet Explorer र Safari आदि।
(ख) इमेल भनेको के हो?
उत्तर:
इमेल भनेको विद्युतीय हुलाक हो। इन्टरनेटमार्फत गरिने पत्राचारलाई
इमेल भनिन्छ। इमेलमार्फत पत्राचार गर्न इमेल एकाउन्ट खोल्नुपर्छ।
(ग) इमेलमा फाइल Attach गर्ने तरिका लेख्नुहोस्।
उत्तर:
इमेल लोकप्रिय, प्रभावकारी तथा छिटो सञ्चार माध्यम हो। इमेलमा फाइल संलग्न गरेर
महत्वपूर्ण कागजात, फोटो तथा अन्य डिजिटल फाइल पठाउन सकिन्छ।
स्टेप १:
कम्प्युटर खोल्नुहोस् र इन्टरनेट Connect गर्नुहोस्।
स्टेप २:
इमेल सेवा प्रदान गर्ने वेब ठेगाना ब्राउजरको Address Bar मा टाइप गर्नुहोस्।
उदाहरण: Gmail, Hotmail वा Yahoo Mail।
स्टेप ३:
आफ्नो Email Account मा Login गर्नुहोस्। इमेल नभए नयाँ इमेल ठेगाना बनाउनुहोस्।
स्टेप ४:
इमेल खुलेपछि Compose मा क्लिक गर्नुहोस्।
स्टेप ५:
आवश्यक कुरा लेखेपछि Attach a File बटन थिच्नुहोस्।
Attach बटनमा सामान्यतया Paper Clip को चिन्ह हुन्छ।
स्टेप ६:
Browse गरेर आफूले पठाउन चाहेको फाइल, फोटो वा भिडियो छान्नुहोस्।
स्टेप ७:
फाइल सफलतापूर्वक Attach भएको छ कि छैन जाँच गर्नुहोस्।
स्टेप ८:
Recipient को Email Address लेख्नुहोस्।
स्टेप ९:
Send बटन थिच्नुहोस्।
काम सकिएपछि आफ्नो Email Account बाट Logout गर्न बिर्सनु हुँदैन।
पाठ ३ : अनलाइन भुक्तानी
अभ्यास
१. अनलाइन भुक्तानीका फाइदाहरू उल्लेख गर्नुहोस्।
उत्तर:
अनलाइन भुक्तानीका प्रमुख फाइदाहरू निम्न छन्:
- व्यक्तिले आफैँ भुक्तानी गर्न सक्ने भएकाले जनशक्तिमा लाग्ने खर्च बचत हुन्छ।
- विभिन्न बिल तिर्न लाइनमा बस्नुपर्दैन र समयको बचत हुन्छ।
- अनलाइनबाट सामान किन्न र बेच्न सकिन्छ।
- छिटो, छरितो र विश्वसनीय रूपमा रकम स्थानान्तरण गर्न सकिन्छ।
- नगद बोकेर हिँड्नुपर्दैन र चोरीको डर कम हुन्छ।
- नगद कारोबार कम हुने भएकाले नोट तथा मुद्राको आयु लामो हुन्छ।
- कारोबारको विवरण स्वतः रहने भएकाले हिसाब-किताब राख्न सजिलो हुन्छ।
२. अनलाइन भुक्तानीका चुनौतीहरूको सूची तयार पार्नुहोस्।
उत्तर:
अनलाइन भुक्तानीका चुनौतीहरू निम्न छन्:
- डिजिटल साक्षरता नभएका व्यक्तिका लागि यसको प्रयोग कठिन हुन्छ।
- साइबर अपराधीहरूले यसको दुरुपयोग गर्न सक्छन्।
- इन्टरनेट वा सर्भरले काम नगरेमा अनलाइन भुक्तानी गर्न सकिँदैन।
- सबै प्रकारका कारोबारमा यसको प्रयोग गर्न सकिँदैन।
- इन्टरनेट सेवा नपुगेका ठाउँमा यसको प्रयोग गर्न सकिँदैन।
३. “डिजिटल एप्लिकेसनको प्रयोगले समय र श्रमको बचत हुन्छ।” यस भनाइलाई पुष्टि गर्नुहोस्।
उत्तर:
आजको समयमा डिजिटल साक्षरताको विकास भइरहेको छ। मानिसको कार्यव्यस्तता बढेको छ र
समयको महत्व पनि बढेको छ। त्यसैले थोरै श्रममा धेरै काम गर्न सकिने प्रविधिको प्रयोग
बढ्दै गएको छ।
डिजिटल एप्लिकेसनले हामीलाई धेरै सुविधा प्रदान गरेको छ। अनलाइन कारोबारले श्रमको
बचत गरेको छ। हिसाब राख्ने झन्झट कम भएको छ र कारोबार छिटो हुने भएकाले समयको पनि बचत
हुन्छ।
कारोबार आफैँ गर्न सकिने भएकाले अरूको भर पर्नुपर्दैन। डिजिटल एप्लिकेसन घर, कार्यालय,
अस्पताललगायत विभिन्न क्षेत्रमा प्रयोग भइरहेको छ।
लाइनमा बस्ने झन्झट कम भएको छ र कागजपत्रको प्रयोग पनि घटेको छ। घरमा माइक्रोवेभ,
लुगा धुने वासिङ मेसिन र स्मार्ट टेलिभिजनजस्ता डिजिटल उपकरणले पनि दैनिक कार्यलाई
सहज बनाएका छन्।
यसरी डिजिटल एप्लिकेसनको प्रयोगले समय र श्रम दुवैको बचत हुन्छ।
थप प्रश्नहरू
१. अनलाइन भुक्तानीका बेफाइदाहरू लेख्नुहोस्।
उत्तर:
अनलाइन भुक्तानीका बेफाइदाहरू निम्न छन्:
- डिजिटल साक्षरता नभएका व्यक्तिका लागि यसको प्रयोग कठिन हुन्छ।
- अनलाइन भुक्तानी गर्दा सेवा प्रदायक संस्थालाई शुल्क तिर्नुपर्ने हुन सक्छ।
- अफलाइन अवस्थामा यसको प्रयोग गर्न सकिँदैन।
- साइबर अपराधीहरूले यसको दुरुपयोग गर्न सक्छन्।
- इन्टरनेट वा सर्भरले काम नगर्दा वा विद्युत् उपलब्ध नहुँदा कारोबार गर्न सकिँदैन।
२. सुरक्षित अनलाइन भुक्तानीका लागि के-के कुरामा ध्यान दिनुपर्छ? उल्लेख गर्नुहोस्।
उत्तर:
सुरक्षित अनलाइन भुक्तानीका लागि निम्न कुरामा ध्यान दिनुपर्छ:
- कुनै सेवा वा वस्तु खरिद गर्नुअघि इन्टरनेटमा खोजी गरी जानकारी लिनुपर्छ।
- विश्वसनीय कम्पनी वा संस्थाबाट मात्र सेवा वा सामान खरिद गर्नुपर्छ।
- कारोबार गर्दा विवरण, पासवर्ड र रकम आफैँ टाइप गर्नुपर्छ।
- अनलाइन भुक्तानीका लागि छुट्टै इमेल प्रयोग गर्दा सुरक्षित हुन सक्छ।
- आफ्नो पासवर्ड गोप्य राख्नुपर्छ।
- विश्वसनीय एप्लिकेसन मात्र प्रयोग गर्नुपर्छ।
पाठ ४ : इन्टरनेटबाट सूचना तथा अध्ययन सामग्रीको खोजी र प्रयोग
अभ्यास
१. सर्च इन्जिन भनेको के हो? यसको महत्व उल्लेख गर्नुहोस्।
उत्तर:
विभिन्न किसिमका जानकारी तथा सूचनाहरू इन्टरनेटको Web मा भण्डारण गरिएका हुन्छन्।
वेबमा भण्डारण गरिएका ती सूचनाबाट आफूलाई आवश्यक जानकारी खोजेर प्राप्त गर्न प्रयोग
गरिने इन्टरनेट माध्यमलाई सर्च इन्जिन भनिन्छ।
सर्च इन्जिनको प्रयोगबाट इन्टरनेटमा रहेका विशाल जानकारीमध्ये आफूलाई चाहिएको जानकारी
सहज तथा छिटो रूपमा प्राप्त गर्न सकिन्छ। यसले सूचना खोज्न लाग्ने समय तथा श्रमको बचत
गर्दछ।
२. कुनै दुई सर्च इन्जिनहरूको नाम लेखी तिनका विशेषतासमेत लेख्नुहोस्।
उत्तर:
दुई सर्च इन्जिनका उदाहरण:
- Google
- Yahoo
यी सर्च इन्जिनहरूले इन्टरनेटका Website मा राखिएका जानकारीको विशाल भण्डारबाट
आफूलाई आवश्यक जानकारी खोज्न मद्दत गर्छन्। सर्च इन्जिनको प्रयोगबाट सूचना खोज्दा
समय र श्रमको बचत हुन्छ।
पाठ ५ : इन्टरनेट र सामाजिक सञ्जालको उत्तरदायी प्रयोग
अभ्यास
१. साइबर नैतिकता भनेको के हो?
उत्तर:
इन्टरनेट वा सामाजिक सञ्जालमा गरिने असल तथा जिम्मेवार व्यवहारलाई
साइबर नैतिकता भनिन्छ।
२. साइबर नैतिकताअनुसार गर्न नहुने कार्यहरू उल्लेख गर्नुहोस्।
उत्तर:
साइबर नैतिकताअनुसार निम्न कार्यहरू गर्नु हुँदैन:
- अरूको विवरण हेर्नु, बिगार्नु, हटाउनु वा अनधिकृत रूपमा प्रयोग गर्नु।
- अरूको पासवर्ड चोरी गर्नु वा प्रयोग गर्नु।
- भाइरस बनाएर प्रयोग गर्नु।
- कम्प्युटर तथा डिजिटल विवरणको गोपनीयता भङ्ग गर्नु।
- झुट्टा विवरण वा सूचना प्रसारित गर्नु।
- कुनै व्यक्ति वा सङ्घसंस्थाको व्यक्तिगत वा सामूहिक विवरण बिना अनुमति खोज्नु वा हेर्नु।
३. साइबर अपराधबाट बच्न तपाईं के-के कुरामा सचेत हुनुहुन्छ? सचेतताका उपायहरू बुँदागत रूपमा उल्लेख गर्नुहोस्।
उत्तर:
साइबर अपराधबाट बच्न निम्न कुरामा सचेत हुनुपर्छ:
- कम्प्युटरमा प्रसारित समाचार वा सूचना नबिगार्ने।
- कसैप्रति रिस, द्वेष वा घृणा फैलाउने सामग्री नराख्ने।
- कसैको व्यक्तिगत विवरण वा अभिलेखको गोपनीयता भङ्ग नगर्ने।
- झुट्टा सूचना प्रसारित नगर्ने।
- जालसाजी गरी अनुचित लाभ नउठाउने।
- सङ्गठित अपराधीलाई सहयोग नगर्ने।
४. सामाजिक सञ्जालका फाइदाहरू उल्लेख गर्नुहोस्।
उत्तर:
सामाजिक सञ्जालका प्रमुख फाइदाहरू निम्न छन्:
- विचार आदानप्रदान गर्न र सहकार्य गर्न सहज हुन्छ।
- व्यापारका लागि बजार प्रवर्द्धन गर्न सहयोग मिल्छ।
- निःशुल्क रूपमा व्यक्तिगत तथा सामूहिक कुराकानी गर्न सकिन्छ।
- समाचार वा सूचना सम्प्रेषण गर्न सकिन्छ।
- विश्वभरका मानिससँग सञ्चार सम्बन्ध कायम गर्न सकिन्छ।
- सामाजिक एवं राजनीतिक सचेतना फैलाउन तथा दबाब सिर्जना गर्न सकिन्छ।
Discussion
Share a helpful question, idea, or explanation with other students.