शब्दभण्डार
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
| शब्द | अर्थ |
|---|---|
| सखारै | सबेरै, बिहानै |
| बुजो | मुखमा टम्म राख्ने काम, बिर्को |
| गरम | तातो, गर्मी |
| आली | खेतको सिमाना छुट्याउन वा पानी अड्याउन उठाइएको माटोको डिल |
| सामल | बाटाका लागि बोकेको खाद्यवस्तु, बाटाखर्च |
| हंस | प्राण |
२. ‘घरको माया’ एकाङ्कीमा गाउँघरमा मेलापात गर्दा प्रयोग गरिने शब्दको सूची बनाई वाक्यमा प्रयोग गर्नुहोस्।
गाउँघरमा मेलापात गर्दा प्रयोग हुने शब्दहरू
- रोपार
- लाठे
- बाउसे
- भारी
- रोपाइँ
- खेतीपाती
- भकारो
वाक्यमा प्रयोग
रोपार : मलाई रोपार भएर खेतमा धान रोप्न जान मन पर्छ।
लाठे : रोपाइँमा लाठेले राम्ररी कोदाली खन्ने काम गरिरहेको थियो।
बाउसे : बाउसेले खेतमा राम्ररी आली लगायो।
भारी : बिउको भारी बोकेर राम हिलोमा चिप्लेर लडेछ।
रोपाइँ : साइँली र माइली गीत गाउँदै रोपाइँमा लागिरहेका छन्।
खेतीपाती : नेपालीहरूको मुख्य पेसा खेतीपाती नै हो।
भकारो : टिकटक चलाउने मेरी बहिनी भकारो सोर्न घिनाउँछिन्।
३. दिइएका शब्दका विपरीत शब्द ‘घरको माया’ एकाङ्कीबाट खोजेर लेख्नुहोस् :
| शब्द | विपरीत शब्द |
|---|---|
| वर | पर |
| पछाडि | अगाडि |
| होची | अग्ली |
| उता | यता |
| विपना | सपना |
| उँभो | उँधो |
| तातो | चिसो |
| बस | उठ |
| टाढै | नजिकै |
४. ‘घरको माया’ एकाङ्कीबाट पाँचओटा टुक्का र पाँचओटा अनुकरणात्मक शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस्।
टुक्का र वाक्यमा प्रयोग
दिन छिप्पनु : अचेलका केटाकेटी दिन छिप्पदासम्म पनि मोबाइल चलाइरहन्छन्।
आँत सुक्नु : गर्मीले गर्दा जति पानी खाए पनि मेरो आँत सुकेको सुक्यै छ।
गर्मी खानु : नेपालगन्जतिरका मानिसले धेरै गर्मी खाएका छन्।
पसिना बहाउनु : विदेशमा पसिना बहाएर मात्र जीवन सुखी हुँदैन।
बिजुली हुनु : रमेशको भाइ चोर्नमा एकदमै बिजुली छ।
अनुकरणात्मक शब्द र वाक्यमा प्रयोग
पिच्चपिच्च : बाटोभरि पिच्चपिच्च थुक्दै हिँड्नु राम्रो होइन।
मुसुमुसु : मेरो कुरा सुनेर सविना मुसुमुसु हाँसिन्।
प्याकप्याक्ती : खान नपाएर रमन तीन दिनदेखि प्याकप्याक्ती परेको रहेछ।
किक्लिक्क : अररो खाना खाँदा महेश किक्लिक्क गर्न थाल्यो।
करमकरम : काँक्रोको चिरो साथीले करमकरम चपायो।
बोध र अभिव्यक्ति
२. ‘घरको माया’ एकाङ्कीमा प्रयोग भएका कथ्य स्वरूपका शब्दको लेख्य स्वरूप लेख्नुहोस्।
| कथ्य स्वरूप | लेख्य स्वरूप |
|---|---|
| हयाँ | यहाँ |
| भ’को | भएको |
| खा’र | खाएर |
| सुतिरा’को | सुतिरहेको |
| निसास्या | निस्सासिएको |
| भा’को | भएको |
| भे’र | भएर |
| नभे | नभए |
| आ’छु | आएछु |
| बगराँ | बगरमा |
४. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) ‘घरको माया’ एकाङ्कीको सुरु र अन्त्य कुन कुन घटनाबाट भएको छ ?
उत्तर : ‘घरको माया’ एकाङ्कीको सुरु प्लेटफर्मको दृश्य र हेर्न–सुन्न गाउँमा केही नभएको लालबहादुरको भनाइबाट भएको छ। अन्त्यमा लालबहादुर एक्लै भएपछि “म पनि आएँ” भन्दै घर फर्किएको घटनाबाट एकाङ्की समाप्त भएको छ।
(ख) एकाङ्कीका मुख्य र सहायक पात्र को को हुन् ?
उत्तर : एकाङ्कीका मुख्य पात्र लालबहादुर, जमानसिंह र बतासे हुन् भने कान्छो सहायक पात्र हो।
(ग) एकाङ्कीमा सबैभन्दा बढी पटक संवाद गर्ने पात्र को हो ?
उत्तर : एकाङ्कीमा सबैभन्दा बढी पटक संवाद गर्ने पात्र जमानसिंह हो।
(घ) जमानसिंहमा आन्तरिक द्वन्द्व बढ्नाको कारण के थियो ?
उत्तर : बतासेको भनाइ र आफ्नो गाउँघरको मायाले जमानसिंहमा आन्तरिक द्वन्द्व बढेको थियो।
५. दिइएको एकाङ्कीको अंश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) माथिको भनाइ एकाङ्कीमा कुन पात्रले भनेको हो ?
उत्तर : माथिको भनाइ एकाङ्कीमा बतासे पात्रले भनेको हो।
(ख) वक्ताले व्यक्त गरेका देशभक्तिको भावना झल्काउने दुई भनाइ लेख्नुहोस्।
उत्तर :
- “एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला।”
- “मर्नु परे पनि बरु आफ्नै देशमा मरौँला।”
(ग) ‘आफ्ना पुर्खाको धर्म थामौँ’ भन्नुको आशय के हो ?
उत्तर : हाम्रा पुर्खाले देशमै रहेर देशकै लागि काम गरे। हामीले पनि उनीहरूको परम्परा अनुसरण गरी आफ्नै देशका लागि काम गर्नुपर्छ भन्ने यसको आशय हो।
(घ) एकाङ्कीको अंशको मुख्य भावसँग तपाईं सहमत हुनुका कारण उल्लेख गर्नुहोस्।
उत्तर : उक्त अंशले स्वदेशमै बसेर आफ्नो देशको उन्नतिका लागि काम गर्न प्रोत्साहित गरेको छ। देशप्रेम, स्वाभिमान र स्वदेशप्रतिको जिम्मेवारीको भावना प्रस्तुत भएकाले म यस अंशको मुख्य भावसँग सहमत छु।
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) ‘घरको माया’ एकाङ्कीमा नेपाली समाजका कस्ता विषयवस्तु देखाइएको छ ? वर्णन गर्नुहोस्।
उत्तर :
‘घरको माया’ सामाजिक विषयवस्तुमा आधारित राष्ट्रप्रेमको भावना अभिव्यक्त गरिएको उत्कृष्ट एकाङ्की हो। विदेश गएर धेरै धन कमाउने र सुखी जीवन बिताउने आम नेपालीको चाहनालाई यसमा प्रस्तुत गरिएको छ।
तत्कालीन समयमा भारतमा गएर काम गर्ने नेपालीको प्रवृत्तिलाई एकाङ्कीले मुख्य विषयवस्तु बनाएको छ। सुखको आशामा विदेश गएर दुःख पाएका नेपालीलाई केन्द्रमा राखेर विदेशी भूमिमा हेला सहेर तल्लो दर्जाको नागरिकका रूपमा बाँच्नुभन्दा स्वदेशमै मेहनत गरेर स्वदेशकै लागि काम गर्नु राम्रो हुन्छ भन्ने विचार प्रस्तुत गरिएको छ।
यसरी विदेश मोह, आर्थिक अभाव, गाउँघरको माया, देशप्रेम, श्रम र स्वाभिमानजस्ता नेपाली समाजका महत्त्वपूर्ण विषयवस्तुलाई एकाङ्कीमा समेटिएको छ।
(ख) जमान र लालमा पाइने चारित्रिक विशेषताको तुलना गर्नुहोस्।
उत्तर :
‘घरको माया’ एकाङ्कीमा जमानसिंह र लालबहादुर मुख्य पात्रका रूपमा रहेका छन्। यी दुई पात्र मित हुन् र दुवैको भूमिका एकाङ्कीमा महत्त्वपूर्ण छ।
दुवै नेपालको पहाडी ग्रामीण क्षेत्रबाट धेरै धन कमाएर सुखी जीवन बिताउने आशामा विदेश गएका हुन्छन्। भारतको दरभङ्गामा पुगेर उनीहरू कुल्ली काम गरेर जीवन बिताइरहेका हुन्छन्।
दुवैको उद्देश्य धन कमाउनु भए पनि उनीहरूको चरित्रमा ठूलो भिन्नता छ।
लालबहादुर कुनै पनि हालतमा गाउँ फर्कन चाहँदैन। सपनामा समेत गाउँ देख्नु नपरोस् भन्ने उसको चाहना छ। जन्मभूमिलाई ऊ हेलाको भावले हेर्छ। गाउँको कामभन्दा विदेशको नोकरी राम्रो ठान्छ। कान्छो, बतासे र जमानसिंह स्वदेश फर्कने निर्णयमा पुग्दा पनि उसले आफूलाई सुन सम्झेर विदेशमै बस्ने निर्णय गर्छ।
जमानसिंह भने मनमा स्वदेशको माया बोकेको पात्र हो। उसलाई विदेशको गर्मी र दुःखभन्दा आफ्नै गाउँघर रमाइलो लाग्छ। बतासेले उसको राष्ट्रप्रेम जागृत गराएपछि ऊ स्वदेश फर्कन तयार हुन्छ र लाललाई पनि फर्कन आग्रह गर्छ।
अन्त्यमा एक्लो भएपछि लालबहादुरको मन पनि परिवर्तन हुन्छ र ऊ पनि स्वदेश फर्कन्छ।
यसरी जमानसिंह सरल, भावुक र देशभक्त पात्र हो भने लालबहादुर हठी, धनलाई बढी महत्त्व दिने तर अन्त्यमा परिवर्तन हुने पात्र हो।
(ग) एकाङ्कीमा कुन कुन ठाउँको परिवेश देखाइएको छ ? लेख्नुहोस्।
उत्तर :
एकाङ्कीमा मूलतः विदेशी भूमिको परिवेश देखाइएको छ। संवादका क्रममा नेपालको पहाडी ग्रामीण क्षेत्रका विभिन्न ठाउँको चर्चा पनि गरिएको छ।
भारतको बिहार राज्यमा पर्ने दरभङ्गा यस एकाङ्कीको प्रमुख परिवेश हो। दरभङ्गाको प्लेटफर्म र त्यस आसपासको दृश्यात्मक वातावरणलाई एकाङ्कीमा प्रस्तुत गरिएको छ।
(घ) ‘घरको माया’ एकाङ्कीबाट के सन्देश पाइन्छ ?
उत्तर :
‘घरको माया’ एकाङ्कीका रचनाकार भीमनिधि तिवारी हुन्। यस एकाङ्कीमा देशभक्तिको भावना व्यक्त गरिएको छ।
बतासे पात्रका माध्यमबाट जमानसिंह र लालबहादुरको विदेशमै कमाएर उतै बस्ने इच्छालाई परिवर्तन गराउँदै स्वदेश र गाउँघरप्रतिको माया जागृत गरिएको छ।
आफ्नै माटोमा पसिना बगाएर आफ्नै माटोमा उत्पादन गर्नुपर्छ। नोकरी गर्नुपरे आफ्नै देशमा गर्नुपर्छ। विदेशमा कमारो भएर हेला सहनुभन्दा आफ्नै देशमा मेहनत गर्नु राम्रो हुन्छ।
हाम्रा पुर्खाले स्वदेशमै बसेर देशका लागि काम गरे। हामीले पनि स्वदेशकै लागि केही गर्नुपर्छ। आफ्नै देशलाई हराभरा, सुन्दर र विकसित बनाउनुपर्छ भन्ने मुख्य सन्देश एकाङ्कीबाट पाइन्छ।
७. दिएका भनाइका वक्ता को को हुन् ?
| भनाइ | वक्ता |
|---|---|
| “म त सम्झन्न गाउँघर पनि, के सम्झनु छ र।” | लालबहादुर |
| “पँधेरामा जाँदा दुवै कर्के आँखाले हेराहेर गर्थ्यौँ।” | जमानसिंह |
| “म त भोकले भुतुक्क भा’को छु। दुई दिन भो क्यै खान नपाएको।” | कान्छो |
| “यहाँ आइपुगेर त हामी दुवैलाई यसै छाडेर कहाँ भाग्यो कहाँ।” | बतासे |
| “रोपाइँको रमाइलाले मलाई बिर्सिहाल्लान्।” | लालबहादुर |
| “जाऊँ है त मितज्यू, फेरि आइयो भने भेटौँला नि।” | जमानसिंह |
| “आफ्नो गाउँमा त भकारोकै छेउमा गुन्द्री हालेर सुत्दा पनि गनाउँदैनथ्यो।” | बतासे |
| “उहाँ आमा कति रुँदी हुन्, बालक छोरो कहाँ गयो, के भयो भनेर।” | जमानसिंह |
८. व्याख्या गर्नुहोस् :
(क) “चुम्बकले फलामलाई तान्छ तर सुनलाई खिच्न सक्तैन।”
उत्तर :
प्रस्तुत भनाइ ‘घरको माया’ एकाङ्कीबाट साभार गरिएको हो। यस एकाङ्कीका रचनाकार भीमनिधि तिवारी हुन्। तिवारी नेपाली साहित्यमा कवि, नाटककार, कथाकार, गजलकार, प्रबन्धकार तथा उपन्यासकारका रूपमा परिचित छन्।
माथिको भनाइ पात्र लालबहादुरले जमानसिंहलाई जवाफ दिने क्रममा आएको हो।
विदेशी भूमिको चर्को गर्मीमा तल्लो दर्जाको काम गर्नुभन्दा स्वदेशमै गएर काम गर्नु राम्रो हुने बतासेको राष्ट्रप्रेमपूर्ण भनाइबाट जमानसिंह प्रभावित हुन्छ। ऊ लालबहादुरलाई पनि स्वदेश फर्कन आग्रह गर्छ।
तर लालबहादुर स्वदेश फर्कन मान्दैन। उसले आफूलाई सुन र जमानसिंह, बतासे तथा कान्छोलाई फलाम ठान्छ। नेपाललाई उसले चुम्बक का रूपमा अर्थ्याएको छ।
चुम्बकले फलामलाई तान्छ तर सुनलाई तान्न सक्दैन भनेझैँ गाउँको मायाले अरूलाई तान्न सके पनि आफूलाई तान्न सक्दैन भन्ने लालबहादुरको आशय यस भनाइमा व्यक्त भएको छ।
लालबहादुर विदेशमा बसेर धेरै कमाउने र सुखी जीवन बिताउने लालसामा विदेशी भूमिमा दुःख पाइरहेको हुन्छ। उसका साथी स्वदेश फर्कन चाहन्छन् तर ऊ धनको मोहका कारण फर्कन चाहँदैन।
(ख) “जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔँला। एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला।”
उत्तर :
प्रस्तुत भनाइ भीमनिधि तिवारीद्वारा लिखित ‘घरको माया’ एकाङ्कीबाट साभार गरिएको हो। उक्त भनाइ एकाङ्कीकारको मुखपात्र बतासे ले व्यक्त गरेकी हो।
विदेशमा अलपत्र परेपछि बतासेको विदेश मोह भङ्ग हुन्छ। कान्छो र बतासेको भेट जमानसिंह र लालबहादुरसँग भएपछि बतासे उनीहरूमा देशभक्तिको भावना जगाएर स्वदेश फर्काउन चाहन्छे।
विदेशमा एक गाँस खान र एकसरो लगाउनकै लागि दुःख गर्नुभन्दा स्वदेशमै दुःख गर्नु राम्रो हो भन्ने उसको विचार छ।
जति परिश्रम गर्नुपरे पनि आफ्नै खेतबारीमा गर्नुपर्छ। विदेशीका लागि काम गर्नुभन्दा एक गेडा मकै मात्र भए पनि आफ्नै माटोमा उत्पादन गर्नुपर्छ।
अरूको हेला सहेर विदेशमा बस्नुभन्दा आफ्नै देशमा मेहनत गरेर स्वाभिमानी जीवन बिताउनु राम्रो हुन्छ। हाम्रा पुर्खाले पनि देशमै बसेर देशका लागि काम गरे, त्यसैले हामीले पनि पुर्खाको धर्म थाम्नुपर्छ भन्ने विचार यस भनाइमा व्यक्त भएको छ।
यसरी प्रस्तुत भनाइले विदेशमा दुःख गर्नुभन्दा स्वदेशमै मेहनत गरी देश विकासमा योगदान गर्नुपर्छ भन्ने गहिरो देशभक्तिपूर्ण सन्देश दिएको छ।
९. ‘घरको माया’ एकाङ्कीका पात्रमा देखिएका सुख र दुःखको सन्दर्भ बोध गरी त्यस्तै संवेग झल्कने छोटो संवाद तयार गर्नुहोस्।
विदेशको दुःख
कृष्ण पौडेल र दिलबहादुर लामा एउटै गाउँका हुन्। उनीहरू धेरै कमाएर सुखी जीवन बिताउने आशामा सँगै मलेसिया पुगेका हुन्छन्। बिदाको दिन उनीहरूका बिच भएको संवाद :
कृष्ण : ठूलो भाग खान आएका थियौँ। खुब मिठो मानेर खाइरहेका छौँ। दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले।
दिल : बसीबसी त कसले खान दिन्छ र ! विदेश आएपछि अलिअलि दुःख त गर्नै पर्यो नि।
कृष्ण : अँ, अलिअलि मात्र दुःख छ नि ! कम्पनीमा सजिलो काम हुन्छ र पैसा पनि राम्रो कमाइ हुन्छ भनेर म्यानपावरले हामीलाई झुक्यायो। आमाबुबाले राम्ररी पढेर सरकारी जागिर खानुपर्छ भनेर कति सम्झाउनुभएको थियो। पढ्न गाह्रो मानेर विदेश आएर दुःख पाइयो।
दिल : काम गरेर अलिअलि पैसा कमाइएकै छ। राम्रो कपडा लगाउन पाइएकै छ। मोबाइल बोक्न पाइएकै छ। अरू के चाहियो तिमीलाई ?
कृष्ण : यो प्रचण्ड गर्मीमा घण्टौँ काम गर्नुपर्छ। भनेजति ज्याला पाइँदैन। बोसको गाली पनि खानुपर्छ। यतिको मेहनत आफ्नै ठाउँमा गर्ने हो भने त सुन फलाउन सकिन्छ नि दिल दाजु।
दिल : कुरो त तिमीले चित्त बुझ्ने गर्यौ। यति मेहनत नेपालमै गर्ने हो भने विदेशमा दुःख पाउनै पर्दैन। अब नेपाल गएपछि उतै काम गरौँला। दुवै मिलेर व्यावसायिक बाख्रापालन गरौँला, हुँदैन र ?
कृष्ण : भइहाल्छ नि। अगाडि नै यही बुद्धि आएको भए विदेशमा यो दुःख पाउनै पर्दैनथ्यो। ल, अब खाना खाऔँ।
(दुवै खाना खान थाल्छन्।)
१०. ‘घरको माया’ एकाङ्कीमा कसरी देशप्रेमको भावना प्रकट भएको छ ? समीक्षा गर्नुहोस्।
उत्तर :
नाटककार भीमनिधि तिवारीद्वारा रचिएको ‘घरको माया’ सामाजिक विषयवस्तुमा आधारित उत्कृष्ट एकाङ्की हो। तिवारीले विदेशी भूमिमा केही गाउँले पात्रलाई भेला गराएर तिनीहरूका बिच संवाद गराएका छन्।
एकाङ्कीमा मूलतः देशभक्तिको भावना व्यक्त गरिएको छ।
जमानसिंहको संवादमा सुरुदेखि नै आफ्नो गाउँघरप्रतिको माया देखिन्छ। बतासेसँग भेट हुनुअघि नै उसले विभिन्न प्रसङ्गमा गाउँको सम्झना गर्छ र विदेशभन्दा स्वदेश राम्रो भन्ने भावना व्यक्त गर्छ।
बतासे पात्रका माध्यमबाट देशप्रेमको भावना अझ प्रखर रूपमा प्रस्तुत गरिएको छ। उसले जमानसिंह र लालबहादुरको विदेशमै बसेर कमाउने र उतै जीवन बिताउने सोच परिवर्तन गर्न खोज्छ।
बतासेको विचारमा आफ्नै माटोमा पसिना बगाएर आफ्नै माटोमा उत्पादन गर्नुपर्छ। खानका लागि नोकरी गर्नुपरे पनि आफ्नै देशमा गर्नुपर्छ। विदेशमा कमारो भएर हेला सहनुभन्दा आफ्नै भूमिमा संघर्ष गरेर बाँच्नु राम्रो हो।
हाम्रा पुर्खाले अन्तिम साससम्म स्वदेशकै लागि काम गरे। त्यसैले हामीले पनि स्वदेशकै लागि केही गर्नुपर्छ र देशलाई हराभरा, सुन्दर र विकसित बनाउन योगदान गर्नुपर्छ भन्ने भावना एकाङ्कीमा प्रकट भएको छ।
यसरी ‘घरको माया’ एकाङ्कीले विदेशमा दुःख गर्नुभन्दा त्यही श्रम स्वदेशमा गरेर आफ्नो देशको उन्नतिमा योगदान गर्नुपर्छ भन्ने देशप्रेमपूर्ण सन्देश दिएको छ।
११. दिइएको चित्र वर्णन गर्नुहोस्।
उत्तर :
चित्रमा एउटा सुन्दर ग्रामीण बस्ती देखाइएको छ। उक्त गाउँमा चौतारोलगायतका सार्वजनिक स्थल रहेका छन्।
गाउँका मानिस चौतारीमा जम्मा भएर गाउँको विकासका विषयमा छलफल गरिरहेका छन्। कुनै समस्या आएमा पनि सबै जना त्यहीँ भेला भएर छलफल गरी निष्कर्षमा पुग्ने गरेका छन्।
छलफलमा महिला र पुरुष दुवै समान रूपमा सहभागी भएको देखिन्छ। सबैले लोकतान्त्रिक पद्धतिअनुसार आफ्नो विचार प्रस्तुत गरिरहेका छन्।
यस चित्रले ग्रामीण समाजमा रहेको सामाजिक एकता, सहकार्य, सहभागिता र सामूहिक निर्णय प्रक्रियालाई देखाउँछ।
१२. युवालाई विदेसिनबाट रोक्न के गर्नुपर्ला ? ‘घरको माया’ एकाङ्कीका आधारमा प्रतिक्रिया दिनुहोस्।
उत्तर :
भीमनिधि तिवारीद्वारा रचित ‘घरको माया’ देशप्रेमको भावना व्यक्त गरिएको एकाङ्की हो। विदेशी भूमिमा केही नेपाली पात्रलाई उपस्थित गराएर विदेशमा गर्ने मेहनत स्वदेशमै गर्न सके आफ्नो देशको गौरव बढाउन सकिने कुरा बतासेका माध्यमबाट व्यक्त गरिएको छ।
युवालाई विदेसिनबाट रोक्न सबैभन्दा पहिले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ। युवाले आफ्नै देशमा काम गरेर सम्मानजनक आम्दानी गर्न सक्ने वातावरण बन्नुपर्छ।
कृषि, उद्योग, पर्यटन, प्रविधि तथा उद्यमशीलतामा युवालाई अवसर दिनुपर्छ। स्वरोजगार सुरु गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप र बजारको व्यवस्था गर्नुपर्छ।
शिक्षाले पनि केवल विदेश जाने सपना होइन, आफ्नै देशमा अवसर सिर्जना गर्ने सोच विकास गराउनुपर्छ।
राजनीतिक नेतृत्वले सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आर्थिक अवसरको विकासमा इमानदार भएर काम गर्नुपर्छ।
यसरी स्वदेशमै अवसर, सम्मान र सुरक्षित भविष्यको वातावरण सिर्जना गर्न सके युवालाई विदेश जानुपर्ने बाध्यता कम गर्न सकिन्छ।
१३. दिइएका अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्।
(क) गुर्जोलाई लहरेदार पतझर बिरुवा मान्नुको कारण के हो ?
उत्तर : गर्मी ठाउँमा पाइने तथा यसको लहरा मोटो र गुदीदार हुने भएकाले गुर्जोलाई लहरेदार पतझर बिरुवा मानिएको हो।
(ख) गुर्जो कस्तो भूभागमा पाइन्छ ?
उत्तर : गुर्जो जस्तोसुकै माटोमा हुर्कन सक्ने भए पनि विशेष गरी गर्मी भूभागमा पाइन्छ।
(ग) गुर्जोको उपयोगिता लेख्नुहोस्।
उत्तर : गुर्जो कमलपित्त, दम, खोकी, मधुमेह तथा पुरानो ज्वरो आदि रोगमा उपयोगी मानिन्छ।
(घ) गुर्जोका बिरुवा तयार पार्ने तरिका के के हुन् ?
उत्तर : गुर्जोका बिरुवा कलमी र बिउ बाट तयार पारिन्छन्।
भाषिक संरचना र वर्णविन्यास
१३ (ख). भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :
(अ) अनुच्छेदमा प्रयोग भएको एउटा करण वाक्य टिपी अकरणमा वाक्यान्तरण गर्नुहोस्।
करण : गुर्जो लहरेदार पतझर बिरुवा हो।
अकरण : गुर्जो लहरेदार पतझर बिरुवा होइन।
(आ) ‘डाँठको कलमीबाट नै यसका बिरुवा तयार गरिन्छन्।’ वाक्यलाई भूत र भविष्यत् कालमा वाक्यान्तरण गर्नुहोस्।
भूतकाल : डाँठको कलमीबाट नै यसका बिरुवा तयार पारिए।
भविष्यत् काल : डाँठको कलमीबाट नै यसका बिरुवा तयार पारिने छन्।
(इ) अनुच्छेदबाट चन्द्रबिन्दु प्रयोग भएका दुईओटा शब्द टिप्नुहोस्।
उत्तर :
- आँख्ला
- हाँगा
भाषिक संरचना र वर्णविन्यास
२. कोष्ठकमा दिइएको निर्देशनअनुसार वाक्यान्तरण गर्नुहोस्।
(क) लिङ्ग परिवर्तन
दिइएको : बहिनी बिहानै उठ्छिन्। उनी नृत्य सिक्न बजारसम्म पुग्छिन्। आमाले एक महिनादेखि यस तालिम केन्द्रमा भर्ना गरिदिनुभएको छ। उनले यो कुरा खुसी हुँदै ठुली माइजूलाई सुनाइन्।
उत्तर :
भाइ बिहानै उठ्छन्। उनी नृत्य सिक्न बजारसम्म पुग्छन्। बुबाले एक महिनादेखि यस तालिम केन्द्रमा भर्ना गरिदिनुभएको छ। उनले यो कुरा खुसी हुँदै ठुलो मामालाई सुनाए।
(ख) वचन परिवर्तन
उत्तर :
उनी सँगसँगै घर फर्के। उनले घर आउँदा गाउँलेका लागि कोसेली पनि किने। मोटो मान्छेका लागि भनेर चिनी नभएको मिठाई झोलामा राखे। घर पुग्नै लाग्दा उनलाई सेता पहाडले स्वागत गर्न लागेझैँ आभास भएछ।
(ग) द्वितीय पुरुषमा परिवर्तन
उत्तर :
तँ कर्मशील हुन नेपाल आइस्। आफ्नै बारीमा पसिना बगाउन थालिस्। मेहनतका कारण तैँले राम्रै कमाइ गरिस्। घरखर्चबाहेकको आम्दानीलाई बैङ्कमा लगेर जम्मा गरिस्।
(घ) उच्च आदरमा परिवर्तन
उत्तर :
तपाईं आफ्नो काम आफैँ गर्नुहोस्।
तपाईं आफ्नो काम अरूलाई नलगाउनुहोस्।
तपाईं स्वावलम्बी बन्नुहोस्।
तपाईं देशलाई योगदान गर्नुहोस्।
(ङ) अभ्यस्त पक्षमा परिवर्तन
उत्तर :
आमा सखारै उठ्थिन्, जाँतामा कोदो पिँध्थिन्। बुबा रातमा मेलाबाट आएर अगेनाको छेउमा बसेर काँचोपात भुटेको तमाखु सोतेमा खान्थे, त्यही त हो नि।
३. ‘घरको माया’ एकाङ्कीबाट फरक फरक काल र पक्षका वाक्य टिपी करण–अकरणमा रूपान्तरण गर्नुहोस्।
१.
अकरण : म त सम्झन्न।
करण : म त सम्झन्छु।
२.
करण : आमा सखारै उठ्दी हुन्।
अकरण : आमा सखारै नउठ्दी हुन्।
३.
करण : मिठो कुरा चपाउँदै गए।
अकरण : मिठो कुरा चपाउँदै गएनन्।
४.
करण : बतासेलाई बराबर सम्झिरहन्छु।
अकरण : बतासेलाई बराबर सम्झिरहन्न।
४. चन्द्रबिन्दु र शिरबिन्दु प्रयोग भएका शब्द
चन्द्रबिन्दु प्रयोग भएका शब्द
- घाँस
- उनीसँगै
- त्यहाँ
- गएँ
शिरबिन्दु प्रयोग भएका शब्द
- संयोग
- संहिता
- संहृत्
- संरचना
५. ‘घरको माया’ एकाङ्कीबाट चन्द्रबिन्दु र शिरबिन्दु प्रयोग भएका शब्द खोजेर सूची बनाउनुहोस्।
चन्द्रबिन्दु प्रयोग भएका शब्द
जाऔँ, हाँस्तै, गाँस्तै, तपाईं, जान्नँ, आएँ, साँझ, फर्काउँछ, रोपाइँ, भएँ, जाऊँ, भेटौँला, ठाउँ, सुतौँला, गनाउँदैनथ्यो, हिँड, भुइँ, गाउँ, कहाँ, ढिँडो, रौँ, चाहिँ, काँगियो, उँभो, तँ, नाइँ, साँचो, आँगन, पिँढी, जाँता, जहाँ, काँचो, फाँट, आँत, घाँटी, भैँसी, छाँट, बाँकटे, जुगा।
शिरबिन्दु प्रयोग भएका शब्द
- जमानसिंह
- हंस
६. दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस्।
उत्तर :
संयोग भोलि आउला। संविधानको पुस्तक ल्याउला। म त्यो पुस्तक पढौँला। मैले देशको कानुन जान्नुपर्छ। कानुनअनुसार हामी सबै चल्यौँ भने मात्र मुलुक बन्छ।
सुनाइ र बोलाइ
१. सुनाइ पाठ १४ सुन्नुहोस् र दिइएका खाली ठाउँ भर्नुहोस्।
(क)
सङ्गीतले मानव हृदयलाई आह्लादित तुल्याउँछ।
(ख)
तीमध्ये नौमती बाजा नेपाली समाजमा बढी प्रचलित बाजा हो।
(ग)
समाजका हरेक खुसियालीमा यस किसिमका बाजा बजाइने गरिन्छ।
(घ)
काठबाट निर्मित त्यस्ता बाद्यवादनमा हाम्रा नेपालीको सिप पोखिएको हुन्छ।
सुनाइ पाठ १४ का आधारमा प्रश्नोत्तर
(क) सङ्गीत भनेको के हो ?
उत्तर : नृत्य, गीत र वाद्यवादनको मेल नै सङ्गीत हो।
(ख) सङ्गीतका दुई भाग कुन कुन हुन् ?
उत्तर : सङ्गीतका दुई भाग पूर्वीय र पाश्चात्य हुन्।
(ग) नौमती बाजामा के के पर्छन् ?
उत्तर :
नौमती बाजामा :
- सनही – २
- दमाहा – २
- ट्याम्को – १
- कर्नाल – १
- भवाम्टा – १
- नरसिङ्गा – १
- ढोलक – १
गरी जम्मा नौओटा बाजा पर्छन्।
(घ) नौमती बाजा कस्तो अवसरमा बजाइन्छ ?
उत्तर : नौमती बाजा समाजका विभिन्न खुसियालीका अवसरमा बजाइन्छ।
सिर्जना र परियोजना कार्य
१. कुनै एउटा ऐतिहासिक घटनालाई विषयवस्तु बनाएर संवाद लेख्नुहोस्।
रानीपोखरी
सीता र गीता कक्षा १० का विद्यार्थी हुन्। हिजो गीता बिरामी भएर विद्यालय आउन पाइनन्। कक्षामा शिक्षकले के पढाउनुभयो भन्ने विषयमा दुवै विद्यालय जाँदै गर्दा कुरा गर्छन्।
सीता : हिजो सरले हामीलाई रानीपोखरीको बारेमा निकै रमाइलो गरी पढाउनुभयो। तिमी नआएर त रमाइलो नै भएन।
गीता : म नआएर के भयो त ? के के पढाउनुभयो, तिमी भन न !
सीता : मैले त धेरैजसो बिर्सिसकेँ।
गीता : अनि तिमीले त रमाइलो छ, सबै आउँछ भनेकी होइन र ?
सीता : हो, हुन त…
गीता : रानीपोखरीलाई अरू के के पनि भनिन्छ रे ?
सीता : यसको अर्को नाम न्हू पुखू वा रानी पुखू हो। यो काठमाडौँमा रहेको मानव निर्मित पोखरी हो।
गीता : यसको वरिपरि के के छन् नि ?
सीता : पोखरीको पूर्वमा घण्टाघर र त्रिचन्द्र कलेज छन्। पश्चिमतर्फ दरबार हाईस्कुल रहेको छ। त्यस्तै वरपर विभिन्न ऐतिहासिक तथा सार्वजनिक स्थल छन्।
गीता : पोखरीभित्र चाहिँ के छ ?
सीता : रानीपोखरीको बीचमा बालगोपालेश्वर मन्दिर छ। पोखरी वरिपरि बार लगाइएको छ र ऐतिहासिक शालिकहरू पनि रहेका छन्।
गीता : यो मन्दिर भाइटीकाको दिनमा खुल्छ होइन ?
सीता : हो, भाइटीकाको दिन विशेष रूपमा खुल्ने गर्छ।
गीता : रानीपोखरी कसले र किन निर्माण गरेका हुन् ?
सीता : राजा प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपछि शोकमा परेकी रानीलाई सान्त्वना दिन रानीपोखरी निर्माण गराएका हुन्।
गीता : भूकम्पले पनि क्षति पुर्याएको थियो ?
सीता : वि.सं. २०७२ को भूकम्पले रानीपोखरी र मन्दिरमा क्षति पुर्याएको थियो। पछि यसको पुनर्निर्माण गरिएको हो।
गीता : पुनर्निर्माण गर्दा के परिवर्तन भयो ?
सीता : सुरुमा आधुनिक शैलीको प्रस्ताव भए पनि पछि परम्परागत शैलीमै पुनर्निर्माण गरियो। बीचको बालगोपालेश्वर मन्दिर पनि पुरानै शैलीअनुसार पुनर्निर्माण गरिएको हो।
गीता : ए, विद्यालय आइपुग्यो। अब बाँकी कुरा खाजा खाने बेलामा भन है।
सीता : ल, हुन्छ।
Discussion
Share a helpful question, idea, or explanation with other students.