शब्दभण्डार
१. दिइएका शब्द र अर्थबीच जोडा मिलाउनुहोस् :
| शब्द | अर्थ |
|---|---|
| अपवाद | नियमसँग नमिल्ने |
| क्षोभ | आपत्तिजनक व्यवहार आदिबाट उत्पन्न हुने व्याकुलतासहितको रिस |
| लवज | बोली |
| बडेमा | अति ठूलो |
| हैरानी | दिक्दारी |
| हताश | निराश |
२. दिइएका उखान र टुक्काका अर्थबारे कक्षामा छलफल गर्नुहोस्। तीनओटा उखान र तीनओटा टुक्का प्रयोग गरी अनुच्छेद लेख्नुहोस्।
उत्तर :
छोरीले डाँडो काटेको एक हप्ता भइसक्यो, रमिता भने कानमा तेल हालेर बसेकी छन्। छोरी हिँडेकोमा उनलाई केही चिन्तै छैन। ‘शोक न सुर्ता, भोक न भकारी’ भनेको यही हो।
पहिले पनि सानो घरझगडालाई अनेक किसिमले बलेको आगोमा घिउ थप्ने काम गर्थिन् र उल्टो ‘आफू भलो त जगतै भलो’ भन्दै हिँड्थिन्।
आज गाउँलेलाई भने ‘के निहुँ पाऊँ, कनिका बुकाऊँ’ भनेजस्तै भएको छ। उनका बारेमा नानाथरीका कुरा गरेर बसेका छन्।
३. अनुच्छेदबाट समावेशक र समावेश्य शब्द पहिचान गरी लेख्नुहोस्।
| समावेशक शब्द | समावेश्य शब्द |
|---|---|
| फूल | सयपत्री, मखमली, गोदावरी, बाबरी |
| फलफूल | आँप, मेवा, कटहर, केरा, जुनार |
| तरकारी | काउली, मूला, गाजर, आलु |
| साग | रायो, तोरी, चम्सुर, पालुङ्गो |
४. ‘आयाम’ कथामा तामाङ भाषाबाट प्रभावित शब्द टिपेर नेपाली भाषाको मानक रूप लेख्नुहोस्।
| तामाङ भाषाबाट प्रभावित रूप | मानक नेपाली रूप |
|---|---|
| मो | म |
| मोलाई | मलाई |
| जासारी | जसरी |
| विहे | बिहे |
| गार | गर |
| गारेका | गरेका |
| ता | त |
| डार | डर |
| भानेको | भनेको |
५. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्।
तरङ्ग
अर्काको घरमा जुठा भाँडा माझेर पढाएको कालीको छोरो डाक्टर भयो भन्ने सुन्दा गाउँमा तरङ्ग पैदा भयो।
आमन्त्रण
बहिनीको बिहेमा कसैलाई नछुटाउने भनेको, माथिल्लो घरे श्याम काकालाई त छुटाइहालिएछ नि।
उत्प्रेरणा
हाम्री आमाले दुःख गरेको देख्दा पछि गएर केही गर्छु भन्ने छुट्टै उत्प्रेरणा पैदा हुन्छ।
बगैँचा
पहाड घरमा फलफूलको त्यत्रो बगैँचा छ, यहाँ आफूले भने कुहिएको फल किनेर खानुपर्छ।
पारिश्रमिक
काम लगाएपछि पारिश्रमिक त दिनुपर्छ नि, कस्तो दया नभएको मान्छे होला ?
सम्पर्क
नेपालमा सर्वसाधारणले कार्यकारी प्रमुखसम्म पुग्न कुनै सम्पर्क हुनैपर्छ।
क्षितिज
हाम्रो मिलन पक्कै पनि क्षितिजमा गएर हुनेछ।
असीमित
मानिसका इच्छाहरू असीमित हुन्छन्।
पारदर्शी
“हेर छोरा ! हिसाब भनेको सधैँ पारदर्शी हुनुपर्छ” भनेर मेरो बुबाले सानैमा भनेको म कहिल्यै बिर्सन्नँ।
बोध र अभिव्यक्ति
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस्।
(क) ‘आयाम’ कथाको प्रारम्भ र अन्त्य कुन कुन घटनाबाट भएको छ ?
उत्तर : ‘आयाम’ कथाको प्रारम्भ सहरको वर्णनबाट भएको छ भने अन्त्य सासूआमाको मातृत्व भावबाट भएको छ।
(ख) ‘खुसी हुनुको … यस्तै यस्तै … !’ अनुच्छेदको मुख्य घटना के हो ?
उत्तर : शान्तमायाको दोस्रो बिहे हुनु, उनको श्रीमान् एउटै घरमा ड्राइभर हुनु र वैवाहिक सुखको अनुभव शान्तमायाको अनुहारमा झल्कनु उक्त अनुच्छेदको मुख्य घटना हो।
(ग) कथामा मुख्य र सहायक भूमिका भएका पात्रको नाम भन्नुहोस्।
मुख्य पात्र
- याङ्जी
- सुरज कुमार
- आमा
- शान्तमाया
सहायक पात्र
- कमल
- सुनमाया
- भाइ
- छिमेकी काकी
(घ) कथामा सहरी परिवेश झल्काउने कुरा के के हुन् ?
उत्तर :
कथामा सहरी परिवेश झल्काउने विभिन्न पक्ष छन् :
- व्यस्त चोकको दृश्य कार्यालयको झ्यालबाट देखिनु
- स्कुटर थन्क्याउनु
- डिनर गर्न रेस्टुरेन्ट जानु
- मोटरसाइकल दुर्घटनामा कमलको मृत्यु हुनु
- चारतले खरानी रङको भवनको उल्लेख हुनु
यी घटनाले कथामा सहरी जीवन र परिवेशलाई स्पष्ट पारेका छन्।
५. दिइएको कथांश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस्।
(क) शान्तमायाले कसकामा काम गर्न थालिन् ?
उत्तर : शान्तमायाले सेवानिवृत्त डाक्टर दम्पतीकहाँ काम गर्न थालिन्।
(ख) डाक्टर दम्पतीले कस्तो कामदारको अपेक्षा गरेका थिए ?
उत्तर : डाक्टर दम्पतीले इमानदारिताका साथ काम गरिदिने मेहनती र जिम्मेवार कामदारको अपेक्षा गरेका थिए।
(ग) शान्तमाया खुसी हुनुको कारण के थियो ? तर्क गर्नुहोस्।
उत्तर : डाक्टर दम्पतीले उपलब्ध गराएको पारिश्रमिकबाट शान्तमाया खुसी थिइन्। चाडपर्वका समयमा थप रकम र कपडासमेत पाइने भएकाले उनी अझ सन्तुष्ट भएकी थिइन्।
(घ) ‘मिहिनेती हात’ भन्नुको आशय के हो ?
उत्तर : ‘मिहिनेती हात’ भन्नुको आशय इमानदारिताका साथ परिश्रम गरेर काम गर्ने व्यक्ति भन्ने हो।
६. कथामा सुरुदेखि अन्तिमसम्म घटेका घटना टिपोट गरी कथासार लेख्नुहोस्।
घटना टिपोट
- याङ्जीको कार्यालय र वरपरको सहरी परिवेशको वर्णन हुनु।
- याङ्जीको जन्मदिनमा आमाले “खाना खान छिट्टै आऊ है” भनेर अनुरोध गर्नु।
- आमाको वर्णन तथा याङ्जीप्रति आमाले देखाएको माया र स्नेहको स्मरण हुनु।
- याङ्जीको विगत सम्झनु र आमाले जागिर खान प्रेरित गरेको कुरा आउनु।
- कार्यालयका प्रबन्धक सुरज कुमारलाई देख्दा याङ्जीलाई कमलको सम्झना आउनु।
- याङ्जी सह-प्रबन्धकको पदमा जागिर खान थाल्नु।
- शान्तमाया काम खोज्न कार्यालयमा आउनु।
- शान्तमायालाई काम खोजिदिएको एक वर्षपछि उनको दोस्रो विवाह भएको थाहा हुनु।
- याङ्जी र सुरज कुमार प्रेममा पर्नु।
- याङ्जीले आफ्नो प्रेमबारे आमालाई बताउनु।
- आमाले विवाहपछि पनि आफूसँगै बस्ने सर्तमा याङ्जीको विवाह स्वीकार गर्नु।
कथासार
बिना थिङद्वारा लिखित ‘आयाम’ संस्मरणात्मक शैलीमा लेखिएको कथा हो। कथा मुख्य पात्र याङ्जीका वरिपरि घुमेको छ।
कथाको सुरुवात याङ्जीको कार्यालय र वरपरको सहरी परिवेशको वर्णनबाट हुन्छ। कार्यालयमा बसिरहेकी याङ्जीलाई बिहान घरबाट निस्कँदा आमाले “आज तिम्रो जन्मदिन हो, मिठा-मिठा खानेकुरा बनाउँछु, छिट्टै आऊ है” भनेको सम्झना आउँछ।
याङ्जी आमाको माया र स्नेह सम्झन्छे। आफ्नो जीवनको दुःखद घटनापछि घरमै बसिरहने, चिन्तामा डुब्ने र बाहिरी संसारबाट अलग रहने अवस्थामा आमाले नै उसलाई बाहिर निस्कन र जागिर खान उत्प्रेरित गरेकी थिइन्।
आमाको सल्लाहमा याङ्जी रोजगार उपलब्ध गराउने कार्यालयमा अन्तर्वार्ताका लागि आउँछे। त्यहाँका प्रबन्धक सुरज कुमारलाई देख्दा उसलाई दिवङ्गत श्रीमान् कमलको सम्झना आउँछ। पछि याङ्जी त्यही कार्यालयमा सह-प्रबन्धक पदमा काम गर्न थाल्छे।
उक्त कार्यालयले मुख्य रूपमा घरेलु कामदारलाई रोजगार उपलब्ध गराउने काम गर्छ। त्यही क्रममा शान्तमाया काम खोज्दै कार्यालयमा आउँछिन्। उनलाई सेवानिवृत्त डाक्टर दम्पतीको घरमा काम मिलाइन्छ।
एक वर्षपछि शान्तमायाले दोस्रो विवाह गरेको खबर आउँछ। वैवाहिक जीवनबाट खुसी भएकी शान्तमायाको अनुहारमा देखिएको परिवर्तनले याङ्जीलाई पनि आफ्नो जीवनबारे पुनः सोच्न उत्प्रेरित गर्छ।
याङ्जी र सुरज कुमारबिच नजिकिँदै गएको सम्बन्ध प्रेममा परिणत हुन्छ। जन्मदिनका दिन याङ्जी सुरजसँग डिनर गर्न जान्छे। सुरजको आग्रहपछि उसले आमालाई आफू प्रेममा परेको र विवाह गर्न चाहेको कुरा बताउँछे।
कथाको अन्त्यतिर याङ्जीले ‘आमा’ भनेर सम्बोधन गरेकी महिला वास्तवमा उसकी जन्मदिने आमा नभई सासूआमा भएको थाहा हुन्छ।
सासूआमाले बुहारीलाई आफ्नै छोरीजस्तै माया गरेकी हुन्छिन्। उनी याङ्जीको दोस्रो विवाहमा सहमत हुन्छिन् तर विवाहपछि पनि आफूहरूसँगै बस्नुपर्ने सर्त राख्छिन्।
यसरी कथाले सासू-बुहारीको सम्बन्ध सधैँ तिक्त हुनुपर्छ भन्ने मान्यताका विपरीत प्रेम, समझदारी र मातृत्वले भरिएको सुमधुर सम्बन्ध पनि सम्भव हुन्छ भन्ने देखाएको छ।
७. ‘आयाम’ कथाको ‘आमा हुनुहुन्थ्यो … हातगोडा …’ अनुच्छेदबाट चारओटा बोध प्रश्न निर्माण गरी उत्तर लेख्नुहोस्।
१. आमाको उमेर कति थियो ?
उत्तर : आमाको उमेर ४५ वर्षको थियो।
२. आमाका हातगोडा कस्ता थिए ?
उत्तर : आमाका हातगोडा छोटा-छोटा, मोटा-मोटा र पुटुक्क परेका थिए।
३. आमाको नाकको वर्णन कसरी गरिएको छ ?
उत्तर : “गोलै जोर आँखाको बिचमा डल्लो आकारको नाक थपक्क बसेको थियो” भनेर आमाको नाकको वर्णन गरिएको छ।
४. आमाको छालाको रङको वर्णन कसरी गरिएको छ ?
उत्तर : “सेतो चिमालो फूलको रङझैँ लाग्ने नरम छाला जीउभरि ओढेकी” भनेर आमाको छालाको वर्णन गरिएको छ।
८. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्।
(क) ‘आयाम’ कथाको मुख्य विषयवस्तु के हो ?
उत्तर :
बिना थिङद्वारा लिखित ‘आयाम’ संस्मरणात्मक शैलीमा लेखिएको कथा हो। यसमा मुख्य पात्र याङ्जीले आफ्नो जीवनमा घटेका विभिन्न घटनालाई एकै दिन स्मरण गरेकी छे र अन्त्यमा कथा वर्तमान अवस्थामा फर्कन्छ।
कथाको मुख्य विषय दाम्पत्य जीवन, एकल महिलाको जीवन, दोस्रो विवाह र सासू-बुहारीबिचको सुमधुर सम्बन्ध हो।
याङ्जीले पति कमललाई गुमाएपछि मानसिक रूपमा गम्भीर पीडा भोगेकी हुन्छे। ऊ घरबाट बाहिर ननिस्कने, कसैसँग नबोल्ने र निराश भएर बस्ने अवस्थामा पुगेकी हुन्छे।
यस्तो परिस्थितिमा उसकी सासूले जन्मदिने आमाले जस्तै माया र सहयोग गर्छिन्। उनले याङ्जीलाई पुनः सामान्य जीवनमा फर्कन प्रेरित गर्छिन् र जागिर गर्न लगाउँछिन्।
याङ्जीले काम गर्ने कार्यालयमा भेटिएका विभिन्न मानिसका जीवनले पनि उसलाई प्रभावित गर्छन्। विशेषतः शान्तमायाको दोस्रो विवाहपछि देखिएको खुसीले याङ्जीलाई आफ्नो जीवनबारे पुनः सोच्न प्रेरित गर्छ।
पछि याङ्जी सुरज कुमारसँग प्रेममा पर्छे र दोस्रो विवाह गर्ने निर्णयमा पुग्छे। उसकी सासूआमाले पनि यो निर्णयलाई स्वीकार गर्छिन्।
यसरी दाम्पत्य जीवन मानिसको भावनात्मक आवश्यकता हुन सक्छ, जीवनमा दुःखद घटना आएपछि पनि नयाँ सुरुवात गर्न सकिन्छ र सुमधुर सम्बन्ध भए सासू-बुहारी पनि आमा-छोरीजस्तै बन्न सक्छन् भन्ने कथाको मुख्य विषयवस्तु हो।
(ख) कथामा रहेका याङ्जी र शान्तमाया पात्रको चारित्रिक विशेषताको तुलना गर्नुहोस्।
| याङ्जी | शान्तमाया |
|---|---|
| पढेलेखेकी विधवा महिला | अनपढ विधवा महिला |
| रोजगारदाता कार्यालयमा काम गर्ने | घरायसी काम गर्ने |
| बोलचालमा मानक नेपाली भाषाको प्रयोग गर्ने | बोलचालमा तामाङ भाषाबाट प्रभावित नेपाली प्रयोग गर्ने |
| दोस्रो विवाह गर्ने निर्णयमा पुगेकी | दोस्रो विवाह गरिसकेकी |
| विवाह गरेको छोटो समयमा श्रीमान् गुमाएकी | विवाह भएको केही वर्षपछि श्रीमान् गुमाएकी |
| सहरी तथा कार्यालयीय जीवनमा सक्रिय | श्रम र घरायसी काममा सक्रिय |
(ग) कथामा उल्लेख भएको सामाजिक परिवेशको वर्णन गर्नुहोस्।
उत्तर :
बिना थिङद्वारा लिखित ‘आयाम’ कथामा मुख्य रूपमा सहरी सामाजिक परिवेश प्रस्तुत गरिएको छ।
कथामा एकल महिलाले समाजमा भोग्नुपर्ने समस्या, उनीहरूप्रतिको सामाजिक दृष्टिकोण र उनीहरूको मनोभावनालाई विशेष रूपमा चित्रण गरिएको छ।
याङ्जी र शान्तमाया दुवै विधवा महिला हुन्। उनीहरूको आर्थिक, शैक्षिक र सामाजिक अवस्था फरक भए पनि दुवैले जीवनमा दुःख र अभाव भोगेका छन्।
कथामा तामाङ समुदायको भाषा, संस्कृति र सामाजिक जीवनको प्रभाव पनि देखिन्छ।
एकल महिलाले दोस्रो विवाह गर्न सक्ने विषयलाई पनि कथाले महत्त्व दिएको छ। यसबाट समाजको रुढीवादी सोच र महिलालाई बाँधेर राख्ने परम्परागत मान्यतामाथि प्रश्न उठाइएको छ।
त्यस्तै सहरको व्यस्त चोक, कार्यालय, रेस्टुरेन्ट, स्कुटर, मोटरसाइकल, ठूला भवन तथा रोजगारदाता कार्यालयजस्ता प्रसङ्गले सहरी जीवनको परिवेश स्पष्ट पार्छन्।
यसरी कथामा सहरी जीवन, एकल महिलाको अवस्था, तामाङ समुदाय, पारिवारिक सम्बन्ध, पुनर्विवाह र सामाजिक परिवर्तनलाई सामाजिक परिवेशका रूपमा प्रस्तुत गरिएको छ।
सुनाइ र बोलाइ
१. सुनाइ पाठ १६ सुन्नुहोस् र वाक्य ठिक वा बेठिक छुट्याउनुहोस्।
(क)
भाषाको स्वाभाविक सुन्दरता, सशक्तता, साहित्यिक उच्चता र लेखकको योग्यताबाट शैलीको जन्म हुन्छ।
उत्तर : ठिक
(ख)
साहित्यिक कृतिमा शैलीको महत्त्व हुँदैन।
उत्तर : बेठिक
(ग)
शैलीलाई वर्णनात्मक, आत्मकथनात्मक, हास्यमय, व्यङ्ग्यमय आदिमा विभाजन गरेको पाइन्छ।
उत्तर : ठिक
(घ)
शैली सौन्दर्यबोधक तत्त्व पनि होइन।
उत्तर : बेठिक
२. सुनाइ पाठ १६ का आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस्।
(क) शैली भनेको के हो ?
उत्तर : विशेष किसिमले कुनै काम गर्ने प्रणाली वा पद्धति, काम गराइको ढाँचा, परिपाटी वा छाँटकाँटलाई शैली भनिन्छ।
(ख) शैली कस्तो तत्त्व हो ?
उत्तर : सामान्य भाषालाई विचलन गरी विशिष्टता प्रदान गर्ने क्षमता भएको शैली भाषाको सौन्दर्यबोधक तत्त्व हो।
(ग) शैलीका दुई प्रकार के के हुन् ?
उत्तर : शैलीका दुई प्रकार सरल र अलङ्कृत हुन्।
(घ) शैलीको जन्म कसरी हुन्छ ?
उत्तर : बोलचालको सामान्य भाषामा विचलन भई बनेको विशिष्ट अभिव्यक्तिबाट रचनाको शैली जन्मन्छ।
भाषिक संरचना र वर्णविन्यास
२. संश्लेषण र विश्लेषणसम्बन्धी प्रश्नोत्तर
(क) अनुच्छेदको पहिलो वाक्यबाट दुईओटा वाक्य बनाउनुहोस्।
उत्तर :
- धेरै सरल वाक्य जोडिन्छन्।
- सरल वाक्य जोड्दा वाक्य संश्लेषण हुन्छ।
(ख) अनुच्छेदको दोस्रो र तेस्रो वाक्य मिलाई एउटै वाक्य बनाउनुहोस्।
उत्तर : वाक्य विश्लेषण गर्दा जोडिएर संश्लेषण भएका वाक्यलाई टुक्र्याइन्छ।
(ग) अनुच्छेदको चौथो वाक्यबाट दुईओटा वाक्य बनाउनुहोस्।
उत्तर :
- वाक्य संश्लेषण र विश्लेषणको अभ्यास गर्नुपर्छ।
- वाक्य संश्लेषण र विश्लेषणको अभ्यासबाट उत्कृष्ट साहित्यिक वाक्य बनाउन सकिन्छ।
(घ) अनुच्छेदको पाँचौँ, छैटौँ र सातौँ वाक्यलाई मिलाई एउटै वाक्य बनाउनुहोस्।
उत्तर : यसको अभ्यास गर्दा भाषामा राम्रो नियन्त्रण गरी थोरै शब्दमा आफ्ना भाव अभिव्यक्त गर्न सकिन्छ।
(ङ) अनुच्छेदको अन्तिम वाक्यबाट पाँचओटा वाक्य बनाउनुहोस्।
उत्तर :
- दुई वा सोभन्दा बढी सरल वाक्यलाई एक सरल, मिश्र वा संयुक्त वाक्यमा रूपान्तरण गर्नुपर्छ।
- यस्तो प्रक्रियामा भाषाको ज्ञान आवश्यक हुन्छ।
- वाक्यमा मुख्य क्रियाको चयन गर्नुपर्छ।
- पूर्वकालिक वा असमापिका क्रियाको चयन गरी विशेषण, नाम र क्रियापदावलीको निर्माण गर्नुपर्छ।
- आवश्यकताअनुसार उपसर्ग, प्रत्यय, समास विग्रह तथा नयाँ शब्दको प्रयोग गर्नुपर्छ।
३. ‘आयाम’ कथाको ‘त्यो दिन … थियो’ अनुच्छेदबाट चारओटा सरल वाक्य टिपी एउटै वाक्यमा संश्लेषण गर्नुहोस्।
सरल वाक्यहरू
- त्यो दिन मेरो जीवनको सबैभन्दा भयानक दिन थियो।
- मेरो सुन्दर संसार तहसनहस भयो।
- कमल कार्यालयबाट फर्कँदा मोटरसाइकल दुर्घटनामा परे।
- ऊसँग मैले छोटो समय व्यतीत गरेँ।
संश्लेषित वाक्य
उत्तर :
ऊसँग मैले छोटो समय मात्र व्यतीत गरेकी थिएँ र कार्यालयबाट फर्कँदा कमल मोटरसाइकल दुर्घटनामा परेको त्यो दिन मेरो जीवनको सबैभन्दा भयानक दिन बन्यो, जसले मेरो सुन्दर संसार तहसनहस पारिदियो।
४. दिइएको कथांशबाट लेख्य चिह्न टिपी तिनको नाम लेख्नुहोस्।
प्रयोग भएका लेख्य चिह्न
- “ ” ⇒ उद्धरण चिह्न
- ? ⇒ प्रश्नवाचक चिह्न
- । ⇒ पूर्णविराम
- , ⇒ अल्पविराम
५. कुनै पाँचओटा लेख्य चिह्न प्रयोग गरी ‘महिला सहभागिता’ विषयमा एउटा अनुच्छेद लेख्नुहोस्।
महिला सहभागिता
समाजको विकास गर्नु छ भने महिलालाई सामाजिक काममा अगाडि सार्नुपर्छ। “महिलाको सहभागिता नै विकासको चाबी हो” भन्ने हाम्रा हजुरबा यस समाजका प्रमुख सुधारक हुनुहुन्छ।
उहाँलाई साथ दिन गाउँका मुखिया, तल्लाघरे काका लगायतका मानिस लाग्नुभएको थियो।
एक दिन मैले बहिनीलाई, “तँ छोरीमान्छे, यसो गर्न सक्दिनस्” भनेको थिएँ; हजुरबाले मलाई भन्नुभयो, “राम ! यो तैँले के भनिस् ?”
त्यस दिनदेखि मैले महिला र पुरुष दुवैलाई समान अवसर दिनुपर्छ भन्ने कुरा बुझेँ।
७. पाठबाट ‘र’ को फरक फरक रूप प्रयोग भएका पाँचओटा शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस्।
सहर
आजभोलि मानिसहरू सहरमा बसेर दिक्क भएको बेला हावापानी परिवर्तन गर्न गाउँ जाने गर्छन्।
आकृति
चित्र बनाउँदा बाहिरी मात्र होइन, भित्री आकृति पनि दिन सक्ने व्यक्ति सच्चा चित्रकार हो।
गर्थे
म सानामा धेरै चकचक गर्थेँ।
हृदय
अरूको भन्न सक्दिनँ तर आमाको माया हृदयदेखि नै हुन्छ।
ड्राइभर
हाम्रो घरको ड्राइभर दाइ मलाई आफ्नै दाइजस्तै लाग्छ।
सिर्जना र परियोजना कार्य
१. तपाईंलाई मन परेको शीर्षकमा एउटा कथा लेख्नुहोस्।
अकबर र बिरबल
एक राज्यमा अकबर नामका राजा बस्थे। उनको राज्यमा सबैले न्याय पाउँथे र अपराधीले उचित दण्ड पाउँथे। अकबरलाई राम्रो सल्लाह दिने बुद्धिमान मन्त्री बिरबल थिए।
एक दिन एक धनी व्यापारी राजा अकबरको दरबारमा मद्दत माग्न आयो। उसको घरबाट बहुमूल्य सामान चोरी भएको थियो। उसलाई आफ्नै नोकरमध्ये कसैले चोरी गरेको शङ्का थियो।
धेरै सोधपुछ गर्दा पनि चोर पत्ता लागेन। त्यसपछि बिरबलले एउटा उपाय निकाले।
उनले व्यापारीका सबै नोकरलाई बोलाए र प्रत्येकलाई एउटै लम्बाइको एक-एक वटा लौरो दिए।
बिरबलले भने, “तिमीहरूमध्ये एक जना चोर छ। जसले सामान चोरेको हो, उसको लौरो भोलिसम्म दुई इन्च बढ्नेछ। भोलि सबैको लौरो नापेर चोर पत्ता लगाउँछु।”
यो कुरा सुनेर वास्तविक चोर डरायो। उसले आफ्नो लौरो भोलि दुई इन्च बढ्नेछ भन्ने विश्वास गर्यो र राति नै लौरो दुई इन्च काटेर छोटो बनायो।
भोलिपल्ट सबै नोकर दरबारमा आए। बिरबलले सबैका लौरो नापे।
एक जना नोकरको लौरो अरूको भन्दा दुई इन्च छोटो थियो।
बिरबलले तत्काल चोर पत्ता लगाए। चोरले पनि आफ्नो अपराध स्वीकार गर्यो र राजा अकबरले उसलाई उचित सजाय दिए।
यस कथाले बुद्धि र विवेकले कठिन समस्या पनि समाधान गर्न सकिन्छ भन्ने शिक्षा दिन्छ।
२. पुस्तकालयबाट कुनै एउटा कथा खोजेर ल्याउनुहोस् र कक्षामा सुनाउनुहोस्।
बाँदर र गोही
एकादेशमा एउटा पोखरी थियो। पोखरीको छेउमा एउटा जामुनको रुख थियो। त्यस रुखमा एउटा बाँदर बस्थ्यो। ऊ हरेक दिन मीठा जामुन टिपेर खान्थ्यो।
एक दिन बाँदरले पोखरीमा एउटा थकित र भोको गोही देख्यो। उसलाई गोहीप्रति दया लाग्यो र केही जामुन खान दियो।
गोहीलाई जामुन निकै स्वादिष्ट लाग्यो। उसले बाँदरलाई धन्यवाद दियो।
समय बित्दै जाँदा बाँदर र गोही घनिष्ठ साथी बने। गोहीले बाँदरले दिएको जामुन आफ्नी श्रीमतीका लागि पनि लैजान्थ्यो।
गोहीकी श्रीमतीलाई पनि जामुन निकै मन पर्थ्यो। तर एक दिन उसले सोचिन्, “यति मीठो जामुन खाने बाँदरको मुटु झन् कति मीठो होला !”
उनले आफ्नो श्रीमान्लाई बाँदरको मुटु ल्याउन भनिन्।
गोही सुरुमा रिसायो तर श्रीमतीको आग्रह अस्वीकार गर्न सकेन।
अर्को दिन गोही बाँदरकहाँ गयो र भन्यो, “मित्र ! आज तिमी मेरो घर जाऊ। मेरी श्रीमतीले तिम्रो लागि मिठो खाना बनाएर राखेकी छिन्।”
बाँदर खुसी भएर गोहीको ढाडमा चढ्यो।
पोखरीको बीचमा पुगेपछि गोहीले वास्तविक कुरा बतायो। उसले आफ्नी श्रीमतीलाई बाँदरको मुटु चाहिएको कुरा सुनायो।
यो कुरा सुनेर बाँदर झसङ्ग भयो तर उसले बुद्धि लगायो।
उसले भन्यो, “ए मित्र ! तिमीले पहिल्यै किन भनेनौ ? मैले त मेरो मुटु जामुनको रुखमै छोडेर आएको छु। मलाई फेरि त्यहीँ लैजाऊ।”
मूर्ख गोहीले बाँदरको कुरा पत्यायो र उसलाई रुखसम्म फर्काएर ल्यायो।
रुख नजिक पुग्नेबित्तिकै बाँदर फुत्त हाम फालेर रुखमा चढ्यो।
त्यसपछि बाँदरले भन्यो, “मूर्ख मित्र ! कसैले आफ्नो मुटु शरीरबाट झिकेर रुखमा राख्न सक्छ र ?”
गोही आफ्नो गल्ती महसुस गर्दै एक्लै फर्कियो।
शिक्षा : कठिन परिस्थितिमा बुद्धि र विवेकको प्रयोग गरे ठूलो समस्याबाट पनि बच्न सकिन्छ।
Discussion
Share a helpful question, idea, or explanation with other students.