पाठ १३ · पख्नोस्

शब्दभण्डार

१. दिइएका अनुकरणात्मक शब्द र कार्यबिच जोडा मिलाउनुहोस् :

  • ख्वाङख्वाङ ⇒ खोक्नु
  • गजक्क ⇒ पर्नु
  • ङिच्च ⇒ हाँस्नु
  • लस्याङलुसुङ ⇒ गर्नु
  • जम्स्याङजुम्सुङ ⇒ हुनु

२. ‘पख्नोस्’ निबन्धबाट कुनै पाँचओटा पारिभाषिक शब्द खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।

सम्पादक ⇒ मैले कान्तिपुर दैनिकको सम्पादकलाई चिठी लेख्छु।

जमिनदार ⇒ बुबा जमिनदार भएपछि छोरोलाई सम्पत्तिको चिन्ता हुँदैन।

शिक्षित ⇒ शिक्षित व्यक्ति भए सभ्य समाज बन्छ।

लेख ⇒ मेरो मामाले समसामयिक लेख लेख्नुहुन्छ।

मनिटर ⇒ कम्प्युटरको काम मनिटरमा देखिन्छ।


३. शब्दकोशको प्रयोग गरी दिइएका शिक्षा र वाणिज्य क्षेत्रका पारिभाषिक शब्दको अर्थ लेख्नुहोस् :

शिक्षा क्षेत्र

पाठ्यक्रम ⇒ विद्यार्थीलाई सिकाउन बनाइएको विषयहरूको योजना।

मूल्याङ्कन ⇒ परीक्षार्थीको क्षमता, स्तर वा उपलब्धि निर्धारण गर्ने काम।

अतिरिक्त सहयोग ⇒ काममा अझ सक्षम बनाउन दिइने थप सहयोग।

पुस्तकालय ⇒ पढ्नका लागि पुस्तकहरू सङ्ग्रह गरी राखिएको स्थान।

विद्यालय ⇒ विद्यार्थीलाई शिक्षा दिइने शैक्षिक संस्था वा पाठशाला।

वाणिज्य क्षेत्र

लेखा ⇒ कुनै सङ्घसंस्थाको आम्दानी र खर्चको विवरण।

रसिद ⇒ नगद वा रकम बुझाएको प्रमाणका रूपमा दिइने कागज।

चुक्तानी ⇒ लेनदेनको हिसाब चुक्ता गर्ने काम।

आयव्यय ⇒ आम्दानी र खर्च।

कालोबजारी ⇒ कानुनविपरीत वस्तुको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा गरिने व्यापार।

बजेट ⇒ भविष्यमा हुने आम्दानी र खर्चको अनुमानित विवरण।

बैङ्क जम्मा ⇒ बैङ्क खातामा जम्मा गरिएको रकम।


४. दिइएको अनुच्छेदबाट पाँचओटा मौलिक शब्द पहिचान गरी लेख्नुहोस् :

मौलिक शब्दहरू :

  • दार्शनिक
  • वैज्ञानिक
  • आउनुभएको
  • हेर्नोस्
  • फतफताइ

५. ‘पख्नोस्’ निबन्धमा व्यङ्ग्य गर्ने क्रममा आएका टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

कन्सिरी तात्नु ⇒ बिनासित्तिमा दोष लगाएपछि मेरो कन्सिरी तात्छ।

आगलागी हुनु ⇒ सानो विवादले गाउँमा नै आगलागी भएजस्तो अवस्था सिर्जना भयो।

पानीमरुवा हुनु ⇒ जायज कुरा गर्न पनि पानीमरुवा हुनु हुँदैन।

जङ चल्नु ⇒ धेरै दिनदेखि रोकिएको काम देखेर उसको जङ चल्यो।

दाउ हेर्नु ⇒ ट्राफिक प्रहरी पनि नियम उल्लङ्घन गर्ने चालकलाई समात्न दाउ हेरेर बसेका थिए।


बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

  • सम्भाव्य
  • आश्वासन
  • ऋण
  • दार्शनिक
  • जम्स्याङजुम्सुङ
  • बकन्याइ
  • पर्खाइ
  • आणविक
  • भर्‍याङ
  • गिज्याउनु

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) निबन्धमा सबैभन्दा लामो अनुच्छेद कति वाक्यमा संरचित छ ?

उत्तर : निबन्धमा सबैभन्दा लामो नवौँ अनुच्छेद १३ वाक्यमा संरचित छ।

(ख) पाठमा सबैभन्दा बढी प्रश्नात्मक वाक्य भएको अनुच्छेद कुन हो ?

उत्तर : पाठमा सबैभन्दा बढी प्रश्नात्मक वाक्य भएको अनुच्छेद नवौँ हो।

(ग) निबन्धको कतिऔँ अनुच्छेद विस्मयसूचक शब्दबाट सुरु भएको छ ?

उत्तर : निबन्धको नवौँ अनुच्छेद विस्मयसूचक शब्दबाट सुरु भएको छ।

(घ) निबन्धका ‘आउँदै गर्नुहोला’, ‘धाउँदै गर्नुहोला’ पदावलीमा असमान संरचना भएको अक्षर कुन हो ?

उत्तर : ‘आउँदै गर्नुहोला’ र ‘धाउँदै गर्नुहोला’ पदावलीमा असमान संरचना भएको अक्षर ‘आ’ र ‘धा’ हो।


४. निबन्धांशमा आधारित प्रश्नोत्तर

(क) निबन्धांशका आधारमा ‘म’ पात्रमा कस्ता कस्ता विशेषता पाइन्छन् ?

उत्तर : निबन्धांशको ‘म’ पात्रमा साह्रै जुम्सो स्वभाव तथा कामलाई कुराले टार्ने जस्ता विशेषता पाइन्छन्।

(ख) जङचल्दा पर्खाइलाई किन जुम्स्याइको जन्मदाता भनिएको हो ?

उत्तर : पर्खँदा पर्खँदा मानिस जुम्सो बन्ने भएकाले जङचल्दा पर्खाइलाई जुम्स्याइको जन्मदाता भनिएको हो।

(ग) ‘म’ पात्रले कुन कुन कामका लागि पर्खाइको सामना गर्नुपरेको छ ?

उत्तर : ‘म’ पात्रले मान्यजनबाट माया पाउन, जागिर पाउन, तलब पाउन, उपचारकबाट औषधि पाउन, बिदा लिन, मालिकबाट पैसा पाउन तथा सूचीकारबाट लुगा सिलाउन आदि कामका लागि पर्खाइको सामना गर्नुपरेको छ।

(घ) सबैलाई पर्खनुपर्ने अवस्थाको अन्त्य गर्न के गर्नुपर्ला ?

उत्तर : सबैलाई पर्खनुपर्ने अवस्थाको अन्त्य गर्न समयको महत्त्व बुझेर आफ्नो जिम्मेवारी इमानदारीपूर्वक समयमै पूरा गर्नुपर्छ।


५. निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) अनुच्छेदमा शिक्षित मानिसलाई कस्तो व्यङ्ग्य गरिएको छ ?

उत्तर : शिक्षित मानिसहरूले सभ्य र चिल्ला शब्दको प्रयोग गरेर अरूलाई झुलाउने र पर्खाउने गरेको देखाइएको छ। समयमै काम गर्नुपर्ने शिक्षित व्यक्तिहरू नै अरूलाई पर्खाउन सिपालु भएको स्वभावप्रति निबन्धकारले तिखो व्यङ्ग्य गरेका छन्।

(ख) कसैसँग काम लिनका लागि पर्खनै पर्ने चलन हटाउन हामीले के गर्नुपर्ला ?

उत्तर : पर्खनै पर्ने चलन हटाउन समयअनुसार काम गर्नुपर्छ। अरूको जिम्मेवारी लिएपछि इमानदार भएर समयमै काम पूरा गर्नुपर्छ। चिल्ला शब्दले अरूलाई झुलाउनेभन्दा व्यवहारमा काम गरेर देखाउने संस्कार विकास गर्नुपर्छ।


६. अनुच्छेदबाट तीनओटा बोध प्रश्न र उत्तर

(अ) मानिस र वनस्पतिबिच कस्तो सम्बन्ध छ ?

उत्तर : मानिसको बाँच्ने आधार वनस्पति भएकाले मानिस र वनस्पतिबिच गहिरो सम्बन्ध छ।

(आ) वनस्पति के केको स्रोत हो ?

उत्तर : वनस्पति खाना, लुगा, आवास, उद्योगका कच्चा पदार्थ तथा अक्सिजनको प्रमुख स्रोत हो।

(इ) मानिसका लागि वनस्पति जगत्‌को कस्तो योगदान रहेको हुन्छ ?

उत्तर : वनस्पतिबाट जीवनका लागि आवश्यक अक्सिजन तथा अनेक आधारभूत वस्तु प्राप्त हुने भएकाले मानिसको अस्तित्वका लागि वनस्पति जगत्‌को महत्त्वपूर्ण योगदान रहेको हुन्छ।


७. ‘पख्नोस्’ निबन्धको अन्तिम दुई अनुच्छेदको सारांश लेख्नुहोस् :

उत्तर : हामीलाई नपर्खी सुखै छैन। पर्खाइदेखि डराउने व्यक्ति पलायनवादी, पामर र पानीमरुवा मानिन्छ। वास्तवमा कसैले पनि पर्खन चाहँदैन। हामी पर्खाउने परम्परा अन्त्य होस् भन्ने चाहन्छौँ, तर हाम्रो चाहना चाहनेबित्तिकै पूरा हुँदैन। त्यसैले हरेक कामका लागि पर्खनुपर्ने अवस्था हाम्रो नियतिजस्तै बनेको छ।


८. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) ‘पख्नोस्’ निबन्धको विषयवस्तुमाथि प्रकाश पार्नुहोस् ।

उत्तर : ‘पख्नोस्’ सामाजिक विषयवस्तुमा आधारित आत्मपरक हास्यव्यङ्ग्य निबन्ध हो। सामाजिक विसङ्गतिप्रति शब्दवाण प्रहार गर्न सिपालु भैरव अर्यालले यस निबन्धमा मानिसमा रहेको पर्खने र पर्खाउने विकृतिविरुद्ध व्यङ्ग्य गरेका छन्।

कोही पनि पर्खन चाहँदैन तर व्यवहारमा सबैले कसै न कसैलाई पर्खिरहेका र पर्खाइरहेका हुन्छन्। समाजका हरेक क्षेत्रमा पर्खने र पर्खाउने प्रवृत्ति रहेको र विशेषतः शिक्षित मानिसहरूमा समेत अरूलाई पर्खाउने बानी बढेको विषय निबन्धमा प्रस्तुत गरिएको छ।

यसरी ‘पख्नोस्’ प्रवृत्ति समाजमा व्यापक रहेको र यस्तो प्रवृत्ति व्यक्तिको तथा समाजको उन्नतिको बाधक भएको कुरा निबन्धको मुख्य विषयवस्तु हो।


(ख) ‘सत्य, समता र शान्ति पर्खँदै आएको मानिस झन् विषमताको विषले बौलाहिरहेछ, अशान्त भइरहेछ।’ भन्नुको तात्पर्य के हो ?

उत्तर : सबै मानिसको चाहना सत्य, समता र शान्ति हो। मानिसले युगौँदेखि यसको प्रतीक्षा गर्दै आएको छ। तर व्यवहारमा समताको साटो विषमता फैलिरहेको छ र शान्तिको साटो अशान्ति बढिरहेको छ।

आणविक हतियारमा प्रतिबन्ध लगाउनुपर्ने अवस्थामा झन् ती हतियार निर्माण गर्ने होडबाजी भइरहेको छ। विज्ञानका कारण भौतिक उन्नति भए पनि गाँस र बासजस्ता आधारभूत आवश्यकताका लागि समेत मानिसले पर्खनुपर्ने अवस्था छ।

यसरी मानिसले चाहेको कुरा र व्यवहारमा गरेको कामबिच ठूलो अन्तर रहेको छ भन्ने नै प्रस्तुत भनाइको तात्पर्य हो।


(ग) निबन्धमा मानिसका कस्ता कमी कमजोरीप्रति व्यङ्ग्य गरिएको छ ?

उत्तर : निबन्धमा मानिसको अनावश्यक पर्खने र पर्खाउने प्रवृत्तिप्रति चोटिलो व्यङ्ग्य गरिएको छ। आजका मानिसहरू आफ्नो दायित्व र जिम्मेवारीप्रति सचेत नभई कामलाई कुराले टार्न खोज्छन्।

सत्य र अहिंसाका आदर्श कुरा गरे पनि व्यवहारमा असत्य र हिंसालाई बढावा दिन्छन्। विश्वशान्तिको कुरा गरे पनि त्यसलाई व्यवहारमा उतार्न ढिलासुस्ती गर्छन्। अरूलाई बिनाकाम झुलाउन वा पर्खाउन पाउँदा आफूलाई ठूलो ठान्ने मानवीय कमजोरीप्रति पनि निबन्धमा व्यङ्ग्य गरिएको छ।


(घ) यस निबन्धबाट कस्तो सन्देश पाउन सकिन्छ ?

उत्तर : भैरव अर्यालद्वारा लिखित ‘पख्नोस्’ प्रसिद्ध हास्यव्यङ्ग्य तथा सन्देशमूलक निबन्ध हो। यस निबन्धले समयको महत्त्व बुझ्नुपर्ने र पर्खने तथा पर्खाउने प्रवृत्ति हटाउनुपर्ने सन्देश दिन्छ।

चिल्ला र शिष्ट शब्द प्रयोग गरेर अरूलाई झुलाउनु हुँदैन। प्रत्येक व्यक्तिले आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भएर समयमै काम पूरा गर्नुपर्छ। अरूलाई झुलाएर आफूलाई महान् ठान्ने प्रवृत्ति त्याग्नुपर्छ।

हाम्रो विचार र व्यवहारमा समानता हुनुपर्छ। हामी इमानदार, जिम्मेवार र विवेकशील बन्नुपर्छ भन्ने प्रमुख सन्देश निबन्धबाट पाइन्छ।


व्याख्या र समीक्षा

९. व्याख्या गर्नुहोस् :

(क) “सबै पर्खाइको पछिल्तिर मेरा सयौँ सपना पर्खिरहेछन्, इच्छा र आकाङ्क्षा पर्खिरहेछन्।”

उत्तर : प्रस्तुत निबन्धांश ‘पख्नोस्’ शीर्षकको निबन्धबाट साभार गरिएको हो। यसका रचनाकार प्रसिद्ध हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्याल हुन्। सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा व्याप्त विसङ्गतिमाथि व्यङ्ग्य गर्नु उनको प्रमुख विशेषता हो।

मानिसले जीवनमा अनेकौँ सपना देख्छ। ती सपना साकार बनाउन ऊ कर्मशील बन्नुपर्छ। तर काम गर्नुको सट्टा कुराले टार्ने प्रवृत्तिका कारण व्यक्तिका सपना पूरा हुन सक्दैनन्। निबन्धकारले पनि जीवनका हरेक क्षेत्रमा आफूले पर्खनुपरेको गुनासो गरेका छन्।

मानिस केही गरौँ, केही बनौँ र समाजका लागि योगदान दिऔँ भन्ने चाहना राख्छ। तर काम सम्पन्न गर्न जता गए पनि पर्खनुपर्ने अवस्था सिर्जना भएको छ। समयमा काम नगर्ने प्रवृत्तिले मानिसको उन्नति रोकेको छ।

यसरी अनावश्यक पर्खाउने प्रवृत्तिका कारण मानिसका सपना, इच्छा र आकाङ्क्षा पूरा हुन नसकेको यथार्थलाई प्रस्तुत भनाइले स्पष्ट पारेको छ।


(ख) “हामी दुवै चाहन्छौँ एउटा त्यस्तो दुनियाँ सिर्जना गरौँ जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् !”

उत्तर : प्रस्तुत निबन्धांश भैरव अर्यालद्वारा लिखित ‘पख्नोस्’ निबन्धबाट उद्धृत गरिएको हो। यसमा पर्खने र पर्खाउने परम्पराको अन्त्य गरी समयमै काम हुने समाज निर्माण गर्ने चाहना व्यक्त गरिएको छ।

मानिसमा रहेका विभिन्न कमजोरीमध्ये काम गर्नुभन्दा कुराले टारेर अरूलाई झुलाउने प्रवृत्ति पनि एउटा हो। यसका कारण मानिसको समय नष्ट भइरहेको छ र सिर्जनात्मक क्षमता कमजोर हुँदै गएको छ।

विशेषतः शिक्षित व्यक्तिहरूमा समेत अरूलाई चिल्ला शब्दको प्रयोग गरी पर्खाउने प्रवृत्ति पाइन्छ। यस्तो अवस्थाको अन्त्य गरी प्रत्येक मानिसले आफ्नो जिम्मेवारी समयमै पूरा गर्ने वातावरण निर्माण गर्नुपर्छ।

यसरी निबन्धकारले ढिलासुस्ती र पर्खाउने संस्कार हटाएर कर्मशील, जिम्मेवार र समयप्रति सचेत समाज निर्माण गर्नुपर्ने सन्देश दिएका छन्।


१०. ‘पख्नोस्’ निबन्धमा हाम्रा समाजका कस्ता पक्षमाथि व्यङ्ग्य गरिएको छ, समीक्षा गर्नुहोस् ।

उत्तर : ‘पख्नोस्’ निबन्ध नेपाली हास्यव्यङ्ग्य साहित्यका प्रसिद्ध प्रतिभा भैरव अर्यालद्वारा लिखित सामाजिक विषयवस्तुमा आधारित निबन्ध हो। यसमा मानिसका कमी कमजोरीमाथि तिखो व्यङ्ग्य गरिएको छ।

काम गर्नुभन्दा कुराले टार्ने मानवीय प्रवृत्तिको विरोध गर्दै निबन्धकारले पर्खने र पर्खाउने संस्कारलाई प्रगतिको बाधकका रूपमा प्रस्तुत गरेका छन्। मानिस आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुको सट्टा अरूलाई पर्खाउनु नै आफ्नो महानता सम्झन्छ।

आजका मानिसहरू अरूलाई झुलाउन अभ्यस्त भइसकेका छन्। शिक्षित मानिसहरू त सभ्य र चिल्ला शब्द प्रयोग गरेर अरूलाई झुलाउन अझै सिपालु देखिन्छन्। पर्खँदा पर्खँदा मानिसको काम गर्ने इच्छाशक्ति, जोस र जाँगरसमेत कमजोर भएको छ।

मानिसको पर्खाइ जन्मदेखि मृत्यु नहुन्जेलसम्म चलिरहन्छ। उसले आमाबुबा, गुरु, मान्यजन, जागिर, तलब, उपचार, बिदा, पैसा र अन्य दैनिक कामका लागि समेत पर्खनुपर्छ। यस्तो पर्खाइका क्रममा उसका हजारौँ सपना, इच्छा र आकाङ्क्षा अधुरा रहन्छन्।

मानिस सत्य, समता र शान्ति चाहन्छ तर संसारमा विषमता र अशान्ति बढिरहेको छ। आणविक हतियारमा प्रतिबन्ध लगाउने कुरा गरिए पनि व्यवहारमा झन् निर्माण गर्ने प्रतिस्पर्धा भइरहेको छ।

यसरी निबन्धले समयको बेवास्ता, काममा ढिलासुस्ती, जिम्मेवारीबाट पन्छिने बानी, अरूलाई झुलाउने प्रवृत्ति तथा भनाइ र गराइबिचको अन्तरमाथि व्यङ्ग्य गरेको छ। समग्रमा ‘पख्नोस्’ निबन्धले समाजमा रहेको पर्खने र पर्खाउने संस्कार हटाएर जिम्मेवार र कर्मशील बन्न प्रेरणा दिन्छ।


भाषिक संरचना

१. भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :

(अ) विद्यार्थीलाई समीक्षात्मक सोचमा तल्लीन बनाउनुपर्छन्।

शुद्ध वाक्य : विद्यार्थीलाई समीक्षात्मक सोचमा तल्लीन बनाउनुपर्छ।

(आ) शिक्षक र साथीभाइले राखेका तर्कको विश्लेषण गर्दा समीक्षात्मक सोचको उपयोग हुनुहुन्छ।

शुद्ध वाक्य : शिक्षक र साथीभाइले राखेका तर्कको विश्लेषण गर्दा समीक्षात्मक सोचको उपयोग हुन्छ।

(इ) जिम्मेवारी लिन्, समीक्षात्मक सोच र गुण दोष छुटयाउन गरिने

शुद्ध रूप : जिम्मेवारी लिन, समीक्षात्मक सोच र गुणदोष छुट्याउन गरिने।


२. वचन, पुरुष, लिङ्ग र आदर

वाक्यवचनपुरुषलिङ्गआदर
तैंले पाठ पढिस्।एकवचनद्वितीयस्त्री/पुलिङ्गसामान्य
ऊ घर जान्छ।एकवचनतृतीयपुलिङ्गसामान्य
रमा घर जान्छे।एकवचनतृतीयस्त्रीलिङ्गसामान्य
उहाँ धनकुटा जानुहुन्छ।एकवचनतृतीयस्त्री/पुलिङ्गउच्च
म खेल खेल्छु।एकवचनप्रथमस्त्री/पुलिङ्गसामान्य
हामीहरू रारा पुग्यौँ।बहुवचनप्रथमस्त्री/पुलिङ्गसामान्य

३. अनुच्छेदका क्रियापद सच्याएर पदसङ्गति मिलाउनुहोस् :

उत्तर :

कक्षाका साथीहरू वनभोज गएछन्। सीता र रीता वनभोज गएनछन्। गीता चाहिँ गइछ। बुबाले सबैलाई वनभोज जान अनुमति दिनुभएछ। आमाले पनि सहमति जनाउनुभएछ। उहाँले गीतालाई ढिलो नगर्नु भन्नुभएछ। आमाले “तिमी चाँडै आउ र बेलुकी घुम्न जाऔँला” भन्नुभएछ। “आमाले मलाई ढिलो नगर्नु भन्नुभएको छ” भनेर गीताले साथीलाई भनिछ। गीताले आमाको कुरा मानिछ र समयमा घर आइछ। गीता समयमा घर आएकामा आमा खुसी हुनुभएछ।


४. सङ्केतअनुसार पदसङ्गति मिल्ने क्रियापद भर्नुहोस् :

(क) पारस पाण्डे एयरपोर्ट पुगेछन्। (उच्च आदर)

उत्तर : पारस पाण्डे एयरपोर्ट पुग्नुभएछ।

(ख) खटपटानन्द खतिवडा खेततिर झरेछन्। (सामान्य आदर)

उत्तर : खटपटानन्द खतिवडा खेततिर झरेछ।

(ग) ऊ घरतिर हिँडी। (मध्यम आदर)

उत्तर : उनी घरतिर हिँडिन्।

(घ) उनी पाठ पढिछन्। (द्वितीय पुरुष, सामान्य आदर)

उत्तर : तैंले पाठ पढिछस्।

(ङ) ऊ भोलि आउने छ। (प्रथम पुरुष, स्त्रीलिङ्ग)

उत्तर : म भोलि आउने छु।

(च) उनीहरू भोलि आउने छन्। (सामान्य आदर)

उत्तर : उनीहरू भोलि आउने छन्।

(छ) उनी भोलि आउने छन्। (स्त्रीलिङ्ग)

उत्तर : उनी भोलि आउने छिन्।


५. ‘पख्नोस्’ निबन्धबाट हलन्त र अजन्त हुने पाँच पाँचओटा शब्द टिपोट गर्नुहोस् :

हलन्त हुने शब्द

  • पख्नोस्
  • नमान्नुहोस्
  • गर्छन्
  • होलान्
  • टट्टी

अजन्त हुने शब्द

  • चिरपरिचित
  • पत्यारलाग्दो
  • आश्वासन
  • डर
  • लेख

६. हलन्त र अजन्तको उपयुक्त प्रयोग गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

उत्तर :

तैंले के गरिस् भनेर मलाई साथीले सोध्यो। मैले गृहकार्य गरेँ भनेपछि उसले मलाई भन्यो, “अब म पनि गृहकार्य गर्छु। तँ पनि गृहकार्य गर्।” उमेश, रमेश र श्यामले पनि गृहकार्य सकेछन्।


सिर्जना कार्य

११. दिइएको चित्र वर्णन गर्नुहोस् :

उत्तर : यो एउटा गाउँको चित्र हो। गाउँमा परम्परागत शैलीका सुन्दर र आकर्षक घरहरू रहेका छन्। त्यहाँ मिलेको बस्ती, हरियाली तथा सफा र स्वच्छ वातावरण देखिन्छ।

गाउँका मानिसहरू चउरमा भेला भएर समुदायका विषयमा छलफल गरिरहेका छन्। छलफलमा विभिन्न धर्म, जात, वर्ग र उमेरका मानिसहरू उपस्थित भएका देखिन्छन्। एउटी महिला समुदायका बारेमा सहजीकरण गरिरहेकी छिन् र अन्य मानिसहरू चासोपूर्वक उनको कुरा सुनिरहेका छन्।

यस चित्रबाट उक्त गाउँमा जातीय, धार्मिक तथा सांस्कृतिक विविधता भए पनि आपसी एकता र सद्भाव रहेको अनुमान गर्न सकिन्छ।


१२. ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि’ शीर्षकमा टिप्पणी

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि नेपाली जनजीवनसँग प्रत्यक्ष सम्बन्धित विषय हो। नेपालले पेट्रोलियम पदार्थ विदेशबाट आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा पनि त्यसको प्रभाव पर्छ।

पेट्रोल र डिजेलको मूल्य बढ्दा यातायात खर्च बढ्छ। यातायात खर्च बढेपछि खाद्यान्न, तरकारी, निर्माण सामग्रीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्छ। यसले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर पार्छ।

अन्तर्राष्ट्रिय मूल्यवृद्धिसँगै व्यवस्थापन कमजोरी, कृत्रिम अभाव, अनावश्यक कमिसन तथा अस्वस्थ व्यापारिक गतिविधिले मूल्यवृद्धिलाई अझ कठिन बनाउँछन्। त्यसैले सरकारले पेट्रोलियम पदार्थको अनावश्यक मूल्यवृद्धि नियन्त्रण गर्न प्रभावकारी नीति अपनाउनुपर्छ।

दीर्घकालीन समाधानका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउने, जलविद्युत्‌को खपत बढाउने तथा पेट्रोलियम पदार्थमाथिको निर्भरता कम गर्ने नीति अपनाउनु आवश्यक छ।


१३. निबन्ध

(क) आर्थिक समृद्धिमा पर्यटन उद्योग

पर्यटकलाई एक ठाउँबाट अर्को ठाउँको भ्रमणमा सहयोग पुर्‍याउने तथा उनीहरूलाई आवश्यक सेवा र सुविधा उपलब्ध गराउने व्यवसाय पर्यटन हो। आफ्नो नियमित बसोबासभन्दा बाहिर बिदा मनाउन, व्यापार गर्न, अध्ययन गर्न वा नयाँ अनुभव प्राप्त गर्न जाने व्यक्ति पर्यटक कहलिन्छ।

नेपाल प्राकृतिक, भौगोलिक तथा सांस्कृतिक विविधताले सम्पन्न देश हो। संसारको सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, हिमाल, पहाड, तराई, नदीनाला, तालतलैया, झरना, वनजङ्गल तथा विभिन्न धार्मिक र ऐतिहासिक सम्पदाहरू नेपालका प्रमुख पर्यटकीय आकर्षण हुन्।

पर्वतारोहण, पदयात्रा, प्याराग्लाइडिङ, र्‍याफ्टिङ तथा अन्य साहसिक गतिविधिका लागि पनि नेपाल प्रसिद्ध छ। पर्यटन क्षेत्रको विकास गर्न सके लाखौँ युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ। विदेशी पर्यटकबाट विदेशी मुद्रा आर्जन हुन्छ र नेपालको कला, संस्कृति तथा पहिचान विश्वभर फैलिन्छ।

पर्यटनको विकासका लागि पर्यटकीय क्षेत्रको संरक्षण, नयाँ गन्तव्यको पहिचान, सुविधाजनक यातायात, सुरक्षित हवाई सेवा, स्तरीय होटल तथा दक्ष जनशक्तिको विकास आवश्यक छ।

यसरी व्यवस्थित रूपमा पर्यटन उद्योगको विकास गर्न सके पर्यटन नेपालको आर्थिक समृद्धिको प्रमुख आधार बन्न सक्छ।


(ख) मेरो जीवनको लक्ष्य

हरेक मानिसको जीवनमा कुनै न कुनै लक्ष्य हुन्छ। लक्ष्यले मानिसलाई सही दिशामा अगाडि बढ्न प्रेरणा दिन्छ। लक्ष्यविहीन जीवन गन्तव्यविहीन यात्राजस्तै हुन्छ।

मेरो जीवनको प्रमुख लक्ष्य देश र समाजको सेवामा योगदान पुर्‍याउने जिम्मेवार नागरिक बन्नु हो। नेपाल प्राकृतिक स्रोत, संस्कृति र प्रतिभाशाली युवाले सम्पन्न भए पनि विभिन्न समस्या र कमजोरीका कारण अपेक्षाअनुसार विकास हुन सकेको छैन।

म भविष्यमा जुनसुकै क्षेत्रमा रहे पनि देशको विकास, शिक्षा, रोजगारी र सामाजिक सुधारका लागि काम गर्न चाहन्छु। भ्रष्टाचार, विभेद, बेरोजगारी तथा अवसरको असमानता हटेको नेपाल मेरो सपना हो।

देशमा गुणस्तरीय शिक्षा, आधुनिक स्वास्थ्य सेवा, उद्योग, कृषि, पर्यटन र प्रविधिको विकास भए नेपाली युवाले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता कम हुन्छ।

मेरो लक्ष्य केवल व्यक्तिगत सफलता प्राप्त गर्नु होइन। म आफ्नो ज्ञान, सीप र क्षमताको प्रयोग समाज र राष्ट्रको हितमा गर्न चाहन्छु। आफ्नो लक्ष्य पूरा गर्न म निरन्तर मेहनत, अध्ययन, अनुशासन र सकारात्मक सोचका साथ अगाडि बढ्ने छु।


(ग) नेपालको विकासमा जलस्रोतको भूमिका

जल प्राणी र वनस्पतिका लागि अपरिहार्य प्राकृतिक स्रोत हो। नेपाल नदीनाला, तालतलैया, झरना, हिमाल तथा भूमिगत पानीका स्रोतले सम्पन्न देश हो।

नेपालका जलस्रोतलाई प्रभावकारी रूपमा उपयोग गर्न सके कृषि, ऊर्जा, पर्यटन, उद्योग, खानेपानी तथा अन्य क्षेत्रमा उल्लेखनीय विकास गर्न सकिन्छ। नदीबाट जलविद्युत् उत्पादन गरी देशको विद्युत् आवश्यकता पूरा गर्नुका साथै अतिरिक्त विद्युत् विदेशमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ।

जलस्रोतको उपयोग गरी सिँचाइको व्यवस्था विस्तार गर्न सके कृषि उत्पादन बढाउन सकिन्छ। मत्स्यपालन, खानेपानी उत्पादन, र्‍याफ्टिङ, जलविहार तथा अन्य पर्यटन गतिविधिबाट पनि रोजगारी र आम्दानी सिर्जना गर्न सकिन्छ।

नेपालमा जलस्रोतको अपार सम्भावना हुँदाहुँदै पनि पुँजी, दक्ष जनशक्ति, प्रविधि, राजनीतिक स्थिरता तथा उचित योजनाको अभावका कारण यसको पूर्ण उपयोग हुन सकेको छैन।

त्यसैले दीर्घकालीन योजना, आधुनिक प्रविधि र प्रभावकारी व्यवस्थापनमार्फत जलस्रोतको सदुपयोग गर्न सके नेपालको आर्थिक तथा सामाजिक विकासमा ठूलो योगदान पुग्न सक्छ।


१४. समीक्षात्मक सोच

समीक्षात्मक सोच भन्नाले के बुझिन्छ ?

उत्तर : कुनै विषयवस्तु वा कृतिका गुण र दोष छुट्याई तर्कपूर्ण ढङ्गले गरिने विवेचनात्मक सोचलाई समीक्षात्मक सोच भनिन्छ।

समीक्षात्मक सोचले विद्यार्थीलाई के कुरामा आत्मनिर्भर बनाउँछ ?

उत्तर : समीक्षात्मक सोचले विद्यार्थीलाई प्रतिबिम्बात्मक रूपमा चिन्तन गर्न, आफ्नो सिकाइको जिम्मेवारी लिन, तर्क बुझ्न, ध्यान दिएर सुन्न, आत्मविश्वासका साथ बहस गर्न तथा जीवनपर्यन्त सिकाइका लागि आत्मनिर्भर बनाउँछ।

समीक्षात्मक सोचको प्रयोग कसकसमा हुनु जरुरी छ ?

उत्तर : समीक्षात्मक सोचको प्रयोग आधारभूत शिक्षादेखि उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीमा हुनु जरुरी छ।

समीक्षात्मक सोचले के कुरामा फाइदा पुर्‍याउँछ ?

उत्तर : समीक्षात्मक सोचले आफ्नो सोचबारे पुनः सोच्न, सोचका कारण पहिचान गर्न तथा सही र गलत छुट्याएर उपयुक्त निर्णय लिन सहयोग पुर्‍याउँछ।


सिर्जना र परियोजना कार्य

१. ‘समाजमा देखिएका विकृति’ शीर्षकमा हास्यव्यङ्ग्य शैलीको छोटो निबन्ध

समाजमा देखिएका विकृति

समाज बदलियो, मानिस आधुनिक भयो, मोबाइल स्मार्ट भयो तर हाम्रो बानी भने अझै ‘लोडिङ…’ मै छ। बाटोमा फोहोर फाल्ने हामी नै हौँ अनि सरकारलाई सरसफाइ भएन भनेर गाली गर्ने पनि हामी नै हौँ।

कार्यालयमा दस बजेको काम बाह्र बजे सुरु हुन्छ। कर्मचारीलाई सोध्यो भने उत्तर आउँछ, “एकछिन पख्नोस्।” त्यो एकछिन कहिले आधा घण्टा हुन्छ, कहिले आधा दिन। काम भयो कि भएन भनेर सोध्दा फेरि जवाफ आउँछ, “प्रक्रियामा छ।”

राजनीतिमा विकासको भाषण किलोका किलो पाइन्छ तर काम ग्राममा पनि देखिँदैन। चुनाव आउँदा नेता गाउँगाउँ पुग्छन्। चुनाव सकिएपछि जनता नै नेताको खोजीमा सहर पुग्नुपर्छ।

सामाजिक सञ्जालमा सबै जना समाज सुधारक देखिन्छन् तर घरअगाडिको फोहोर उठाउन कसैलाई फुर्सद छैन। अरूलाई इमानदार बन्न उपदेश दिन हामी सबै तयार छौँ, तर आफ्नो पालो आएपछि नियमलाई अलिकति बङ्ग्याउन पनि पछि पर्दैनौँ।

वास्तवमा समाजका विकृति अरू कसैले ल्याएका होइनन्। हामी सबैको सानो-सानो गलत व्यवहार मिलेर ठूलो विकृति बनेको हो। त्यसैले समाज सुधार्न पहिले आफू सुधारिनु आवश्यक छ।

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play