पाठ ११. कर्तव्य कथा


शब्दभण्डार

१. दिइएका अर्थ आउने पद वा पदावली ‘कर्तव्य’ कथाबाट खोजेर लेख्नुहोस् :

अर्थशब्द
देह वा शरीरको अवसान वा अन्त्यदेहावसान
अड्डा वा कार्यालय रहेको भवनअदालत
आवाज ननिकाली सासले मात्र अरूका कानमा भनिने गोप्य कुराकानेखुसी
विवाहमा बेहुलाका साथ बेहुलीको घर जाने व्यक्तिको समूहजन्ती
गाउँको मुखिया वा जिम्मावालतालुकदार
राम्रो काम गर्नेले पाउने इज्जत वा ख्यातिकीर्ति, यश

२. दिइएका शब्द र तिनले दिने अर्थबिच जोडा मिलाउनुहोस् :

शब्दअर्थ
ऋचाकविताका रूपमा लेखिएका वेदका मन्त्र
मङ्गलधुनशुभ लक्षणले युक्त लयात्मक ध्वनि
कुटुम्बइष्टमित्र, नातागोता, आफन्त
निरोपणछानबिन, अन्वेषण
कोलाहलअत्यासलाग्दो अवस्था, अत्तालिँदो होहल्ला
पितृमरेका आफ्ना पुर्खा
अनिष्टहानिकारक, अशुभ

३. दिइएको कथांशबाट उखान र टुक्का पहिचान गरी लेख्नुहोस् :

उखान

  • आफू भलो त जगतै भलो
  • चोरलाई चौतारो, साधुलाई शुली
  • मनमा एउटा कुरा, मुखले अर्को कुरा

टुक्का

  • आँखामा राखे पनि नबिझाउनु
  • एक कान दुई कान मैदान
  • जिब्रो चिप्लो, मन कालो
  • खुला किताबजस्तै हुनु

४. दिइएका उखान र टुक्कालाई अलग-अलग वाक्यमा प्रयोग गर्नुहोस् :

उखान

हुने बिरुवाको चिल्लो पात :
हुने बिरुवाको चिल्लो पात भनेझैँ आर्यनले सानैदेखि राम्रो गीत गाउन जानेको थियो।

धान खाने मुसो, चोट पाउने भ्यागुतो :
मेरो बेवास्ताले मोबाइल भुइँमा खसेर फुट्यो तर बाबाले बहिनीलाई गाली गर्नुभयो। यो त धान खाने मुसो, चोट पाउने भ्यागुतो भएजस्तै भयो।

खाने मुखलाई जुँगाले छेक्दैन :
समीरले बत्ती गएको बेला मोबाइलको प्रकाशमा भए पनि पढ्छ, खाने मुखलाई जुँगाले छेक्दैन भनेको यही हो।

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन :
बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भनेझैँ तुल्साले सामान्य सामान पनि राम्रो प्रचार गरेर बेचिन् तर जमुनाले राम्रो सामान पनि बेच्न सकिनन्।

टुक्का

माया मार्नु :
एसईईपछि जो जहाँ गए पनि एकअर्काको माया मार्नु हुँदैन।

कम्मर कस्नु :
परीक्षामा राम्रो अङ्क ल्याउन अहिलेदेखि नै कम्मर कस्नुपर्छ।

कानमा तेल हाल्नु :
शिक्षकले पढाउँदा कानमा तेल हालेर बसे पाठ बुझिँदैन।

सुइँकुच्चा ठोक्नु :
प्रहरीलाई देख्नेबित्तिकै चोरले सुइँकुच्चा ठोक्यो।

आगो हुनु :
विद्यार्थीले धेरै हल्ला गरेपछि शिक्षक रिसले आगो हुनुभयो।

चिसो पस्नु :
मन मिल्ने साथी एक दिन विद्यालय नआउँदा मनमा केही भयो कि भन्ने चिसो पस्यो।


बोध र अभिव्यक्ति

१. दिइएका शब्दको लेखाइ र उच्चारणमा पाइने भिन्नता पहिचान गर्नुहोस् :

लेखाइउच्चारण
शीर्षकसिर्सक्
अन्यायअन्न्याय
ऊनउन्
सञ्चारसन्चार्
रक्षारक्छ्या
भण्डारभन्डार्
ऋषिरिसि

४. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) ‘कर्तव्य’ कथाको सुरु र अन्त्य कुन कुन घटनाबाट भएको छ ?

उत्तर : ज्वरो आएर गङ्गाधरले संसार छाडेको घटनाबाट कथा सुरु भएको छ भने मुरलीधरले श्रीधरलाई उपचार गराउन लैजाने घटनाबाट कथाको अन्त्य भएको छ।


(ख) कथामा कति जना पात्र छन् ? तिनको नाम भन्नुहोस्।

उत्तर : कथामा गङ्गाधर, मुरलीधर, श्रीधर, शशीधर, कमला, रमा, दुलही, गाउँले आदि पात्र रहेका छन्।


(ग) कथामा ग्रामीण समाजको परिवेश झल्काउने तथ्य के के हुन् ?

उत्तर :

गरिबका चुलामा आगो नबलेको थाहा पाए अन्नपैसा दिने, सुत्केरी भोको रहेको थाहा पाए सहयोग गर्ने, गाउँले बिरामी हुँदा औषधी लिएर झुपडीमा पुग्ने, गाउँभरिका मानिस मलामी जाने, मुखिया, प्रधान, अधियाँ, खेतका विषयमा झगडा हुने र चौतारामा बसेर रमिता हेर्ने जस्ता घटनाले ग्रामीण समाजको परिवेश झल्काउँछन्।


(घ) कथामा प्रथम वा तृतीय पुरुषमध्ये कुन दृष्टिबिन्दु प्रयोग भएको छ ?

उत्तर : कथामा तृतीय पुरुष दृष्टिबिन्दु प्रयोग भएको छ।


५. दिइएको कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) कथांशका आधारमा वक्ताको चरित्र चित्रण गर्नुहोस्।

उत्तर :

कथांशका आधारमा वक्ता मानमर्यादाको ख्याल राख्ने, आफ्नो कर्तव्य पूरा गर्ने र जिम्मेवार व्यक्ति हुन्।

भाइसँग मनमुटाव भए पनि परिवार र कुलको इज्जतको कुरा आउँदा उनले निजी रिसलाई महत्त्व दिएनन्। उनले परिस्थिति बुझेर विवेकपूर्ण निर्णय गरे।

यसरी उनी आफ्नो रीतिरिवाज, परम्परा र पारिवारिक जिम्मेवारीप्रति श्रद्धा राख्ने आदर्श पात्रका रूपमा देखिन्छन्।


(ख) कथांशमा ‘बाबुबाजेको मानमर्यादा डुब्न लाग्यो’ भन्नुको आशय खुलाउनुहोस्।

उत्तर :

‘बाबुबाजेको मानमर्यादा डुब्न लाग्यो’ भन्नुको अर्थ परिवार वा कुलको इज्जत गुम्ने अवस्था आउनु हो।

श्रीधरको छोरा शशीधरको धनी घरानाकी छोरीसँग विवाह हुँदै थियो। श्रीधर बिरामी भएर ओछ्यानमा थिए र जन्तीमा अनुभवी तथा बुढापाका व्यक्ति थिएनन्।

यस्तो महत्त्वपूर्ण पारिवारिक काममा घरको अर्को भाइ पनि सहभागी नभए गङ्गाधरले जीवनभर कमाएको इज्जत र प्रतिष्ठामा आँच आउन सक्छ भन्ने आशय प्रस्तुत गरिएको छ।


६. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) कथांशमा ‘म’ पात्रले पश्चाताप गर्नुको कारण के हो ?

उत्तर : ‘म’ पात्र अर्थात् श्रीधरले आफ्नो दाजु मुरलीधरप्रति पहिले अत्याचार र अन्याय गरेको सम्झेर पश्चाताप गरेका हुन्।


(ख) मुरलीधरले भाइप्रति कस्तो व्यवहार देखाए ?

उत्तर : मुरलीधरले भाइप्रति क्षमाशील, मायालु, जिम्मेवार र आदर्श व्यवहार देखाए।


(ग) सिकिस्त भएपछि मात्र उपचार गर्न लैजानु ठिक हो ? तर्क गर्नुहोस्।

उत्तर : सिकिस्त भएपछि मात्र उपचार गर्न लैजानु ठिक होइन। रोगको सुरुवातमै उचित उपचार गरिए रोग निको हुने सम्भावना बढी हुन्छ। धेरै ढिला गर्दा बिरामीको अवस्था गम्भीर हुन सक्छ।


(घ) ‘हृदयमा दुःखको कोलाहल मच्चिनु’ को आशय खुलाउनुहोस्।

उत्तर : ‘हृदयमा दुःखको कोलाहल मच्चिनु’ भन्नाले मनमा अत्यन्त पीडा, चिन्ता र डर उत्पन्न हुनु भन्ने बुझिन्छ।


७. ‘कर्तव्य’ कथा पढी दिइएका संवाद कसले कसलाई भनेका हुन् ?

संवादवक्ता र श्रोता
“मेरा दुवै छोरा बराबर हुन्, आधा आधा बाँडेर खानू।”गङ्गाधरले मुरलीधर र श्रीधरलाई
“त्यस महात्माको अन्तिम आज्ञा श्रीधरले मान्नैपर्छ।”गाउँका बुढापाकाले श्रीधरलाई
“कसैको मरण होस् त यसप्रकारको होस्।”गाउँलेहरूले गङ्गाधरको मृत्युका सन्दर्भमा
“त्यस्ता महापुरुषका सन्तान आफ्नो कर्तव्य किन छोड्थे।”दुलही पक्षकाले मुरलीधरलाई
“लौ, घर लगेर भित्र्याऊ।”मुरलीधरले जन्तीलाई
“दाज्यूलाई खानपिन त राम्ररी गरायौ के ?”श्रीधरले जन्तीलाई
“खै, सम्धी पाल्नुभएको छैन, अब मण्डपमा आएर बसिदिनुभए हुन्थ्यो।”दुलहीका बुबाले जन्तीलाई
“यस अज्ञानीको सबै अपराध क्षमा गरेर यी नाबालक छोराछोरीको शरण लिइदिनुहोला।”श्रीधरले मुरलीधरलाई

८. ‘कर्तव्य’ कथाका मुख्य घटना क्रमबद्ध रूपमा टिपोट गरी कथासार तयार पार्नुहोस्।

मुख्य घटनाहरू

  1. गङ्गाधरको निधन भएपछि सारा गाउँ शोकाकुल हुनु।
  2. बाबुको मृत्युपछि जिउनी खेतका विषयमा मुरलीधर र श्रीधरबिच विवाद हुनु।
  3. विवाद अदालतसम्म पुग्नु।
  4. अदालतको फैसलापछि दाजुभाइबिच बोलचाल बन्द हुनु।
  5. श्रीधर बिरामी परेका समयमा उनका छोरा शशीधरको विवाह तय हुनु।
  6. श्रीधरले मुरलीधरलाई विवाहमा नबोलाउनु।
  7. मुरलीधरले परिवारको मानमर्यादा सम्झेर विवाहमा सहभागी हुनु।
  8. विवाहको जिम्मेवारी सम्हालेर सफलतापूर्वक सम्पन्न गराउनु।
  9. श्रीधरको स्वास्थ्य गम्भीर भएपछि मुरलीधर भाइलाई भेट्न जानु।
  10. श्रीधरले आफ्नो गल्ती स्वीकार गरी माफी माग्नु।
  11. अन्त्यमा दाजुभाइबिच पुनः मेलमिलाप हुनु।

कथासार

गङ्गाधर गाउँका आदरणीय, न्यायप्रिय र परोपकारी व्यक्ति थिए। उनको निधनपछि सारा गाउँ शोकमा डुब्छ।

उनको मृत्युपछि जिउनी खेतका विषयमा छोरा मुरलीधर र श्रीधरबिच विवाद हुन्छ। बाबुले दुवै छोरालाई बराबर बाँडेर खान भने पनि कानुनी आधारमा श्रीधरले खेत आफ्नो दाबी गर्छ। विवाद अदालतसम्म पुग्छ र श्रीधरले मुद्दा जित्छ।

यसपछि दाजुभाइबिच बोलचाल बन्द हुन्छ।

केही समयपछि श्रीधर बिरामी पर्छन् र त्यही समयमा उनका छोरा शशीधरको विवाह तय हुन्छ। श्रीधरले मुरलीधरलाई विवाहमा निम्ता दिँदैनन्।

तर परिवारको इज्जत र कर्तव्य सम्झेर मुरलीधर स्वयं विवाहमा पुग्छन् र सम्पूर्ण जिम्मेवारी सम्हालेर विवाह सफलतापूर्वक सम्पन्न गराउँछन्।

पछि श्रीधर निकै बिरामी पर्दा मुरलीधर उनलाई भेट्न जान्छन्। श्रीधरले विगतमा गरेको व्यवहारप्रति पश्चाताप गर्दै माफी माग्छन्।

मुरलीधरले सबै मनमुटाव भुलेर भाइलाई उपचारका लागि लैजाने निर्णय गर्छन्। यसरी अन्त्यमा दाजुभाइबिच पुनः मेलमिलाप हुन्छ।


९. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) ‘कर्तव्य’ कथाका मुरलीधर र श्रीधरका चारित्रिक विशेषता लेख्नुहोस्।

उत्तर :

मुरलीधर र श्रीधर ‘कर्तव्य’ कथाका प्रमुख पुरुष पात्र हुन्। उनीहरू दाजुभाइ भए पनि उनीहरूको सोच र व्यवहार फरक छ।

मुरलीधरका चारित्रिक विशेषता

मुरलीधर आदर्श, परम्परागत र धार्मिक स्वभावका पात्र हुन्।

उनी पारिवारिक मानमर्यादा, कर्तव्य, धर्मकर्म र संस्कृतिलाई अत्यन्त महत्त्व दिन्छन्। उनी बिहान सबेरै उठेर स्नान, जपध्यान र पूजापाठ गर्ने गर्छन्।

आफ्नो रीतिरिवाज र परम्परामा विश्वास राख्ने भएकाले उनी जिल्लामा ‘मुरली पण्डित’ का नामले परिचित छन्।

भाइसँग ठूलो मनमुटाव भए पनि उनले पारिवारिक जिम्मेवारी त्याग्दैनन्।

श्रीधरका चारित्रिक विशेषता

श्रीधर आफूलाई आधुनिक र प्रगतिशील व्यक्ति ठान्छन्।

उनी परम्परागत धर्मकर्म र संस्कृतिमा विशेष रुचि राख्दैनन्। खानपान र पहिरनमा पनि आधुनिकता रुचाउँछन्।

उनमा केही हठी र दादागिरीपूर्ण स्वभाव पनि पाइन्छ। उनी जिल्लामा ‘शर्माजी’ का नामले परिचित छन्।

अन्त्यमा भने उनले आफ्नो गल्ती महसुस गरी पश्चाताप गर्छन्।


(ख) कथामा दाजुभाइबिचको सम्बन्धलाई कुन रूपमा देखाइएको छ ?

उत्तर :

गुरुप्रसाद मैनालीद्वारा लिखित ‘कर्तव्य’ कथामा दाजुभाइबिचको सम्बन्धलाई भातृप्रेम र पारिवारिक कर्तव्यका रूपमा प्रस्तुत गरिएको छ।

एकअर्काप्रति जतिसुकै रिस, ईर्ष्या, वैमनस्य र कटुता भए पनि रगतको नाता पूर्ण रूपमा टुट्दैन।

मुरलीधर र श्रीधरबिच पानी बाराबारको अवस्था आए पनि अप्ठेरो र दुःखको समयमा मुरलीधर भाइको साथमा उभिन्छन्।

यसबाट सम्पत्तिभन्दा रगतको नाता ठूलो हुन्छ र दुःखमा परिवारका सदस्यले एकअर्कालाई साथ दिनुपर्छ भन्ने सन्देश दिइएको छ।


(ग) मुरलीधर र श्रीधरको विवाद नभएको र सम्बन्ध नबिग्रेको भए के हुन्थ्यो होला ? अनुमान गर्नुहोस्।

उत्तर :

मुरलीधर र श्रीधरबिच विवाद नभएको भए उनीहरूको सम्बन्ध सधैँ राम्रो रहन्थ्यो।

उनीहरू आफ्ना बुबा गङ्गाधरजस्तै समाजमा प्रतिष्ठित व्यक्ति बन्न सक्थे। गाउँका मानिस न्याय र सहयोगका लागि उनीहरूकै घरमा आउन सक्थे।

शशीधरको विवाहमा मुरलीधर, कमला र परिवारका अन्य सदस्य सहज रूपमा सहभागी हुन्थे।

श्रीधर बिरामी हुँदा समयमै उपचार हुन सक्थ्यो। सम्पत्तिको विवाद अदालतसम्म लैजानुपर्ने अवस्था आउने थिएन।

दुवै परिवारका सदस्यबिच माया, प्रेम, स्नेह र सहयोग कायम रहन्थ्यो।

यसरी उनीहरूको परिवार गाउँमा आदर्श पारिवारिक सम्बन्धको उदाहरण बन्न सक्थ्यो।


(घ) ‘कर्तव्य’ कथाको सन्देश के हो ?

उत्तर :

गुरुप्रसाद मैनालीद्वारा लिखित ‘कर्तव्य’ सामाजिक यथार्थवादी कथा हो।

यस कथाले परिवारका सदस्यबिच हुने मनमुटाव, सम्पत्तिको विवाद तथा पुरानो र नयाँ पुस्ताबिचको द्वन्द्वलाई प्रस्तुत गरेको छ।

परिवारमा विवाद भए पनि आवश्यक परेको समयमा आफ्नो कर्तव्य त्याग्नु हुँदैन।

धनसम्पत्तिभन्दा रगतको नाता ठूलो हुन्छ। परिवारका सदस्यबिच प्रेम, स्नेह, सहयोग, क्षमा र मेलमिलाप हुनुपर्छ।

व्यक्तिगत रिसभन्दा परिवारको मानमर्यादा र कर्तव्य ठूलो हुन्छ भन्ने नै कथाको मुख्य सन्देश हो।


व्याख्या र समीक्षा

११. व्याख्या गर्नुहोस् :

(क) “उनको देहावसानले न्यायको बत्ती निभ्यो, अनाथ अशक्तको आशास्तम्भ ढल्यो, गाउँका धन्वन्तरि अस्ताए।”

उत्तर :

प्रस्तुत कथांश गुरुप्रसाद मैनालीद्वारा लिखित सामाजिक यथार्थवादी कथा ‘कर्तव्य’ बाट साभार गरिएको हो।

उक्त भनाइ गङ्गाधरको मृत्युपछि गाउँलेहरूले महसुस गरेको ठूलो क्षति व्यक्त गर्ने क्रममा आएको हो।

गङ्गाधर गाउँका आदरणीय र न्यायप्रिय व्यक्ति थिए। उनी ‘मुखिया बा’ का रूपमा परिचित थिए।

उनले जीवित रहँदासम्म गाउँका गरिब, असहाय र पीडित मानिसलाई सहयोग गरे। कसैको चुलामा आगो नबलेको थाहा पाए अन्नपैसा दिन्थे। कोही बिरामी भए औषधी लिएर घरमै पुग्थे।

उनले गाउँका झगडा र विवाद निष्पक्ष ढङ्गले समाधान गर्थे।

यसैले उनको मृत्युलाई गाउँलेहरूले न्यायको बत्ती निभेको, अनाथ र अशक्तको सहारा ढलेको तथा गाउँको वैद्य गुमेको रूपमा अनुभव गरे।

यस कथांशले समाजसेवी, न्यायप्रिय र परोपकारी व्यक्तिको मृत्युले सम्पूर्ण समाजमा कति ठूलो असर पर्छ भन्ने देखाएको छ।


(ख) “कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ, मानिस चाहिँ ज्ञानवान् हुनाले बखतमौका विचार गरेर आफैँ पनि जानुपर्छ।”

उत्तर :

प्रस्तुत कथांश ‘कर्तव्य’ कथाबाट लिइएको हो। यस कथाका कथाकार गुरुप्रसाद मैनाली हुन्।

मुरलीधरलाई भाइ श्रीधरको छोरा शशीधरको विवाहमा निमन्त्रणा गरिएको थिएन। तर परिवारको मानमर्यादा सम्झेर मुरलीधर विवाहमा जान तयार हुन्छन्।

त्यस बेला पत्नीले सोध्दा उनले प्रस्तुत भनाइ व्यक्त गरेका हुन्।

कुकुरले समय र परिस्थिति बुझेर निर्णय गर्न सक्दैन। मानिस भने विवेकशील र ज्ञानवान् प्राणी हो।

त्यसैले सही काम गर्न सधैँ अरूले बोलाउने वा निर्देशन दिने प्रतीक्षा गर्नु हुँदैन।

दाजुभाइबिच मनमुटाव भए पनि परिवारको इज्जत र कर्तव्यको प्रश्न आएपछि व्यक्तिगत रिसलाई छोडेर सही निर्णय गर्नुपर्छ।

यस भनाइले मानिसले परिस्थिति बुझेर बुद्धि, विवेक र जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने सन्देश दिएको छ।


१२. ‘कर्तव्य’ कथामा श्रीधर र मुरलीधरमध्ये तपाईं कसको पक्ष लिनुहुन्थ्यो ? किन ?

उत्तर :

म मुरलीधरको पक्ष लिन्थेँ।

मुरलीधर असल आचरण भएका, जिम्मेवार र पारिवारिक मानमर्यादाको ख्याल राख्ने व्यक्ति हुन्।

उनी आफ्नो कर्तव्य, परम्परा र पुर्खाले कमाएको प्रतिष्ठालाई महत्त्व दिन्छन्।

परिवारका सदस्यबिच फरक विचार वा विवाद हुन सक्छ। तर त्यसलाई संवाद र समझदारीबाट समाधान गर्नुपर्छ।

मुरलीधरले भाइले निमन्त्रणा नगरे पनि परिवारको प्रतिष्ठाका लागि विवाहमा गएर आफ्नो जिम्मेवारी पूरा गरे।

श्रीधरले बाबुको अन्तिम इच्छा पूरा गर्नुपर्थ्यो। पैतृक सम्पत्तिका लागि दाजुभाइबिच झगडा गर्नु उचित थिएन।

सम्पत्तिभन्दा रगतको नाता ठूलो हुन्छ भन्ने मुरलीधरको व्यवहारले प्रमाणित गरेको छ।

त्यसैले म मुरलीधरको पक्ष लिन्थेँ।


१३. ‘कर्तव्य’ कथामा नेपाली समाजको वास्तविकतालाई कसरी दर्शाइएको छ ? विवेचना गर्नुहोस्।

उत्तर :

गुरुप्रसाद मैनालीद्वारा लिखित ‘कर्तव्य’ सामाजिक यथार्थवादी कथा हो। यस कथामा नेपाली ग्रामीण समाजको वास्तविकतालाई प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ।

गाउँमा कसैको मृत्यु हुँदा मलामी जाने, दुःख व्यक्त गर्ने र काजकिरिया गर्ने परम्परा नेपाली समाजको वास्तविकता हो।

अशिक्षा, असमझदारी र सम्पत्तिका कारण एउटै परिवारका सदस्यबिच विवाद हुनु र अलग्गिनु पनि समाजमा देखिने यथार्थ हो।

पैतृक सम्पत्ति छोराहरूले बाँड्ने र बाबुआमाको जिउनी सम्पत्तिका विषयमा विवाद हुने प्रचलन पनि कथामा देखाइएको छ।

तत्कालीन समाजमा मुखिया हुने, गाउँका विवाद गाउँमै मिलाउने, कचहरी बस्ने र विवाद समाधान नभए अदालत जाने चलन पनि प्रस्तुत गरिएको छ।

विवाहका लागि उपयुक्त घरानाको खोजी गर्ने, धनसम्पत्ति हेर्ने, जन्ती जाने र विवाहमा युवाहरूले रमाइलो गर्ने परम्परालाई पनि कथाले समेटेको छ।

धर्म, संस्कार, पुराण, व्रत, चन्दन, पूजापाठ जस्ता सांस्कृतिक पक्षका साथै आधुनिक सोच राख्ने युवाको जीवनशैलीसमेत कथामा प्रस्तुत भएको छ।

यसरी ‘कर्तव्य’ कथाले नेपाली समाजका पारिवारिक, सामाजिक, सांस्कृतिक र न्यायिक यथार्थलाई कलात्मक ढङ्गले चित्रण गरेको छ।


१४. तपाईंलाई ‘कर्तव्य’ कथामा व्यक्त भएका कुन कुन कुरा मन परे ? कारणसहित आफ्नो प्रतिक्रिया दिनुहोस्।

उत्तर :

मलाई ‘कर्तव्य’ कथाका धेरै पक्ष मन परे।

सबैभन्दा पहिले गङ्गाधरको परोपकारी र न्यायप्रिय चरित्र मन पर्‍यो। उनले आफ्नो जीवन समाजसेवा र न्यायका लागि समर्पित गरेका थिए।

मुरलीधरको “कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ, मानिस चाहिँ ज्ञानवान् हुनाले बखतमौका विचार गरेर आफैँ पनि जानुपर्छ” भन्ने विचार विशेष प्रभावकारी लाग्यो।

भाइले निमन्त्रणा नगरे पनि मुरलीधर परिवारको मानमर्यादा जोगाउन विवाहमा सहभागी भएको घटना पनि मन पर्‍यो।

श्रीधर बिरामी हुँदा पुराना सबै मनमुटाव भुलेर उपचारका लागि लैजान तयार भएको मुरलीधरको व्यवहार अत्यन्त आदर्श लाग्यो।

अन्त्यमा श्रीधरले आफ्नो गल्ती स्वीकार गरी दाजुसँग माफी माग्नु र दाजुभाइबिच पुनः मेलमिलाप हुनु पनि मन पर्‍यो।

यस कथाले परिवारका सदस्यबिच माया, प्रेम, स्नेह, क्षमा र सहयोग हुनुपर्छ भन्ने राम्रो सन्देश दिएको छ।


भाषिक संरचना

१. नाम र विशेषणबाट बनेका क्रियापद

दिइएको अनुच्छेदमा प्रयोग भएका मुख्य धातु :

  • मोटाउ
  • दुब्लाउ
  • रोगाउ
  • थलि
  • भुनभुनाउ
  • स्वीकार

यीमध्ये कतिपय धातु मोटो, दुब्लो जस्ता विशेषण तथा अन्य नामिक शब्दबाट बनेका छन्। यस्ता धातुलाई नामधातु भनिन्छ।


२. दिइएका क्रियामूलको बनोट प्रक्रिया देखाउनुहोस् :

क्रियापदबनोट
जिल्लिनुजिल्लि + नु
हत्याउनुहत्याउ + नु
लजाउनुलजाउ + नु
रन्किनुरन्कि + नु
लत्याउनुलत्याउ + नु
रङ्गाउनुरङ्गाउ + नु
दोहोर्‍याउनुदोहोर्‍याउ + नु
तातिनुताति + नु
चिसिनुचिसि + नु
चिप्लिनुचिप्लि + नु
गुटमुटिनुगुटमुटि + नु
डल्लिनुडल्लि + नु

३. ‘कर्तव्य’ कथाबाट पाँचओटा क्रियामूल खोजी फरक वाक्यमा प्रयोग गर्नुहोस्।

लगाउनु : जाडोमा बाक्लो कपडा लगाउनु बुद्धिमानी हो।

खानु : जाँडरक्सी खानु आफ्नै स्वास्थ्य बिगार्नु हो।

भन्नु : सत्य कुरा भन्नु राम्रो बानी हो।

जानु : समयमै विद्यालय जानु विद्यार्थीको जिम्मेवारी हो।

तिर्नु : सामान किनेपछि पैसा तिर्नु जिम्मेवारी हो।


४. कुनै पाँच नामधातु पर्ने गरी एउटा अनुच्छेद लेख्नुहोस्।

उत्तर :

गाउँका धेरै केटाहरू बिदेसिए। छोराछोरीको पीरले बाआमा दुब्लाए। देशका नेताहरू मोटाए। नेताले जनताका सपना लत्याए। जनता पिरोलिए र आन्दोलन गर्न तातिए।


५. दिइएको अनुच्छेदबाट सामान्यार्थक र प्रेरणार्थक क्रियापद छुट्याउनुहोस्।

सामान्यार्थक क्रियापद

  • सुतिन्
  • खाइन्
  • जागिन्
  • पिइन्

प्रेरणार्थक क्रियापद

  • सुताइन्
  • खुवाइन्
  • जगाइन्
  • पिलाइन्

६. दिइएको अनुच्छेदलाई प्रेरणार्थकमा परिवर्तन गर्नुहोस्।

उत्तर :

आमाले विनयलाई खाना खुवाउनुभयो।
दाइले उनलाई विद्यालय पुर्‍याउनुभयो।
शिक्षकले पालेलाई घन्टी बजाउन लगाउनुभयो।
शिक्षकले उनलाई कक्षामा पस्न लगाउनुभयो।
नेपाली शिक्षकले पहिलो घन्टीमा उनलाई नेपाली विषय पढाउनुभयो।
साथीहरूले उनलाई दिउँसो खाजा खुवाए।
शिक्षकले उनलाई बेलुकी घर फर्कन लगाउनुभयो।


७. प्रेरणार्थक वाक्यको प्रयोग गरी कुनै एक घटनाको वर्णन गर्नुहोस्।

उत्तर :

शुक्रबार नेपाली शिक्षकले सबै विद्यार्थीलाई व्याकरण पढाउनुभयो। सामाजिक शिक्षकले नवीनलाई कक्षामा गीत गाउन लगाउनुभयो।

प्रधानाध्यापकले विद्यार्थीलाई बाहिर आउन लगाउनुभयो। सहायक प्रधानाध्यापकले सबैलाई नाच्न लगाउनुभयो।

साथीहरूले मलाई पनि नाच्न लगाए।

अन्त्यमा शिक्षकले पाले दाइलाई घन्टी बजाउन लगाउनुभयो र सबै विद्यार्थीलाई घर जान दिनुभयो।


८. ‘कर्तव्य’ कथाबाट ‘ऋ’ र ‘रि’ प्रयोग भएका तीन-तीनओटा शब्द खोजेर लेख्नुहोस्।

‘ऋ’ प्रयोग भएका शब्द

  • ऋचामन्त्र
  • दृढ
  • संस्कृति

‘रि’ प्रयोग भएका शब्द

  • गरिब
  • सुत्केरी
  • किरिया

९. दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस्।

उत्तर :

ऋषि दरीमा बसेर ऋषभसँग भन्दै थिए, “झरीमा नहिँड्नु, रिस नगर्नु। एउटा कानमा मात्र रिङ होइन, दुईओटै कानमा लगाउन रिङ किन्नू। रीता माघे सङ्क्रान्ति मेलामा जानू र दिनभरि रमाइलो गर्नु।”


सिर्जना कार्य

१. दिइएका बुँदाका आधारमा एउटा छोटो कथा लेख्नुहोस्।

प्रवीणको प्रेरणा

अर्घाखाँचीको शीतगङ्गा गाउँमा प्रवीण नाम गरेको युवक बस्थ्यो। उसका गाउँका धेरै साथी रोजगारीको खोजीमा विदेश गएका थिए।

केही साथीले विदेशमा कमाएको पैसाले बजारमा घरघडेरी किनेको देखेर प्रवीणलाई पनि विदेश गएर धेरै धन कमाउने इच्छा जाग्यो।

एक दिन ऊ धेरै धन कमाउने लोभमा विदेश गयो।

तर विदेश पुगेपछि उसले म्यानपावर कम्पनीले भनेजस्तो काम र तलब पाएन। कतारको चर्को गर्मीमा दिनको चौध घण्टासम्म काम गर्नुपर्थ्यो।

यति धेरै मेहनत गर्दा पनि उसले विदेश जाँदा लागेको ऋणसमेत समयमै तिर्न सकेन।

उसलाई दिनरात आफ्नो देश, गाउँघर, आमाबुबा र साथीभाइको सम्झना आउन थाल्यो।

तर विदेश जाँदा लागेको ऋणका कारण ऊ तुरुन्तै घर फर्कन पनि सकेन।

उसले निकै वर्ष दुःख गरेर ऋण तिर्‍यो र केही पैसा बचत गर्‍यो। त्यसपछि आफ्नै देश फर्केर सानो लगानीमा खेती गर्ने निर्णय गर्‍यो।

स्वदेश फर्किएपछि प्रवीणले आफ्नै खेतबारीमा आधुनिक कृषि व्यवसाय सुरु गर्‍यो।

विदेशमा बसेर उसले श्रमको महत्त्व बुझेको थियो। त्यसैले ऊ मेहनतका साथ कृषि व्यवसायमा लाग्यो।

केही वर्षमै उसले खेतीबाट राम्रो आम्दानी गर्न थाल्यो। उसको जीवन सुखी बन्न थाल्यो।

उसका वृद्ध आमाबुबा पनि बुढेसकालमा छोरो साथमा भएकोमा अत्यन्त खुसी भए।

यसरी विदेशमा दुःख गरेर सिकेको अनुभवलाई आफ्नै देशमा प्रयोग गरी सफल बनेको प्रवीण नेपालमा केही गर्न सकिँदैन भन्नेहरूका लागि प्रेरणाको स्रोत बन्यो।

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play