पाठ १२. पाब्लो पिकासो


शब्दभण्डार

१. दिइएका अर्थसँग मिल्ने शब्द ‘पाब्लो पिकासो’ जीवनीबाट खोजेर लेख्नुहोस् :

अर्थशब्द
सय वर्षको समय वा अवधिशताब्दी
मूर्त नभएकोअमूर्त
अत्यन्त धेरै मोल पर्नेअनमोल
कहिल्यै नमर्नेअमर
कलापूर्ण ढङ्गले सजाइएकोकलात्मक
प्राचीन महत्त्वका वस्तु राखिने ठाउँसङ्ग्रहालय

२. ‘पाब्लो पिकासो’ जीवनीका आधारमा वाक्यको सन्दर्भ बोध गरी दिइएका शब्दको अर्थ लेख्नुहोस् :

अद्भुत : आश्चर्यजनक, अनौठो।

शैशवावस्था : शिशु अवस्था।

पूर्णकालीन : पूरा समयका लागि हुने।

बहुमुखी : विभिन्न विषयमा विशेष क्षमता वा ज्ञान भएको।

सिर्जना : रचना।

आकृति : कुनै व्यक्ति वा वस्तुको स्वरूप।

मनस्थिति : मनको अवस्था वा विचार।

विसङ्गत : नमिलेको, नसुहाउँदो।

कृति : कुनै पुस्तक, चित्र वा कलात्मक रचना।


३. दिइएको अनुच्छेदबाट आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :

उत्तर :

  • किताब
  • कापी
  • कलम
  • फोन
  • माइक्रोबस
  • डम्फु
  • समयबजी
  • योमरी
  • बारा
  • थर्मस
  • रक गार्डेन
  • क्यामेरा
  • कैद
  • नास्ता

४. ‘पाब्लो पिकासो’ जीवनीबाट पाँचओटा आगन्तुक शब्द टिपी तिनलाई पाठमा भन्दा भिन्न वाक्यमा प्रयोग गर्नुहोस् :

जादु (फारसी)

मलाई जादु हेर्न मन पर्छ।

नसा (अरबी)

रक्सीको नसा लागेपछि छुट्न कठिन हुन्छ।

पिरियड (अङ्ग्रेजी)

पहिलो पिरियडमा नेपाली विषय पढाइ हुन्छ।

तनाव (हिन्दी)

परीक्षाको अनावश्यक तनाव लिनु हुँदैन।

क्यानभास (अङ्ग्रेजी)

कलाकारले क्यानभासमा सुन्दर चित्र कोरे।


बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

  • महत्त्वपूर्ण
  • मूर्तिकार
  • दृष्टिकोण
  • बहिष्कृत
  • दृष्टिविहीन
  • प्रदर्शन
  • आक्रोश
  • भिक्षु
  • उत्तरार्ध
  • उत्कृष्ट
  • प्रतिबिम्ब
  • सीमान्तकृत

२. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) ‘पाब्लो पिकासो’ जीवनीको पहिलो अनुच्छेदमा कतिओटा वाक्य रहेका छन् ?

उत्तर : ‘पाब्लो पिकासो’ जीवनीको पहिलो अनुच्छेदमा आठओटा वाक्य रहेका छन्।


(ख) जीवनीको तेस्रो अनुच्छेदको शीर्षवाक्य भन्नुहोस्।

उत्तर :

“आफ्ना बुबाबाट सुरु भएको कलायात्राका क्रममा पिकासोले मलागादेखि बार्सिलोना, म्याड्रिड र युरोपेली कलाको राजधानी मानिने पेरिससम्म आइपुग्दा महान् कृति जन्माइसकेका थिए।”


(ग) जीवनीको ‘पिकासोका कलाकृति बिक्री भए।’ अंशको विषयवस्तु भन्नुहोस्।

उत्तर : उक्त अंशको विषयवस्तु पिकासोको चित्र निर्माणको एउटा कालखण्ड ‘ब्लु पिरियड’ को वर्णन हो।


(घ) जीवनीको तेस्रो अनुच्छेदका घटना क्रमबद्ध रूपमा भन्नुहोस्।

उत्तर :

  1. सन् १८९२ मा पिकासोको परिवार ला कोरुनामा बसाइँ सर्‍यो।
  2. पिकासोलाई ललित र व्यावहारिक कला अध्ययनका लागि विद्यालयमा भर्ना गरियो।
  3. सन् १८९४ को प्रारम्भमा १३ वर्षको उमेरमा उनले परिवारको चित्रसहित प्रारम्भिक तैलचित्रहरू सिर्जना गरे।
  4. सन् १८९५ देखि उनले आफ्ना चित्र प्रदर्शन गर्न र बेच्न थाले।
  5. पिकासोकी सात वर्षकी बहिनी कोन्चियको मृत्यु भयो।
  6. बहिनीको मृत्युपछि उनको परिवार बार्सिलोनामा सर्‍यो।
  7. उनका प्रारम्भिक चित्रमा यथार्थवादी शैलीको प्रयोग हुन थाल्यो।
  8. सन् १८९७ मा सिर्जित उनका चित्रकलाबाट विश्वकलाको आधुनिक काल सुरु भएको मानियो।
  9. सन् १९०० मा पिकासो पेरिस गए।
  10. त्यहाँ पत्रकार तथा कवि म्याक्स ज्याकबले उनलाई भाषा र साहित्य सिक्न सहयोग गरे।
  11. मलागादेखि बार्सिलोना, म्याड्रिड हुँदै पेरिस पुग्दासम्म पिकासोले महान् कृतिहरू सिर्जना गरिसकेका थिए।

४. पाब्लो पिकासो जीवनी पढी दिइएका घटना कुन मितिमा भएका हुन्, लेख्नुहोस् :

घटनामिति
पिकासोको जन्म२५ अक्टोबर १८८१
‘वुमन अफ अल्जियर्स’ सिर्जनासन् १९५५
अन्तर्राष्ट्रिय लेनिन पुरस्कारबाट सम्मानितसन् १९५० र १९६१
पिकासोको निधन८ अप्रिल १९७३
परिवार ला कोरुनामा बसाइँ सरेकोसन् १८९२
आफ्ना चित्र प्रदर्शन र बिक्री गर्न थालेकोसन् १८९५

५. दिइएको जीवनीको अंश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) पिकासोले जीवनमा कस्ता कठिनाइ सामना गर्नुपरेको थियो ?

उत्तर : पिकासोले जीवनमा आर्थिक तथा पारिवारिक कठिनाइ सामना गर्नुपरेको थियो।


(ख) पिकासोलाई कुन कुराले अमर बनायो ?

उत्तर : पिकासोलाई उनका अनमोल कलाकृतिले अमर बनाए।


(ग) अनुच्छेदमा कलाकारको जीवनबारे कस्तो धारणा पाइन्छ ?

उत्तर : प्रतिभाशाली कलाकारहरू आफ्ना अनमोल सिर्जनामार्फत मृत्यु पछिसम्म पनि अजर र अमर बन्न सक्छन् भन्ने धारणा प्रस्तुत गरिएको छ।


(घ) पिकासो ‘सादा जीवन, उच्च विचार’ का अनुयायी थिए भन्ने कुरा पुष्टि गर्नुहोस्।

उत्तर :

पिकासोले “म धेरै पैसा कमाएर गरिबको रूपमा बाँच्न चाहन्छु” भन्ने विचार व्यक्त गरेका थिए। जीवनको उत्तरार्धमा प्रशस्त धन कमाए पनि उनले साधारण जीवन बिताए। यसबाट उनी ‘सादा जीवन, उच्च विचार’ का अनुयायी थिए भन्ने पुष्टि हुन्छ।


६. दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) पिकासोका कलाकृतिमा कस्ता विषयवस्तुले स्थान पाएका थिए ?

उत्तर :

पिकासोले कलामार्फत युद्धको विरोध गरेका छन्। उनले बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने विचार कलाका माध्यमबाट प्रस्तुत गरे।

उनका चित्रमा भिखारी, जेलमा थुनिएका व्यक्ति, दुःख पाएका, हेपिएका तथा सीमान्तकृत मानिसले स्थान पाएका छन्।

गम्भीर मानसिक समस्या भएका व्यक्ति, महिलाका मार्मिक र प्रेमिल चित्र तथा मान्छेको बाहिरी स्वरूपसँगै भित्री वेदना, संवेदना र संवेगलाई पनि उनले आफ्ना अमूर्त चित्रमा उतारेका छन्।


(ख) पिकासोका कलाकृतिमा पाइने विशेषता लेख्नुहोस्।

उत्तर :

पिकासोका कलाकृतिमा मानव वेदनाको जीवन्त चित्रण पाइन्छ। व्यक्तिको बाहिरी आवरण मात्र नभई भित्री वेदना, संवेदना, संवेग, मर्म र सौन्दर्यलाई समेत उनले कलामा प्रस्तुत गरेका छन्।

उनका चित्रले मानिसको हृदयमा करुणा, दया, माया, स्नेह र आक्रोश जस्ता भावना उत्पन्न गराउँथे।

उनका चित्रमा यति प्रभावकारी कलात्मकता थियो कि दर्शक चित्र हेर्दाहेर्दै त्यसैमा हराउँथे। यही कारण उनका कलाकृति आजसम्म अनमोल र विश्वप्रसिद्ध छन्।

आज पिकासोका कलाकृति संसारका प्रसिद्ध कला सङ्ग्रहालयहरूमा सुरक्षित छन्।


९. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) पिकासोको बाल्यकाल कस्तो परिवेशमा बित्यो ?

उत्तर :

पिकासोको जन्म सन् १८८१ अक्टोबर २५ मा स्पेनको मलागामा मध्यमवर्गीय परिवारमा भएको थियो।

उनका बुबा जोसे रुइज स्थानीय विद्यालयमा कलाका कुशल शिक्षक थिए। पिकासोले बाल्यकालमै आफ्ना बुबाले सिर्जना गरेका सुन्दर कला देख्ने अवसर पाए।

यसैबाट प्रेरणा पाएर उनको जन्मजात कलाकारिताले टुसाउने, हुर्कने र मौलाउने अवसर पायो। उनले चित्रकलाको प्रारम्भिक तालिम घरबाटै पाए।

बाल्यकालमै विभिन्न आकृति बनाएर साथीलाई चकित पार्ने पिकासोको बाल्यकाल कला सिक्न अनुकूल परिवेशमा बितेको देखिन्छ।


(ख) पिकासोले चित्रमा कुन कुन पक्ष समेटेका छन् ?

उत्तर :

पिकासोले सुरुमा आफ्नो परिवारका सदस्यहरूको चित्रसहित प्रारम्भिक तैलचित्र सिर्जना गरे। उनका प्रारम्भिक चित्रमा यथार्थवादी शैलीको प्रयोग पाइन्छ।

पछि उनले ब्लु र हरियो जस्ता कठोर रङको प्रयोग गरी मोनोक्रोमेटिक चित्र सिर्जना गरे।

समाजका गरिब, बहिष्कृत र दुःखी मानिसको मनस्थितिलाई उनका चित्रले विशेष स्थान दिए। एक्लोपन, गरिबी र चरम अभाव उनका महत्त्वपूर्ण विषय बने।

गरिबीले आक्रान्त महिला, दूधेबालकसँगका आमा र दृष्टिविहीन व्यक्तिका चित्रले उनका क्यानभासमा प्राथमिकता पाए।

उनले महिलाका मार्मिक तथा प्रेमिल चित्र पनि बनाए। उनको चित्रकलामा घनवाद (Cubism) को प्रभावशाली प्रयोग पाइन्छ।

उनको ‘द गुएर्निका’ चित्रलाई हालसम्मकै महान् युद्धविरोधी चित्रमध्ये एक मानिन्छ।

यसरी पिकासोले मानव जीवनका विविध पक्षलाई आफ्ना चित्रमा समेटेका छन्।


(ग) पिकासोले आफ्नो जीवनको लक्ष्य पूरा गर्न कस्ता सङ्घर्ष गर्नुपरेको थियो ?

उत्तर :

मध्यमवर्गीय परिवारमा जन्मेका पिकासोले जीवनको पूर्वार्धमा आर्थिक तथा पारिवारिक समस्याको सामना गर्नुपरेको थियो।

उच्च शिक्षाका लागि उनलाई म्याड्रिड एकेडेमी पठाइयो। तर त्यहाँको वातावरणबाट विरक्तिएपछि उनले औपचारिक पढाइ छोडेर पूर्णकालीन रूपमा कलाकारितामा आफूलाई समर्पित गरे।

सन् १८९५ मा पिकासोकी सात वर्षकी बहिनी कोन्चियको मृत्यु भयो। यो घटना उनको जीवनका लागि अत्यन्त दुःखद बन्यो।

पारिवारिक तथा आर्थिक समस्याका कारण उनी मानसिक तनावमा पनि परे।

सुरुमा उनका चित्र मन पराउने मानिस कम थिए र चित्र बिक्री पनि हुँदैनथे। कतिपय चित्र प्रदर्शनमा प्रतिबन्धसमेत लगाइएको थियो।

उनको वैवाहिक तथा पारिवारिक जीवन पनि सधैँ सहज रहेन।

यसरी आर्थिक, पारिवारिक र मानसिक कठिनाइको सामना गर्दै निरन्तर कलाकारितामा लागेर उनले आफ्नो लक्ष्य पूरा गरेका थिए।


(घ) पिकासोको जीवनबाट पाइने जीवनोपयोगी सन्देश उल्लेख गर्नुहोस्।

उत्तर :

पिकासोको जीवनबाट विभिन्न जीवनोपयोगी सन्देश पाउन सकिन्छ।

हरेक बालबालिकामा विशिष्ट सिर्जनात्मक शक्ति र प्रतिभा हुन्छ। उचित अवसर र वातावरण पाएमा त्यो प्रतिभा प्रस्फुटित हुन सक्छ।

अभिभावकले आफ्ना सन्तानको क्षमता र रुचि पहिचान गरी त्यसलाई विकास गर्ने वातावरण दिनुपर्छ।

मानिसले आफ्नो रुचिको क्षेत्रमा निरन्तर साधना र मेहनत गरेमा सफल हुन सक्छ।

सादा जीवन र उच्च विचार अपनाउनुपर्छ। सानातिना बाधा र समस्यासँग हार मान्नु हुँदैन।

पिकासोको जीवनले हतियारभन्दा कलम र कुचीको शक्ति प्रभावकारी हुन सक्छ भन्ने सन्देश पनि दिएको छ।


१०. पाब्लो पिकासोले कलाकारिताको क्षेत्रमा पुर्‍याएका योगदानको चर्चा गर्नुहोस्।

उत्तर :

पाब्लो पिकासो बीसौँ शताब्दीका महान् तथा प्रभावशाली कलाकारमध्ये एक हुन्। उनको जन्म सन् १८८१ अक्टोबर २५ मा स्पेनको मलागामा मध्यमवर्गीय परिवारमा भएको थियो।

पिकासो कलाकार, चित्रकार, मूर्तिकार तथा मञ्च सजावटका अद्भुत शिल्पी थिए।

उनले आफ्नो बुबाबाट कलाको प्रारम्भिक शिक्षा पाए। सानै उमेरदेखि उत्कृष्ट चित्र बनाउन थालेका पिकासोले नौ वर्षको उमेरमा ‘पिकाडोर’ नामक पहिलो पेन्टिङ तयार गरेका थिए।

पन्ध्र वर्षको उमेरमा उनले ‘कम्युनियन’ चित्र पूरा गरेका थिए।

उच्च कला शिक्षाका लागि म्याड्रिड एकेडेमी पुगे पनि त्यहाँको वातावरणबाट असन्तुष्ट भएपछि उनले औपचारिक पढाइ छोडेर पूर्णकालीन रूपमा कलाकारितामा आफूलाई समर्पित गरे।

सन् १८९५ देखि आफ्ना चित्र प्रदर्शन र बिक्री गर्न थाले। उनका कलाकृतिलाई विश्वकलाको आधुनिक युगको विकासमा महत्त्वपूर्ण मानिन्छ।

पिकासोले समाजका गरिब, सीमान्तकृत, दुःखी र एक्लोपनमा बाँचेका मानिसलाई चित्रको विषय बनाए।

उनका चित्रमा महिला, आमा र शिशु, दृष्टिविहीन व्यक्ति तथा जीवनका निराशा र विसङ्गत अवस्थाको चित्रण पाइन्छ।

उनले कलाकारितामा घनवाद को विकास र प्रयोगमा महत्त्वपूर्ण योगदान दिए।

उनको ‘द गुएर्निका’ चित्रलाई विश्वका सबैभन्दा प्रभावशाली युद्धविरोधी चित्रमध्ये एक मानिन्छ।

उनले हजारौँ चित्र, मूर्तिकला, सेरामिक कला र रेखाचित्र सिर्जना गरेका थिए।

उनले कलाका माध्यमबाट युद्ध, हिंसा र शोषणको विरोध गरे। बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने प्रमाण आफ्ना सिर्जनाबाट प्रस्तुत गरे।

उनलाई सन् १९५० र १९६१ मा दुई पटक अन्तर्राष्ट्रिय लेनिन पुरस्कारबाट सम्मानित गरिएको थियो।

८ अप्रिल १९७३ मा उनको भौतिक शरीरको अन्त्य भए पनि अनमोल कलाकृतिका कारण पिकासो आज पनि विश्वभर स्मरण गरिन्छन्।

यसरी विश्व कला क्षेत्रमा पिकासोले पुर्‍याएको योगदान अविस्मरणीय रहेको छ।


व्याख्या र समीक्षा

७. व्याख्या गर्नुहोस् :

(क) “हरेक बालबालिकामा विशिष्ट सिर्जना शक्ति र प्रतिभा हुन्छ, उचित अवसर र लगनशीलता भए ऊ एउटा कलाकार बन्न सक्छ, जीवनलाई सार्थक बनाउन सक्छ र संसारलाई चहकिलो ज्योति छर्न सक्छ।”

उत्तर :

प्रस्तुत गहन भनाइ ‘पाब्लो पिकासो’ जीवनी पाठबाट लिइएको हो।

पाब्लो पिकासो विश्वप्रसिद्ध बहुमुखी कलाकार, चित्रकार, मूर्तिकार तथा मञ्च सजावटका शिल्पी हुन्।

प्रस्तुत भनाइमा बालबालिकामा हुने सिर्जनात्मक प्रतिभा र त्यसलाई विकास गर्न आवश्यक अवसर तथा लगनशीलताको महत्त्व व्यक्त गरिएको छ।

हरेक बालबालिकामा कुनै न कुनै विशेष क्षमता हुन्छ। कतिपयले आफ्नो क्षमता पहिचान गर्छन् भने कतिपयले उचित अवसर नपाउँदा आफ्नो प्रतिभा विकास गर्न सक्दैनन्।

जसले आफ्नो क्षमता चिन्छ र लगनशील भएर काम गर्छ, ऊ एक दिन सफल बन्न सक्छ।

पिकासोका बुबा स्वयं कलाकार भएकाले उनले बाल्यकालदेखि नै कला सिक्ने राम्रो वातावरण पाए। उनकी आमाले पनि उनलाई निरन्तर प्रेरित गरिरहिन्।

पिकासोले आफूले पाएको अवसरको सदुपयोग गरे र आफ्नो कामप्रति निरन्तर लगनशील रहे। फलस्वरूप उनी विश्वप्रसिद्ध कलाकार बन्न सफल भए।

उनले आफ्नो जीवनलाई सार्थक बनाए र संसारलाई उत्कृष्ट कलाकृति दिए।

यसरी क्षमता, उचित अवसर र लगनशीलताको संयोजन भए मानिसले आफ्नो जीवनलाई सफल र सार्थक बनाउन सक्छ भन्ने कुरा प्रस्तुत भनाइमा स्पष्ट गरिएको छ।


(ख) “बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ।”

उत्तर :

प्रस्तुत भनाइ ‘पाब्लो पिकासो’ जीवनी पाठबाट लिइएको हो।

यस भनाइमा हतियारको शक्तिभन्दा विचार, साहित्य र कलाको शक्ति अझ प्रभावकारी हुन्छ भन्ने विचार व्यक्त गरिएको छ।

समाज परिवर्तनका लागि सधैँ हतियारसहितको युद्ध आवश्यक हुँदैन। कलम, साहित्य र कलाका माध्यमबाट पनि समाजमा ठूलो परिवर्तन ल्याउन सकिन्छ।

कलाका माध्यमबाट शोषित, पीडित, हेपिएका र सीमान्तकृत मानिसका आवाजलाई समाजसमक्ष ल्याउन सकिन्छ।

पिकासोका कलाकृति पनि एउटा शक्तिशाली सामाजिक आवाज बनेका थिए। उनका चित्रमा युद्ध, अन्याय, मानव पीडा र सामाजिक विसङ्गतिको विरोध पाइन्छ।

कलम र कुचीले मानिसको सोच र मानसिकतामा परिवर्तन ल्याउँछन्। बन्दुकले विनाश, हिंसा र अशान्ति सिर्जना गर्न सक्छ तर सिर्जनात्मक अभिव्यक्तिले दीर्घकालीन चेतना र परिवर्तन ल्याउन सक्छ।

त्यसैले कलम र कुचीको शक्ति बन्दुकको शक्तिभन्दा ठूलो र प्रभावकारी हुन्छ भन्ने भाव प्रस्तुत भनाइमा व्यक्त गरिएको छ।


भाषिक संरचना

१. दिइएको अनुच्छेदबाट प्रत्यक्ष र अप्रत्यक्ष कथनका वाक्य पहिचान गरी लेख्नुहोस् :

प्रत्यक्ष कथन

  1. उनले भनिन्, “शङ्खधर साख्वाको यो तैलचित्रको मूल्य कति हो ?”
  2. पवनप्रसादले भने, “यो चित्रको मूल्य ७५ हजार हो।”
  3. चित्रमायाले भनिन्, “७० हजारमा दिनुहुन्छ ?”
  4. पवनप्रसादले भने, “हुन्छ लैजानुहोस्, बिहानको पहिलो ग्राहक भएकाले यति रकममा पाउनुभयो।”

अप्रत्यक्ष कथन

  1. चित्रमायाले यो चित्र त निकै महँगो रहेछ भनिन्।
  2. पसले पवनले यो चित्र लैजाने भए मिलाएर दिउँला भने।

२. दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :

उत्तर :

ज्ञानप्रसाद ग्यालेन लिएर विज्ञान ज्ञवालीको पसलमा मट्टितेल लिन गएछन्। विज्ञान सर भने गाडीको एसीमा ग्यास सकिएर ग्यारेजमा गएका रहेछन्।

उनले मिस्त्रीलाई गाडीबारे सोधेछन्। मिस्त्रीले भनेछ, “गाडीमा ग्यास सकिएछ। गाडी चलाउने मान्छेमा गाडीसम्बन्धी ज्ञान पनि हुनुपर्छ। अज्ञानी भइयो भने दुःख पाइन्छ।”

त्यसैले ज्ञानप्रसादको विज्ञान ज्ञवालीसँग भेट भएनछ।


३. ‘ग्य’ र ‘ज्ञ’ प्रयोग भएका शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस्।

जीवन ज्ञान

हामी आफ्नो काममा योग्य र विज्ञ बन्नुपर्छ। ज्ञान व्यावहारिक हुनुपर्छ। योग्यताअनुसार काम गर्नुपर्छ।

ग्यारेजमा होस् वा ग्यास स्टेशनमा होस्, सबै प्रकारका कामको सम्मान गर्नुपर्छ।

हामी ज्ञाता बन्नुपर्छ। भाग्य भए मनग्य पैसा कमाउन सकिन्छ। हाम्रो जीवनको कुनै ग्यारेन्टी छैन।

जीवन केवल भावनाले मात्र होइन, ज्ञान र विज्ञानको सही प्रयोगले अगाडि बढ्छ।


सिर्जना कार्य

१. दिइएका बुँदाका आधारमा मोतीराम भट्टको छोटो जीवनी तयार पार्नुहोस्।

बहुमुखी व्यक्तित्व युवाकवि मोतीराम भट्ट

मोतीराम भट्ट नेपाली साहित्यमा युवाकविका रूपमा परिचित बहुमुखी व्यक्तित्व हुन्। उनी कवि, गजलकार, जीवनीकार र समालोचकका रूपमा परिचित छन्।

उनको जन्म वि.सं. १९२३ भाद्र महिनामा काठमाडौँमा भएको थियो। उनका पिताको नाम दयाराम भट्ट र माताको नाम रिपुमर्दिनी देवी थियो।

मोतीराम भट्टलाई फारसी, उर्दू, अङ्ग्रेजी, हिन्दी र संस्कृत भाषाको ज्ञान थियो। उनको विवाह वि.सं. १९३७ मा भएको थियो।

उनलाई नेपाली साहित्यमा गजल र समस्यापूर्ति कविताका आरम्भकर्ताका रूपमा चिनिन्छ।

नेपाली भाषा र साहित्यको विकासका लागि उनले नेपालमा छापाखाना स्थापना गरी पत्रिका प्रकाशनमा महत्त्वपूर्ण योगदान दिए।

उनले काठमाडौँ र बनारसमा ‘मोती मण्डली’ स्थापना गरी नेपाली साहित्यको विकासमा सक्रिय भूमिका निर्वाह गरे।

भानुभक्त आचार्यका कृतिलाई प्रचारप्रसार गर्ने कार्यमा पनि उनको विशेष योगदान थियो। उनले भानुभक्तीय रामायणको बालकाण्ड प्रकाशन गरेका थिए।

नेपाली साहित्यको उन्नयनमा निरन्तर साधना गर्दागर्दै वि.सं. १९५३ मा केवल ३० वर्षको उमेरमा उनको निधन भयो।

छोटो जीवन पाए पनि उनले नेपाली भाषा र साहित्यमा पुर्‍याएको योगदान अत्यन्त महत्त्वपूर्ण छ। त्यसैले नेपाली साहित्यमा मोतीराम भट्टको नाम सधैँ सम्मानपूर्वक स्मरण गरिन्छ।

Discussion

Share a helpful question, idea, or explanation with other students.

Leave a Comment

Write a clear question, answer, or helpful explanation.
Your email will not be published.

Download Our Offline App

Study class-wise notes even when internet is not available. Get the app from Play Store.

Nepal eNotes offline app preview
Get it on Google Play